गएको पुसमा क्युडी गाउँमा डोजर पुग्यो।
यो गाउँ बाजुराको हिमाली गाउँपालिका-५ मा पर्छ।
गाउँमा डोजर पुगेपछि विकास आयो भनेर गाउँलेहरूले यति खुसी भए कि, खसी नै काटे। माला उनेर चालक र गाउँमा बाटो बनाउन डोजर पुर्याउने ठेकेदारलाई पहिर्याए। अबिर मालाले स्वागत-सम्मान गरे।
यो सडक प्रदेश सरकारको योजनाअनुसार खन्न सुरू गरिएको थियो।
‘डोजर पुगेपछि गाउँका बुढापाका, महिला र बच्चाबच्ची खुब खुसी भएका थिए। बुढापाकाले गाडी देखेर मर्ने भयौं भनें। हामी पनि मख्ख पर्यौं,’ स्थानीय वीरबहादुर बुढाले भने।
क्युडीका बासिन्दाले चामल, दाल, नुन, तेल, कपडा आदि सबै किन्न दिनभरि हिँडेर क्वारी भन्ने ठाउँ जानुपर्थ्यो।
अब नुन, चामल घरकै दैलामा किनेर खान पाइने भयो भन्ने सोच्दा गाउँलेलाई वर्षौंदेखिको दु:ख चौतारोमा बिसाएजस्तै भएको थियो।
क्युडी गाउँको तलबाट घट्टे खोला बग्छ। त्योभन्दा अझै तल प्याउडा खोला।
घट्टेखोलाले गाउँ बसेको जमिनको जग कटान गरिरहेकै थियो। त्यही खोलाको केही माथिबाटै हिउँदमा डोजर हिँड्यो। खोला र बस्तीबीचमा ५ महिनादेखि डोजरले सडक खनिरहेको छ।
डोजरले विकास ल्यायो भनेर ९७ घरधुरी भएको बस्तीमा आएको रौनक सेलाउन नपाउँदै बर्खा आइपुग्यो।
जब बर्खा आयो जमिन भासिन र चिरा पर्न थाल्यो। वस्तीको माथिदेखि तलै खोलासम्म चिरा परेको गाउँलेहरू बताउँछन्।
तिनै चिरा परेको माटोमा बर्खाको पानी पस्यो पहिरो जान थाल्यो।
असारको सुरूकै दिनदेखि परेको पानीले ६ गते पहिरो आएको थियो।
५० वर्षका ज्ञानी बुढाको घर त पहिरोले बगाइदियो।
उनी तीन केटाकेटीसहित पाँच जनाको परिवार लिएर लेकमा पाल हालेर बसेका छन्।
बस्तीमुनि र माथिपट्टी नै पहिरो जान थालेपछि गाउँलेहरू आत्तिए।
‘के गर्ने दुर्गममा सञ्चार छैन। पहिरो आएको ३ दिनसम्म कसैको भेट भएन। प्रहरी चौकीमाका फोन लागेन,’ स्थानीय वीरबहादुर बुढाले भने। उनको ८ जनाको परिवार पनि अहिले लेकमा सरेको छ।
प्रहरीलाई फोन नलागेपछि गाउँपालिकामा फोन गरेर त्यहाँबाट खबर गरिएको थियो। तीन दिनपछि खबर पाएर प्रहरी आए। त्यहाँ जोखिम भएकाले प्रहरीले सुरक्षित ठाउँमा बस्ती सार्न भने।
‘प्रहरीले आजभन्दा भोलिको डर हुन्छ भने पछि सरेर आयौं,’ वीरबहादुरले भने।
धेरैजसो परिवारले गाउँ छोडेर लेकमा सरेका छन्।
‘यहाँ त्रिपाल सबैको छैन, एकैमा तीन/चार परिवार मिलेर बसिरहेका छौं, हामी कृष्ण रोकाया, कार्तिके रोकाया र मेरो परिवार एक पालमा छौं,’ उनले भने।
लेकमा रहेको भैंसीगोठमा उनीहरूले खाना बनाउने गरेका छन्।
घरमात्र होइन गाउँलेको खेत पनि पहिरोले बगाएको छ। सुपको खेत र गाउँको खेत गरी आफ्नोमात्र ३ रोपनी जग्गा पहिरोले बगाइदिएको वीरबहादुरले बताए।
‘गाउँभरिको १६ रोपनी जति जमिन बगेको छ,’ उनले भने।
वडा अध्यक्ष आएर उनीहरूलाई त्रिपाल दिउँला भनेर गएका छन्। ज्यान जोगाउन लेकमा सरे पनि त्रिपालमा बस्न उस्तै समस्या छ।
‘पानी छैन। पाइप पहिराले लगिहाल्यो। जंगल हुँदै नजिकैको चिप्ल्यानी खोलाको पानी खाने गरेका छौं। जंगलमा बच्चाबच्ची डर मानेर जाँदैनन्, खोला पुग्नै २० मिनेट लाग्छ,’ वीरबहादुरले भने।
पहिरोले गाउँलेको घरबाहिर खाद्यान्न राख्न बनाएको खाल्डो पुरेपछि धान, कोदो र अरू अनाज कुहिएको पनि वीरबहादुर बताउँछन्।
भिजेर नकुहिएको खानेकुरा सुकाएर खाइरहेका उनले बताए।
लेकमा सोलारका पाता भने उनीहरूले लग्न पाएका थिए। जो मोबाइल चार्ज गर्न काम लागेको छ।
‘पानी नपरेरमात्र यहाँ बसेकै छौं। पानी परे काँ जाने?,’ उनले भने।
उनी हुर्केर जान्ने भएदेखि कहिल्यै गाउँमा पहिरो गएको थिएन। यही वर्ष पहिरो आयो।
‘हिउँद पानी परेन, वर्षा धेरै भयो, त्यसैले पहिरो गयो कि?,’ उनी अड्कल काट्छन्।
यसबाहेक डोजरले खनेको बाटोका कारण पहिरो गएको कतिपय स्थानीयको भनाइ छ।
'डोजरले बाटो खन्दा जमिन काँपेको थियो,' वीरबहादुरले भने।
गाउँमा प्रदेश सरकारले सडकको योजना पारेपछि गत वर्षबाट उक्त सडक खन्ने काम सुरू भएको थियो।
गाडीमा आवतजावत गर्न पाइने, सुखका दिन आउने अपेक्षा राखेका स्थानीयको त्यही सडकका कारण अहिले उठीवास लागेको छ।
‘ठेकेदारले जान्नुपर्ने हो, त्यहाँका मान्छे सोझा छन्, गाउँमा रोड आउने भयो भनेर खुसी भए, यस्तो पहिरो आउला भनेर सोचेका थिएनन्,’ हिमाली गाउँपालिका-४ का अध्यक्ष रमेश विकले भने।
रोड बनाउने विषयमा योजना प्रदेशबाट आएकाले स्थानीय तहसँग सल्लाह नभएको उनले बताए।
‘हामीले रोड बनाउने काममा कुनै पनि हिसाबले प्रश्न गरेको भए विकासविरोधी भनेर ठूलो विषय हुन्थ्यो। प्रदेशले बाटो ल्याएकाले स्थानीय सरकारबाट हस्तक्षेप गर्ने कुरा आएन, अहिले यस्तो जोखिम बढ्यो,’ उनले भने।
गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले त्यो वस्ती पहिलेदेखि नै जोखिममा रहेको बताए।
‘यसै त माथिबाट पहिरो आउने अवस्था थियो। अहिले गाउँकै तलबाट १० मिटरको सडक डोजरले खनेकाले जोखिम बढेको सही हो,’ उनले भने।
पहिरोको जोखिम छ/छैन। बस्तीलाई कति असर हुन्छ भनेर सडक बनाउनुअघि नै वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने थियो।
तर प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरेको कुरा स्थानीय सरकारले समेत थाहा पाएको छैन।
सडक खन्ने ठेक्का पाएका बाजुराको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले हो। डोजर उनकै हो।
उनलाई पनि वातावरणीय प्रभाव मूल्याङ्कन भए/नभएको थाहा छैन। उनले पूर्वाधार विकास कार्यालयलाई थाहा हुने बताए।
पूर्वाधार विकास कार्यालय अछामका एक अधिकारीले यस्ता साना योजना कहाँ बन्ने कति बजेट भन्ने पक्का नै नहुने भएकाले वातावरणीय प्रभाव मूल्यांकन गर्ने चलन नभएको बताए। उनका अनुसार यो योजनाको पनि इआइए भएको छैन।
सुदूरपश्चिमका दुर्गम ठाउँमा बन्ने कतिपय सडकहरू वातावरणीय प्रभाव मूल्यांकन नै नगरी डोजर प्रयोग गरिदा यस्तो जोखिम निम्तिने गरेको छ।