गत सोमबार डडेल्धुराका तेजबहादुर सेठी आत्तिँदै गाङखेतको स्वास्थ्यचौकीमा स्टेचर लिन आइपुगेका थिए। उनका ६३ वर्षका दाजु मिर्गौलाको समस्या कारण निकै अस्वस्थ भएपछि गाउँलेले बोकेर स्वास्थ्यचौकीसम्म ल्याउँदै थिए।
वडा एकै भए पनि गाङ्खेतबाट उनको टोल एक/डेढ घण्टा टाढा पर्छ। गाङखेत आलिताल गाउँपालिकाको वडा नम्बर २ को केन्द्र हो। वडा कार्यालय पनि यहीँ छ।
यहाँ गाउँका मान्छे दु:खी बिमारी पर्दा एकजुट भएर सहयोग गर्छन्। तेजबहादुर अरूलाई पनि समस्या पर्दा सक्दो सहयोग गर्ने भएकाले उनका दाजु बिमारी परेका बेला सबैजना आइदिए।
गाउँका युवाहरू बिमारी बोक्न तयार भए। महिलाहरूले बाटोमा खान पानी र बिस्कुट तयार पारिदिए। बिमारीलाई
बोकेर लग्दा डाँडाले नछेकेसम्म स्वास्थ्यलाभको कामना घर बस्नेहरूले गरेको उनले सुनाए।
तेजबहादुरले स्वास्थ्य चौकीमा भएको स्ट्रेचर आफ्ना बिमारी दाजुलाई पीच सडकसम्म बोक्नुपर्ने भएकाले मागे।
‘हामीले गाउँबाट त स्याउला बोक्ने जालमा बेरेर बिमारी दाजुलाई यहाँ स्वास्थ्य चौकीसम्म पुर्यायौं, यहाँदेखि स्ट्रेचरमा लग्नुपर्ला,’ उनले भने।
केहीबेरमा बिमारीलाई बाँसका लठ्ठीमा बेरिएको जालमा सुताएर चार जना युवाले काँधमा बोकेर गाङ्खेत पुर्याए। गाउँका अरू १०/१२ जना मान्छे पनि साथमा आएका थिए।
तेजबहादुर स्वास्थ्य चौकीबाट मागेको स्ट्रेचर बोक्दै उकालो लागे।
‘दाजुलाई यहाँ ठिक नहुने बिमार छ, धनगढी जानुपर्यो, गाडी नहुनाले यसो समस्या पर्यो,’ उनले भने।
गाउँमा एक जना अर्को पनि बिमारी भएर यसैगरी एकैदिन फेरि दौड्नुपर्ने भएको उनले बताए।
‘यहाँको विकास कसले गर्छ, एम्बुलेन्स छ तर रोड छैन,’ उनले भने।
स्वास्थ्य चौकीको माथिपट्टिबाट काटिएको सडक असारको पहिलो साता परेको पानीले चिरा परेको छ। आधा दर्जन बढी ठाउँमा पहिरो गएर मोटरसाइकल पनि पार नहुने गरी भत्केको छ।
स्थानीय दीपक सेठीले बाटो नभएर समस्या हुने गरेको बताए। कच्ची बाटोमा बिमारी बोकेर ४ घण्टा पर पीच सडकसम्म पुग्नुपर्ने उनले बताए।
‘रोडको समस्या छ, एम्बुलेन्स छ तर सुविधा लिन सकिएको छैन,’ उनले भने।
सिकिस्त बिरामीलाई यत्रो लामोबाट उकालो–ओरालो गरेर पिच सडकसम्म लग्दा धेरै गाह्रो हुने गरेको उनले सुनाए।
केही दिन अगाडि सोही ठाउँकी घाइते महिलालाई धनगढीसम्म यसरी नै लग्नु परेको उनले सुनाए।
सडक आएपछि सहज हुने आशा राखेका गाङखेतका स्थानीयले अहिले पनि पहिलेको समस्या भोग्नु परेको छ।
गाङ्खेत स्वास्थ्य चौकीमा एम्बुलेन्स थन्किएको छ। बाटो खराब भएकाले एम्बुलेन्स चलाउन नसकिएको एक महिना बढी भयो।
स्वास्थ्य चौकीका इन्चार्ज चेतराज जोशीले पानी परेर ठाउँठाउँमा पहिरोले क्षतिग्रस्त भएपछि एम्बुलेन्स चलाउन नसकिएको बताए।
‘सडक बिग्रेको झण्डै एक महिना भयो। यहाँबाट रेफर गरेका बिरामीलाई अहिले स्टेचरमा बोकेर लग्नु पर्छ। सडक मर्मत गर्न त भनेका छौं, तर अहिलेसम्म जेसिबी आएको छैन, बर्खामा यस्तै समस्या हुन्छ। सिकिस्त बिरामीलाई त झनै समस्या भइरहेको छ’, उनले भने।
सडक राम्रो नभएकाले भएको एम्बुलेन्स पनि चल्न नसकेर तेजबहादुर र उनका आफन्तले बिमारीलाई बोकेर लैजानु परेको हो।
गाङ्खेतमा सडक काटिएको चार वर्ष पुग्यो।
आलिताल गाउँपालिका–२ का अध्यक्ष जनक मल्लले वडामा गाडी पुगेको चार वर्षको अवधिमा स्थानीयहरूलाई आवतजावतमा सहज भएको बताए।
उनले स्वास्थ्य चौकीमा एक वर्ष अगाडि एम्बुलेन्स किनिएको बताए।
‘बाटो पुगेको चार वर्ष भयो, एम्बुलेन्स ल्याइएको झण्डै २ वर्ष भैसक्यो। वर्षामा पानी पर्यो कि सडक बन्द हुन्छ,’ उनले भने।
साविकको जिल्ला विकास समिति, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा त्यो ठाउँमा सडक निर्माण भएको हो।
निर्माण गतिलो नभएपछि थोरै पानी परे पनि पूरै सडक चिरा पर्ने समस्या हुने गरेको स्थानीयको भनाइ छ।
सडक बिग्रेको महिनौं पुगे पनि मर्मतमा अहिलेसम्म हुन सकेको छैन।
अहिले सडक बन्द भएकाले खुलाउन गाउँपालिकाबाट डोजर पठाइदिन आग्रह गरेको उनको भनाइ छ।
डोजरले वडा नम्बर १ सम्मको बाटो सम्याएर मोटरसाइकल हिँड्नेसम्मको बनाएको छ। तर त्यसमा गाडी नचलेका उनले बताए।
‘यहाँ स्थानीय साहुका एक/दुई वटा बोलेरो गाडी चल्छन्, गैराबाट गाङखेत १५ किलोमिटरको एक जनाको २५० रूपैयाँ भाडा पर्छ,’ उनले भने।
गाङ्खेतबाट भीमदत्त राजमार्ग नपुगी आजभोलि गाडी पाइँदैन। उनीहरू गैरामा केहीबेर पर्खेर पहाडबाट आउने गाडी पुगेपछि त्यसैमा धनगढी पुग्छन्।
सुदूरपश्चिम प्रदेशका विभिन्न ग्रामीण विकट स्थानीय तहका नागरिकहरूको पनि अहिले गाङखेतका स्थानीयको जस्तै समस्या छ।
स्थानीय सरकार संचालनपश्चात् ठाउँ-ठाउँमा सडक खन्ने काम भए पनि त्यसले बर्खामा स्थानीयहरूलाई कुनै फाइदा गरेको छैन।