नविना ज्ञवालीलाई वर्षौंदेखि दृष्टिविहीन समूहका लागि खाना खाने वा पकाउने कामबारे छुट्टै बहसको खाँचो छ भन्ने लाग्थ्यो। करिब तीन हप्ताअघि उनले यसै विषयमा अनलाइन कार्यशाला चलाइन्।
पचासभन्दा बढीले सहभागिता जनाएको कार्यशालामा आधा सहभागी दृष्टिविहीन थिए। ३० वर्षीया नविना पनि दृष्टिविहिन हुन्।
जुममा आयोजित कार्यक्रममा नविनाले पहिलो दिन भान्सा कोठालाई दृष्टिविहीन मैत्री कसरी बनाउने, रेस्टुरेन्टमा खाना कसरी खाने, प्लेटमा भएको अन्तिम गाँस कसरी खानेजस्ता कुरा सिकाइन्। दोस्रो दिन उनले बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खाना बनाउने तरिकाहरू सिकाइन्।
'दृष्टिविहीनहरूले खाना पकाउन र खान अरूको सहयोग लिँदा हामी अरूभन्दा कमजोर छौं भन्ने लाग्न सक्छ। त्यसैले खानासम्बन्धी सबै काम आफैं कसरी गर्ने भनेर सिकाउन यो तालिम सुरू गरेकी हुँ,' नविनाले सेतोपाटीसँग भनिन्।
नविना साथ (सपोर्टिभ एक्सन टुवार्ड ह्युम्यानिटी) की अध्यक्ष हुन्। २०७५ सालको अन्त्यदेखि सञ्चालनमा आएको यो संस्थाको उद्देश्य समाजमा दृष्टिविहीन मैत्री वातावरण सिर्जना गर्नु हो। नविनाले यही संस्थामार्फत् कार्यशाला सञ्चालन गरेकी हुन्।
नवलपरासीकी नविना बुटवलबाट प्रमाणपत्र तह पास गरेपछि काठमाडौं आएकी हुन्। २०७१ सालमा पद्मकन्या क्याम्पसबाट स्नातक सकिन्। लगत्तै शिक्षा आयोगबाट प्राथमिक शिक्षकमा नाम निकालिन्। त्यही बेला उनले अमेरिकाको 'फुलब्राइट' छात्रवृत्ति पनि पाइन्।
पढ्न अमेरिका जाने वा महिनाको २२ हजार तलबमा सरकारी जागिर खाने भनेर दुबिधामा परेकी थिइन् उनी। 'धेरैले जागिर खान सुझाएका थिए। तर परिवारले आफूलाई जेमा इच्छा छ गर भनेपछि पढाइ नै रोजेँ,' उनले भनिन्।
अमेरिकामा करिब एक वर्ष इन्टर्न र कम्युनिटी वर्कसपमा बिताइन्। उनलाई अमेरिका बसाइ नेपालभन्दा सहज लाग्यो। दृष्टिविहीनलाई त्यहाँ नेपालमा जसरी 'विचरा'को नजरले नहेरिने कुरा उनलाई मनपर्यो।
पढाइलाई महत्व दिने उनले नेपाल फर्केपछि रत्नराज्यलक्ष्मी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन्। त्यसको केही समयपछि नविना डा. वीरेन्द्रराज पोखरेलको सल्लाहमा भारतको कान्थारी इन्स्टिच्युट, केरला पुगिन्। उनले २०७५ वैशाखदेखि मंसिरसम्म त्यही कान्थारी इन्स्टिच्युटमा उद्यमशीलता तालिम लिइन्।
अमेरिका बसाइ र कान्थारी इन्स्टिच्युटको तामिलपछि नविनाको ध्यान दृष्टिविहीन समुदायलाई आत्मनिर्भर बनाउन केन्द्रित भयो।
'यो तालिम पनि दृष्टिविहीन त्यसैको एउटा प्रयास हो,' उनले भनिन्।
उनको यो योजना केही वर्ष पुरानो हो। यसपालि भर्चुअल माध्यमबाटै पहिलो चरणको तालिम सकेपछि उत्साहित छिन्।
'हामी नदेख्नेहरूले देख्नेसँग अन्तर्क्रिया र सहकार्य गर्दै अघि बढ्न सुरूमा आफैंमा आत्मविश्वासको खाँचो छ,' उनले भनिन्, 'यस पटकको कार्यशाला यस कारणले पनि महत्वपूर्ण रह्यो।'
कार्यशालाको दौरान दृष्टिविहीन सहभागीसँगै उनीहरूका अभिभावकसँग पनि अन्तर्क्रिया भएको थियो। खाना बनाउने र खाने काममा परिवारका सदस्यको साथ महत्वपूर्ण भएकाले यसलाई पनि उनी उपलब्धि मान्छिन्।
हाल अरूलाई खाना बनाउन सिकाइरहेकी नविना आफैं भने सुरूमा खाना बनाउन रूचाउने व्यक्ति थिइनन्। घरमा अभिभावकको माया र साथ पाएर हुर्केकी उनलाई कतिपय काम सिक्न परेन। तर बिस्तारै उनले आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिइन्।
उनलाई दृष्टिविहीन भएकै कारण मात्र अरूभन्दा कमजोर हुनु थिएन। त्यसैले आफूलाई चाहिने आधारभूत सबै कुरा आफैं गर्नुपर्छ भन्ने मान्यता राख्छिन्। नविनाले भनिन्, 'खाना हाम्रो दिनचर्याको सदावहार काम हो। हाम्रा लागि आत्मनिर्भर बन्ने धेरै कुरा खाना बनाउने र खाने कामसँग पनि जोडिन्छ।'
त्यसैले होला, नविनाले युट्युब र सामाजिक सञ्जाल चहार्दै विभिन्न परिकार पकाउन सिकिन्। उनले यो सीप आफ्नो श्रीमान अर्जुन पौडेललाई सिकाएकी छन्। अर्जुन पनि दृष्टिविहीन हुन्। केही समय अघिसम्म अर्जुनलाई खाना बनाउन आउँथेन। सिकाउँदा सिकाउँदै अहिले उनी धेरै मिठो खाना बनाउन सक्ने भइसकेको नविनाले बताइन्।
अचेल नविना माइत जाँदा पनि बहिनीहरूले 'दिदीले पकाउनु हुन्छ' भन्छन् रे!
'उनीहरूले यसो भनेको सुन्दा खुसी लाग्छ,' उनले भनिन्।
खाना बनाउने कामलाई उनी भित्रदेखिको रूचि नभइ बनाइएको रूचि बताउँछिन्। यो कामबाट अरूलाई पनि सिकाउन पाएकामा उनलाई सन्तुष्टि मिल्छ। आफूजस्तै दृष्टिविहीन साथीहरूले खाना पकाउन र आफ्ना सबै काम आफैं गर्न सक्षम होऊन् भन्ने चाहना छ उनको। यसका लागि प्रयासरत पनि छन्।
उनीसँग यसभन्दा ठूलो सपना पनि छ- आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्ने।
उनको रेस्टुरेन्टमा कुकदेखि वेटरसम्म सबै दृष्टिविहीन हुनेछन्। यसका लागि चाहिने तयारी भइरहेको उनले बताइन्।
नविनाले रेस्टुरेन्टको नाम पनि सोचिसकेकी छन्, 'टिकटिक बाइटस्'।
'हामीले टेकेर हिँड्ने सेतो छडीको टिकटिक आवाज आउँछ। त्यसैबाट प्रभावित भएर यो नाम सोचेकी हुँ,' उनले भनिन्, 'मलाई हामी पनि आँखा देख्नेहरूले जस्तै सबै काम गर्न सक्षम छौं भनेर प्रमाणित गर्नुछ।'