लमजुङ सुन्दरबजार नगरपालिका-३ घर भएका ३३ वर्षीय कमलबाबु भट्ट सामाखुसी डेरा गरेर बस्थे।
उनी कमलबाबु पुरीको नाममा परिचय दिने गर्थे। यसकारण कि आफ्नो थर वास्तविक देखाउँदा कतै फसिएला भन्ने चिन्ता पनि रहेछ।
तिनै कमलबाबुले क्रेटा गाडी भन्सार छलेर नेपाल ल्याएर विक्री गर्छन् भन्ने खबर प्रहरीसम्म पुगेको थियो।
यतिमात्र होइन, नक्कली सवारी किताब लगायतका कागजात तयार गरेर उनले गाडी विक्री गर्छन् भन्ने सूचना पुगेपछि प्रहरी भट्टको पछि लाग्यो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भट्टलाई खोज्न खटियो। तीन चार दिनको खोजीपछि उनी सोमबार दिउँसो चाबहिलस्थित गोपीकृष्ण हल अगाडि भेटिएका थिए।
उनी ग३च १४६२ नम्बरको क्रेटा गाडीमा सवार थिए। उनी समातिएपछि प्रहरीहरूले खेर्न थाले- अरू गाडी पनि छन् कि!
भट्ट खुल्दै गए। त्यसक्रममा उनले अरूण खड्का, विशाल खड्का र मधु सिलवालको नाम लिए।
मधु चाँगुनारायण-२ का हुन्। अरूण चाँगुनारायण-८ का हुन्। विशाल भने फरार छन्।
अरूण र मधुले प्रदेश ३-०१-०२४ च ०२५३ नम्बरको क्रेटा गाडी लगेका थिए। उनीहरू त्यो गाडी अर्कैलाई बेच्न खोजिरहेका थिए।
भट्टको भनाइ अनुसार उनीहरूलाई खोज्दै जाँदा प्रहरीले सूर्यविनायक-६ गणेश मन्दिरमा फेला पार्यो।
यसरी तीनै जना पक्राउ परेपछि प्रहरीको शंका नक्कली कागजाततर्फ गयो।
‘तीनै जनासँग सोधीखोजी गर्दा उनीहरूले बानेश्वर भीमसेनगोलामा नक्कली ब्लुबुक बन्ने गरेको बताए,’ महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने।
मोरङ बयरवन बस्ने ४१ वर्षीय रेवतीरमण निरौला काठमाडौं-३१ पुरानो बानेश्वरमा बस्थे। उनी त्यहाँ एउटा घरको फ्ल्याट नै लिएर नक्कली सर्टिफिकेटको धन्दा चलाउँदा रहेछन्।
प्रहरी त्यहाँ पुग्दा उनको कोठामा नक्कली सर्टिफिकेट त चार बोरा नै फेला परे।
खापुङका अनुसार निरौला आफ्नै कोठामा नक्कली सर्टिफिकेट मात्र होइन, नक्कली लाइसेन्स, नक्कली नागरिकता, नक्कली ब्लुबुक, राहदानी सबै बनाउँदा रहेछन्।
उनको कोठाबाट चार बोरा नक्कली सर्टिफिकेट फेला परेका छन्। काठमाडौं विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परिषद, पूर्वाञ्चल विश्वविद्यालय, यातायात व्यवस्था कार्यालयलगायतका १९१ कार्यालयका प्रमुख, परीक्षा नियन्त्रक लगायतका छाप फेला परेका छन्।
ती छाप उनले कहाँबाट कसरी ल्याए भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।
कोठाबाट एउटा ब्यागभरि फोटो, होलोग्राम, फेला परेका छन्। उनको कोठामा रहेका केही कम्प्युटर प्रहरीले बरामद गरेको छ।
‘दुरूस्तै सक्कली देखिने खालका सर्टिफिकेट जारी गरेको देखिन्छ, यस्ता सर्टिफिकेट के कति बनाए रेकर्ड छैन,’ पंगेनीले भने।
ती सर्टिफिकेट लिएर कसले कहाँ-कहाँ जागिर खाए भन्ने पनि ठेगान छैन।
‘मैले दिएका सर्टिफिकेटबाट कति जनाले सरकारी जागिर खाए, कति प्रहरीमा पनि भर्ना भए भनेर भन्छन्,’ पंगेनीले सेतोपाटीसँग भने।
रेवतीरमणले ती सर्टिफिकेट भीमसेनगोलाकै एउटा प्रेसमा छाप्ने गर्थे। प्रहरी त्यो प्रेसमा पनि पुग्यो।
‘प्रेसमा ताला लागेको छ, प्रेस सञ्चालक सुरज महर्जन भागिरहेका छन्,’ पंगेनीले भने।
भन्सार छली गरेर ल्याइएका दुइटा क्रेटा गाडीको मूल्य झन्डै एक करोड ४० लाख रूपैयाँ रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
ती दुबै गाडीमा कमलबाबुको नाम उल्लेख गरिएका ब्लुबुक फेला परेका छन्। ती ब्लुबुक रेवतीरमणले बनाएका हुन्।
अरूण, विशाल र मधु रिकण्डिसन कार बिक्री वितरणमा संलग्न छन् भन्नेसम्म प्रहरीले पत्ता लगाएको छ।
‘पशुपतिभिजन छेउमा उनीहरूले एउटा रिकण्डिसन सेन्टर देखाएका छन्, त्यहाँ कारोबार हुन्छ हुँदैन भन्ने खुलिसकेको छैन,’ पंगेनीले भने।
अनुसन्धानका क्रममा अरूण, विशाल र मधुले ग३च १४६२ नम्बरको गाडीवापत् मधुसुदन पाण्डे र कमलबाबु भट्टलाई ३० लाख रूपैयाँमा दिएका थिए। त्यही गाडी बेच्न भने उनीहरूले अर्का एक जनासँग १९ लाख रूपैयाँ बैना लिएका थिए।
ती व्यक्ति लामो समयसम्म धाए। तर, उनीहरूले गाडी पास गर्न मानेनन्। कागजात बन्दैछ, हामी आफैं कागजात बनाउँछौं भन्न थाले। आधिकारिक निकायमा नगइकन कसरी सरकारी कागजात तयार हुन्छन् भन्ने लागेर ती व्यक्ति सशंकित हुन थाले र उनी प्रहरीसम्म पुगे।
त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा गाडीदेखि नक्कली सर्टिफिकेट कारखाना पत्ता लाग्यो।
दाङ घर भएका मधुसुदन पाण्डे भने हाल फरार छन्।
पंगेनीका अनुसार यो गतिविधिमा तीन फरक भूमिकामा फरक व्यक्ति संलग्न देखिन्छन्।
मधुसुदन चाहिँ भारतबाट भन्सार छलेर गाडी ल्याउने मुख्य व्यक्ति रहेको पत्ता लागेको छ।
उनले गाडी ल्याएर अरूण, विशाल र मधुको रिकण्डिसनमा बुझाउँथे।
कमलबाबु भट्टले नक्कली कागजात बनाउने जिम्मा लिन्थे।
‘भट्टले निरौलालाई जिम्मा लगाउँथे, कागजात बनाएर उनले दिन्थे,’ पंगेनीले भने, ‘यस्ता कति गाडी नक्कली कागजात बनाएर बिक्री गरिएका छन् थाहा छैन, झट्ट हेर्दा नक्कली नलाग्ने भएकाले राज्यका निकायहरूले पनि भेउ पाउँदैनन्।’
यो घटनाले सर्टिफिकेट नक्कली छन् या सक्कली छन् भनी जाँचबुझ गर्न चुनौती थपिदिएको एसएसपी खापुङ बताउँछन्।
‘हामीकहाँ मेसिन रिडेबल उपकरण छैन, कसरी त्यस्ता कागजात परीक्षण गर्ने, त्यसकारण यस्ता नक्कली सर्टिफिकेटबाट कतिले जागिर खाए, कति विदेशिए भन्ने ठेगान छैन,’ खापुङ भन्छन्।
विशेषगरी विदेश जाँदा त्यहाँ आकर्षक कामका लागि यस्ता नक्कली सर्टिफिकेट प्रयोग भएको हुनसक्ने अपराध अनुसन्धान कार्यालयको भनाइ छ।
सुब्बामा जागिर नपाएपछि नक्कली सर्टिफिकेटको धन्दा
पक्राउ परेका रेवतीरमणले आफूले यो काम कहिलेदेखि थालेको भन्ने खुलाएका छैनन्।
तर, प्रहरीले झन्डै एक दसकदेखि नक्कली सर्टिफिकेट बनाउने धन्दा चलाएको अनुमान गरेको छ।
बयानमा निरौलाले आफू सुरूमा निजामती सेवामा जागिर खान लागिपरेको बताएका छन्।
उनले नायब सुब्बाको वैकल्पिकमा नाम निकालेका थिए। एक वर्षसम्म पर्खे तर दरबन्दी खाली भएन।
‘जागिर नपाएपछि नक्कली सर्टिफिकेटको काम थालेको उनले बताएका छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।
‘यतिका सर्टिफिकेट, विश्वविद्यालय, संस्था, राहदानी, यातायात व्यवस्था कार्यालयका प्रमुखहरूको हस्ताक्षर किर्ते गर्नु, होलोग्राम ल्याउनु, कार्यालय प्रमुखहरूको छाप बनाउनु चानचुने भने देखिँदैन’, ती अधिकृतले थप भने।
यी काममा अरू व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने अनुमान गरिएको छ।
तर, यो सबै अनुसन्धानबाट मात्रै खुल्दै जाने अपराध अनुसन्धान कार्यालयले जनाएको छ।