फेवाताल पुरिन नदिन मुहान क्षेत्रमा बनाएको सिल्टेसन ड्याम बाढीले बगाइदिएको छ।
फेवातालमा भरिने मुख्य पानीको स्रोत हर्पन खोलामा बनाएको बाँध बुधबार राति आएको बाढीले बगाइदिएको पोखरा-२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले बताए।
हर्पन खोलाको बाढीका कारण घाँटीछिना र ठूलाखेतका ६ घर जोखिममा परेका छन्।
‘हर्पन खोलाले धार परिवर्तन गरेर घरतिर आउँदैछ, मान्छे बस्ने अवस्था छैन,’ वडाध्यक्ष पराजुलीले भने, ‘घरका मान्छे बाहिर गएर बसेका छन्।’
गएरातिकै बाढीले रोपिसकेको १५० रोपनी बढी खेतसमेत बगाइदिएको उनले बताए।
यसअघि पनि हर्पन खोलामा आएको बाढीले सिल्टेसन ड्यामलाई क्षति पुर्याएको पराजुलीले बताए। त्यतिबेला खोलाको धार घरतिर सोझिएपछि डोजर लगाएर पन्छाएको भन्दै बिहीबारको बाढीमा डोजर लैजाने अवस्था नरहेको बताए।
‘अब तारजाली लगाइएन भने खोलाले घर लैजान्छ’, उनले भने, ‘रोपिसकेको खेत त कामै नलाग्ने बनाइदियो।’
फेवाताल जोगाउन बनाइएको सिल्टेसन ड्याम राम्रोसँग मर्मत गर्न नसक्दा बाढीले बगाएको वडाध्यक्ष पराजुलीले बताए। कास्कीको पञ्चासेबाट सुरू भएको हर्पन खोला फेवातालमा आएर टुंगिन्छ। मुहान क्षेत्रबाट पहिरोसहित आएको बाढीले बाँध भत्काएको पोखरा महानगरका इञ्जिनियर विमल आचार्यले बताए।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त लगानीमा उक्त बाँध निर्माण गरिएको थियो। गत वर्ष बर्खाअघि ७ करोड ८८ लाख ६२ हजार रुपैयाँमा खड्क कृष्ण पिके जेभीले उक्त बाँध बनाएको थियो। गत वर्षको बाढीमा समेत उक्त बाँध भत्कन लागेको थियो। वडाअध्यक्ष पराजुलीका अनुसार सामान्य टालटुल गरेर मर्मत गरेकाले अहिलेको बाढी थाप्न नसकेको बताए।
महानगरका इञ्जिनियर आचार्यले बाँध मर्मत गर्न स्थानीयले अवरोध गरेका कारण राम्रोसँग मर्मत हुन नसकेको बताए।
‘बाँधमै स्थानीयको जग्गा पर्ने रहेछ, हामीलाई राम्रोसँग मर्मत गर्न दिएनन्,’ आचार्यले भने, ‘बाँधको क्षमताभन्दा ठूलो बाढी आएका कारण बाँध भत्किन गयो।’
हर्पन खोलाको उक्त बाँधभन्दा माथि अरू पनि बाँध बनाउनु पर्ने भन्दै आचार्यले एउटामात्रै बाँधले बाढी थाम्न नसक्ने बताए। गएराति भत्किएको बाँधमा पानी र माटो मात्र आइपुग्नु पर्नेमा ठूल्ठूला ढुङ्गा र मुढासमेत आएको भन्दै उनले पहिरो बोकेको बाढीको चाप धान्न नसकेर बाँध भत्केको बताए।
पोखरा महानगर र गण्डकी प्रदेश सरकारले हर्पन खोलाको उक्त बाँधसहित अँधेरी खोला, लौरुक खोला र बेतेनी खोलामा गरी ४ वटा बाँध बनाएको थियो। यी चारवटै बाँध हर्पन खोलाको जस्तै जोखिममा रहेको छन्। यी चार वटा सिल्टेसन ड्याम बनाउन पोखरा महानर र गण्डकी प्रदेश सरकारले ३४ करोड ४९ लाख लगानी गरेका थिए।
पोखरा महानगरले यी चारवटै बाँधमा जम्मा हुने ढुङ्गा, गिटी, बालुवा निकाल्ने जिम्मा फेवा सिल्टेसन प्रालिलाई दिएको छ। महानगरको गत ४९ औं कार्यपालिका बैठकले सार्वजनिक निजी साझेदारीअन्तर्गत उक्त जिम्मा दिएको थियो। महानगरका इञ्जिनियर आचार्यले ड्याममा थुप्रिएको ढुङ्गा, गिटी, बालुवालगायतको बिक्रीबाट हुने आम्दानीले ड्याम बनाउने र मर्मत गर्ने योजना रहेको बताए।
गत वर्षदेखि बाँधमा थुप्रिएको ढुङ्गा, गिटी, बालुवा निकाल्न नसक्दा पनि अहिले बाँधलाई थप चाप परेको आचार्यले बताए।
‘सिल्टेसन ड्याममा भरिएका ढुङ्गा, गिटी, बालुवा पनि निकाल्न सकिएन, यसले पनि बाँधलाई कमजोर बनायो,’ उनले भने।
नीति तथा योजना आयोग गण्डकी र पोखरा महानगरका प्राविधिक मिलेर गरेका अध्ययनले उक्त बाँध यस वर्षको बर्खामा भत्किने भन्दै मर्मत सम्भार गर्न सुझाव दिएको थियो। आयोगका तत्कालीन सदस्य विष्णुराज बरालको संयोजकत्वमा पोखरा महानगरका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्ले सहितको विज्ञ टोलीले गरेको अध्ययनले हर्पन खोला र खहरे खोलाको बाँध यसै वर्षको बर्षातमा भत्कन सक्ने भएकाले बर्षात सुरू हुनुपूर्व नै मर्मत सम्भार तथा पुनर्स्थापना र सुदृढिकरण गर्न सुझाव दिएको थियो।
यस्तै, बाढी नियन्त्रण गर्न पर्खालको उचाइ बढाउनु पर्ने, एउटा खोलाको बाढी एउटै बाँधले मात्र थाम्न नसक्ने भन्दै थप बाँध बनाउनु पर्ने सुझाव दिएको संयोजक बरालले बताए।
फेवातालको मुहान क्षेत्रका ४ वटै खोलामा बनाइएका बाँधको अध्ययन गरेर बनाएको प्रतिवेदनमा यी चारवटा बाँध मर्मत गर्न ३६ करोड ८४ लाख रुपैयाँ लाग्ने अनुमानसमेत गरिएको थियो।
उक्त अध्ययन प्रतिवेदनले चार वटा बाँधमा २ लाख ६५ हजार घनमिटर ढुङ्गा, गिटी, बालुवा थुप्रिएको निष्कर्ष निकालेको थियो। यी ढुङ्गा, गिटी, बालुवा बिक्री गर्दा २० करोड ७१ लाख आम्दानी हुने र आम्दानीको कम्तिमा ५० प्रतिशत रकम बाँधको मर्मत तथा नयाँ बाँध बनाउन खर्च गर्न सुझाव दिएको थियो।
अध्ययन प्रतिवेदन बुझेको प्रदेश सरकार र महानगरले समयमै मर्मत-सम्भार, थुप्रिएका ढुङ्गा, गिटी, बालुवा निकाल्न र नयाँ बाँध बनाउन तत्परता नदेखाउँदा भत्किन पुगेको अध्ययन समितिका सदस्य बताउँछन्। हर्पन खोलाको मात्र नभएर खहरे खोला र अन्य सिल्टेसन ड्याम पनि भत्किने खतरामा पुगेको पोखरा २३ का वडा अध्यक्ष पराजुलीले बताए।
फिनिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी र सरकारले सन् २००२ मा गरेको अध्यनले फेवातालमा हर्पन खोलालगायत चारवटा खोलाबाट वार्षिक १ लाख ४२ हजार मेट्रिक टन ढुङ्गा, गिटी, बालुवा बगेर आउने निष्कर्ष निकालेको थियो।
फेवातालको मुख्य स्रोत हर्पन खोला र यसका सहायक बेतिनी, लौरुक र खहरे खोलाले यसरी ल्याउने गेग्रानसहित बाढीले तीव्र गतिमा फेवाताल पुरेको भन्दै उक्त प्रतिवेदनले यस्तै अवस्था रहे आगमी ७० वर्षमा फेवाताल पुरिसक्ने बताएको थियो।
फेवाताल पुरिनबाट जोगाउन प्रदेश र महानगरले बनाएको सिल्टेसन ड्याम नै बगाएपछि फेवाताल जोगाउन थप उपाय खोज्नुपर्ने अवस्था आएको छ। फेवातालको मुहान क्षेत्रमा बाटोलगायत संरचना बनाउन लगाइएको डोजरका कारण पहिरो झर्ने, सिमसार क्षेत्र मिच्ने प्रक्रिया तीव्र बनेकाले बाँध नै बगाउने गरी बाढी पहिरो आएको नीति योजना आयोग गण्डकीका पूर्वसदस्य बरालले बताए।