संस्था हाँक्ने जिम्मेवारी पाएका पदाधिकारी स्वयंले त्यसलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने थलो बनाउँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निरन्तर दुर्घटना उन्मुख बनेको छ।
केही सातायता प्रतिष्ठानभित्र मात्रै आन्दोलन सीमित छैन, नागरिक तहमा पनि दबाब अभियान जारी छ। भित्र र बाह्य दुबै आन्दोलनकारीको आरोप एकै छ - प्रतिष्ठान पदाधिकारीहरूको व्यक्तिगत स्वार्थको बन्धक बन्यो।’
आन्दोलनकारी चिकित्सक र वरिष्ठ प्राध्यापकहरु भन्ने गर्छन्, ‘प्रतिष्ठानको अवस्थासँग कोही पनि सन्तुष्ट छैन पदाधिकारीहरूबाहेक। उनीहरूबीचमै पनि एकता भने छैन।’
एक-अर्काबीच चरम अविश्वासबाट गुज्रिरहेका उनीहरूबीचमा को अघि बढ्ने भन्ने प्रतिस्पर्धा रहेको आन्दोलनकारीको भनाइ छ। मंगलबारको घटनाले यसलाई थप पुष्टि गरेको छ।
आन्दोलनकारीसँग वार्ता गर्नुअघि उपकुलपति गिरीसहितका पदाधिकारीबीच विभिन्न चरणमा लामो छलफल भएको थियो। उनीहरूबीच छलफलपछि मात्रै आन्दोलनकारीलाई वार्ताका लागि डाकिएको थियो।
‘उपकुलपति मदिरा सेवनले लठ्ठ भएकोबारे अन्य पदाधिकारी पूरै जानकार थिए,’ बिपी प्रतिष्ठान व्यवस्थापनको उच्च कर्मचारी स्रोतले भन्यो, ‘तर, अन्य पदाधिकारीले उपकुलपतिलाई एक्सपोज गर्ने नियत राखेर वार्ताका लागि उक्साए। यो डिजाइनमा अन्य दुई पदाधिकारी सफल रहे।’
उपकुलपति गिरीसँग मंगलबार रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र शिक्षाध्यक्ष प्रा. डा. गुरु खनाल साथैमा थिए।
अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह भने कोभिड पोजिटिभ देखिएपछि अनुपस्थित थिए। आन्दोलनकारीसँग वार्ता गर्नुअघि नै जानकार अन्य दुई पदाधिकारीले उपकुलपतिलाई किन रोकेनन्?
रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले त्यसबारे आफूहरूलाई केही जानकारी नभएको दाबी गरे। ‘अहिले हामीलाई आन्दोलनकारीले थुनेका छन्, हामी सँगै छौं,’ सेतोपाटीसँगको फोन सम्पर्कमा गिरीले भने, ‘हामी यहाँ पनि मास्क लगाएर बसेका छौं। त्यस्तो कुरा कसरी थाहा हुन्छ?’
आन्दोलनकारीहरू भने अन्य दुई पदाधिकारीले उपकुलपतिलाई कुनै न कुनै रुपमा दोषी देखाउन पाए आफूहरूको दिन फर्कने ठानेर मदिराले मातेका उनलाई वार्ताका लागि उक्साएको हुन सक्ने बताउँछन्।
‘उहाँहरूबीचमा मुख्य रुपमा बिपी बचाउने भन्दा पनि आफू कसरी शक्तिशाली हुने भन्ने होड छ,’ एक आन्दोलनकारी चिकित्सकले भने, ‘त्यसैले मंगलबारको घटना भयो।’ ती दुई पदाधिकारीले चाहे अनुसारको अवस्था बिपीमा सिर्जना भएको बताउँदै ती चिकित्सकले भने, ‘हाम्रो आन्दोलन बिपी बचाउने कुरामा लक्षित छ। तर, आजको घटनाको प्रत्यक्ष फाइदा ती दुई पदाधिकारीलाई हुने भयो। यहाँको बेथितिले त्यसैका सर्जकलाई फाइदा पुर्याउने गरेको छ।’
उनका अनुसार १५ महिना अघि नियुक्त भएका उपकुलपति र त्यसपछि नियुक्त रजिष्ट्रार रेग्मीबीच सुरूमा एकदमै राम्रो सम्बन्ध थियो। तर, केही समययता उनीहरू दुई बीचमा राम्रो सम्बन्ध छैन। त्यसैले उनीहरू एक-अर्काप्रति सकारात्मक छैनन्। ‘त्यसको प्रमाण आज देखियो,’ आन्दोलनकारी ती चिकित्सकले थपे, ‘दुबैको दाउ आफ्नो स्वार्थ सेक्ने हो। उनीहरूबीचको यही रडाकोले पनि बिपीलाई धरासायी बनाउँदै लगेको हो।’
सम्बन्धित समाचार :
मदिरामा लठ्ठिएका उपकुलपतिको हर्कतले भाँडियो बिपीको वार्ता
भ्रष्टाचार र अनियमितताले सधैं आन्दोलनको भुंग्रोमा परेको बिपी प्रतिष्ठान