चिकित्सा शिक्षा आयोगको कार्यकारी समिति बैठकले रामजी रामसहित चार जना विद्यार्थीलाई नि:सर्त परीक्षामा सामेल गराउन निर्देशन दिएको छ।
मंगलबार बसेको कार्यकारी समिति बैठकले नेसनल मेडिकल कलेज वीरगञ्जमा अध्ययरत् विद्यार्थी रामसहित चार जनालाई परीक्षामा सामेल गराउन सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको हो।
नेसनल मेडिकल कलेज त्रिवि अन्तर्गतकै मेडिकल कलेज हो।
‘छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई अतिरिक्त शुल्क नमागीकन नि:सर्त परीक्षामा सामेल गराउन त्रिविलाई निर्देशन दिने निर्णय भएको छ,’ बैठकमा सहभागी चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्ली लुँइटेलले सेतोपाटीसँग भने, ‘हामीले शुल्क निर्धारण गर्ने हो, शुल्क अनुगमन त्रिविले नै गर्ने हो।’
कार्यकारी समितिको बैठकको निर्णय लेखिसकिएको छैन। निर्णय लेखिसकेपछि त्रिविलाई चिठी काटिने लुइँटेलले बताए।
रामजी रामसहित चार जना विद्यार्थीलाई नेसनल मेडिकल कलेजले अवैध शुल्क माग्दै परीक्षा फारम भर्न दिइरहेको छैन।
असार ७ गते रामसहित चार जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा निवेदन दिएका थिए। निवेदन परेपछि आयोगले डिन कार्यालयलाई चिठी लेख्नुपर्थ्यो।
गत साल पनि रामलाई परीक्षामा सहभागी हुन नदिएपछि आयोगले डिन कार्यालयलाई चिठी लेखेको थियो।
परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।
होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपयोग गरेकै छैनन्।
रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा आउने बेलामा अवैध शुल्क मागेर फारम भर्न दिएको छैन।
पंकज एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् छन्। उनलाई नेसनलले वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५०, होस्टल खर्च १५ हजार ८३४, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।
रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।
प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ।
परीक्षा फारम भर्नुपर्ने अन्तिम मिति असार २२ गते हो। मिति नजिकिँदै जाँदा कलेजले फारम भर्न नदिएपछि उनीहरूले डिन कार्यालय र आयोग गुहारेका थिए।
यो पनि हेर्नुहोस्
रामजी रामलाई फेरि अवैध शुल्कको ताकेता, नेसनल मेडिकल कलेजले माग्यो ६ लाख
रामजी रामको पत्र सात दिनदेखि अलपत्र, आइओएम डिन सिंह भन्छिन्- म के गरूँ त?