गत सोमबार टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले उमेर हदका कारण अवकास पाए। २०४१ सालदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका डा. राजभण्डारी २०७६ फागुन १९ गते टेकु अस्पतालको निर्देशकको भूमिकामा आएका थिए।
उनी जुनबेला टेकु अस्पतालको नेतृत्व सम्हाल्न आए, त्योबेला नेपालमा कोरोना संक्रमण मत्थर भएर पुनः फैलिने क्रममा थियो। अस्पतालमा विस्तारै संकास्पद विरामीहरूको चाप बढ्दै थियो। टेकु अस्पतालमा पनि दिनुहँ त्यस्ता विरामीहरू जाँच गर्न आउने क्रम बढ्दै थियो। सबै अस्पताललाई संक्रमितको उपचारका लागि बेडलगायत आवश्यक पूर्वाधार तयार पार्नुपर्ने थियो।
तर त्यो बेला टेकु अस्पतालमा बेडदेखि, आइसियू, भेन्टिलेटर सबै अभाव थियो। यतिसम्म कि अस्पतालमा राम्रो बिजुली र पानीको सप्लाइ पनि थिएन। डा. राजभण्डारीले सेतोपाटीसँग भने, 'म आउँदा केही पनि थिएन। डेडिकेटेड बिजुली, पानीको सप्लाई थिएन। विरामीका लागि बेडको राम्रो व्यवस्थापन थिएन। त्यसमाथि अक्सिजनको समेत राम्रो व्यवस्थापन थिएन।'
टेकु अस्पताल कोरोना संक्रमितको पहिलो उपचार गर्ने अस्पताल भएकाले पनि संक्रमण फैलिएको अवस्थामा सरकारले जुनसुकै बेला पनि अस्पताललाई 'कोभिड डेडिकेटेड' अस्पताल बनाउन सक्थ्यो। तर त्यसका लागि पूर्वाधारको हिसाबले अस्पताल तयार थिएन। यो कुरा नयाँ निर्देशकको रुपमा आएका डा. राजभण्डारीलाई राम्रोसँग थाहा थियो। त्यसैले उनले पहिला बेड र अक्सिजनको राम्रो व्यवस्थापन गर्नुपर्छ भनेर कस्सिए।
उनले भएका बेडहरूलाई व्यवस्थापन गरे र थप बेडहरू विस्तार गरे। सबैभन्दा महत्वपूर्ण कुरा त उनले बेलैमा लिक्विड अक्सिजन ट्यांक जडान गरे। किनभने कोरोनाको सबैभन्दा ठूलो उपचार नै अक्सिजन रहेको डा. राजभण्डारीले बुझेका थिए। त्यसैले उनले तीन महिनाभित्रै अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान गरे। नभन्दै कोरोना संक्रमण उत्कृर्षमा पुगेका बेला ठूल्ठूला अस्पतालहरू अक्सिजनको चरम अभावसँग गुज्रिँदा टेकु अस्पतालले त्यो समस्या झेल्नुपरेन।
'पहिले इमर्जेन्सी र आइसियू वार्डमा ५-६ वटा सिलिण्डर राखेर अक्सिजन चलाइएको रैछ। लिक्विड ट्यांक राख्दा सजिलो र सस्तो पनि हुन्छ भन्ने कुरा मलाई पहिलेदेखि नै थाहा थियो। त्यसैले तीन महिनाभित्र लिक्विड ट्यांक जोड्ने काम गरिहालेँ,' उनले भने।
अक्सिजनको व्यवस्थापन गरेपछि सघन उपचार सेवाका लागि आइसियू र भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्ने थियो। आफू निर्देशक भएर आउँदा अस्पतालमा जम्मा दुईटा आइसियू र भेन्टिलेटर रहेको भन्दै पछि त्यसलाई विस्तार गरिएको बताए। हुन पनि २०७६ को चैतमा हामी निर्देशक राजभण्डारीलाई भेट्न जाँदा अस्पतालमा आइसियू कक्ष बनाउने काम धमाधम हुँदै थियो। अहिले अस्पतालमा २४ वटा आइसियू र २१ वटा भेन्टिलेटर छन्।
तर गत चैतदेखि जब संक्रमणको दोस्रो लहर भयावह हुन सुरु गर्यो त्यसपछि अस्पताललाई संक्रमितको व्यवस्थापन गर्न गाह्रो भयो। अक्सिजन नभएको भन्दै ठूल्ठूला निजी अस्पतालहरूले समेत विरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाए। त्यसले झन् सरकारी अस्पतालहरूमा विरामीको चाप थामिनसक्नु भयो। टेकु अस्पताल पनि त्यसकै चपेटामा पुग्यो। संक्रमणको पहिलो लहरमा ५०/६० जना विरामीको उपचार गरेको टेकु अस्पतालमा दोस्रो लहरमा विरामी संख्या सय नाघ्यो। अस्पतालमा भएका बेडहरू सबै भरिभराउ भए।
डा. राजभण्डारी अहिले पनि आफूलाई रातभर बेडको खोजीमा तारन्तार फोन आएको सम्झिन्छन्। उनले दिनहुँ पाँच सय बढी फोनहरू बेड सोध्नेको मात्र आउने भन्दै धेरैलाई भर्ना गर्न नसकिएको सुनाए। तर पनि भएका विरामीको उपचारको राम्रो प्रबन्ध गर्न र अस्पताल आँगनमै आइसकेका विरामीलाई जसरी पनि व्यवस्थापन गर्न डा. राजभण्डारी जुटिरहे। यतिसम्म कि अस्पतालको बेडहरू भरिभराउ भएपछि उनले इमर्जेन्सीको ढोका बाहिरै कुर्सी र बेन्चलाई बेड बनाए। त्यहीँ बेडमा कति विरामीहरूले अढेस लागेर उपचार पाए र निको भएर घर फर्किए।
तर विरामीलाई त्यसरी कुर्सी, बेन्च र भुइँमा म्याट ओछ्याएर राख्दा बेलाबेला आउने पानी र जेठको मध्य गर्मीले सकस भयो। त्यसपछि अस्पतालको आँगनमै निर्देशक राजभण्डारीले अस्थायी टहरा बनाए। कुर्सी र बेन्चमा रहेका संक्रमितलाई टहरामा सारे। त्यो बेला संक्रमितको व्यवस्थापन गर्न धेरै समस्या झेलेको सुनाउँदै डा. राजभण्डारीले भने, '१ सय ३८ जना संक्रमित भर्ना भएका थिए। नयाँ विरामीको लागि ठाउँ थिएन, अक्सिजन थिएन। त्यो बेला विरामीलाई परेको दुःख देखेर रोएको छु। मैले ३६ वर्ष यो सेवामा काम गरेँ तर यसरी रोएको पहिलोपटक हो।'
डा. राजभण्डारीले लिक्विड अक्सिजन ट्याङ्क त जडान गरेका थिए तर दोस्रो लहरमा संक्रमितलाई यति धेरै अक्सिजन चाहियो कि, त्यसले समेत धान्न सकेन। सरकारले कोटा प्रणालीबाट सय सिलिण्डर अक्सिजन त दिन्थ्यो तर त्यो पनि सहज आपूर्ति नहुँदा अस्पताललाई हम्मेहम्मे पर्थ्यो। एकदिन त भर्ना भएका विरामीलाई समेत अक्सिजन नपुग्ला जस्तो भयो। त्यसपछि आफूले तत्काल दश थान अक्सिजन कन्सन्ट्रेटर किनेर ल्याएको डा. राजभण्डारीले सुनाए।
यसरी दोस्रो लहरमा पनि उनले टेकु अस्पतालमा उपचार चुस्त बनाउन डटेर लागे। विरामीको मनोबल बढाउन बेलाबेला उनीहरूको बेड पुगिरहे। अस्पतालका एक चिकित्सक भन्छन्, 'अघिल्लो निर्देशकभन्दा उहाँले अस्पतालमा राम्रो गर्नुभएको हो। कोरोना अवधिभर सक्रिय रहनुभयो। विरामीसँग आफै कुराकानी गर्नुभयो। पिसीआर परीक्षण गर्न आएका मानिससँग पनि लाइनमै आएर सोधपुछ गर्नुहुन्थ्यो।'
तर संकटको बेला राज्यको संयन्त्रहरूले चाँडो रेसपोन्स भने नगर्ने डा. राजभण्डारी बताउँछन्। सरकारकै तीन वर्षअघिदेखिको टेकु अस्पताललाई तीन सय शैय्याको अस्पताल बनाउने योजनालाई आफूले पूरा गर्न हरसम्भव प्रयास गर्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको उनको असन्तुष्टि छ। 'सरकारले नै दुई तीन वर्षदेखि ३ सय शैय्याको अस्पताल बनाउने भनेको थियो। मैले त्यत्रो दुःख गर्दा, यसोउसो गरौं भन्दा मन्त्रालयले कुनै चासो देखाएन। खाली उडाइदियो मात्र,' उनले भने 'म त त्यहाँबाट बिदा भए तर यो काम छिट्टै पूरा होस्।'
गत सोमबारबाट अवकास पाएका राजभण्डारी अहिले घरमै बसिरहेका छन्। उनले आफूलाई कोरोना संक्रमण पनि पुष्टि भएको भन्दै अहिले घरमै आराम गरिरहेको बताए। उनले अवकासपछि पनि आफू स्वास्थ्य क्षेत्रमै सक्रिय रहेने बताउँदै भने, 'यहीँ क्षेत्रमा सक्रिय हुन्छु। विरामीको सेवामा खटिन्छु।'