सरकारले अमेरिका र चीनबाट आएको कोरोनाविरूद्ध लगाइने खोप क-कसलाई दिने भनेर टुंगो लगाएको छ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार आजै मात्र खोप पाउने समूहबारे टुंगो लागेको हो।
अमेरिकाबाट १५ लाख डोज खोप र चीनबाट ८ लाख डोज खोप नेपाल आएको छ। सोही खोप सरकारले क-कसलाई दिने भनेर निर्णय गरेको हो।
अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज लगाए हुनेछ।
डा. गौतमका अनुसार अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका मानिस तर पहिलो डोज लगाउन बाँकी भएकाहरूले पाउनेछन्।
त्यस्तै, 'क' र 'ख' वर्गका अपांगता भएका व्यक्तिहरूलाई पनि सरकारले जोन्सन एण्ड जोन्सनको खोप लगाउने भनेको छ। साथै हाल नेपालमा बसिरहेका शरणार्थीहरूलाई पनि अमेरिकी खोप नै लगाइने भएको छ। त्यसबाहेक यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूले पनि यहीँ खोप लगाउन सक्नेछन्।
यस्तै, चीनबाट खरिदमार्फत ल्याइएको 'भेरोसेल' खोप भने ५५ वर्ष माथिका पहिलो डोज लगाउन बाँकी मानिसहरूलाई दिने भनिएको छ।
चिनियाँ खोप पाउने समूहमा विश्वविद्यालयका प्रध्यापक, शिक्षक र कर्मचारीहरू पनि छन्।
यीबाहेक सार्वजनिक यातायातमा कार्यरत चालक र सह-चालकहरूले पनि चिनियाँ खोप नै लगाउन सक्नेछन्।
साथै नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न रहेका तर खोप लगाउन बाँकी रहेका नागरिकहरूले पनि यही खोप लगाउन सक्ने भनिएको छ।
त्यस्तै, खोप अनिवार्य गरेका देशहरूमा जाने नागरिकहरूले पनि चिनियाँ खोप नै पाउने भएका छन्। यसअघि रोजगारीका लागि विदेश जाने कामदारहरूले खोप दिनुपर्ने माग गरेका थिए।
खोप नलगाइ जाँदा क्वारेन्टिन लगायत अन्य कुरामा धेरै खर्च हुने भन्दै रोजगार व्यवसायीहरूले कामदारका लागि खोप दिन सरकारसँग आग्रह गरेको थियो।
खोप शाखाले माथि तोकिएको प्राथमिकताभित्र रही जिल्ला कोभिड खोप समन्वय र अनुगमन समितिको निर्णय अनुसर खोप प्रदान गर्ने भनेको छ। त्यसबाहिर रहेर खोप दिएको जानकारीमा आए कानुनबमोजिम कारबाही हुने भनिएको छ।
डा. गौतमका अनुसार उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सक्नेछन्।
यस्तै, प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेशाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने भनिएको छ।
तर चिनियाँ खोप अहिलेलाई तीन वटा प्रदेशका मानिसले मात्र लगाउन सक्नेछन्।
डा. गौतमका अनुसार चीनबाट ल्याइएको ८ लाख डोज खोप अहिलेलाई गण्डकी, लुम्बिनी र बागमती गरी तीन वटा प्रदेशमा मात्र वितरण गरिएको भन्दै अहिलेलाई त्यहाँका मानिसले मात्र खोप पाउनेछन्।
उनले बाँकी खोप पनि आउने क्रममा रहेकाले खोप आउनसाथ बाँकी प्रदेशहरूमा पठाइने बताए।
अहिले जम्मा ८ लाख डोज खोप रहेको र त्यो देशभरि एकैचोटि वितरण गर्न नपुग्ने भन्दै डा. गौतमले अहिले तीन वटा प्रदेशमा पठाइएको जनाए।
'बाँकी प्रदेशहरूसँग हामी समन्वय गर्दैछौं। अर्को लटमा खोप आउनसाथ पठाउँछौं,' उनले भने।
सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ। सोही अन्तर्गत पहिलो लटमा ८ लाख डोज खोप आएको हो। बाँकी खोप पनि चरणचरण गरेर छिट्टै आउने भनिएको छ।
अमेरिकी खोप पनि यही साताभित्र लगाउन सुरू गर्ने गरी देशका विभिन्न ठाउँमा पठाउने तयारी रहेको डा. गौतम बताउँछन्।
'जोन्सन एण्ड जोन्सन खोप पनि यही साताभित्र सुरू हुन्छ। प्रदेश अनुसार खोप पठाउने मिति र कति खोप पठाउने भन्ने फरक हुनसक्छ तर यही साताभित्रै खोप लगाउने काम सुरू हुन्छ,' उनले भने।