बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विभिन्न अतिरिक्त पदमा रहेका ९३ जना चिकित्सक र उच्च पदस्थ कर्मचारीहरुले उपकुलपति सहितका पदाधिकारीहरुलाई बहिष्कार गर्ने घोषणा गरेका छन्।
चारै जना पदाधिकारीलाई बहिष्कार गर्ने र उनीहरुको मातहतमा रहेर काम नगर्ने भन्दै हस्ताक्षर संकलनमा जुटेका उनीहरुले बिहीबार बिहान सम्ममा ९३ जनाको हस्ताक्षर संकलन गरिसकेका छन्। यो संख्या करिब १ सय ५० हुने हस्ताक्षरकर्ताहरुको भनाइ छ।
‘हामीले नवनियुक्त प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई ४८ घण्टाको अल्टिमेटम दिएका छौं’, बिपीको संयुक्त संघर्ष समितिले भनेको छ, ‘आज साँझसम्मको त्यो समयमा कुनै रेस्पोन्स नभए दैनिक दुई घण्टा ओपिडी बन्द गरिनेछ। र अहिलेका पदाधिकारीलाई शुक्रबारदेखि पूर्ण रुपमा अवज्ञा गरिनेछ।’
उपकुलपतिसहित चारै जना पदाधिकारीको पदमुक्तिको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिको मागमा समर्थन जनाउँदै उनीहरुले उपकुलपति डा ज्ञानेन्द्र गिरीसहितका पदाधिकारी बहिष्कार गर्ने घोषणा गर्दै मातहतमा रहेर काम नगर्ने चेतावनी पनि दिएका हुन्। सबै पदाधिकारी नैतिक रुपमा स्खलित भइसकेको आरोप लगाउँदै उनीहरुले यस्तो चेतावनी दिएका हुन्।
यसरी घोषणा गर्नेमा उपकुलपतिले गठन गरेको सल्लाहकार बोर्डका वरिष्ठ चिकित्सकहरुसमेत छन्। दुई जना सहायक डिन डेपुटी अस्पताल निर्देशक १ जना, सहायक अस्पताल निर्देशक १ जना, विभिन्न विभागीय प्रमुखहरु त्था सामान्य प्रशासनका उच्च पदस्थ कर्मचारीहरु छन्।
यसरी पदाधिकारी बहिष्कार अभियानमा हस्ताक्षर गर्नेहरुमा उपकुलपतिको सल्लाहकार बोर्डमा रहेका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. बालकृष्ण भट्टराई, प्रा.डा. वीरेन्दप्रसाद साह, प्रा.डा. आशिष घिमिरे, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. निलाम्बर झा सहितका वरिष्ठ चिकित्सकहरु छन्।
यसबाहेक उपकुलपति सहितका पदाधिकारीले नियुक्त गरेका विभिन्न जिम्मेवारीमा रहेका उनीहरुका विश्वास पात्रले नै पदाधिकारीलाई असहयोग गर्ने घोषणा गरेका हुन्। जसमा अधिकांश विभागीय प्रमुख एचओडीहरु छन्।
‘हाम्रो आस्थाको धरोहर र नेपालको स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानमा अग्रणी एवम् मानक संस्थान रहेको हाम्रो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उत्थानको लागि भइरहेको यो “बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान २०७८ मा हाम्रो पूर्ण समर्थन छ’, हस्ताक्षर अभियानको भूमिकामा भनिएको छ, ‘आजैको मितिदेखि यो ब्यबस्थापनमा रहेर काम गर्न नसक्ने र यो व्यवस्थापनलाई बहिस्कार गरेको घोषणा गर्दछौं।’
उनीहरुले ‘आन्दोलनले निकास नपाउन्जेल यो व्यवस्थापन एवम् पदाधिकारीहरुले दिएको कुनै पनि जिम्मेवारी पूरा नगर्ने कुरा पूर्ण होस्हवासमा यस पत्रमा हस्ताक्षर गरी जानकारी गराउन चाहन्छौ’ पनि भनेका छन्।
उच्च तहका चिकित्सक तथा कर्मचारीको यो घोषणाले बिपी प्रतिष्ठानको आन्दोलन पेचिलो बन्ने दिशा उन्मुख भएको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै पदाधिकारीको निरन्तरता ओली सरकारले चाहेपछि प्रतिष्ठानमा आन्दोलन चर्केको थियो।
बिपीको आन्दोलनलाई प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले वेवास्ता गरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका थिए।
‘अब उहाँहरुकै नेतृत्वको सरकार छ, यस्तोमा उहाँको कदम के हुन्छ हामी हेरिरहेका छौं’, संयुक्त संघर्ष समितिले भनेको छ।
प्रतिष्ठानको शुद्धिकरण अभियानको ३० औं दिन बुधबार मात्रै आन्दोलनकारीले नवनियुक्त प्रधानमन्त्रीलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए। आन्दोलनकारीको समर्थनमा प्रा डा गोविन्द केसी पनि धरान आएर ऐक्यबद्धता जनाएका छन्।
भ्रष्टाचारविरुद्ध लेख्दै बोल्दै आएका चिकित्सकलाई उपकुलपतिले प्रष्टीकरण सोधेपछि धरानमा आन्दोलन चर्केको थियो।
त्यसबेला प्रष्टीकरण फिर्ताको माग मात्रै रहेको आन्दोलनलाई वेवास्ता गर्दा अहिले चारै जना पदाधिकारीको राजीनामा न्यूनतम माग बन्न पुगेको छ।