चुरे गाउँपालिका-६ को जंगल चुरेको फेदी र तराईको समतल फाँट बीचमा पर्छ।
भावना कार्की वर्ष दिनयता १० जनाको परिवारसहित यही जंगलभित्र बस्छिन्। उनीहरूले त्रिपालको ओत लगाएका छन्।
उनीहरू आफ्नो घरजग्गा पहिरोले लगेपछि विस्थापित भएर यो जंगलमा आइपुगेका हुन्। यही त्रिपालमा आएपछि भावनाकी छोरी जन्मिइन्।
केही दिनअघि भावनाकी डेढ महिने छोरीलाई त्रिपालका खाँबामा दोपट्टा बाँधेर बनाइएको झोलुंगोमा उनकी जेठानीले हल्लाइरहेकी थिइन्। भावना त्रिपालअगाडि भाँडा पखाल्दै थिइन्।
उनकी नन्द खाटमा पल्टीएकी थिइन्। ससुरा जंगल फाँडेर बनाएको सानो बारीमा मकै गोड्दै थिए। उनका श्रीमान् वरपर अरू गाउलेसँग गफ गर्दै थिए। उनीहरूको दैनिकी यही हो।
‘महिलाहरू बिहान-बेलुका खाना बनाउने, भाँडा धुने, केटाकेटी हेर्ने काम गर्छौं, लोग्ने मान्छे जंगल फाँड्ने फुर्सदमा वल्लापल्ला घर गएर गफ गर्ने, बस्ने गर्छन्, जंगलमा अरू के काम छ र?,’ भावनाले भनिन्।
यो जंगलभित्र भावनाको मात्र घर छैन, अरू दुई सय १२ परिवार पनि बस्छन्।
गत वर्ष पहिरोले घर भत्काएपछि उनीहरू गौरीगंगा नगारपालिका-५ को जंगलमा बसेका थिए। त्यहाँ उनीहरूलाई बस्न दिइएन। अनि दुई सय १२ परिवार उठेर चुरे गाउँपालिका-६ मै पर्ने जंगलको बीचमा सात महिनादेखि बसिरहेका छन्।
नजिकका गाउँबाट उनीहरूको बस्ती १० किलोमिटर जति जंगलभित्र पर्छ।
पहिरोले उठिबास लगाएपछि त्रिपालको बास भएका परिवारका महिलाहरूलाई पानीको सबैभन्दा बढी दु:ख रहेको भावनाले बताइन्।
‘गाउँमा त बनाएका धारा थिए, पाइपबाट घरमै पानी ल्याएका थियौं, यहाँ खाना पकाउन, भाँडा धुन, नुहाउन, केटाकेटीको दिसापिसाब पखाल्न पनि पानी छैन,’ उनले भनिन्।
जंगलमा उनले एक घन्टा परबाट पानी ल्याउनु पर्ने बताइन्। महिलाहरू प्राय: पानी ल्याउने काम गर्छन्। ‘अहिले त पानी बोक्दै आधा दिन जान्छ,’ उनले भनिन्।
वर्षातका दिन फोहर बालुवा-माटो मिसिएर पानीको गुणस्तर नै बिग्रन्छ। उनीहरू त्यही पानी बाध्यताले खान्छन्।
जंगलमा खाना र पानीको असुविधा छ। उनीजस्ता सुत्केरी र गर्भवती महिलालाई आवश्यक पोषण हुने खानेकुरा पाइन्न।
घरायसी काम बढेपछि अन्य आम्दानी हुने स्रोतहरूको पछि लाग्न समय नपाइएको यहाँका महिलाहरू बताउँछन्।
इसिका कार्कीले जंगलको बसाइले दुई-चार पैसा कमाउन पनि नपाएको बताउँछिन्। गाउँमा हुँदा बाख्रा पालेर उनले आम्दानी गर्थिन्, जुन अहिले छैन।
खेती गरेर केही महिना खान पुग्ने उनको परिवारले अहिले वर्षभरि किनेर खानु परेको छ।
यसले पारिवारिक खर्चका लागि थप परीश्रम गर्नु परिरहेको उनको भनाइ छ।
‘यहाँ जंगलमा काम छैन, मजदुरी गर्न जाउँ भने टाढा पर्छ,’ उनले भनिन्। प्रधामनमन्त्री रोजगार कार्यक्रममा पनि जान नपाएको उनले सुनाइन्।
पहिरोले जंगलको बास भएपछि परिवारमाथि आर्थिक दबाब आएको ४१ वर्षीया निर्मलादेवी कार्कीले बताइन्। उनको परिवारको दु:ख पनि कम छैन।
२०५८ सालमा आएको पहिरो नै उनीहरूको घरखेत लगिदिएको थियो।
निर्मलादेवी दुई छोरा र दुई छोरी साथमा लिएर श्रीमानसँग त्यसैबेलादेखि भारतको बैंग्लोरमा काम गर्न गएकी थिइन्।
लामो समय परदेश बसेर निर्मलादेवीको परिवारले गाउँमा फेरि जोडेको घर पनि गत वर्ष आएको पहिरोले जोखिममा पारेपछि पुन: विस्थापित हुनै पर्यो।
‘भएको जग्गा र घर गयो, जिविका नै फेरिएपछि दु:ख त बढ्ने भैगो नि,’ उनले भनिन्।
त्रिपालमा बस्ने किशोरीहरू शिक्षाबाट पनि बञ्चित हुनु परिरहेको छ।
निर्मलादेवीले शौचालय जान, दाउरा ल्याउन, पानी ल्याउन वा सामान किन्न बजार जान परे डर लाग्ने गरेको बताइन्।
‘दिउँसो गाउँका मान्छे काममा गएका बेला यहाँ डर र जोखिम दुबै छ। कति केटीहरूले यही दु:ख देखेर पढाइ बीचमै छोडेर बिहे गरिसके,’ उनले भनिन्, ‘बाल विवाहको जोखिम बढ्दै गएको छ।’
जंगलमा बस्दा महिलाहरूको क्षमता विकास तल खस्केको छ। स्कुल जान नपाएपछि र अरू काम गर्न नपाएपछि भारत जाने वा बिहे गर्ने अवस्था आउन थालेको उनीहरू बताउँछन्।
१६ वर्षीय डम्मरीकुमारी कार्कीले पहिरोले विस्थापित भएपछि पढाई छुटेको बताइन्।
‘अहिले बसाइको टुंगो लागेको छैन। पढ्ने कुरा त कहाँबाट हुनु अरू साथीहरू भर्ना भइसकें भन्छन् मेरो त छैन,' उनले भनिन्।
उनी धेरै पढ्न चाहन्छिन्। करिब ७ महिनादेखि जंगलमै बस्नुपर्दा आफ्नो पढ्ने चाहना पूरा नहुने पो हो कि? भन्ने उनलाई चिन्ता छ।
‘सँगैकी साथीको बिहे भइसक्यो। कहीँ मेरो पनि पाल्न सक्दैन भनेर घरबाट बिहे पो गरिदिन्छन् कि भनेर पिर लागिरहन्छ,’ उनले भनिन्।
जंगलको बसाइमा घरेलु हिंसा र यौन हिंसा बढेकोमा उनीहरूले महसुस गरेका छन्। महिला, बालबालिका र किशोरीले सँगै आफन्त नहुँदा असुरक्षित महसुस गर्ने गर्छन्।
घरमा आफन्त नभए अरूबाट असुरक्षित हुने हो कि भन्ने डर उनीहरूको मनमा खेलिरहन्छ।
‘त्रिपालमुनि बस्दा असुरक्षा हुन्छ। आफूसँगै बस्नेबाट पनि डर लाग्छ,’ १६ वर्षीया किशोरी विपना थापामगरले भनिन्।
स्थानीय पदम कार्कीले जंगलको बासले स्वास्थ्य सेवा लिन नपाउने, परिवारको सुरक्षादेखि अरू जिम्मेवारी पनि महिलाले नै लिन परिरहेको बताए। ‘जंगलमा बिरामी भइहाले महिलालाई तत्काल चिकित्सा उपचार लिन पनि गाह्रो छ,’ उनले भने।
कार्कीले विस्थापित भए पनि अहिलेसम्म कता जाने सरकारबाट टुंगो नआएको बताए।
‘पहिरो विस्थापित भनेर गाउँपालिकाबाट सिफारिस बनाएर जंगलमा बसेका हौं,’ उनले भने।
बाढी-पहिरोले सुदूरपश्चिममा ठूलो धनजनको क्षति वर्षेनी हुने गरेको छ भने हजारौं प्रभावित हुने गरेका छन् ।
यसबाट विस्थापित भएका परिवारका महिलाहरूले लैंगिक असमानताको थप सामाना गर्नुपरिरहेको देखिन्छ भने अधिकारबाट समेत बञ्चित हुने अवस्थामा छ।
विपद व्यवस्थापन गर्ने भनेर यस वर्ष प्रदेश सरकारले आवश्यक बजेट छुट्याएको हुन्छ।
यस वर्ष विपद व्यवस्थापन, राहत र उद्धारका लागि प्रदेश सरकारले बजेट छुट्याएको सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।
यसमा महिला र बालिका, किशोरीहरूका छुट्टै बजेट भने हुँदैन।
चुरेमा घरपरिवार विस्थापित भएर जोखिमा आएर बसेकाहरूलाई सार्वजनिक जग्गा दिने विषयमा स्थानीय सरकारसँग छलफल गत वर्ष भएको मन्त्री जोशीले बताइन्। यो काम अहिले भने रोकिएको छ।
‘राज्यले उनीहरूको सही व्यवस्थापन गर्नुपर्छ,' उनले भनिन्, ‘स्थानीय तहले विवरणहरू संकलन गर्छ अनि जग्गा खोजिदिने, घरबासका लागि आर्थिक सहयोग गर्ने, ज्यानै गएका वा घाइते भएका परिवारलाई थप आर्थिक सहयोग गर्ने र जनता आवासबाट लाभ लिन आधार पुग्नेहरूलाई त्यसमा समेट्ने जस्ता काम गर्छौं।’