सिन्धुपाल्चोकको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ३० किलोमिटर बाटो अहिलेसम्म पिच भइसकेको हुनुपर्थ्यो।
दुई लेन सडक विस्तार गरेर पिच गर्ने योजनाअनुसार सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले ७९ करोड रुपैयाँमा पाँच वर्षअघि ठेक्का लगाएको थियो।
भारतीय एक्जिम बैंकको ऋण सहयोगमा यो सडक निर्माण थालिएको थियो। सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनी सकिलहेइदर, नेपाली शंकरमाली र सुनौलो निर्माण सेवा छानिएका थिए।
यी तीनैको ‘ज्वाइन्ट भेञ्चर’ ठेक्काको मुख्य ठेकेदार कम्पनी काठमाडौंको शंकरमाली र त्यसका सञ्चालक दीपक सापकोटा थिए।
आयोजनाले यो सडक पूरा गर्न चार पटकसम्म म्याद थपेर ठेकेदारलाई काममा लगाएको थियो। अन्तिम म्याद गत असार २४ गते सकिँदै थियो।
भर्खर बाटो पिच गर्न थाल्दै गरेका सापकोटा गत फागुन महिनाबाट ‘भूमिगत’ भए। उनी ‘भूमिगत’ नभएको भए असारसम्ममा तीस किलोमिटर बाटो पिच भइसक्थ्यो।
‘दुई-तीन महिनामा काम सकिने थियो, तर अचानक ठेकेदार भूमिगत भए, हाम्रो सम्पर्कमा आएनन्,’ आयोजनाका डिभिजनल इञ्जिनियर दीप बाराही भन्छन्।
सडक विभाग, सुधार आयोजनाले सापकोटालाई निकै पटक खोजी गर्यो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापा पनि ठेकेदारलाई भयंकरै खोजिएको बताउँछन्।
केही उपाय नलागेपछि आयोजना कार्यालयले शंकरमालीसँग ठेक्का-सम्झौता भंग गर्ने सूचना जारी गर्यो।
यसपछि शंकरमालीकै अर्का सञ्चालक डिबी कार्की काम सम्हाल्ने भन्दै आएका छन्।
शंकरमालीलाई म्याद सकिएपछिको पेनाल्टीस्वरूप १० प्रतिशत जरिवाना तिराएर आयोजनाले काम लगाइरहेको छ। कार्कीले अहिले बाटोको काम धमाधम गरिरहेको बाराहीले बताए।
बाराहीका अनुसार सापकोटा ‘भूमिगत’ हुनुको कारण चेक अनादर मुद्दा हो।
‘के-कति चेक अनादर गरेको मुद्दा हो थाहा भएन, तर उहाँ भूमिगत हुनुको कारण आर्थिक कारोबार बिग्रिएर भएको बुझिएको छ,’ उनले भने।
सापकोटाविरूद्ध चेक अनादर मुद्दा हाल्नेमध्ये मुख्य व्यक्ति हुन्- मिटरब्याजी गणेश उप्रेती, जो अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।
उप्रेतीसँग मिटरब्याजमा पैसा चलाएका सापकोटा टाट पल्टिएपछि ‘भूमिगत’ भएको ब्युरोका अधिकारीहरूले सेतोपाटीसँग बताएका छन्।
ब्युरोले पनि ठेकेदार भूमिगत हुनुको कारण उप्रेती रहेको बुझेपछि त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ।
सापकोटा आफैंले आएर विस्तृतमा नबताउञ्जेल मिटरब्याज कारोबारको आयतनबारे यकिन गर्न नसकिने ब्युरोका एक अनुसन्धान अधिकृत बताउँछन्।
दोलखा-सिन्धुपाल्चोक जोड्ने ‘लाइफलाइन’ सडक निर्माण रोकिएको कारण उप्रेती नै रहेको एक स्थानीयले दाबी गरे।
‘तिर्नै नसक्ने गरी मिटरब्याजको पैसा बढेपछि सापकोटा मात्रै होइन, दोलखाका धेरै व्यापारी उप्रेतीबाट पीडित छन्,’ उनले भने।
उप्रेती दोलखाबासी नै हुन्। मेलुङ गाउँपालिका-१ घर भएका ३३ वर्षीय उप्रेती हाल मित्रपार्कमा गाडीको रिकन्डिसन शोरूम चलाउँथे।
उनलालाई केन्द्रीय अनुसन्धान ब्युरोले साउन १ गते पक्राउ गरेको थियो।
उनको साथबाट १९ करोड ४३ लाख ६१ हजार ८६० रूपैयाँको चेक प्रहरीले बरामद गरेको थियो।
ब्युरोका अनुसार उनीविरूद्ध दुई जनाले उजुरी दिएका थिए। उजुरी दिने दोलखाकै प्रकाश कार्की र काठमाडौं कोटेश्वरका हेमराज गुभाजु हुन्।
मिटरब्याजको पैसामा कार्कीसँग ४ करोड १६ लाख र गुभाजुसँग ४ करोड १४ लाखको चेक लिएर उप्रेतीले सताउँदै आएका थिए। गुभाजुले सेतोपाटीसँग मिटरब्याजको पैसाबाट संक्षिप्त जानकारी दिए।
एक व्यापारीले अनुरोध गरेपछि गुभाजुले उप्रेतीसँग पैसाको कुरा गरे। ती व्यापारी साथीले वीरगञ्जका नीर मोहम्मदलाई १ करोड ५४ लाख रूपैयाँ तुरून्तै चाहिएको बताएका थिए।
आफू ‘बीच’मा बसेर गुभाजुले मोहम्मदलाई उप्रेतीबाट एक करोड ५४ लाख रूपैयाँ दिलाए। तीन-चार दिनमै पैसा फिर्ता गर्ने कुरा थियो। आकस्मिक आवश्यकता टारेबापत् पैसाको ब्याज पाँच लाख बढाएर बुझाउनु पर्ने सर्त उप्रेतीले राखेका थिए।
यो कारोबार भएको गत मंसिर महिनामा हो। तर, मोहम्मद बीचमा फरार भएपछि गुभाजु चेपुवामा परे।
उप्रेतीले ब्याज बढाउँदै लगेर एक पटक हिसाब गर्दा दुई करोड ४ लाख पुर्याए। गुभाजुले चेक दिए। अर्कोपटक हिसाब गर्दा २ करोड १० लाख हिसाब पुर्याए। त्यसको पनि चेक दिए। तर, पछिल्लो चेक दिँदा अगाडिको फिर्ता गर्नुपर्ने सर्त राखिएको थियो।
उप्रेतीले किन फिर्ता गर्थे, बरू गुभाजुलाई कुज्याउन थाले। सात-आठ महिनामै लिएको पैसाको ब्याज बढेर तीन गुणा भएपछि गुभाजुको कारोबार उल्टो दिशातिर जाने भयो।
उप्रेती दुबै चेकको मिति गुजारेर गुभाजुलाई चेक अनादर मुद्दा हाल्न चाहन्थे।
‘अगाडिको चेक मागेको दिँदै नदिने, एकदमै समस्यामा पारिदिएपछि म प्रहरीमा गएको हुँ, अगाडिको चेक फिर्ता नगरेको भनेर मैले उनलाई अदालतमा मुद्दा पनि हालेको छु,’ गुभाजु भन्छन्, ‘कारोबार बिगार्न एकदमै सिपालु हुनुहुँदो रहेछ, साथीभाइको समस्या टार्न खोज्दा यतिबेला म आफैं जञ्जालमा फसेको छु।’
गुभाजु पनि शंकरमाली निर्माण सेवाका ठेकेदार हुन्। शंकरमालीसँगै जोडिएका ठेकेदार सापकोटा ‘भूमिगत’ र अर्का गुभाजु प्रहरीकहाँ पुगेपछि उप्रेतीको मिटरब्याज धन्दाको अनुसन्धानमा प्रहरी लागेको छ।
गुभाजुले सापकोटा आफ्नो सम्पर्कमा नरहेको र उनीसँगको कारोबारबारे भने आफूले भन्न नसक्ने बताए।
‘मचाहिँ उहाँले कारोबार गरेको एकदमै सानो क्लाइन्ट रहेछु,’ गुभाजुले भने, ‘८ करोड, १२ करोडसम्म कारोबार गर्ने मानिसहरू रहेछन्।’
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह पनि उप्रेतीको मिटरब्याज अपराध लामो रहेको बताउँछन्।
‘दोलखादेखि काठमाडौंसम्मका मानिस उनीबाट पीडित छन्, कतिपयले त आत्महत्या समेत गर्न खोजेका छन्,’ सिंहले सेतोपाटीसँग भने, ‘हामी पीडितहरूको खोजी गरिरहेका छौं।’
पर्शुरामलाई दुई वटा टक्सन गाडी सित्तैमा
सिंहका अनुसार उप्रेतीको आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूसँग सम्पर्क जोडिएको छ। दोलखाकै पर्शुराम बस्नेत (हाल विराटनगर)सँग उनको सम्पर्क स्थापित भएको देखिएको छ।
पर्शुराम आपराधिक गतिविधिमा एकताका पूर्वक्षेत्रमा चलेका व्यक्ति थिए। अहिले पनि उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा धाइरहेका छन्।
२०६७ सालमा पर्शुराम आफ्नो गाडी अघिपछि दुई सयजति पल्सर मोटरसाइकल लिएर हिँड्थे। पर्शुरामसँग दुई वटा हुण्डाई कम्पनीका टक्सन गाडी थिए। तीमध्ये एउटा उनी र अर्को उनकी श्रीमती चढ्थिन्।
ब्युरोका अनुसार करिब दुई करोड मूल्यका ती गाडी उप्रेतीले पर्शुरामलाई सित्तैमा दिएको खुलेको छ।
‘ती दुबै गाडी उनले पर्शुरामलाई सित्तैमा दिनुको पछाडि उनीहरूबीच कारोबार राम्रै रहेको बुझ्न सकिन्छ,’ तीन अनुसन्धान अधिकृतले भने, ‘हामी खोजी गरिरहेका छौं।’
को हुन् उप्रेती?
साबिक पवती गाविस हाल मेलुङ गाउँपालिका-१ घर भएका ३३ वर्षीय उप्रेती ललितपुर भैंसेपाटी बस्दै आएका थिए।
काठमाडौं-७ चाबहिल मित्रपार्कमा उनी द्रिशान्त अटोमोबाइल प्रा.लि. चलाइरहेका थिए।
उप्रेतीलाई प्रहरीले १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसहित पक्राउ गरेको थियो।
उप्रेतीले दोलखा मेलुङ गाउँपालिका-७ नै घर भई हाल मध्यपुर ठिमी-२ बस्ने ४० वर्षीय प्रकाश कार्की र रामेछाप गोकुलगंगा गाउँपालिका-१ चुचुरे घर भई काठमाडौं-३२ कोटेश्वर बस्ने ६० वर्षीय हेमरा गुभाजुलाई पीडित बनाएका थिए।
चिन्नेहरूका अनुसार उप्रेती मेलुङ-१ पवतीबाट एसएलसी पास गरेपछि २०६२ सालमा चरिकोट आएका थिए। उनले त्यहाँको भीम उच्च माविबाट प्लस टु पास गरे।
उनी सामान्य परिवारका मानिस थिए। चरिकोटमा डेरा लिएर बस्थे।
प्लस टु पास गरेपछि उनी काठमाडौं हिँडे। ज्ञानेश्वरमा उनले कोठा लिएका थिए।
पुरानो बानेश्वरमा आफन्तमार्फत् लगानी जुटाएर मोटरसाइकलको रिकन्डिसन शोरूम खोलेका थिए।
रिकन्डिसन मोटरसाइकलको कारोबार गर्दै गरेका उनी २०६६ सालतिर एकैपटक गाडीको रिकन्डिसन शो रूम खोल्ने भइसकेका थिए।
जतिबेला उनको, पर्शुराम बस्नेतसँग उठबस चल्न थालिसकेको थियो। र, त्यतिबेला उप्रेतीले पर्शुरामलाई दुई वटा गाडी दिलाएका थिए। उनीहरूको चिनजान भने जिल्लाबासीबाट सुरू भएको हो। राजनीतिक रूपमा पर्शुराम एमालेमा युवा संघमा आवद्ध हुन् भने उप्रेती पनि युवा संघ निकट नै हुन्।
‘पर्शुरामसँग जोडिएपछि भने उप्रेतीको कारोबार करोडौंमा देखिन्छ, २०-२२ करोडका चेक हातहातै फेला परेका छन्,’ ती अनुसन्धान अधिकृतले भने।
उप्रेतीको शोरूमबाट दोलखाका धेरै व्यापारीले चर्को मिटरब्याजमा गाडी किनेको र मिटरब्याज पैसाको ब्याज थेग्न नसक्ने गरी रहेको त्यहाँका स्थानीय बताउँछन्।
उप्रेतीसँग मिटरब्याज कारोबार गरेका चरिकोटकै रिजाल थरका एक सुन व्यापारी अहिले लापत्ता छन्। पैसा तिर्न नसकेपछि उनले उप्रेतीलाई घरै पास गरेर उनले तीन वर्षदेखि चरिकोट छोडेको स्थानीय बताउँछन्।
चार महिनाअगाडि उप्रेतीले चरिकोटको चरिघ्याङमा पाँच करोड रूपैयाँ लगानीमा घर किनेका थिए।
उप्रेतीले ठेकेदारलाई पैसा लगाउने गरेको, गुण्डा लगाएर पेस्तोल तेर्स्याएर चेक काट्न लगाउने गरेको बताउनेहरू पनि छन्। ब्युरोले भने उप्रेतीले रकम नदिएमा डर त्रास देखाउने गरेको, मानिसहरूलाई बाहिर हिँडडुलमा बन्देज लगाउने गरेको, आपराधिक गिरोध प्रयोग गरी ज्यान मार्ने धम्की दिने गरेको बताएको छ।
उप्रेतीसँग कारोबार गरेका गुभाजु आफूलाई त्यस्तो धाकधम्की भने नदिएको बताउँछन्। ‘मलाई त्यस्तो धाकधम्की आएको होइन, प्रहरीले धाकधम्की दिएको भनेछ,’ गुभाजुले भने।
ब्युरोले उप्रेतीमाथि विस्तृत अनुसन्धान गरी संगठित अपराधमा मुद्दा अगाडि बढाउने तयारी गरिरहेको छ। मुद्दा दर्तापछि सम्पत्ति शुद्धीकरण प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल पठाइने ब्युरोले जनाएको छ।