अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारसहित दुई जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
अख्तियारले मंगलबार काठमाडौंको विशेष अदालतमा प्रहरी हवल्दार बाबुराम घिमिरेसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
उनका अनुसार हवल्दार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै ३ लाख ९९ हजार ५ सय रूपैयाँ घुस रकम लिएका थिए।
उनले अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको अख्तियारले जनाएको छ।
घिमिरेले ब्युरोमा भएको सुन तस्करको मुद्दाको नक्कली फाइल खडा गरेका थिए। त्यसरी खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने धम्की दिई व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको पुष्टि भएको प्रवक्ता रिसालले बताए।
पुष्टि भएसँगै अख्तियारले हवल्दार घिमिरे र स्वर्णकारसँग तीन लाख ९९ हजार ५ सय रूपैयाँ बिगो कायम गरी छ महिनादेखि एक वर्ष छ महिनासम्म कैद सजाय दिन माग गरेको छ।