हलाकी सडक अन्तर्गत भजनी नगरपालिकाको ३ र ५ नम्बर वडा जोड्ने कान्द्रा नदीमाथिको पुल १० वर्षसम्म पनि बनेको छैन।
पुलमा चारमध्ये दुई स्ल्याबको काम मात्र सकिएको छ। वर्षा लागेपछि फेरि निर्माणको काम रोकिएको छ।
चारओटा स्पान हुने एक सय मिटर लम्बाई भएको पुल निर्माणका लागि हुलाकी सडक आयोजनाबाट २०६८ सालको जेठमा ठेक्का सम्झौता भएको थियो।
लामा, साल्पा शेर्पा र विरूवा जेभीसँग संयुक्त रुपमा सम्झौता भएको पुल ठकेदारको लापबाही, डिजाइनमा बिलम्ब र ठाउँ फेर्नु परेकोले ढिलो भएको हो।
२०६८ मा उक्त पुल बनाउन तीस महिनाको समयावधि दिइएको थियो। तर, पुल बन्ने स्थान नै फेर्नु परेकाले काम भएन।
‘पहिला अहिले काठको पुल भएको ठाउँमा डिजाइन भएको थियो। पछि हुलाकी सडकको सर्वेले सोझै जाने भनेपछि पुल अलि तल सार्नुपर्यो। फाउन्डेसन नै फेर्नुपरेपछि समय लाग्यो,’ हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले भने।
उनका अनुसार फाउन्डेसन फेर्न सुरूदेखि प्रक्रियामा जानुपर्यो। त्यसमा साढे तीन वर्ष गयो।
पाँच वर्षपछि २०७३ सालमा डिजाइन रिभ्यू भयो। ठेकेदारलाई काम सक्न फेरि ३० महिना दिइयो। २०७५ असारसम्म निर्माण कार्य सक्ने म्याद थियो।
‘उसले काम सिध्याएन। कारबाहीमा जाने भन्ने भयो। तर खरिद ऐनले भनेपछि फेरि एक वर्ष मौका दिइयो,’ उनले भने।
निर्माण सक्ने म्याद थप भएर २०७७ फागनु एक वर्षसम्म पुग्यो। यस अवधिमा पनि काम सकिएन। त्यसपछि कोरोना संक्रमणले महामारी फैलिएपछि काम नसकिएको भन्दै फेरि छ महिना अवधि थप भयो। अहिले २०७८ भदौ १ सम्म भनिएको म्याद वर्षातमा काम बन्द हुने भएकाले सकिए सरह भएको मडैले बताए।
म्याद पटक-पटक सकिए पनि पुल निर्माणको काम भने सकिएको छैन।
‘बजेट भाषणमा अवधि थप्ने भनिएको छ, परिपत्र त आएको छैन, म्याद थप हुन सक्छ। काम गर्न कात्तिकबाट सुरू हुन्छ,’ उनले भने।
कोरोना महामारीका बेला पुलको काम नरोक्न प्रशासनले निर्देशन दिएको थियो। जसरी पनि सक्नुपर्ने भन्ने प्रशासनको निर्णय भए पनि यसपटक भने ठेकेदारको लापरबाहीले काम भएन।
‘७० प्रतिशत काम सकिएको छ। अब लगातार काम गरे चार महिनामा सकिन्छ,’ मडैले भने।
ठेक्का पाएका दुई कम्पनीले काम छोडिसकेका छन्। कालोसूचीमा पनि परेका लामा र साल्पा शेर्पा निर्माण कम्पनीले यो पुलको काम छोडेका हुन्।
विरूवा निर्माण कम्पनीले भने आफ्नो इज्जत राख्न भए पनि काम जारी राखेको छ।
उक्त पुल समयमा सक्न स्थानीयले आर्थिक पनि सहयोग गरेको बताएका छन्। सिमेन्ट सरियाजस्ता सामग्री उधारोमा पनि स्थानीय व्यापारीले दिएका छन्।
‘अब थप हुने मितिमा पुल निर्माण सक्नुपर्छ, नभए जरिवाना गरिन्छ,’ मडैले भने।
पुल नबन्दा पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता
भजनीको कान्द्रा नदीमा वर्षा सुरू भएसँगै पानी बढेको छ। गाई-भैंसी पानीमा पौडेर वार–पार गर्छन्। गोठालाहरू दस रुपैयाँ तिरेर डुंगा चढ्छन्।
चारपाङग्रे निजी सवारी साधन अरुबेला चले पनि बर्खामा बन्द हुन्छन्। ट्याक्टर भने वारपार गर्न सक्छन्।
भजनी–३ की मुनादेवी साउदले खेतीपाती वारिपारि हुनेलाई वर्षाका तीन महिना निकै समस्या हुने गरेको बताइन्।
‘विधार्थीलाई स्कुल आउन समस्या छ, पुल बनाउन बनाइएको ड्यामले नदी बन्द भएर बाढी आउने गरेको छ,’ उनले भनिन्।
भजनी नगरपालिका–९ पृथ्वीपुरका मनोज यादव दुध बेच्न दैनिक बजार जान–आउन ८० रुपैयाँ तिरेर डुंगा तर्छन्।
‘आउँदा ४०, जाँदा ४० तिर्नुपर्छ,’ उनले भने।
१२ भैंसी पालेका मनोज अरु किसानको दुध पनि खरिदेर भजनीसम्म बिक्री गर्न आउँछन्। नदीमा पुल नभएकाले उनले डुंगा चलाउने ठेकेदारलाई त्यो पैसा तिर्नुपर्छ।
‘अन्त बाटो छैन। नआउँ भने व्यवसाय चल्दैन, तर्नैपर्छ। नदिएर जान पाइँदैन। समस्या छ किसानहरूलाई,’ उनले भने।
औषधी उपचारका लागि, डिजेल–पेट्रोल किन्न, मलखाद किन्न पनि उनले पैसा तिरेरै आवतजावत गर्नुपरेको उनले बताए।
कर्मदेवका रुविन चौधरीले हिउँदमा ठेकदारले बनाएका अस्थायी काठका पुलमा पनि पैसा तिरेर आउजाउ गर्नुपरेको बताए।
त्यो पुल नदिले बगाएपछि अहिले नाउमा झन बढी पैसा तिर्नुपरेको बताए।
‘चामल, ग्यास डुंगामा वारिपारि गर्छौं, स्कुल पढ्न अस्पताल जान पनि हिँड्नुपर्छ,’ उनले भने। बर्खाका पाँच महिना उनीहरूले डुंगामा र हिउँदका सात महिना पुल तरेको पैसा ठेकेदारलाई तिर्छन्।
भजनी नगरपालिकाले यो नदीघाटमा वर्षातमा डुंगा र हिउँदमा काठेपुल बनाउन केही व्यक्तिलाई ठेक्कामा दिएको छ। ठेकेदारले बनाएको पुल, डुंगा र नदी तरेवापत सर्वसाधारणसँग पैसा लिन्छन्।
त्यसबाट वर्षेनी लाखौं राजश्व नगरपालिकाले उठाउँछ। स्थानीय सरकार गठन भएको पाँचौं वर्ष लाग्दा पनि पुल बनेन तर नदी र घाटमा ठेक्का चाहिँ भइरहेको त्यहाँका स्थानीयले बताएका छन्।
लालबोजीका एक जना ठेकेदारले दैनिक दुई सय भन्दाबढी मानिसहरू आफूले ठेक्का लिएको घाटमा डुंगा तर्ने गरेको बताए।
त्यसबाट दैनिक तीन हजार बढी रकम उठ्ने गरेको उनले बताए। नगरपालिकाका कर्मचारीलाई भने खोला तरेको तरेको पैसा लाग्दैन।
ती ठेकेदारले नदी तरेवापत मोटरसाइकलको ३०, साइकल र पैदलयात्रीसँग १० रुपैयाँ लिने गरेको बताए।