भक्तपुर दरबार परिसरको सिद्धिलक्ष्मी मन्दिरमा टुक्क्रुक्क बसेर उनले सुस्तरी आफ्नो हात चलाए।
रातो सर्ट र पाइन्ट लगाएका उनको हातमा हरियो पन्जा थियो। हातमा भएको चक्कुले शल्यचिकित्सकले बिरामीको घाउ कोट्याएजसरी मन्दिरका भित्ताको काप-कापसम्म पुर्याए। त्यहाँबाट झार र लेउहरू भुइँमा झर्न थाल्यो।
हामीले मन्दिरका कथा लेख्छौं–पढ्छौं। मन्दिर कसले बनाएको भन्दा प्रायः राजा/मन्त्रीको अभिलेख हुन्छ, बनाउन र संरक्षण गर्न खटिएका मान्छेको नामधरि हामीलाई थाहा हुँदैन।
त्यस्तै अभिलेख संकलन गरेर फर्किरहँदा ४२ वर्षीय लक्ष्मीप्रसाद फजूसँग मेरो भेट भएको थियो।
'मन्दिर वरिपरि मात्र होइन, बाटोको घाँस पनि उखेल्नुपर्छ,' झार खुर्किँदै उनले भने, 'लकडाउनका कारण मान्छे कम हिँड्डुल गरेर अहिले बढी घाँस भएको हो। मान्छेको चहलपहल बढ्न थालेपछि भुइँको त्यति उखेल्नु पर्दैन।'
पाँच वर्ष भयो, फजूले यसरी काम गर्न थालेको। बिहान छदेखि चार बजेसम्म उनको ड्युटी हो। त्यसबीच नौदेखि १२ बजेसम्म खाना खाने र आराम गर्ने छुट्टी पाउँछन्। त्यही बीच उनी घर गएर फर्किएका थिए।
मध्यदिनको चर्को घाम छेलेर उनी नजिकै फल्चाको भाग सफा गर्न आइपुगे। उनका हात त्यसका भित्ताका झारमा सलबलाउन थाले।
'तपाईंहरूको हाजिर हो कि, ज्यालादारी? कामको मूल्यांकन कसरी हुन्छ?'
उनले जवाफ फर्काए, 'काम कति गर्यो भन्ने त फोहोर सफा गरेको, नगरेकोबाट थाहा भइहाल्छ नि। आफैं इमानदार हुनुपर्छ।'
काम गरेको वा नगरेको हेर्न दिनको दुई-तीन पटक नगरपालिकाबाट मान्छे आउने रहेछन्। कहिलेकाहीँ फोहोर देख्दा त्यसबारे साथीहरूले स्पष्टीकरण दिनुपरेको उनले देखेका छन्। आफूलाई त्यस्तो नपरोस् भनेर उनी सजग छन्। त्यसैले बिहान ६ बजेको सट्टा पाँच बजे नै आउँछन् उनी। सरसफाइका लागि आउने अरूहरू पनि तोकिएको समयभन्दा अगाडि नै आउने गरेको उनले बताए।
त्यसको कारण बताउँदै फजूले भने, 'फोहोर बोक्ने गाडी बिहान ६ बजेतिर आइसक्छ। त्यो बेला हामी आयौं भने हतारहतार हुन्छ, फोहोर छुट्ने सम्भावना हुन्छ। त्यही भएर अगाडि नै आउँछौं। एक घन्टा अगाडि आएकाले एक घन्टा छिटो जान पाउँछौं पनि।'
बिहान दरबार परिसरमा अन्य सरसफाइकर्मीसँगै उनका पाइला फोहोर बढार्नमा जुट्छन्। दिउँसो घाँस सफा गर्न उनी र ५३ वर्षीय कान्छा गोरा खटिन्छन्।
फजूले गोल्डेन गेटदेखि यता बत्सला मन्दिर, पशुपति, अन्नपूर्ण, नारायण, सिद्धिलक्ष्मी, सिलु महादेव, पचपन्न झ्याल, च्यासी मण्डप लगायत ठाउँका घाँस सफा गर्नुपर्छ। कान्छा भने गोल्डन गेट उताको संग्रहालय क्षेत्रहरू सफा गर्छन्।
'हामीलाई दरबारको आधा आधा हिस्सा भाग लगाइएको छ,' फजूले भने, 'मेरो ठाउँमा धेरै मन्दिर भएकाले यहाँ अलि धेरै घाँस हुन्छ। उता अलि खुला ठाउँ बढी छ।'
काम गरिरहेको समयमा फजू र कान्छाको भेट आकलझुक्कल मात्र हुन्छ। नभए दिनभर बोल्ने कोही हुँदैनन्। एकोहोरो काममा खटिनुपर्छ।
कहिलेकाहीँ हुने भेटघाटमा भने उनीहरू यस्तो पनि कुराकानी गर्छन्, 'तिम्रोमा त त्यति घाँस आउँदैन है? मेरो ठाउँमा त धेरै आउँछ। जति गर्दा नि सकिन्न।'
फजूकै हिस्साको मन्दिर सिलु महादेव (फसिदेग) अहिले पुनर्निर्माण भइरहेको छ। त्यसबारे बताउँदै उनले भने, 'यो मन्दिर बनेपछि त माथिसम्मै गएर यसको पनि घाँस सफा गर्नुपर्छ। काम अझै बढ्छ।'
घाँस एकपटक सफा गर्यो, केही दिनमा पलाइहाल्छ। पानी पर्यो भने त दुई-तीन दिनमै टुसा आउँछ अनि घाँस बन्न मलजल पुग्छ। एकपटक त उनले इँटाको कुनाकाप्चामा सिमेन्ट हाल्ने कि भनेर निरीक्षकलाई भनेका रहेछन्।
'पशुपति मन्दिरमा पानी परेर धेरै घाँस उम्रिएकाले सिमेन्ट हाल्नुपर्यो भनेको थिएँ। इँटा बीचमा सिमेन्ट हाल्यो भने घाँस उम्रिदैन होला भन्ने लागेको हो,' उनले भने, 'सरहरूले कुरा राखिदिन्छु भन्नुभएको थियो। उहाँहरूको कुरा हो, हामीले भनेर हुँदैन।'
निषेधाज्ञामा कतिपय सरकारी कार्यालय बन्द भए पनि फजूको बिदा हुँदैन। बन्द हुँदैमा फोहोर हुन र घाँस उम्रिन छाड्ने भए पो! झन् ज्यालामा काम गरिरहेका उनले बिदा लिनु भनेको आफैंले घाटा बेहोर्नु हो।
'दिनको छ सय रूपैयाँ कमाइ हुन्छ। काममा आइनँ भने त त्यो पनि हुँदैन,' उनले भने, 'अर्को साथी त स्थायी छन्। उनीहरूलाई बिदाको पैसा आउँछ। हामीलाई आउँदैन।'
यो पटक निषेधाज्ञामा भने करिब एक साता उनी रोजगारबिहीन भए। घरमा श्रीमतीलाई कोरोना भएको थियो। पछि छोराछोरी हुँदै उनीसम्म पुग्यो। कोरोनाले उनलाई गलाएको थियो। त्यही भएर कामभन्दा उनलाई आफ्नै बढी चिन्ता थियो।
'दिनभर सुतेरै बित्यो। रूघा अनि ज्वरो आएको थियो। खोकी पनि लागेर बोल्न नि भएको थिएन। भाइहरूले फोन गरेर सन्चो-बिसन्चो सोद्धा बोल्न पनि सकिरहेको थिइनँ,' उनले भने।
फजूले नगरपालिकाको यो काम पाउनुअघि धेरै चरणका काम पार गरेका छन्। उनको पुर्ख्यौली पेसा खेती–किसानी हो। कमलविनायक र च्यामासिंह बीचको डुगुरेमा उनको खेत छ। त्यहाँको काम अहिले उनका आमाबुवाले सम्हालिरहेका छन्।
करिब डेढ रोपनी जग्गामा कामको चापकै कारण फजूले कक्षा दससम्म मात्र पढ्न पाए। अझै पढ्ने रहर भए पनि खेतमा काम गर्ने कोही नभएपछि छाड्नुपर्यो। उनका माइला भाइले पनि पढेनन्। अहिले सिकर्मी काम गर्छन्। दाजुहरूको मेहनतले सानो भाइलाई भने उकास्यो। उनी इञ्जिनियर छन्।
'कान्छालाई भने आमाबुवाले राम्रो पढाए, इञ्जिनियर छ,' फजूले भने।
खेती गर्दा कमाएको पैसा परिवारमै ठिक्क भएपछि फजू जागिर खोज्दै यताउता भौंतारिए। सुरूमा कागज बनाउने काम गरे। केही समयपछि स्विटर बुन्न थाले। त्यहाँ पनि सधैं काम नहुने भएपछि उनी प्लास्टिकको झोला बनाउने उद्योग गए।
ऊन रंगाउने काम पनि गरे। त्यहाँ पनि ज्याला नबढेपछि उनी यता आएका हुन्। सबभन्दा लामो समय उनी टिकेको यही काममा हो।
'पहिका कामभन्दा त यहाँ राम्रो छ,' उनले भने, 'म चुरोट नखाने, यताउता खर्च नगर्ने भएर होला, नभए दिनको छ सय रूपैयाँले अरूलाई त पुग्थेन होला है?'
उनकी श्रीमतीले केही महिनाअघि स्कुलका विद्यार्थीलाई खाजा खुवाउने काम पाएकी थिइन्। त्यो काम निषेधाज्ञाकै कारण रोकिएपछि कमाउने उनी एकजना मात्र हुन्। कोठाभाडा, घर खर्च अनि बालबच्चाको पढाइ उनकै कमाइले जेनतेन धानिएको छ।
सुरूमा नगरपालिका आउँदा उनलाई के कस्तो काम गर्नुपर्छ भन्ने थाहा थिएन। गाडीमा सामान हाल्ने-झार्ने काम गर्थे। कुहिने नकुहिने मल छुट्याउँथे। भुइँचालोपछि त्यो काम बन्द भयो। भुइँचालोमा कति घर–सम्पदा भत्किए, भग्नावशेष भए। दरबार क्षेत्र नजिकै तीन पैसा एक दाममा बनेको उनको घर पनि भत्कियो। त्यसपछि उनलाई डेराको भार थपियो।
भुइँचालोपछि कति महिनासम्म फजूको काम नगरपालिका वरिपरिको माटो उठाउने भयो। पहिले गरेको फोहोरको काम सल्लाघारीमा सरेपछि उनलाई उतै खटाइयो। यता पनि मान्छे चाहिएपछि उनी फेरि आएका हुन्।
'हामीलाई जे अह्राउँछन्, त्यही मान्नुपर्छ। जहाँ-जहाँ पठाउँछन् त्यहीँ जाने र त्यही काम गर्ने हो,' उनले भने।
फजूलाई सुरूमा 'टिपनटापन' काममा राखिएको थियो- दरबार क्षेत्रका फोहोर टिप्ने र सफा गर्ने। दिउँसो १२ देखि ७ बजेसम्म आउनपर्थ्यो। अहिले त्योसँगै घाँस पनि उखेल्नुपर्छ।
त्यही भएर आफ्नो काम वा पदलाई के भन्ने, उनलाई थाहा छैन, 'खोइ, अहिले त टिपनटापन नभएर सरसफाइ गर्ने पो मजदुर हो कि?'
मन्दिरका घाँस र धूलो सफा गर्नु त छँदैछ, मान्छेले फालेका फोहोर पनि उनका हातले समेट्नुपर्छ।
'खान्छन् अनि मन्दिरको बीचमा फालिदिन्छन्। कहिलेकाहीँ त कुनातिर दिसा–पिसाब पनि गर्दिन्छन्। त्यो सबै हामीले सफा गर्नुपर्छ। जति भने पनि मान्छेलाई विवेक आउँदैन, हामीलाई काम मात्र थपिन्छ,' उनले भने।
यो दिक्दारीबीच कतिपयले 'भक्तपुर त कति सफा छ' भन्छन्। उनका कानसम्म यो कुरा पुग्दा उनी खुसी हुन्छन् र ऊर्जा थपिने बताउँछन्।
हामी कुराकानी गर्दै जाँदा फजूको घर जाने समय हुन लागेको थियो। जाने तरखर गर्दै चक्कु, कुचो, फोहोर उठाउने सामान समेट्न थाले।
सकियो त काम?
सामान समेट्दै उनले भने, 'काम त रातदिन गरे पनि सकिँदैन। यता सकायो उता बाँकी हुन्छ। आज सफा गर्यो, भोलि फोहोर भइहाल्छ।'
केही दिनपछि दरबार स्क्वायर पुग्दा फजू र कान्छा दरबार परिसरमा सँगै कुचो लगाइरहेका भेटिए। त्यस दिन भने फजूले निलो र कान्छाले रातो लुगा लगाएका थिए। उनीहरूले काम गर्दा तीन दिन निलो र तीन दिन रातो लुगा लाउँछन्।
'बुधबारदेखि निलो लुगा लगाउनुपर्ने हो, उसले बिर्सियो कि?' फजूतर्फ इंकित गर्दै कान्छाले भने।
फजूले जवाफ फर्काइहाले, 'बिर्सिएको होइन, लुगा धोएकाले आज रातो लगाएको।'
उनको कुरा सुनेर कान्छा हाँसे। मास्क लगाएकाले उनका आँखा हेर्दै मैले मुस्कान साटेँ। कामको हतारोबीच कान्छासँग भने लामो कुरा हुन पाएन।
२३ वर्षदेखि यो काम गरिरहेका कान्छाका अनुभव पनि फजूका जस्तै छन्। पहिले डकर्मी काम गरेका उनको जीवन यहाँ आएपछि स्थिर छ। काम ठूलो, सानो हुँदैन भन्ने बुझेका उनलाई कहिलेकाहीँ घुम्न आउने मान्छेले गर्ने हेपाहा प्रवृत्ति भने मन पर्दैन। भन्छन्, 'फोहोर बाहिर होइन, डस्टबिनमा फाल्नुहोस् न भन्दा तिमीहरूको काम के भन्नुहुन्छ। त्यस्तो बेला निकै नराम्रो लाग्छ।'
फजूले पनि यस्ता वचन सामान गरिरहेका हुन्छन्। त्यस्तो बेला मान्छेसँग सवालजवाफ गर्नुभन्दा उनीहरू चुपचाप काम गर्छन्। आफ्नो जिम्मेवारी ठानेर दरबार क्षेत्र सफा गरिहाल्छन्। यहाँ आउनेले पनि आफ्नो जिम्मेवारी सोचेर फोहोर नगरिदिए कति सजिलो हुन्थ्यो!