उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई र बेलाहा बस्ती जोड्ने त्रियुगा नदीको पक्की पुल हिजो (शनिबार) भत्किएको छ।
असारभित्र निर्माण सम्पन्न गरी उद्घाटन गर्न लागिएको पुल बाढीले भत्काएको हो।
पुल भत्किँदा ४८ वर्षीय स्थानीय अख्तर मियाँ घाइते भएका छन्। पुल भाँच्चिएर बीचमा फसेका मियाँको स्थानीयले उद्धार गरेका थिए। स्थानीय भास्कर चौधरीले सेतोपाटीसँग भने, 'उहाँ आफ्नो व्यापारको काम सकेर घर फर्किनु हुँदै थियो। पुल भत्किएपछि उहाँ पनि स्ल्याबसँगै तल खस्नुभयो। धन्न स्ल्याब बाढीमा डुब्न पाएन। पछि स्थानीय युवाले उहाँको उद्धार गरे।'
पुल भत्किएपछि स्थानीयहरूमा निराशा छाएको छ। अहिलेसम्म डुंगाको सहायताले नदी वारपार गर्दै आएको भन्दै भास्करले फेरि दुःख जस्ताको त्यस्तै भएको बताए।
'प्रतिव्यक्ति २० रुपैयाँ तिरेर डुंगाबाट आवत-जावत गरिन्थ्यो। पुल सञ्चालनमा आउने भएपछि गाउँबासी नै खुसी थिए। पुलको उद्घाटन भएको थिएन तर मानिसहरू साँझ पुलमाथि झुम्मिन्थे,' उनले भने, 'अब फेरि उही दुःख भयो। अब फेरि बन्छ/बन्दैन थाहा छैन।'
पुलको निर्माण काठमाडौंस्थित महालक्ष्मी लोकप्रिय जेभी कम्पनीले गरेको हो। कम्पनीले २०६७ सालमा तीन वर्षभित्र निर्माण सक्ने गरी उक्त पुलको ठेक्का पाएको थियो। तर कम्पनीले प्राविधिक कारण देखाउँदै तोकिएको समयमा निर्माण सम्पन्न गरेन। त्यसपछि २०७७ साल चैत मसान्तसम्म निर्माण सक्ने गरी दोस्रो पटक म्याद थपियो। तर उक्त समयभित्र पनि निर्माण सकिएन।
थप गरिएको म्यादमा पनि निर्माण नसकिएपछि कम्पनीले जरिवाना तिरेर यही असारभित्र निर्माण सम्पन्न गर्ने भन्यो। गाईघाट-दिक्तेल सडक योजना प्रमुख गोपाल खकुरेलले सेतोपाटीसँग भने, 'बीचमा अलिकति कोभिडले पनि काममा असर गर्यो। पछि कम्पनीले जरिवाना तिरेर यहीँ असारभित्र निर्माण सक्ने गरी गत मंसिरबाट कम्पनीले काम सुरू गरेको थियो। तर लगातार आएको बाढीका कारण पुल भत्कियो।'
उनले प्रारम्भिक बुझाइअनुसार बाढी फिजिएर बग्नु पर्नेमा एकै ठाउँतिर बग्दा पुलमा क्षति पुगेको देखिए पनि थप कारण बुझ्न छानबिन समिति गठन गरिने जनाए।
'अहिलेलाई हेर्दा नदीमा आएको बाढी फिजिएर बग्नु पर्नेमा एकै ठाउँबाट बगेर पुल भत्किएको भन्ने देखिन्छ। तर थप कारण बुझ्न छानबिन समिति गठन हुन्छ,' खकुरेलले भने।
११ करोड २६ लाख लागतमा निर्माण थालिएको पुलको लम्बाई २ सय ८५ मिटर र चौढाई साढे पाँच मिटर छ।
चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले ठेकेदार कम्पनीले असारभित्र पुल हस्तान्तरण गर्ने कुरा गरेको भन्दै पुलको उद्घाटन गर्न नपाइ भत्किएको जनाए।
'बल्लबल्ल ११ वर्ष लगाएर यसपालि असारमा बुझाउने कुरा थियो। काम त सकिनै लागेको थियो। मोटरसाइकल र मानिसहरू आवतजावत गर्न थालेका थिए। अन्तिम स्ल्याबको ढलानमात्र खोल्न बाँकी थियो,' उनले भने।
मेयर राईले केही दिनदेखि आएको लगातार बाढीले पुलमा क्षति पुर्याएको बताए। उनले बाढी कोल्टिएर एउटै पिल्लरलाई हान्दा पहिलो पिल्लर बाङ्गिएको र त्यसका कारण दोस्रो स्ल्याब झरेको जनाए।