राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत भोला सिंहको आफ्नै भाइले हत्या गरेका छन्।
विराटनगर-५ पृथ्वी चोक घर भएका र हाल खोटाङमा कार्यरत् ४२ वर्षीय भोला सिंहको हत्या भाइ साजन सिंहले गरेको प्रहरीले जनाएको छ। शुक्रबार राति चक्कु प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ।
लागुऔषध प्रयोगकर्ता साजनले मादक पदार्थ सेवन गरेर धारिलो हतियारप्र हार गरेर दाजुको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद र झगडा भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ।
गम्भीर घाइते भएका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल पुर्याइए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताए। उनका अनुसार हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो।
साजन शुक्रबार राती मदिरा सेवन गरेर घर आएका थिए। चार तलाको घर भए पनि उनी भुइँतलाको बायाँ कोठामा बस्दै आएका थिए। उनी करिब ९ बजे घर आए।
घर आइपुग्दा केही महिनाअघि मात्रै सम्बन्धविच्छेद गरेकी पूर्वपत्नी पनि देखेपछि उनले विवाद सुरू गरेका थिए। ‘सधैं मादक पदार्थ र लागुऔषध सेवन गरेर घरमा श्रीमतीलाई कुटपिट गर्ने र यातना दिने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘झै-झगडा र अत्यचार सहन नसकेपछि श्रीमतीले सम्बन्धविच्छेद गरेको पाइएको छ।’
उनीसँग सम्बन्धविच्छेद भए पनि श्रीमती भने साजनका परिवारकै सदस्यको संरक्षणमा थिइन्। आफूसँग नाता टुटाइसकेकी श्रीमतीलाई घरमै संरक्षण दिएर राखिएको भन्दै साजनले विवाद गरेर परिवारमा झै-झगडा सुरू गरे।
‘साजनले कोठामा भएको फर्निचरको सामान तोडफोड गरेपछि भाउजु र दाजुले सम्झाइबुझाइ गरेका थिए, त्यसक्रममा भोलाले भाइलाई तोडफोड नगर्न भन्दै थप्पड लाएका थिए। त्यसपछि माहोल शान्त भयो भन्ने ठानेर भोला कोठा छिरेर बसेका मात्र के थिए, साजनले चक्कुले दाजुको घाँटी, हात र टाउकामा प्रहार गरे। भोला त्यही ढले,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।
दाजुको हत्या गरेपछि पनि साजन घरमै बसेका थिए। दाजुलाई धारिलो हतियार प्रहार गरेपछि उनी भुइँतलादेखि माथिल्लो तलामा बाथरुममा गएर बसेका थिए। वडा प्रहरी कार्यालय विराटनगर ‘क’ र मोरङ प्रहरीबाट खटिएको टोलीले साजनलाई बाथरुमदेखि पक्राउ गरेर शुक्रबार राति लगेको प्रहरीले जनाएको छ।
४२ वर्षीय भोला सिंह राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत् हवल्दार हुन्। अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौडा गएका थिए।
आफ्नी आमा बिरामी रहेको थाहा पाएका भोला तालिम सकिएपछि वैशाखमा विराटनगरस्थित घरमा आएका थिए। उनी राष्ट्रिय अनुसन्धानमा जागिर खाएको एक दशक भएको छ। उनका श्रीमती र दुई छोरा छन्।