महोत्तरीको लक्ष्मी नारायण मन्दिर परिसरमा खैरो ज्यानमा सेता थोप्ला भएका चित्तलहरू बस्छन्। खासमा यी जनावर बस्नुपर्ने जंगलमा हो। तर विगत १२ वर्षदेखि यिनीहरू सामान्य टहरामा दुःखसाथ बाँचिरहेका छन्।
जस्ताले ओताएको सानो टहरोमा अहिले साना-ठूला गरी १३ वटा चित्तल छन्। एक त यिनीहरू आफ्नो प्राकृतिक वासस्थानमा छैनन्, अर्को यिनीहरूको हेरचाह गर्ने कोही छैन। यिनले यहाँ न घाँस खान पाउँछन्, न सफा पानी।
घाँसपात खाएर जंगलमा कुद्दै, उफ्रिँदै बाँच्नुपर्ने चित्तल चारघेरामा थुनिएर माटो र हिलो खाएर बसेका छन्।
लामो समय चित्तलहरूको यो बिजोग देखेपछि केही स्थानीयले जनावर उद्धार एवं संरक्षण गर्ने मिथिला वाइल्डलाइफ ट्रस्टलाई सम्पर्क गरे। अहिले ट्रस्टले उद्धारका निम्ति काम गरिरहेको ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले बताए।
'खासमा चित्तललाई यसरी खोरमा राख्नु नै अनैतिक हो। मन्दिरका सरोकारवाला यही डरका कारण यसबारे कुरा गर्दा पन्छिन खोज्छन्,' मण्डलले सेतोपाटीसँग भने।
छ महिनाअघि ट्रस्टबाट यी जनावरबारे बुझ्न आएका थिए। सरोकारवालाबाट कुनै जानकारी नपाएपछि उनीहरूले केही स्थानीयसँग खोजिनिती गरे।
'धेरै पहिले यहाँ भक्तजनहरूले दुइटा भाले र पोथी चित्तल छाडेका रहेछन्। तिनीहरूबाट जन्मिएका बच्चासमेत गरेर अहिले १३ वटा छन्,' मण्डलले भने, 'अघिल्लो साता दुइटा चित्तल जन्मिएका थिए। तर एउटा मर्यो।'
उचित संरक्षण नहुँदा यहाँ जन्मिएका प्रायः चित्तल मर्ने गरेका छन्। जो बाँच्छन्, तिनीहरूको जीवन पनि निकै कष्टकर तरिकाले बित्छ।
मन्दिरका बाबा–पुजारीहरूका अनुसार करिब १२ वर्षअघि सिन्धुपाल्चोकका एक भक्तले यहाँ एउटा पोथी चित्तल उपहार दिएका थिए। त्योबेला यहाँ ठूलो कम्पाउन्ड थियो। शीतल र घाँसे मैदान हुने भन्दै ती भक्तजनले चित्तल छाडेका थिए। त्यसलाई साथी भन्दै अर्को भाले चित्तल सिराहाबाट ल्याइयो।
'यसको ठ्याक्क तथ्यांक र अभिलेख भने कसैसँग छैन,' मण्डलले भने, 'तर चित्तलहरू यहाँ बस्न थालेको धेरै भइसकेछ।'
सुरूआती दिनमा यहाँ चित्तललाई चाहिने घाँस प्रशस्त थियो। स्याहार गर्ने मान्छे पनि थिए। त्यही भएर राम्रोसँग हुर्किन पाए। बच्चा जन्मे, हुर्के। विस्तारै मन्दिर घेरेर बस्ती बस्न थाल्यो। मन्दिर व्यवस्थापन पनि बिग्रियो। जनावर एक्ला भए। मान्छेका बीचमा बाँच्ने संघर्ष चित्तलहरू आफैंले गर्नुपर्यो।
गोठजस्तो टहरोमा पानी पर्दा चित्तलहरू ओत लाग्छन्। भोक लागे त्यहीँ जमेको हिलो खान्छन्। उनीहरूको जीवन यत्ति हो!
'सुरूमा त हामीलाई अचम्म लागेको थियो। पछि आफ्नै आँखाले देख्यौं,' मण्डलले भने, 'यिनीहरू कहिलेदेखि यसरी हिलो, माटो खाएर बसेका होलान्!'
ट्रस्ट यहाँ पुगेपछि उनीहरूले केही घाँस ल्याइदिएका थिए। तर आफ्नो कार्यथलो जनकपुर र यहाँको दुरी टाढा भएकाले सधैं आउन उनीहरूलाई सम्भव भएन। मिथिला वाइल्डलाइफ ट्रस्ट यी जनावरलाई अर्को ठाउँमा स्थानान्तरण गर्ने प्रयास गरिरहेको छ। त्यति बेलासम्म यहाँ कोही हेरचाह गर्ने मान्छे राख्ने कि भन्ने उनीहरूले सोचेका छन्।
'हामी यहाँ धेरै पटक आइसक्यौं तर चित्तलहरू हामीसँग डराएनन्। वरिपरि मान्छे देखिरहेकाले होला, उनीहरूको स्वभाव जंगली जनावरभन्दा केही फरक छ,' मण्डलले भने।
चित्तल बस्ने जंगलमै हो। तर यिनीहरू घर पालुवाजस्ता भइसकेकाले कसरी स्थानान्तरण गर्ने भन्ने अर्को दुबिधा छ। कहिले जंगलमा नबसेका यिनीहरू खुला वातावरणमा कसरी बाँच्लान्?
यही अलमलका कारण ट्रस्टले यिनीहरूलाई अहिले 'धनुषा संरक्षित वन' मा राख्ने तयारी गरिरहेको छ। त्यहाँ एकजना जनावर संरक्षक पनि छन्। उनैले चित्तलहरूको रेखदेख गर्न सक्छन्।
साथै 'एनिमल नेपाल' नामक संस्थाले यो विषयमा चासो देखाएको छ। माटो खाइरहेका जनावरको स्वास्थ्य स्थिति जान्न त्यहीँका पशुचिकित्सकले हेर्ने भएका छन्।
'यी जनावरको मामिला एकदमै जटिल छ। त्यही भएर करिब छ महिनासम्म त हामीले तिनीहरूलाई राम्ररी नियाल्नुपर्छ,' मण्डलले भने, 'अब जन्मिने नयाँ चित्तललाई भने मान्छेदेखि टाढा जंगलमै छाड्छौं। पुरानालाई भने केही समय लाग्ला।'
डिभिजन वन कार्यालय, महोत्तरीले पनि यो विषयलाई चासोका साथ हेरेको छ। केही दिनअघि कार्यालयका केही मान्छे यो ठाउँ निरीक्षणका लागि गएका थिए।
चित्तल संरक्षणमा पहल गर्ने बताउँदै कार्यालय प्रमुख विनोद सिंहले भने, 'यहाँ धेरै समयअघिदेखि चित्तललाई घरपालुवा जसरी राखिएको रहेछ। खानपिन रहेनछ। हामी उनीहरूबारे अनुगमन गरिरहेका छौं। चाँडै कसरी अन्त सार्ने भनेर छलफल गरिरहेका छौं।'
सबै तस्बिर/भिडिओ सौजन्यः मिथिला वाइल्डलाइफ ट्रस्ट