दुई दिनअघि प्रहरीले एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल समात्यो। ती मोटरसाइकल एउटा बुलेट र अर्को डुक थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुबै मोटरसाइकलमा प्रदेश-२-१९ प ७५३७ नम्बर प्लेट थिए। बजारमा निकै महंगो मूल्य पर्ने यी दुबै मोटरसाइकल चोरीका थिए।
यी सँगै प्रहरीले अर्को प्रदेश २-१८प ९६२ नम्बरको चोरीको बुलेट मोटरसाइकल पनि बरामद गरेको छ।
शनिबार र शुक्रबार दुई दिनमा प्रहरीले तीन वटा चोरीका मोटरसाइकल राजधानीका विभिन्न ठाउँबाट समातेको थियो।
प्रहरीले प्रदेश-३-००२३-७६२३ नम्बरको एउटा कार पनि बरामद गरेको छ। हुण्डाई कम्पनीको त्यो सेन्ट्रो कार करिब २८ लाख रूपैयाँ मूल्यको हो।
डुक मोटरसाइकल करिब ८ लाख रूपैयाँ मूल्यको हो। बुलेट भने ६ लाख रूपैयाँसम्म पर्छन्।
महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार काठमाडौंमा चोरीका सवारीसाधनको बिगबिगी रहेको सूचना आएपछि प्रहरी खोजीमा लागेको थियो। त्यही सिलसिलामा प्रहरीले सुरूमा प्रदेश २-१८प ९६२ नम्बरको बुलेट मोटरसाइकल पक्राउ गरेको थियो।
त्यो मोटरसाइकल कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ घर भई हाल काठमाडौं-४ चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायतले बेच्न राखेका थिए।
प्रहरीले शिक्षण अस्पतालभित्र पार्किङमा राखेको त्यो बुलेट मोटरसाइकल पक्राउ गरेको थियो। कठायत त्रिवि शिक्षण अस्पतालअगाडि तरकारी पसल गर्थे। उनलाई प्रहरीले बसुन्धरामा पक्राउ गरेको थियो।
‘चोरीको मोटरसाइकल खोज्ने सिलसिलामा उनी पक्राउ परेपछि हामीले सोधपुछ गर्यौं,’ पंगेनीले भने, ‘उनले आफूले कारोबार गर्ने ठाउँ मात्र नभएर अर्का व्यक्ति पनि देखाए।’
पंगेनीका अनुसार तरकारी पसल चोरीका गाडी बेचबिखनका लागि कारोबारको ‘डिल गर्न’ खोलिएको बुझिएको छ। उनी त्यो मोटरसाइकलका ग्राहक खोज्ने सिलसिलामा बसुन्धरा पुगेका थिए।
कठायतले भनेका अर्का व्यक्ति कञ्चनपुर कृष्णपुर नगरपालिका-२ का ३३ वर्षीय कृष्णबहादुर रोकाय थिए।
उनी नेपाली सेनाका जवान हुन्। उनी नगरकोटस्थित सैनिक वार कलेजमा कार्यरत् थिए। उनलाई बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ गरी सोधपुछ गरेपछि अर्को बुलेट र डुक मोटरसाइकल फेला परेका थिए, एउटा बसुन्धरा र अर्को मूलपानीमा।
‘उनीहरूले कैलालीको गौरीफन्टा नाकाबाट भन्सार छलेर मोटरसाइकल राजधानी ल्याउने गरेको बताएका छन्, यसमा अन्य व्यक्तिहरू पनि रहेको बुझिएको छ,’ पंगेनीले भने।
एसपी पंगेनीका अनुसार भारतबाट मोटरसाइकल चोरीमा ल्याउने कार्यमा जवान रोकायको मुख्य हात छ। उनले ल्याएर कठायतलाई जिम्मा लगाउँथे। उनले यस्ता मोटरसाइकलका नक्कली ब्लुबुकसमेत बनाएर मानिसहरूलाई बेच्ने गर्छन्।
‘यातायात कार्यालयबाट यी मोटरसाइकलको आधिकारिकता खोजिएको थियो,’ पंगेनीले भने, ‘त्यसपछि ब्लुबुक नक्कली भएको पत्ता लाग्यो।’
उनीहरूले त्यही ब्लुबुकका आधारमा फाइनान्सको सुविधासमेत दिलाउने गरेको पंगेनीले बताए। ‘फाइनान्सको पाटो के कसो हो भन्नेबारे हामीले विस्तृत कागजात मगाएका छौं,’ उनले भने।
चोरीका कारको कारोबारमा पनि कठायत र रोकायको संलग्नता देखिएको छ। प्रहरीले उक्त कार मूलपानीबाट बरामद गरेको थियो।
कार कसले प्रयोग गरिरहेको थियो भन्ने खुलिसकेको छ। तर ती व्यक्ति पक्राउ परेका छैनन्।
‘गणेश विकको नाममा बनाइएको नक्कली ब्लुबुक फेला परेको छ, हामी मान्छे खोजिरहेका छौं,’ पंगेनीले भने।
त्यो कार गणेशले पनि अर्कै व्यक्तिलाई दिन १५ लाख बैना लिइसकेका थिए। एक जना सुन पसलेलाई दिनको लागि भनेर गणेश र कठायतले मूलपानीमा गाडी राखेको पाइएको छ।
पंगेनीका अनुसार चोरीका गाडी तथा मोटरसाइकल भन्सार नाकाबाटै ल्याउने गरेको रोकायले बताएका छन्। उनले ‘सेटिङ’मा गाडी र मोटरसाइकल आउने गरेको बताएका छन्।
‘त्यो सेटिङ के हो र को-को संलग्न छन् भन्ने अनुसन्धान भइरहेको छ,’ पंगेनीले भने, ‘बिनाभन्सार, बिना कागजात भित्र्याएर राजधानीसम्म ल्याएर नकक्ली कागजात बनाउने गरेका रहेछन्।’
बुधबार मात्र महाशाखाले बा१९च २०३६ र अर्को नम्बर प्लेट नटाँसिसकेको क्रेटा कारसहित दुई जनालाई पक्राउ गरेको थियो।
बौद्धबाट प्रहरीले कारसहित मुस्ताङ लो-घेकर दामोदरकुण्ड गाउँपालिका घर भई हाल काठमाडौं-६ बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङ घर भई हाल बौद्ध बसिरहेका ४३ वर्षीय सोनाम टासी योल्मोलाई पक्राउ गरेको थियो।
यसअघि असार १५ गते प्रहरीले ग३च १४६२ र प्रदेश ३-०१-०२४ च ०२५३ नम्बरको क्रेटा गाडीसहित चार जना व्यक्तिहरूलाई समातेको थियो। ती व्यक्तिहरू खोजी गर्दा प्रहरीले नक्कली सर्टिफिकेट, लाइसेन्स, ब्लुबुक बनाउने कारखाना फेला पारेको थियो।
अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङ प्रहरी सक्रियतामा चोरीका गाडी समातिएका यी केही उदाहरण मात्र रहेको बताउँछन्। यी महंगा गाडी र मोटरसाइकल एक महिनाको अवधिमा समातिएका थिए।
यी केही घटनाबाट चोरीका गाडीको काठमाडौंमा बिगबिगी रहेको बुझिने खापुङ बताउँछन्।
‘हामीलाई आएका सूचनाको पुष्ट्याईं गर्दै जाँदा चोरीका गाडी र कारोबारमा संलग्न पक्राउ परेका यी केही प्रतिनिधिमूलक घटना हुन्,’ खापुङले आशंका गरे, ‘तर, हाम्रो सूचनामा नआएका यस्ता कति होलान्, होलान्।’
कतिपय सूचना प्रहरीकहाँ नपुग्ने भएकाले यो शंका बलियो रहेको तर्क उनको छ। तर, अन्य सरोकारवालाहरू पनि चोरीका गाडीको विषयमा सचेत बन्नुपर्ने खापुङ बताउँछन्।
यी केही व्यक्तिले चोरीका गाडी ल्याएर नक्कली कागजात बनाई ग्राहकलाई केही सस्तो मूल्यमै बिक्री गर्ने गरेका छन्। त्यसरी गाडी किन्ने उपभोक्तालाई आकस्मिक रूपमा लाभ भए पनि कालान्तरमा चोरीका गाडीले समस्या पार्ने गर्छ।
चोरीका गाडीको समस्या भने जब दुर्घटना हुन्छ, त्यसपछि प्रहरीले कागजात खोज्ने र ती कागजातको आधिकारिकता पहिचान गर्ने सन्दर्भमा हुन्छ।
‘त्यसबेलासम्म बेच्ने मान्छे कहाँ पुगिसकेको हुन्छ, किन्ने मान्छे चोरीको गाडी फन्दामा पर्न सक्छ,’ खापुङले भने, ‘त्यस्ता नक्कली कागजातको आधारमा बिमा र फाइनान्स कम्पनी पनि झुक्किएर गलत कारोबारमा प्रयोग भइरहेका हुन्छन्।’
त्यसैले गाडी वा मोटरसाइकल किन्दा आधिकारिक निकायमा पुगेर यकिन नभएसम्म कारोबार गर्न जोखिम हुने खापुङ बताउँछन्।
पक्राउ परेका मोटरसाइकल, दुई वटा क्रेटा कार र सेन्ट्रो कारसहित यी सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको छ।