बूढीगण्डकीको बाढीले गोरखाको केरौंजास्थित यारूबगर कटान गर्दा चुमनुब्री गाउँपालिका आवतजावत गर्ने एकमात्र बाटो बगाइदिएको छ।
भूकम्पपछि बेलायती सहयोग नियोग युकेएडले पहरा खोपेर बनाएको एक सय १५ मिटर लम्बाइको क्यान्टिलिभर पुल बूढीगण्डकी कटानले जोखिममा पारेको स्थानीय बासिन्दा बताउँछन्।
‘क्यान्टिलिभर पुल नबगाए पनि जोखिममा छ। पुलसम्म पुग्ने बाटो नै बूढीगण्डकीको भेलले बगाइदिएको छ,’ सिर्दिवासको फिलिमका सुजन गुरूङले सेतोपाटीसँग भने, ‘सदरमुकाम गोरखा बजारबाट घर आउने त्यही एउटा बाटो थियो, त्यो पनि बूढीगण्डकीले लग्यो।’
उनकाअनुसार यसपालि बूढीगण्डकीले यारू बगरमा धेरै कटान गरेको छ। यारू बगरको चौर नै कटान गर्दा बाटो बगाइदिएको उनले जानकारी दिए।
‘मंगलबारदेखि यारू बगर कटान भइरहेको थियो। बुधबार त झन् बाटो नै सिध्याउने गरी बूढीगण्डकीले कटान गरिदियो,’ उनले भने, ‘त्यो बाटोमा पाइला राख्ने ठाउँ पनि बाँकी छैन। पहरासम्म नै भेल पुगेको छ।’
बाटो अवरूद्ध भएपछि सिर्दिवास, प्रोक, ल्हो, सामागाउँ, छेकम्पार र चुम्चेत आउजाउ गर्न समस्या भएको छ।
‘मान्छे आउजाउ गर्न सकिँदैन, खच्चडबाट खाद्यान्न ढुवानी रोकिएको छ,’ उनले भने।
खाद्यान्न अभाव नहोस् भनेर हेलिकप्टरबाट ढुवानी गरिएको छ। हेलिकप्टरबाट बुधबार चार टिप चामल ढुवानी गरिएको उनले बताए। नेपाली सेनाको हेलिकप्टरमार्फत् खाद्य संस्थान सिर्दिवास डिपोमा करिब दुई हजार आठ सय बोरा चामल लगिएको छ।
यो बाटो भएर चुमनुब्री गाउँपालिकाभित्र आउजाउ गर्ने भए पनि बूढीगण्डकीले कटान गरेको क्षेत्र छिमेकी गाउँपालिका धार्चेस्थित वडा नम्बर १ मा पर्छ।
बाटो तत्काल मर्मत हुन सक्ने अवस्था नरहेकाले गाउँलेहरूले दु:ख पाएको सिर्दिवासका अर्का स्थानीय वीरबल घलेले जानकारी दिए।
उनकाअनुसार वैकल्पिक बाटो उहिया हुँदै जाने भए पनि त्यो भिरको बाटो छ भने बिरामी, बुढाबुढी र केटाकेटी त्यो बाटो हिँड्न सक्दैनन्।
‘योजना फर्स्यौट गर्दै भुक्तानी लिनलगायत विभिन्न कामले सदरमुकाम झरेकाहरू गाउँ फर्कन पाएनन्,’ घलेले भने, ‘जहिलेसम्म बूढीगण्डकीले धार परिवर्तन गरेर अर्को किनारा भएर बग्दैन त्यो बेलासम्म बाटो मर्मत गर्न सक्ने अवस्था छैन। सदरमुकाम झरेका गाउँलेहरू ऋणधन गरेर हेलिकप्टर चार्टड गरेर गाउँ फर्कने भनिरहेका छन्।’
बाटो मर्मत गर्न धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरूङसँग समन्वय गर्दै प्रदेश र केन्द्र सरकारलाई पनि जानकारी गराइसकेको चुमनुब्री गाउँपालिका प्रमुख धनबहादुर गुरूङले सेतोपाटीलाई बताए।
‘त्यो बाटो मर्मतका लागि पहल गरिरहेका छौं,’ उनले भने, ‘खच्चड हिँड्न नसक्ने भएकोले खाद्यान्नकै अभाव हुने देखिएपछि हेलिकप्टरबाट ढुवानी गरियो। बूढीगण्डकी कटान रोक्न तारजाली पनि हेलीबाटै ढुवानी गर्नुपरेको छ, यसो गर्दा ढुवानी खर्च नै महंगो परेको छ।’