आन्दोलनकारीलाई बोलाएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले असामान्य गतिविधि गर्न थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार हुने भनिएको वार्ता सुरु नभई भाँडिएको छ ।
उपकुलपति गिरी मदिरामा लट्ठ बनेर आएको आरोप लगाउँदै आन्दोलनकारी चिकित्सक, विद्यार्थी र कर्मचारीले अहिले उनलाई वार्तास्थलमै थुनिदिएका छन्। प्रतिष्ठान परिसरबाहिर उपकुलपतिविरुद्ध चर्को नाराबाजी भइरहेको छ ।
‘भिसी सर मदिरामा लट्ठ बनेर आएको पायौं त्यसैले सुरू नभई वार्ता भाँडियो’, आन्दोलनकारी विद्यार्थीका अगुवा डा. अमृत जैसीले सेतोपाटीसँग भने, ‘अहिले विद्यार्थी साथीले उहाँको मापसे चेक नगरी बाहिर निस्कन नदिने भनेर उहाँललाई वार्ता स्थलमै नियन्त्रणमा राखेका छन् ।’
दुई सातादेखि आन्दोलनरत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीलाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मंगलबार दिउँसो वार्ताका लागि भन्दै पत्र पठाएका थिए ।
आन्दोलनको १४ औं दिन सोमबारदेखि रिले अनशनमा रहेका चिकित्सक, विद्यार्थी तथा कर्मचारीले यसलाई सकारात्मक रुपमा लिएर ११ सदस्यीय वार्ता टोली गठन गरे।
सोमबार साँझ मात्रै उपकुलपति गिरी काठमाडौंबाट धरान आइपुगेका थिए। उनले अन्य पदाधिकारीसँग बिहान छलफल गरेपछि आन्दोलनकारीलाई औपचारिक रुपमा पत्र पठाएर वार्ताका लागि बोलाएका थिए। तर, वार्तास्थलमा आन्दोलनकारी टोली पुग्ने बित्तिकैदेखि उनले असामान्य व्यवहार गरेको र आन्दोलनकारीहरु यस्तो अवस्थामा वार्ता गर्न नसकिने भन्दै बाहिर निस्केको सहभागगिले बताएका छन् ।