मनसुन हाम्रा निम्ति जोखिमपूर्ण ऋतु हो। बाढी-पहिरोका खबर अनि हिलाम्मे सडकले हरेक पटक मान्छेलाई सताइरहन्छ।
भक्तपुर, लिबालीका स्थानीयलाई भने हरेक मनसुनले औधी खुसी दिन्छ। किनभने यहाँ यही समय हो जब उनीहरू आकाशे पानी संकलन गर्न पाउँछन्।
लिबालीको भूकम्प शिविर र स्थानीयले आकाशको पानी उपभोग गर्न थालेको करिब चार वर्ष भयो। लिबाली गणेश खानेपानी वितरण समिति बनाएर २०७४ साल मंसिरदेखि उनीहरूले लाभ लिइरहेका छन्।
'भूकम्प शिविरको छतबाट हाम्रो समितिमा आकाशे पानीको प्रणाली सञ्चालन गरिएको छ,' समिति अगाडिका पाँच टिनका छानाले बनाइएका घर देखाउँदै समिति अध्यक्ष नारायण खाइतूले भने, 'त्यही पानी हामीले फिल्टर गरेर धारामार्फत स्थानीय र शिविरका मान्छेलाई बाँड्छौं।'
यहाँ कसरी आकाशे पानीको समिति नै गठन भयो जान्न हामी ०७२ सालको भुइँचालोको समयमा फर्किनुपर्छ।
त्यो दिन खाइतू घरमा खाना खाइरहेका थिए। भुइँचालोले सिंगो घर नै थरर्र थर्काउन थालेपछि उनको खाना अधुरै रह्यो। बाहिर निस्केपछि उनले पूरा गर्नुपर्ने धेरै काम थपिए। उनी टोल सुधार समितिका अध्यक्ष थिए।
भक्तपुरमा सबभन्दा बढी जेँला टोल प्रभावित भएको थियो। भत्किएका घर अनि भग्नावशेष समेट्नु थियो नै, कति मृत्यु भएका र भग्नावशेषमा पुरिएका मान्छेलाई समेत खाइतूले आफ्नै हातले बाहिर निकाले।
त्यो दिन सम्झिँदै खाइतू भन्छन्, 'ती मान्छेका पीडा एक ठाउँमा थिए, घरबार बिहीन भएपछि कता बस्ने भन्ने चिन्ता पनि उनीहरूमा थियो। हामीले तुरून्तै केही गर्नुपर्ने भयो।'
लिबालीमा २०५४ सालमा जग्गा 'प्लानिङ' गरिएको थियो। नियमअनुसार जग्गा प्लानिङ गर्दा ठाउँ–ठाउँमा चउर/बगैंचाका लागि खुला ठाउँ छाड्नुपर्छ। त्यही छाडिएको करिब दुई रोपनी सार्वजनिक चउरमा मान्छे भेला हुन थाले। टेन्ट हालेर भुइँचालो पीडितहरू बसे।
उनीहरूकै लागि भनेर लिबाली गणेश भूकम्पपीडित पुनः स्थापना केन्द्र भन्ने समिति गठन भयो। त्यसबाट शिविर बनाउन पहल गरियो। शिविर त बन्यो तर बत्ती थिएन। खाइतू आफैं अघि सरे। घरअगाडि बत्ती मिलाउन पोलमा चढेका मात्र थिए, फेरि भुइँचालोको झट्काले जमिन हल्लाउन थाल्यो। उनी त्यही पोल च्याप्प समाएर बसिरहे। बिस्तारै जमिन लयमा फर्किएपछि बत्तीको काम अघि बढ्यो।
'बत्तीपछि हामी टहरा बनाउने काममा लाग्यौं,' उनले भने, 'टेन्ट मात्र हुँदा हावाले उडाउने, पानी पर्दा समस्या हुन थालेको थियो। त्यही भएर हामीले साथीहरूसँग सहयोग जुटाएर जस्ताको टहरा बनायौं।'
चउरमा भुँइचालोले घरबिहीन भएका मात्र होइन, डरले घर छाडेर आएका मान्छे पनि भएकाले करिब एक सय ६९ परिवार थिए। टहरामा पुग्दा भने ६४ परिवार भए। त्यही पनि एउटै टहरामा तीन परिवार बस्नुपर्ने बाध्यता थियो। 'रुनु न हाँस्नु' त्यो समय बदलिने समय पर्खिनुबाहेक उनीहरूसँग उपाय थिएन।
बस्ने थलो र रासन व्यवस्था भए पनि त्यहाँका मानिस पानी लिन करिब १५ मिनेट हिँडेर पुरानै ठाउँ जेँला पुग्थे। त्यहाँ लामो लाइन बसेर पानी भर्नुपर्थ्यो। अनि पानीको भारी बोकेर फर्किँदा सास्ती उस्तै।
खाइतूले उनीहरूलाई सजिलै पानी उपलब्ध गराउने तयारी थाले। सहयोगका निम्ति रोजे, 'गुथि' नामक गैरसरकारी संस्था।
गुथिबाट केही मानिस भूकम्पका बेला लिबालीमा सहयोग गर्न आएका थिए। उनीहरूले शिविरका मान्छेलाई पानीको अस्थायी ट्यांकी बनाइदिएका थिए। त्यही संस्थासँग चिनजान बढ्दै गएपछि खाइतूले एकदिन प्रस्ताव राखे, 'यहाँ पानीको निकै समस्या छ। दीर्घकालीन व्यवस्थापन गर्न सहयोग गर्दिन पर्यो।'
गुथिले पनि सहयोग गर्ने वचन दियो।
स्विट्जरल्यान्डस्थित इन्टरनेसनल रेनवाटर हार्भेस्टिङ एलायन्ससँग सहयोगका लागि कुराकानी भएपछि उनीहरू यो ठाउँमा निरीक्षण गर्न आए। त्यसपछि करिब २५ हजार लिटरको पानी ट्यांकी बनाउने सहमतिमा लिबाली गणेश खानेपानी वितरण समिति गठन भयो। खाइतूकै अध्यक्षतामा गठन भएको उक्त समितिलाई गुथिले करिब १७ लाख रूपैयाँ हस्तान्तरण गर्यो।
'भूकम्पका बेला हामीले भक्तपुरका विभिन्न शिविरमा अस्थायी ट्यांकी बनाइदिएका थियौं। लिबालीका मान्छेले भने स्थायी ट्यांकी नै बनाउने योजना बनाएपछि हामीले पहल गरिदिएका हौं,' गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने।
गुथिले त्यसअघि भक्तपुरकै पदम स्कुलमा पनि आकाशे पानी संकलन गर्ने ट्यांकी बनाएको थियो। भक्तपुर नगरपालिकाले पनि नगरपालिकाभित्र करिब दुई लाख लिटरको र ख्वप इञ्जिनियरिङ कलेजमा पाँच लाख लिटरको टंयाकी बनाएको छ।
लिबालीमा भने सहयोग आएअनुसार २५ हजार लिटरको ट्यांकी बनेन। ट्यांकी बनाउने काममा स्थानीयले श्रमदान दिएका थिए। काम गरिरहँदा उनीहरूलाई २५ हजार लिटरभन्दा ठूलो बनाउने मन भयो। ठूलो ट्यांकीले शिविरका मान्छेलाई मात्र होइन, अन्य बासिन्दालाई पनि सहयोग पुग्थ्यो। त्यही भएर उनीहरूले तीन गुणा ठूलो, ११ फिट गहिरो खाडल खने र एक लाख छ हजार लिटरको ट्यांकी बनाए।
बाँकी रकम फेरि आफ्नै र साथीहरूसँग संकलन गरेर जुटाए। प्लम्बिङ, तारजाली हाल्ने, ट्यांकी बनाउने ज्याला सबै श्रमदानमा गरिएकाले जम्माजम्मी ४३ लाख खर्चमा सबै काम सकियो।
'१५ लाख पर्ने फिल्टर प्लान्ट काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग पनि सहयोग मागेका थियौं,' खाइतूले भने, 'लुमन्ती संस्थाले दुइटा ट्यांकी दियो।'
त्यसरी निर्माण भएको लिबाली गणेश खानेपानी वितरण समिति २०७४ साल मंसिर ८ गते मेयर सुनिल प्रजापति, काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका निर्देशक, गुथि सबै मिलेर उद्घाटन गरे। त्यस दिनदेखि टोलबासीले स्वच्छ खानेपानी खान अन्त जान परेको छैन। तर यहाँबाट खानेपानी मात्र दिइने भएकाले लुगा धुने, भाँडा माझ्ने लगायतमा चाहिने पानी भने उनीहरू आफैंले जुटाउनु पर्छ।
'बिहान साढे छ बजेदेखि पानी वितरण सुरू गर्छौं। प्रत्येक परिवारलाई हामीले दिनको ४० लिटर दिन्छौं। करिब ८५ परिवारले यहाँबाट लाभ लिइरहेका छन्,' खाइतूले भने, 'अहिले त पानी धेरै भएर ओभरफ्लो नै छ। तर सुख्खा याममा अभाव भएर गाह्रो हुने भएकाले ४० लिटरभन्दा धेरै दिएका छैनौं।'
मनसुन पानी जम्मा गर्ने विशेष महिना भए पनि फागुनदेखि जेठसम्म आक्कल-झुक्कलबाहेक पानी पर्दैन। यहाँ जोहो गरेको पानी कम हुँदै जान्छ। गत फागुनतिर त्यस्तै समस्या भएको थियो। पानी अभाव भएपछि नजिकैको सार्वजनिक र खाइतूको घरैको इनारको पानी फिल्टर गरेर वितरण गरियो।
सधैं आकाशे पानी खाइरहेकाले इनारको पानी टोलबासीलाई त्यति मिठो नलागेको खाइतूले बताए।
'आकाशे पानीको स्वाद बसेकाले उनीहरूले जार किन्न पनि छाडिसकेका थिए। इनारको पानी खानुपर्दा त्यति मिठो नभएको भनेर टोलबासीले भनेका थिए,' खाइतूले सुनाए।
आकाशे पानी सफा नहुने लगायत मानसिकता धेरैमा हुन्छ। त्यही भएर सुरूमा पानीबारे योजना ल्याउँदै यहाँका स्थानीयलाई खानेपानीका इञ्जिनियर, कर्मचारी आएर 'रेन वाटर हार्भेस्टिङ' बारे जानकारी गराएका थिए। खाइतूलाई भने आकाशे पानी सम्बन्धी ज्ञान पहिल्यै भएकाले उनलाई यो कस्तो हुन्छ भनेर डरभन्दा उत्साह थियो। स्थानीयलाई पनि बुझाएपछि र फिल्टर प्लान्ट नै जोडेर ढुक्क गरेपछि उनी पनि निर्धक्क भए।
यो भूकम्प शिविरका धेरै मानिस घर बनाएर सरिसके। अहिले पाँच परिवार मात्र बस्छन्। पहिले बनेका सबै टहरा उनीहरू यहाँबाट गएसँगै भत्काइयो। तर आकाशे पानीका लागि बनाएको सात हजार चार सय वर्ग फिट 'क्याचमेन' अझै छ। त्यहाँबाटै पानी टयांकीमा जम्मा हुन्छ। गटरबाट प्लास्टिक र धूलो नजाओस् भनेर प्लम्बिङ गर्दा पाइपको बीचमा चिरेर पानी बग्ने ठाउँ बनाइएको छ। चारैतर्फ जडान भएको पाइपबाट पानी एकै ठाउँमा जम्मा हुन्छ।
त्यो पानी सडकमुनि 'अन्डरग्राउन्ड' पाइप बिछ्याएर समितिसम्म पुर्याइएको छ। त्यहाँबाट पानी सुरूमा बालुवाको फिल्टरमा पुग्छ। त्यसपछि एक लाख छ हजार लिटरको टयांकीमा।
पानी आवश्यक भएपछि मेसिन खोलिन्छ र प्रेसर फिल्टरमा पुग्छ। त्यहाँ फिल्टर भएको पानी बाहिर रहेका तीनवटा परम्परागत शैलीमा निर्मित हिति (ढुंगेधारा) बाट वितरण हुन्छ।
'यी धारा खानेपानी व्यवस्थापन बोर्डले राखिदिएको हो। धारा राख्ने कुरा हुँदा मैले नै हिति राम्रो होला भनेको थिएँ,' खाइतूले भने।
चार महिने खडेरीमा पानी अभाव आपूर्ति गर्न पनि खाइतू यताउता धाइरहेका छन्। नगरपालिकाले पाइपबाट पनि घरघरमा पानी वितरण गरिरहेको छ। लिबालीमा पनि दुई इन्च पाइपलाइन जडान छ, तर अहिलेसम्म पानी वितरण भएको छैन।
त्यो जडान गर्न पाए खडेरीमा ट्यांकीमा पानी जम्मा गरेर वितरण गर्न सकिने उनीहरूको आशा छ।
'भक्तपुरमा पानीको हाहाकार नै छ। त्यस्तो बिडम्बना हामीले भोग्न नपरोस् भनेर पानीको सदुपयोग गरिरहेका छौं,' खाइतूले भने।
लिबालीको समुदायस्तरको यो आकाशे पानीको समिति साँच्चै प्रेरणादायी भएको गुथि पनि बताउँछ।
'एउटा समुदाय जुट्यो भने कति धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण हो लिबाली टोल,' गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने, 'हामीले २५ हजार लिटरको ट्यांकी मात्र बनाउने भन्दा उहाँहरूले आफ्नै बलबुतामा एक लाख लिटरको बनाएर उदाहरणीय काम गर्नुभएको छ।'
त्यस्तै उदाहरणीय काम तपाईंहरूले पनि आफ्नो टोल वा घरमा गर्न सक्नुहुन्छ।
यदि घरमा आकाशे पानीको ट्यांकी बनाउने हो भने एक लिटर बराबर करिब ४० रूपैयाँ लाग्ने अमात्य बताउँछन्। तर काठमाडौं उपत्यकामा प्रायः ट्यांकरबाट पानी भरिने भएकाले घर बनाउँदै धेरैले १०–१५ हजार लिटरको ट्यांकी बनाएका हुन्छन्। त्यसैले आकाशे पानीका निम्ति धेरै खर्च नपर्ने उनी बताउँछन्।
त्यसमाथि घरमा कौसी छ भने त्यसको पानी पाइपमार्फत बाहिर पठाउनेहरू धेरै हुन्छन्। त्यसैले पाइपमा खर्च हुने लागत पनि बच्यो।
'खेर गइरहेको पानी ट्यांकीमा जोडेर उपयोग गर्न सकिन्छ,' आमात्यले भने, 'सुरूको फोहोर पानी बाहिर फाल्न फल्स मात्र राखे हुन्छ। त्यसलाई खानेपानीकै रूपमा प्रयोग गर्ने भए फिल्टर राख्नुपर्छ। बालुवाको फिल्टर राख्दा धेरै लागत पर्दैन।'
दस हजारभन्दा कम खर्चमा आफ्नै घरमा आकाशे पानी प्रविधि सञ्चालन गर्न मिल्ने रहेछ। सूक्ष्म जीवविज्ञान पढेका अमात्यले आकाशे पानीको अनुसन्धान गर्दा त्यसको प्रयोगशाला नतिजा राम्रो आएको दाबी गरे।
घरमा सिमेन्ट ट्यांकी बनाउनु त छँदैछ, रिचार्जका निम्ति 'पिट' पनि बनाए त्यसले नजिकैका स्रोतको पानीको गुणस्तर र मात्रा पनि राम्रो बनाउने उनी बताउँछन्।
गुथि अहिले आकाशे पानी प्रवर्द्धन गर्दै काठमाडौं महानगरपालिकाको 'रिचार्ज काठमाडौं' आयोजनामा आबद्ध छ। आकाशे पानी सदुपयोग गर्ने हो भने पानीका स्रोत रिचार्ज हुने, घरायसी प्रयोजनका लागि सहज हुने र उपत्यकामा बढ्दै गएको डुबान जोखिम पनि कम गर्न सकिने अमात्य बताउँछन्।
'पानी निकास नभएर चोकचोकमा डुबान भएको देखिरहेकै छौं। रिचार्ज इनार बनाएर जमिनमा पठाउने हो भने त्यो समस्या कम हुन्छ,' उनले भने।
त्यसका लागि पालिकाहरूले नियम बनाउनेसँगै कार्यान्वयन पनि गर्नुपर्ने उनी बताउँछन्, 'घरको नक्सा पास गर्दै आकाशे पानी प्रणाली हुनुपर्ने नियम ल्याउनुपर्छ। अनि बल्ल खेर गइरहेको पानी उपयोगी बनाउने योजना कार्यन्वयन गर्नै पर्ने बाध्यता हुन्छ।'
भक्तपुर, लिबालीले त समुदायस्तरबाटै त्यो काम गरिसक्यो। हामी पनि अर्को उदाहरण बन्ने कि?