'सुनारले कमाउँदै नकमाउने। दमैले सिउँदै नसिउने। सार्कीले जुत्ता लाउनै नदिने। हामीले गरेको कामले तिम्लाई सजिलो हुने, हामीलाई तिम्ले पल्लो छेउ बार्ने?'
नेपालको पहिलो दलित विद्रोहमा उठेका एजेन्डा हुन् यी।
घटना विक्रम सम्बत् २००३ सालको हो। देशमा राणा शासनविरोधी आन्दोलन सुरू भएको थियो। आन्दोलनको प्रभाव दलित समुदायमा पनि देखिन थाल्यो। उनीहरू युगौं युगदेखिको दलनविरूद्ध संगठित हुँदै जुर्मुराउन थाले।
त्यही क्रममा दलितहरूको पहिलो संगठित आन्दोलन बाग्लुङमा भयो, जसको नेतृत्व भगत सर्वजीत विश्वकर्माले गरेका थिए।
भगत सर्वजीतको जन्म १९५० चैत ११ गते अहिलेको बाग्लुङ नगरपालिका-७, गैरागाउँ (ठाडास्वाँरा) मा भएको थियो। उनी सानै उमेरमा काम खोज्दै भारतको वनारस पुगे। त्यहाँ रहँदाबस्दा उनलाई पढ्न मन लाग्यो। त्यति बेला धेरै नेपाली पढ्न वनारस नै जान्थे।
वनारस पढ्न जानेहरू अधिकांश ब्राह्मण परिवारका हुन्थे। दलितलाई पढ्न दिने कुरै थिएन।
जब भगत वनारसमा पढ्न थाले, उनलाई नेपाली समाजको अनुहार झलझली याद आयो, जहाँ धर्म र शास्त्रका नाममा विभेदको महासागर थियो। राज्यको विभेदकारी नीतिले नै दलितलाई अछुत बनाएर राखेको थियो।
वनारसमा हिन्दू धर्मका ग्रन्थहरू कण्ठस्थ पारेका भगत नेपाल फर्केर केही गर्नुपर्छ भन्नेमा कटिबद्ध थिए। यो १९९७ सालतिरको कुरा हो। बागलुङको मूलपानी फर्केर उनले गाउँका पण्डितहरूसँग मुकाबिला गर्न चाहे। गाउँका सारा विश्वकर्मालाई हिन्दु धर्मका कुनै पनि ग्रन्थमा छुवाछुत नभएको भन्दै प्रशिक्षित गरे।
त्यति बेला भगवत सर्वजीतसँगै दलित विद्रोहमा होमिएका रामशरण विश्वकर्मा अहिले ९८ वर्षका छन्। उनका अनुसार त्यो विद्रोह क्रममा उपल्लो जातका व्यक्तिले भगतलाई कुटपिट गर्नेदेखि प्रशासन लगाएर जेल हाल्ने घटना कयौंपटक भए।
भगत सर्वजीतले भने हार मानेनन्, समानताको आवाज जीवनपर्यन्त उठाइरहे।
'भगत सर्वजीत छोरा जन्मिएपछि आफैं पण्डित बने। आफैं छोराको न्वारन गर्न लागे। आँगनमा जग्गिया बनाइयो। वैदिक न्वारन गरेर भगतले शंख फुके। दलितको घरमा शंखको धुन सुन्दा गैरदलितलाई सह्य भएन। उनीहरू उर्लिएर सर्वजीतको घर पुगे। छोराको न्वारन गर्न बनाइएका जग्गिया भत्काइदिए। दलित भएर शंख बजाउने? हाम्रो मानहानी गर्ने? भन्दै उनीहरू तोडफोडमा ओर्लिए,' रामशरण सम्झन्छन्।
'यही घटनापछि विश्वकर्माले आरन भाँच्ने, परियारले कपडा सिलाउने मेसिनको सियो भाँच्ने र सार्कीले जुत्ता सिलाउने सियो भाँच्ने आन्दोलन चर्कियो। गैरदलितहरूले हाम्रो प्रतिरोध देखी सहेनन्। उनीहरूले प्रहरी र राणाकालीन प्रशासनिक अड्डा लगाएर भगत सर्वजीतलाई दण्ड दिए।'
सर्वजीत दण्डित भए पनि उनले सल्काएको आगो दलित समुदायमा प्रतिरोधको ज्वाला बनेर दन्किन थालिसकेको थियो।
'सर्वजीतले घरमै शंख पुगेर उद्घोष गरेको विद्रोहको छिटा छिमेकी जिल्लासम्म पुग्यो। बाग्लुङसहित पर्वत, म्याग्दीका चार हजार दलितहरू आन्दोलनमा साथ दिन जागरूक बने। बागलुङकै भालुमारे भन्ने ठाउँमा एउटा ठूलो चउर छ, त्यहाँ पहिलोपटक छिमेकी जिल्लासहितका दलित अगुवाहरू भेला भए। चार थुमका मान्छेले आन्दोलन अघि बढाए।'
अरू मानिसजस्तै समान रूपमा बाँच्न पाउनुपर्ने एजेन्डा बोकेर भगत सर्वजीतले त्यो भेलाबाट विश्व सर्वजन संघ नामक संगठन खोले। संगठनको मुख्य उद्देश्य नै छुवाछुत र विभेदविरूद्ध आन्दोलन गर्नु थियो। राणाकालीन दबदबामा पनि संगठनले आन्दोलन अघि बढाइछाड्यो।
यही आन्दोलनबीच भगत सर्वजीत पक्राउ परे। बाग्लुङबाट उनलाई थुन्न रातारात हिँडाएर पाल्पा गौंडा पठाइयो। प्रहरीले मुखमा बुट बजार्थ्यो, तै सर्वजीतले आवाज उठाउन छाडेनन्।
पाल्पा पुर्याएपछि भगत सर्वजीतलाई सोधियो, 'तँ को होस्?'
उनले जवाफ दिए, 'म भगत सर्वजीत विश्वकर्मा।'
त्यसपछि प्रहरीले 'तँ कामी होस्' भनेर मुखमा बुटले हिर्काए। उनको मुखबाट रगत बग्न थाल्यो। उनका हात बाँधिएका थिए। खुट्टामा ठेड्का लगाइएको थियो। प्रहरीको बुटले भगतको दाँत झर्यो। तै पनि उनी यातनाबाट विचलित भएनन्।
‘कामी भनेर कुन गीतामा, कुन वेदमा, कुन उपनिषदमा लेखिएको छ?' उनले प्रहरी अधिकारी र राणा शासकका स्थानीय प्रतिनिधिलाई ठाडै चुनौती दिए, ‘छुवाछुत कहाँ छ? सानो जात र ठूलो जात भनेर हिन्दु धर्मको कुन ग्रन्थमा लेखिएको छ? यसबारे नेपालका पण्डितसँग शास्त्रार्थ गर्न सकिन भने म यहीँ आत्महत्या गर्छु।’
त्यसपछि प्रहरी अधिकारी र स्थानीय प्रतिनिधिले पाल्पाबाटै राणा शासकलाई खबर पुर्याए, ‘ल हजुर सकिएन, शास्त्रार्थ गर्नुपर्ने भयो।’
तत्कालीन श्री ३ सरकारले भगत सर्वजीतसँग शास्त्रार्थ गर्न काठमाडौंबाट पण्डित पठाए।
खुट्टामा ठेड्का र हातमा हतकडी लगाएका र मुखबाट रगत बगाउँदै गरेका भगत शास्त्रार्थका लागि तयार भए।
‘मलाई कामी भन्न पाइँदैन। म ‘ब्रेन्ची’ उपाध्याय हुँ। तिमीहरूजस्तै म पनि ब्राह्मण हुँ। हामीले तीनसुते जनै लगाउन पाउनुपर्छ,' उनले भने, 'विश्वकर्मा भनेको विश्वको पूजा गर्ने मान्छे हो। तल्लो जात भनेर कुन पुराणमा लेखेको छ, देखाउनुपर्छ।’
भगत सर्वजीतका प्रश्नसामु राणाका पण्डित टिक्न सकेनन्। हार खाएर भगतलाई हिरासतमुक्त गरिदिए।
पाल्पाबाट छुटकारा पाउने भएपछि भगतलाई 'बाग्लुङ जाने कि भारत' भनेर सोधियो। उनले भारत भने। जेलबाट छुटेर उनी फेरि वनारस लागे।
सत्र महिना जेल जीवन बिताएर वनारस पुगेका सर्वजीतले फेरि आफ्नो अध्ययनलाई निरन्तरता दिए र आचार्य गरे। उनी भारतबाटै गाउँमा पर्चा बनाएर पठाउँथे। गाउँमा दलित आन्दोलन उठेकै थियो। वनारसबाटै नेतृत्व दिइरहेका भगत केही समयपछि फेरि गाउँ फर्किए।
भगतलाई फर्किन नदिन स्थानीय गैरदलितले अनेक मुद्दा हालेका थिए। कुटपिट गर्ने र यातना दिने घटना त दिनहुँ भइरहन्थे। भगतले ती सबैको डटेर मुकाबिला गरे। गाउँमा हारेका मुद्दा काठमाडौं पुगेर जिते। श्री ३ सरकारसँग पनि आफूहरूले तीनसुते जनै लगाउन पाउनुपर्छ भनेर माग राखे। आखिरमा सरकारले लालमोहर लगाएर माग पूरा गरिदियो।
गाउँमा धुँवाखोला पोखरीमा जनै मन्त्रने गरिन्थ्यो। भगत सर्वजीतले आफूलाई पनि जनै मन्त्रन दिनुपर्छ भने। उनलाई मन्त्र पनि आउँथ्यो। स्थानीय पण्डितहरूले उनको कुरा मानेनन्। फेरि झगडा सुरू भयो। पण्डितले नमानेपछि सर्वजीतले अहिले विश्वकर्मा माध्यमिक विद्यालय भएको ठाउँभन्दा तलतिर खेतमा पोखरी बनाए। त्यहीँ जनै मन्त्रे।
यसरी बाग्लुङका दलितले जनै लगाउन सुरू गरे, जुन अहिले पनि जारी रहेको रामशरणका छोरा मनकाजी विश्वकर्मा बताउँछन्।
'दलितका बेहुला–बेहुली डोली चढ्न पाउँथेनन्। सोली बोक्न पाउँथेनन्। सर्वजीतको आन्दोलनले नै सबै सराबरी भन्दै पानीको छोइछितो हाल्न नपाउने व्यवस्था गरे। सोली बोक्न नपाउने, डोली चढ्न नपाउने व्यवस्था खारेज गरिदिए,' मनकाजीले भने।
यति मात्र होइन, बाग्लुङका दलितले त्यति बेला जंगलमा कोइला बनाउनुपर्थ्यो। कोइला बोकेर गुल्मीको टक्सार पुर्याउनुपर्थ्यो। राणा शासकले नै उनीहरूलाई यस्तो उर्दी गरेका थिए। गुल्मीको टक्सारमा भाँडा बनाउन त्यही कोइला प्रयोग हुन्थ्यो। भगत सर्वजीतले नि:शुल्क कोइला बनाउन र बोक्न बन्द गरिदिएको मनकाजीको भनाइ छ।
'अहिले दलित समुदायले लेख्ने थर छ नि- जस्तो दमाईले परियार, कामीले विश्वकर्मा वा सुनार, सार्कीले किसान- यस्ता थर लेख्न पनि भगत सर्वजीतले नै सुरू गराएका हुन्,' उनले भने, 'यसका लागि मुद्दा नै लड्नुपरेको थियो।'
यसैबीच दलितलाई तल्लो जातमा राखेर अमानवीय व्यवहार भइरहेको बुझाउन बालबालिकाहरूलाई पढाउनुपर्छ भन्ने भगतलाई लाग्यो। गाउँभरिका दलित छोराछोरीलाई शिक्षित बनाउन उनले आन्दोलनकै कार्यक्रमका रूपमा स्कुल खोल्ने निर्णय लिए। दलितले नपढ्दासम्म कुनै किसिमको शास्त्रार्थ गर्न सकिँदैन भन्ने कुरा उनले गाउँलेहरूलाई सम्झाए। गाउँलेहरू उनको कुरामा सहमत भए।
स्कुल चलाउन त्यति बेला भवन थिएन। दलितलाई पढाउने सरकारी नीति पनि थिएन। गाउँनजिकै हिलियापानीमा एउटा चौतारो थियो। चौतारोनजिकै पोखरी थियो। त्यही चौतारोमा दलित केटाकेटी जम्मा गरेर भगत सर्वजीतले पढाउन थाले। स्कुलको नाम राखे, विश्वकर्मा प्राथमिक विद्यालय।
'दलितले पढ्न थालेको देखेर गैरदलित इर्ष्याले जले,' सर्वजीतका समकालीन रामशरणले भने, 'यो खबर भुसको आगोझैं फैलियो। चारैतिर खैलाबैला भयो। गैरदलितहरूले जिल्लाका प्रमुखलाई खबर गरिदिए। जिल्ला प्रमुख चौतारीमै आए।'
चौतारीमा पठनपाठन भइरहेको देखेर जिल्ला प्रमुखले 'के हो यो?' भनेर सोधेछन्।
भगत सर्वजीतले 'केही होइन, चौतारो हो, यहाँ हामी स्कुल खोल्ने हो' भन्ने जवाफ दिए।
रामशरणका अनुसार, जिल्ला प्रमुखले त्यही चौतारोमा बसेर भनेछन्, 'त्यसो भए तिमेरू आओ, म स्वीकृत गर्दिन्छु।'
जिल्ला प्रमुखको यस्तो कुरा सुनेर भगत सर्वजीत र उनका साथीहरू खुसी भए। दलित आन्दोलनबाट जन्मेको देशकै पहिलो दलित विद्यालयले स्वीकृति पायो।
तत्कालीन जिल्ला प्रमुखले भगत सर्वजीतको समूहलाई स्कुल खोल्न स्वीकृति मात्र दिएनन्, आर्थिक सहायता भनेर पाँच सय रूपैयाँ पनि दिए। थप पैसाका लागि दलितहरूले घरघरै पैसा उठाउन थाले। कसैले पाँच रूपैयाँ चन्दा दिए त कसैले ३० रुपैयाँ। रामशरण आफूले पाँच सय रूपैयाँ चन्दा दिएको सम्झन्छन्।
स्कुल खोल्न स्वीकृति पाएपछि उनीहरूले चौतारो भएकै ठाउँमा भवन बनाउन थाले। भगत सर्वजीतले स्कुल निर्माण समिति बनाए। त्यसको कोषाध्यक्ष थिए, रामशरण।
'भगत सर्वजीतले नै मलाई कोषाध्यक्ष बस्नू भनेका थिए,' उनले भने।
दुईकोठे स्कुल भवन बनाउन दलित गाउँलेहरूले चन्दा मात्र दिएनन्, श्रमदान पनि गरे। यसरी दलितहरूले स्कुल बनाउँदै गरेको गैरदलितलाई सह्य भएन।
'स्थानीय डोलिन्द्र नाम गरेका व्यक्तिले दलित समुदायकै अर्को तप्कालाई उकासे। उनले चार-पाँच जना मान्छे लिएर आए र हामीले बनाएको चौतारो र पोखरी मास्न पाउँन्नौ भनेर स्कुलको गारो भत्काइदिए,’ रामशरणले भने, ‘हामीले एक हात मात्र गारो लगाएका थियौं, उनीहरूले सार्की समुदायलाई उचालेर ल्याएर गारो भत्काइदिए।’
दलितविरूद्ध दलितलाई उक्साउने यस्तो तिकडम धेरै समय चलेन।
भगत सर्वजीतले स्थानीय सार्की समुदायलाई पनि आह्वान गरे– ‘यो स्कुल हाम्रो लागि मात्र होइन, तिमीहरूका लागि पनि हो। तिमीहरू र हामी सबैको एउटै समस्या हो, जातीय विभेद र छुवाछुत।’
त्यसपछि सार्की समुदायले पनि स्कुल बनाउन सहयोग गरे। स्कुल भत्काएका डोलिन्द्रविरूद्ध मुद्दा पर्यो। उनलाई पाँच सय रूपैयाँ जरिवाना तिराइयो।
स्कुललाई कसैले रोक्न नसक्ने भएपछि गैरदलितहरू त्यसको नाम परिवर्तन गर्ने खेलमा लागे। उनीहरूले विश्वकर्मा प्राथमिक विद्यालय होइन, विश्व प्राथमिक स्कुल भनौं भनेर प्रस्ताव गरे। दलितहरूले मानेनन्।
स्कुलमा पढाउने शिक्षक पनि उनीहरूले दलित समुदायबाटै खोजे। त्यति बेला भारतीय सेनामा कार्यरत हिक्मत सिंह अवकाश लिएर घर आएका थिए। उनी रामशरणका ज्वाइँ थिए। पञ्जाबमा कार्यरत रहँदा उनी शिख धर्मप्रति आकर्षित भएका थिए। सेनामै रहँदा उनले पञ्जाबबाट मेट्रिक पास गरेका थिए।
उनै हिक्मत विश्वकर्मा प्राथमिक विद्यालयका पहिलो प्रध्यानाध्यापक भए।
गैरदलितहरूले भने हिक्मतलाई गाउँमा टिक्नबस्न दिएनन्। पञ्जाबमा रहँदा शिख धर्मसँग नजिकिएका हिक्मतलाई पञ्जाबी लुगा लगाएर फोटो खिचेको आरोप लगाइयो। त्यही आरोपमा उनलाई गाउँबाट निकालियो।
हिक्मत वीरगन्ज चिनी मिलमा काम गर्न गए। पछि रामशरण लगायतले नै उनलाई फर्काएर स्कुलमा पढाउन निरन्तरता दिन लगाए।
दलित समुदायले खोलेको स्कुलको आरिस गर्दै गैरदलितहरूले दुई किलोमिटर पर मूलपानीमा अर्को स्कुल खोले– कालीमाटी प्राथमिक विद्यालय। ब्राह्मण लगायत गैरदलितका छोराछोरी त्यहीँ पढ्न थाले।
२००७ सालमा प्रजातन्त्र स्थापनापछि सरकारले विश्वकर्मा प्राथमिक विद्यालयलाई स्थायी स्वीकृति दियो। २००९ सालमा आएर दलित र गैरदलितले खोलेका दुवै विद्यालय गाभ्ने निर्णय भयो। दुई किलोमिटर फरकमा छुट्टाछुट्टै सरकारी स्कुल आवश्यक छैन भन्ने सरकारी पक्षको तर्क थियो।
यो निर्णयपछि एकीकृत विद्यालयको नाम के राख्ने भन्ने विवाद भयो। दुवै समुदाय आ-आफ्नो नाम कायम रहनुपर्नेमा अडिग थिए।
आखिरमा गैरदलितले खोलेको ठाउँ कालीमाटीमै स्कुल रहने भयो, नाम भने विश्वकर्मा माध्यमिक विद्यालय रह्यो। यो स्कुल अहिले पनि त्यही नाममा चलिरहेको छ। यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ।
स्कुलको स्थापना मिति २००९ साल राखिएकोमा भने दलितहरूलाई चित्त बुझेको छैन। यसले त्योभन्दा अगाडि स्कुल स्थापना गर्न दलित समुदायले गरेको संघर्ष मेटिएको उनीहरू बताउँछन्।
विश्वकर्मा माविको नाम परिवर्तन गर्न गैरदलितले पञ्चायत कालमा पनि विभिन्न हतकन्डा अपनाएका थिए। २०४५ सालतिर स्कुलका प्रधानाध्यापक डम्मरसिंह विश्वकर्मा थिए। ओमबहादुर विश्वकर्मा व्यवस्थापन समितिका अध्यक्ष थिए। त्यही बेला स्कुलको नाम परिवर्तन गर्न स्थानीय गैरदलितहरू लागिपरे।
‘हामी रगत बगाउन तयार छौं, तर स्कुलको नाम परिवर्तन गर्न दिन्नौं भनेपछि उनीहरू हच्किए,' मनकाजीले भने।
उनका अनुसार, २०४५ सालमा नाम परिवर्तन गर्न नदिन स्थानीय दलित समुदायले घरघरै पैसा उठाएर स्कुललाई चन्दा दिनुपरेको थियो। कसैले ५ हजार त कसैले १० हजार चन्दा उठाएका थिए। स्कुलको नाम विश्वकर्मा यथावत् राख्न दलित समुदायले निरन्तर आन्दोलन र पैसा लगानी गर्नुपरेको मनकाजीको भनाइ छ।
गाउँमा समानताको आन्दोलन उठाएका र नेपालमै पहिलो संगठित दलित आन्दोलनको नेतृत्व गरेका भगत सर्वजीतको ६० वर्ष उमेरमा भारतको वनारसमा निधन भयो। भगतका एक जना छोरा थिए। उनलाई पनि भगतले भारत लगेका थिए। उनको छोरासँग गाउँमा कसैको सम्पर्क नरहेको मनकाजीले बताए।
गाउँमा आन्दोलनको आगो बालेर शिक्षाको उज्यालो छरेका भगतको परिवारका कोही पनि अहिले गाउँमा छैनन्। छन् त उनका अनुयायी मात्र। तिनै अनुयायीमध्ये डम्मरसिंह र मनकाजीले २०४६ सालतिर भगत सर्वजीत प्रतिष्ठान बनाउने निर्णय लिए। यसका लागि पोखरा, नारायणगढ, बुटवल, भैरहवा, दाङ लगायत जिल्ला पुगे।
भैरहवामा छविलाल विश्वकर्माले प्रतिष्ठान खोल्न उल्लेख्य सहयोग गरे। उनकै सहयोगमा बुटवलमा भगत सर्वजीत पार्क बनेको छ। भैरहवामा उनको शालिक स्थापना गरिएको छ। बागलुङमा पनि विश्वकर्मा माविको प्रांगणमा भगत सर्वजीतको शालिक स्थापना गरिएको छ। पार्क बनाउन सरकारसँग माग राखे पनि सुनुवाइ नभएको मनकाजीले बताए।
भगत सर्वजीतले पहिलोपटक दलित आन्दोलन उठाएको ७५ वर्ष नाघ्यो, मनकाजीले भने, 'राणाकालमा उठेको आन्दोलन अहिले लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा पनि हाम्रो मुद्दा परिवर्तन भएको छैन। अहिले पनि भित्रभित्रै भाँडा मजाउने र छोइछितो गर्ने चलन हटेको छैन।'
उनका अनुसार, गाउँमा विवाह भोज हुँदा दलितलाई सबभन्दा तल बारीको पाटामा भोज खान दिने चलन थियो। त्यहाँ पनि छुवाछुत हुन्थ्यो। २५ वर्षअघि उनीहरूले सामूहिक रूपमा यस्ता भोजमा नजाने निर्णय गरे। तत्कालीन गाविस अध्यक्ष खगराज पाण्डेलाई पत्र नै लेखेर 'हामीलाई बार्दलीमा राखेर खाना खुवाउने भए आउँछौं, नत्र आउँदैनौं' भनिदिए।
त्यसपछि गाविस अध्यक्ष पाण्डेले 'आउनुस्, हामी स–सम्मान राख्छौं' भनेपछि मात्र दलितहरू गाउँका गैरदलितको विवाह भोजमा गएका थिए।
भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले हरेक वर्ष उनको जन्मजयन्ती मनाउँछ। प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका मनकाजी अहिलेका नेताले भोटका लागि मात्र दलित मुक्तिको कुरा उठाउने गरेको बताउँछन्।
‘दलित आन्दोलनका लागि भगत सर्वजीतले जति योगदान अहिलेसम्म कसैले गरेका छैनन्,' उनले भने, 'भगत सर्वजीतले राणाकालमा उठाएको छुवाछुतविरूद्धको मुद्दा गणतन्त्रमा पनि सम्बोधन भएन।’