झापासहित प्रदेश नम्बर १ मा हत्याका घटना बढेका छन्। असार महिनामा मात्रै आठ वटा हत्याका घटना भएको प्रहरीले पुष्टि गरेको छ।
झापाको विर्तामोड-५ मा असार २७ गते मृत अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या वा आत्महत्या भन्ने विषयको प्रहरीले अहिलेसम्म निर्क्यौल निकालेको छैन।
विर्तामोडकी युवती मृत्यु प्रकरणको टुङ्गो नलाग्दै बिहीबार झापाको गौरादह–१ गेउरियामा महिलाको शव फेला परेको छ।
गेउरिया चोकनजिकै ३९ वर्षीया संगीता टुडू मृत फेला परेकी हुन्। श्रीमानसँग बुधबार बेलुका झगडा भएको र श्रीमान् फरार रहेकाले उनैले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
विर्तामोडकी बस्नेत मृत्यु प्रकरणमा प्रहरीले कसैलाई पक्राउ नगर्नु र तीन दिनकै अवधिमा अर्को हत्याको घटनाले सुरक्षा व्यवस्थामा प्रश्न खडा गरेको छ। असार महिनामा मात्रै भएका हत्याका घटनामा आफन्तको नै संलग्नता बढिरहेको प्रहरीले जनाएको छ।
गत असार ३ गते मेचीनगर-५ का ४० वर्षीय भीमराज लिम्बुको हत्या भएको थियो। उनलाई सोही ठाउँका ५६ वर्षीय सुकराज लिम्बुले कपडाको क्र्याक ब्याण्डेजले घाँटीमा बाँधेर हत्या गरेका थिए।
हत्यामा संलग्न सुकराजलाई प्रहरीले पक्राउ गरेको छ। असार १३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुवाको हत्या गरे। घरायसी विवादमा सुवर्णले ७२ वर्षीय बुवा चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।
असार १९ गते मोरङको बेलबारी नगरपालिका-७ का ५६ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया श्रीमती सीता घिमिरेको मुंग्रो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवनगरेका अम्बिकाले आफ्नो बुवाको श्राद्धको दिन नै श्रीमतीको हत्या गरेको प्रदेश प्रहरीले जनाएको छ।
असार २३ गते इलाम नगरपालिका-१२ साङ्ग्रुम्ब पिप्ले भन्ज्याङका ४५ वर्षीय यामबहादुर साँवाले सोही ठाउँका ५८ वर्षीय धनबहादुर राईको हत्या गरे। राई र साँवाबीच झगडा हुँदा साँवाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
असार २५ गते संखुवासभा खाँदबारी नगरपालिका-१ का २४ वर्षीय मुकेश तामाङले २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
असार २६ गते मोरङको विराटनगरमा आफ्नै भाइले दाजुको हत्या गरेका छन्। गुप्तचर विभागमा कार्यरत हवल्दार ४२ वर्षीय भोला सिंहका ३१ वर्षीय भाइ साजन सिंहले छुरा प्रहार गरी दाजुको हत्या गरेका हुन्।
लागुऔषध दुर्व्यसनमा फसेका साजनले दाजु घर आएको समयमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। त्यस्तै, उच्च अदालत विराटनगर इलाम इजलासको परिसरमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा प्रहरीका असईको संलग्नता रहेको खुलेको छ।
अदालतकी कर्मचारी ४८ वर्षीया विमलादेवी निरौला पराजुलीको ३५ वर्षीय युवराज बानियाँले हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जनाएका छन्।
उनीहरूबीच सम्बन्धमा खटपट आएपछि घटना भएको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उता, असार ३० गते मोरङमा नवजात शिशुको हत्या भएको छ। रंगेली-५ आँपगाछीमा नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा २५ वर्षीया खुश्बु मण्डल, ५० वर्षीय नागेश्वर मण्डल, ४८ वर्षीया उर्मिला मण्डल र २८ वर्षीय अरुण मण्डल रहेका छन्। खुश्बुले ब्लाङ्केटले घाँटी थिचेर हत्या गरी खाल्डो खनेर पुरेको अवस्थामा नवजात शिशुको शव प्रहरीले फेला पारेको थियो।
त्यस्तै, असार ३१ गते मोरङको विराटनगरस्थित बसपार्क चोकमा सञ्चालित चिया पसलभित्र एक महिलाको शव फेला परेको थियो। चिया पसलभित्र घोप्टो परेको अवस्थामा ४० वर्षीया सीता राजवंशीको शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
राजवंशीको हत्या भएको आशंका भए पनि प्रहरीले पुष्टि गरेको छैन। प्रहरीले पुष्टि नगरेका तीन घटनासँगै असार महिनामा मात्रै ११ जनाले ज्यान गुमाएका छन्। हत्याका घटनामा प्रहरीले कुकुरको सहायता लिए पनि झापाको घटनामा भने प्रहरीले कुनै प्रमाण फेला नपार्दा अन्योल सिर्जना भएको छ।
विर्तामोडको सुरक्षा व्यवस्थालाई लिएर नगरपालिकाले विज्ञप्ति नै निकालेर चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय विर्तामोडमा हत्याका घटना बढेको भन्दै सुरक्षा व्यवस्था चुस्त राख्न नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रहरीलाई आग्रह गरेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले सुरक्षा व्यवस्था मिलाउन नसकेको गुनासो स्थानीयले गर्न थालेका छन्।
२५ वर्षीय बस्नेतको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइए पनि उक्त रिपोर्ट चार दिन बितिसक्दा समेत आएको छैन।
प्रहरीले मृतक बस्नेतको मोबाइलसमेत चेकजाँचका लागि काठमाडौं पठाएको बताइएको छ। प्रहरीले हालसम्म हत्या वा आत्महत्या केही भन्न सकेको छैन।
माथिका केही घटनामा के देखाउँछ भने हत्यामा अधिकांश संलग्न आफन्त देखिएका छन्।
लेनदेन, अनैतिक सम्बन्ध र मदिरा सेवनबाट हुने आवेगको झगडाले हत्यासम्मका घटना पूर्वमा हुन थालेका छन्।
प्रहरीले घटनास्थललाई सुरक्षित राखेर त्यससँग सम्बन्धित प्रमाण संकलन गर्दा घटनाका प्रत्यक्षदर्शीले पाएको सूचना लुकाउने गर्दा कतिपय अपराधी फरार हुन पाएका छन्।
झापामा भएका हत्याका घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए।
तत्काल फरार रहे पनि कुनै पनि अवस्थामा उनीहरू पक्राउ पर्ने उनले बताए। ‘हामीले खोजी गरिरहेका छौं। केही घटनाका फरारसँग प्रहरी नजिक पुगेको छ। उनीहरू पक्राउ नपर्नुको कुनै कारण प्रहरीसँग छैन,’ डिएसपी थापाले भने।