सौराहाको नजिकै जन्कौलीका उदयचन्द्र अर्यालले जंगलमा पर्यटक घुमाउन थालेको ३० वर्ष भयो। बागलुङबाट बसाइ सरेर चितवन आएका उनले पेशाका रूपमा अँगालेको पहिलो काम नै यही थियो।
‘नेचर गाइड’ भनिने यो पेशामार्फत् उनले सयौं विदेशीको संगत गरे। उनीहरूलाई नेपालको वन र यहाँ पाइने वन्यजन्तुको विषयमा जानकारी गराए।
२०४८ सालमा उनले काम सुरू गर्दा सौराहामा पर्यटकीय चहलपहल खासै थिएन। डेढ दर्जन होटल थिए, दैनिक १५-२० जना विदेशी पाहुना आउँथे। उनीजस्ता नेचर गाइडको संख्या दुई दर्जन थियो। अर्यालले नेचर गाइडको संस्था बनाएर व्यवस्थित बनाउनेदेखि नेतृत्व गरेर उनीहरूको सेवा, सुविधा र अधिकारका लागि संघर्ष गर्ने काम गरे। २०५२ सालमा दर्ता भएको नेचर गाइड एसोसिएसन सौराहामा अहिले ७०० भन्दा बढी व्यक्ति आवद्ध छन्। नेचर गाइडसम्बन्धी संस्था ३३ वटा छन्।
‘काम सुरू गर्दा कमाइ कम भए पनि हामीले संघर्ष गरेपछि बिस्तारै बढेको थियो। पछिल्लो समय यो पेसामा लाग्नेको कमाइ राम्रो भएको थियो,’ अर्यालले भने, ‘कतिपयले त महिनामा एक लाख रुपैयाँसम्म पनि कमाई गर्थे।’
जिप, डुंगा, सफारी, जंगल वाकमा जाने पर्यटकको गाइड बनेर उनले मासिक ५० हजार रुपैयाँसम्म कमाए।
यही पेशाबाट भएको कमाइले उनले घर चलाए। छोरा, छोरीलाई पढाए। छोराले वन विज्ञान नै पढे। छोरीहरूलाई माइक्रो बायलोजी र व्यवस्थापन पढाए।
‘पर्यटन के हो भन्ने जानें, धेरै विदेशीलाई हाम्रो पहिचानको बारेमा सुनाएर गर्व गरें,’ उनले भने, ‘मेरो जीवनमा यो पेसाले आमूल परिवर्तन ल्याएको अनुभूति हुन्थ्यो। त्यही अनुभवले गर्दा अरू पेसातिर आँखा लगाउने सोच कहिल्यै आएन।’
केही वर्षयता भने अर्याल कामविहीन बनेका छन्। गतवर्ष कोरोनाभाइरसको महामारीका कारण पर्यटकीय गतिविधि प्रभावित बनेसँगै अर्यालजस्ता सयौं नेचर गाइड कामविहीन बनेका छन्।
‘यही काम गर्दागर्दै तीन दशक बित्यो। अब अन्त जाने ठाउँ नै छैन,’ उनले भने, ‘यही पेशा जीवनको साहरा थियो, त्यो गुमेपछि विजोगै भएको छ।’
उनले पैतृक सम्पत्ति तीन कट्ठा जमिनमा अन्न उब्जाएर खान पुगे पनि अन्य घरायसी गर्जो धान्न हम्मे हुने गरेको सुनाए।
दुई दशक अघिदेखि नेचर गाइडको काम गर्दै आएका प्रकाश बस्नेतको अवस्था पनि उस्तै छ। केही वर्षदेखि छोरी आकृतिलाई समेत यही पेसामा सहभागी गराएका उनलाई लकडाउनले ठूलो असर गरेको छ।
‘लामो समय यो पेसामा रहेर काम गर्दा भविष्य राम्रो देखेपछि छोरीलाई पनि सिकाएर प्रोत्साहन गरें,’ उनले भने, ‘काम सिक्दै गर्दा पर्यटक आउनै बन्द भयो। कमाइको बाटो पनि बन्द भयो।’
यद्यपी उनी हरेस खाने पक्षमा छैनन्।
‘बाबु, छोरी यही पेसामा जम्ने हो, सधैँ यस्तो अवस्था त नहोला नि,’ उनले आशा व्यक्त गरे।
नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीले पर्यटन क्षेत्र धरासयी बन्दा यसमा आधारित सयौं मान्छेहरू समस्यामा परिरहेको बताए। पुराना र यही पेसालाई भविष्य ठानेर लागेका केही व्यक्ति अनुकूल समयको पखाईमा रहे पनि धेरैले पेसा छाड्न थालेको उनले सुनाए। ७०० बढी गाइडमा अहिले करिब १०० जनामात्रै सम्पर्कमा रहेको उनले बताए।
‘नेचर गाइड पेसामा राम्रो गर्दै आएका कतिपय अब गाह्रो भयो भनेर अन्य पेसामा जान थालेका छन्, केही विदेश जाने तयारीमा छन्,’ उनले भने, ‘अवस्था सामान्य भयो र पर्यटकहरू बढ्न थाले भने अनुभवी मान्छेको खडेरी लाग्ने हो कि भन्ने चिन्ता छ।’
सौराहा नजिकैको गाउँ बछौली घर भएका धामीले नेचर गाइडको काम गर्न थालेको ८ वर्ष भयो। काम सुरू गर्दै गर्दा उनमा ठूलो उत्साह र जाँगर थियो। कोरोनाभाइरसको महामारी सुरू हुँदै गर्दा पनि उनलाई पर्यटन क्षेत्र लामो समय प्रभावित होलाजस्तो लागेको थिएन।
‘देशको अर्थतन्त्र विकासको मेरूदण्डका रूपमा रहेको पर्यटन क्षेत्रमा यत्रो असर पर्ला, वर्षौं बन्द होला भन्ने सोचेको थिइनँ,’ उनले भने, ‘यही पेसामा भविष्य छ भनेर लागेका धेरै साथीलाई अहिलेको अवस्थाले निरास बनाएको छ। धेरैले पेसा छाडेका छन्।’
उनले आफू भने अनुकूल समयको पखाईमा रहेको बताए। पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य काम पनि गर्दै नेचर गाइडको पेसालाई निरन्तरता दिने सोचाइमा उनी छन्। अवस्थामा सुधार आएर पर्यटन क्षेत्रमा विगतमा भन्दा पनि सक्रिय हुनेगरी तयारी गरिरहेको उनले बताए।
‘केही समयमा नेपाल भित्रिने पर्यटकको संख्या बढ्ने र जनशक्तिको अभावमा पर्यटन क्षेत्र धानिनसक्नुको हुने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा रहेका जनशक्तिलाई पलायन हुन नदिने गरी सरकारको भूमिका आवश्यक देख्छु।’
उनले नेपाल आउन चाहने विदेशी पर्यटकले सुरक्षाको महसुस गर्नुपर्ने भएकाले पर्यटन क्षेत्रमा काम गर्नेलाई कोरोनाविरूद्धको खोप दिइनुपर्ने बताए। साथै नवीकरण शुल्क मिनाहा गरेर काम गर्ने वातावरण बनाइदिनुपर्ने धामीले बताए।
नेचर गाइड बन्न अहिले ७ देखि १५ दिनसम्मको तालिम लिनुपर्ने व्यवस्था छ। त्यो तालिमपछि चितवन राष्ट्रिय निकुञ्जले दिने प्रमाणपत्र र परिचयपत्रका आधारमा पर्यटकको गाइड बन्न पाउने व्यवस्था छ। मध्यवर्ती क्षेत्र र चितवन निकुञ्जमा प्रवेश गर्न चाहने पर्यटकको साथमा नेचर गाइड अनिवार्य हुनुपर्छ। नेचर गाइड होटल, गाइडकै संस्थामार्फत् वा व्यक्तिगत रूपमा पर्यटकको भ्रमणमा सहभागी हुन्छन्। यसरी पर्यटक घुमाउने गाइडले घुमाएको अवधि अनुसारको ज्याला पाउँछन्। चितवनको सौराहा क्षेत्रमा पूर्णकालीन काम गर्ने नेचर गाइड ४०० बढी छन्। मेघौली, पटिहानीलगायतका क्षेत्रमा १०० नेचर गाइड छन्। चितवन निकुञ्जसँग जोडिएका पर्यटकीय क्षेत्रमा २०० बढी नेचर गाइडले आंशिक रूपमा नेचर गाइडको काम गर्छन्।
चरा विज्ञको परिचय बनाएका सौराहाका व्यवसायी टीकाराम गिरी नेचर गाइडको पेशालाई थप व्यवस्थित बनाउँदै दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताउँछन्।
‘पर्यटनको अवस्था सुध्रिएको अवस्थामा नेचर गाइडले राम्रो आम्दानी लिन सक्छन् तर हाम्रासामू दक्ष गाइड उत्पादनको चुनौती छ,’ गिरी भन्छन्।
होटल, रेष्टुरेन्ट, जंगल सफारीलगायतका क्षेत्र बन्द हुँदा सौराहा, मेघौली, पटिहानीलगायतका क्षेत्रको पर्यटनमा आश्रित हजारौं मजदुरले रोजगारी गुमाएका छन्।