अमेरिकी विश्वविद्यालयमा तीन दशक इतिहास पढाएका प्राध्यापक गौतमबज्र बज्राचार्य करिब दुई वर्षअघि नेपाल आएका थिए। एक कार्यक्रमका लागि नेपाल आएका उनीसँग हामीले अन्तर्वार्ता पनि लिएका थियौं।
त्यस भेटमा बज्राचार्यले एक महत्वपूर्ण मूर्ति फालिरहेको अवस्थामा रहेको बताएका थिए। चार दशकअघि अमेरिकी अनुसन्धाता मेरी स्लसरसँग हिँड्दा बज्राचार्यले त्यो मूर्ति फोहोरको डंगुरमाथि देखेका थिए। अहिले पनि त्यस्तै अवस्थामा देख्दा त्यसको संरक्षण नभएको त छँदै थियो, चोरीसमेत नहुँदा उनलाई अनौठो लाग्यो।
हामीले त्यस मूर्तिको रिपोर्टिङ गर्छौं भन्दा बज्राचार्यले हाँस्दै भनेका थिए, 'तपाईंहरूलाई त्यसबारे भन्नै मिल्दैन। मान्छेले त्यसको महत्व थाहा नपाएकै बेस, त्यो सुरक्षित त रहन्छ।'
यस्ता जानकारी सार्वजनिक हुनेबित्तिकै सरकारले तत्काल सुरक्षा दिन नसके चोरीको डर बढ्ने उनको भनाइ थियो।
हाम्रा कति मूर्तिहरू यस्तै हेल्चेक्र्याइँका कारण चोरीको शिकार भए होलान्! कति त सुरक्षा घेरामा राख्दा राख्दै हराएका छन्। कति भने पहिलेका राजा–मन्त्रीले उपहारका रूपमा दिँदा विदेश पुगेका छन्।
विभिन्न कारणवश बिदेसिएका मूर्ति फिर्ता ल्याउन अहिले 'नेपाल हेरिटेज रिकभरी क्याम्पियन' नामक संस्था लागिपरेको छ। यो संस्थामा सांस्कृतिक सम्पदा संरक्षणमा काम गरिरहेका पत्रकार, अभियन्ता, पुरातत्वविद लगायत आबद्ध छन्।
पाटनस्थित पट्कोको लक्ष्मीनारायण मूर्ति अमेरिकाबाट फिर्ता आएपछि जुर्मुराएको यो संस्था केही साताअघि आधिकारिक रूपमा दर्ता भयो।
सन् १९८९ मा प्रकाशित लैनसिंह बाङ्देलको 'स्टोलन इमेजेज अफ नेपाल' मा समेत उल्लेख भएको उक्त मूर्ति सन् १९८४ मा चोरिएको हो। अमेरिकाको डल्लास म्युजियम अफ आर्टबाट ३६ वर्षपछि यसलाई फिर्ता ल्याइएको छ।
यसरी मूर्ति खोज्ने अभियानको खाका कलाकार एवं लैनसिंहकी छोरी दिना बाङ्देल र पुरातत्व विभागमा लामो समय काम गरेका शुक्र सागर हुँदै सुरू भएको काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) का निर्देशक रोहित रञ्जितकार बताउँछन्।
'हामी सधैं यो विषयमा कुराकानी गर्थ्यौं,' रञ्जितकारले भने, 'तर औपचारिक रूपमा अगाडि बढेका थिएनौं। उहाँहरूको निधन भएपछि त्यो काम त्यसै रोकियो।'
पाटनको मूलचोक निर्माण गर्दा त्यहाँको एउटा कोठा यही परियोजनाका लागि छुट्याउन पुरातत्वका पूर्वनिर्देशकसँग कुराकानीसमेत भएको रहेछ। त्यहाँ दुइटा मूर्ति पनि राखिएका छन्। तर अभियानकै रूपमा मूर्ति फर्काउने काम विभिन्न बहानामा अल्झियो।
अहिले लक्ष्मीनारायण मूर्ति फिर्ता आउँदा उस्तै धारणा भएका मान्छे एकीकृत भएर काम गर्न सम्भव भएको रञ्जितकार बताउँछन्।
यो अभियानमा जोडिएका अर्का व्यक्ति हुन् रोशन मिश्र। जोरपाटीस्थित तारागाउँ म्युजियमका निर्देशक उनी नेपालकै पहिलो अनलाइन संग्रहालय 'ग्लोबल नेपाली म्युजियम' पनि सञ्चालन गर्छन्।
यो अभियानले अनौपचारिक रूपमा छ महिनाअघिबाटै काम गरेको थियो। अहिलेसम्म करिब बीस मूर्ति फिर्ता ल्याउने पहल भइसकेको उनले बताए।
मूर्ति ल्याउन सुरूमा त पुरातत्व नै जानुपर्छ। त्यहाँबाट दूतावास, मूर्ति रहेको ठाउँ लगायत विभिन्न प्रक्रिया पूरा गर्दा मूर्ति आइपुग्न करिब २८ दिन लाग्छ। त्यही पनि फिर्ता आउने-नआउने टुंगो हुँदैन।
'कमसेकम हामीले ल्याउने पहल गर्यौं र फिर्ता ल्याउन कानुनी प्रक्रिया त सुरू भयो,' मिश्रले भने, 'अहिलेसम्म यसरी हराएका मूर्ति कागजी रूपमा कतै दर्ता भएका छैनन्। ती मूर्ति आजभोलि नै नआए पनि हामीले वा अबको पुस्ताले भविष्यमा त्यसको खोजीनिती गर्न पाउने भए।'
लक्ष्मीनारायणको हकमा युनेस्कोले पनि धेरै दबाब दिएको थियो। इन्टरपोलले त्यसमा धेरै काम गर्यो। कतार एयरलाइन्सले सित्तैमा ल्याइदियो। अरू मूर्ति त्यसरी नै आउँछन् भन्ने छैन। संग्रहालयले दूतावासलाई बुझाइदिन्छ। त्यसपछि ल्याउने खर्च सबै सरकारले बेहोर्नुपर्छ। त्यसमा सरकारी निकायले आफ्नो भूमिका राम्ररी निर्वाह गर्नुपर्छ।
यो अभियानको काम भने मूर्तिको अभिलेखीकरण गर्ने र कागजी प्रक्रियामा पहल गर्ने हो। सरकारले मूर्ति फिर्ता गर्न तत्कालै नसके पनि फलानो ठाउँमा छ भनेर पछिल्ला पुस्तालाई जानकारी पुग्छ।
केभिपिटीका रञ्जितकार काठमाडौं इतुम्बहालको तीन पौभाः चित्र अमेरिका पुगेकाले फिर्ता ल्याउने पहल गरिरहेका छन्। अमेरिकामा एक व्यक्तिको निजी संकलनमा छन् ती पौभाः। तर उनले चित्र फिर्ता नदिने भनेका छन्।
सरकारी निकायको स्वामित्वमा रहेकै सम्पदा फिर्ता गर्न मुश्किल रहेको समयमा यस्ता निजी संकलनका सम्पदा फिर्ता ल्याउन अर्को ठूलो चुनौती छ।
'नेपाल र अमेरिका दुवैले निजी सम्पदाको सम्झौतामा हस्ताक्षर गरेका छैनन्। त्यही भएर निजी सम्पदा कसरी फिर्ता ल्याउने भनेर ठूलो चुनौती छ,' रञ्जितकारले भने, 'यसमा नागरिक समाज र सरकारी ओहोदामा बसेका मान्छेले बोलिदिने हो भने केही सजिलो हुन्थ्यो।'
उनले अगाडि भने, 'कति अवस्थामा गैरसरकारी संस्थाले दबाब दिँदा सरकारले नचाहे पनि उसलाई बोल्नुपर्ने अवस्था आउँछ। हामीलाई मतलब छैन ल्याउँदिनँ भन्न मिलेन। उसलाई बाध्य बनाउनैपर्ने अवस्थामा एउटा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।'
सम्पदा अभियन्ता एवं अधिवक्ता सञ्जय अधिकारी पनि रञ्जितकारसँग सहमत छन्। उनी पनि मूर्ति फर्काउने यो अभियानका हिस्सा हुन्।
'संविधानको धारा ३२ ले नै भाषा र संस्कृति हाम्रो नैसर्गिक हक हो भनेको छ। हरेक समय आफ्नो संस्कृतिमा बाँच्न पाउनु तपाईंको अधिकार हो,' उनले भने, 'तर मन्दिरको मूर्ति नै चोरी भएपछि त्यो अधिकार तपाईंले गुमाउनुहुन्छ नि! त्यसको जिम्मेवार को हुने?'
सरकारले प्राचीन स्मारक संरक्षण ऐनमा भनेजस्तो प्राचीन वस्तुका रूपमा मात्र मूर्तिलाई हेरिरहेको उनी बताउँछन्। यो त हाम्रो दैनिक जीवनको हिस्सा हो भनेर हेरिएकै छैन।
अधिकारीका अनुसार ०४७ सालको पुरातत्व नियमावलीमा हरेक असार मसान्तमा सबै सिडिओ कार्यालयबाट आफ्नो ठाउँमा भएका सम्पदाको फोटोसहितको 'इन्भेन्टरी' बनाउनुपर्ने प्रावधान छ। तर अहिलेसम्म त्यसअनुसार काम भएको छैन।
तारागाउँ संग्रहालय सञ्चालक मिश्र कुनै पनि मूर्ति फिर्ता ल्याउन सहयोग हुने पहिलो आधार त्यसको फोटोलाई मान्छन्। फोटो वा स्केच नभइ दर्ता गराउन पनि गाह्रो हुने उनले बताए।
कुन समयमा, कुन ठाउँको मूर्ति चोरी भयो भनेर त्यसको फोटो नभई उनीहरू कुनै प्रक्रिया सुरू गर्न सक्दैनन्। त्यसका लागि अहिले लैनसिंह बाङ्देलको किताब, उलरिकको किताब, पुराना स्केचलाई माध्यम बनाएका छन्। उनीहरूको काममा 'लस्ट हेरिटेज' भन्ने फेसबुक पेजले पनि धेरै सहयोग पुर्याएको छ।
'कति मूर्ति त हामी आँखा चिम्लिएरै हाम्रो देशको हो कि होइन भन्न सक्छौं। तर हामीसँग केही प्रमाण छैन। अनि कसरी यो यहाँको र त्यो त्यहाँको भन्ने?' रञ्जितकारले यसमा थपे, 'कतिमा त हाम्रो हो भनेर चिन्न दरबार स्क्वायर वा यहाँका कुनै ठाउँको चिह्न पनि हुन्छ। तर हामीले आफ्नो भनेर दाबी गर्न नसक्ने अवस्था छ।'
उनले फिलाडेल्फिया म्युजियममा रहेको नेपाली पौभाःको उदाहरण दिए।
त्यहाँ दस मिटर लम्बाइ र डेढ मिटर उचाइको एक पौभाः रहेछ। त्यसमा काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, गोसाइकुण्ड जाने रुट, नेपाल भाषामा लेखिएका ठाउँका नाम उल्लेख छन्। तर उक्त म्युजियमले त्यसको नक्कल गरिएको पौभाः मात्र नेपाललाई दिएको छ। उक्त नक्कल चित्र अहिले पाटन संग्रहालयमा प्रोजेक्टरमार्फत प्रदर्शन गरिन्छ।
'सक्कली पौभाः फिलाडेल्फियाकै म्युजियमको स्टोरमा छ,' रञ्जितकारले भने, 'हामीले जे जति देख्यौं, त्यसलाई आफ्नो भन्न नसके पनि त्यसलाई अभिलेखीकरण गरियो भने पछि फलोअप गर्न सकिन्छ।'
अधिकारी पनि भन्छन्, 'जुन सम्पदा विदेशमा छ, त्यसलाई अहिले नै हामीले आफ्नो भनेनौं भने आउने पुस्तासम्म त्यसको सबुत हराउँदै जान्छ। कुनै पनि अपराधमा तपाईंले ढिलो प्रक्रिया सुरू गर्नुभयो भने तपाईंसँग भएको कुरा गुमाउँदै जानुहुन्छ।'
मूर्तिहरू चोरी हुनुका विभिन्न कारण हुन्छन्। जोसँग छ उसले त्यसबापत प्राथमिकता नपाउनु पनि एक हो। जस्तो, काठमाडौंमा देशमा कतै नभएको झ्याल भनेर 'देशेमरू झ्याः' प्रख्यात छ। तर त्यो झ्याल हुँदा घरधनीलाई के फाइदा?
मान्छेहरू आएर फोटो खिच्छन्, उसले के पाउँछ? विभिन्न समयमा त्यो घरका मान्छेजस्तै यस्ता सम्पदाको स्वामित्व हुने मान्छेले पीडा मात्र सहनुपरेको हुन्छ।
अनि त्यो हरायो भने उक्त सम्पदाधनीलाई अपजस मात्र। भेटियो भने फेरि हराउने डरले उनीहरूले आफूसँग राख्न नचाहेका धेरै उदाहरण छन्।
केभिपिटीका रञ्जितकारले सन् २००७ मा पाटन सुन्दरीचोकको तुसा हिति (ढुंगेधारा) हराउँदा त्यस्तै अपजस सुन्नुपरेको थियो। पाटन वरिपरिका सम्पदा निर्माण गरिरहेको केभिपिटीले नै हिति लगेको भनेर स्थानीयले भनिदिए।
दुई वर्ष लगाएर केभिपिटीले त्यसको 'रेप्लिका' बनाएर राख्यो। तर केही दिनमा पुरानो हिति फेला पर्यो।
'तर हराएको बेला जति चर्चा भयो, भेटिँदा भएन,' रञ्जितकारले भने।
नयाँ हिति बनाइसकेकाले पुरानोलाई छाउनी संग्रहालयमा राखिएको थियो। पछि फिर्ता ल्याइयो। पहिलेकै ठाउँमा नराखे पनि खोजीनिती गर्नेले सजिलै हेर्न पाऊन् भनेर त्यहीँको पुरानो भवनमा राखिएको उनले जानकारी दिए।
सार्वजनिक स्थानका त भए नै, दरबारभित्रैका सम्पदा पनि चोरी भइरहेका हुन्छन्। पाटन दरबारमा अन्य दरबारझैं हरेक साँझ प्रहरीलाई अगाडि राखेर लाहा छाप लगाएरै ढोका लगाइन्छ। भोलिपल्ट प्रहरीलाई नै अगाडि राखेर खोलिन्छ। त्यसो हुँदा पनि त्यहाँभित्रका सम्पदा चोरी भएका उदाहरण धेरै भएको रञ्जितकारले बताए।
'प्रहरी प्रशासन, पुरातत्व मात्र होइन, सम्पदा सुरक्षा गर्नु हामी सबैको जिम्मेवारी हो,' उनले भने, 'तर जसरी मूर्ति फिर्ता आउँदा सरकारी निकायले कामको श्रेय लिन खोज्छन्, त्यसरी नै हराउँदा पनि जिम्मेवार हुन जरूरी छ।'
अधिकारीले पनि उनको कुरामा सहमति जनाउँदै भने, 'संविधानको धारा ४८ मा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने हामी सबैको दायित्व हो भनेर लेखिएको छ।'
पहिलेको तुलनामा अहिले चोरीको दर भने कम भएको रञ्जितकार बताउँछन्। साथै फोटो खिच्ने पहुँच पनि सबैसँग भएकाले आफ्नो भनेर दाबी गर्न सजिलो भएको बताए।
मन्दिरको मूर्ति फिर्ता ल्याउनु त छँदै छ, त्यसलाई पहिलेकै ठाउँमा स्थापित गर्न सकिन्छ कि सकिन्न भन्ने अर्को चुनौती छ। जबसम्म ती भगवान फिर्ता गर्न सकिन्न, संग्रहालयमा मरेतुल्य बस्छन्। तिनको न पूजा हुन्छ, न तिनलाई मान्ने स्थानीयसँग भेटघाट।
कुनै पनि मन्दिर त्यहाँको भगवानलाई सुरक्षित राख्न बनेको हुन्छ। मन्दिर नै खण्डहर भए पनि मान्छेहरू मूर्तिको नित्य पूजा गर्न गइरहेका हुन्छन्। तर भगवानको मूर्ति नै हराए त्यहाँका नित्यकार्य पनि हराउँदै जान्छन्।
यो अभियानको मुख्य उद्देश्य फिर्ता ल्याइएका मूर्ति पहिलेकै स्थानमा राख्नु हो।
'खासमा सबैको चाहना यही हो,' मिश्रले भने, 'सम्बन्धित निकाय, प्रशासन र त्यहाँका मान्छेले त्यसको स्वामित्व लिने हो भने त्यो सम्भव छ।'
अहिले फिर्ता आएको लक्ष्मीनारायण मूर्ति पुरानै ठाउँमा राख्ने तयारी भइरहेको छ। अरू मूर्ति त बल्ल प्रक्रियामा गएका छन्।
यो अभियान छ जनाले सुरू गरेका हुन्। हामीले कुराकानी गरेका तीन जनासँगै यो समूहमा पुरातत्व विभागमा लामो समय काम गरेका ऋद्धिबाबा प्रधान, पत्रकार कनकमणि दीक्षित र दिलेन्द्रराज श्रेष्ठ छन्।
भविष्यमा नेपालभर फैलिँदै दक्षिण एसियाकै मूर्ति फिर्ता ल्याउने प्रक्रियामा जाने उनीहरूको योजना छ। मूर्ति मुख्य प्राथमिकतामा रहे पनि सम्पदासँग जोडिएका विभिन्न काममा उनीहरू प्रत्यक्ष, अप्रत्यक्ष रूपमा संलग्न हुनेछन्।
'यसअघि हामीले विभिन्न अभियान गर्यौं तर केही समयपछि त्यो सेलायो,' सम्पदा अभियन्ता अधिकारीले भने, 'एक जनाले मात्र चलाएको अभियान पछि ऊ सक्रिय भएन भने सेलाउँछ। संस्था नै बनाएर अघि बढ्नुको कारण पनि यही हो।एक जनामा अभियान अघि बढाउने शक्ति कम हुँदै गयो भने अर्कोले त्यसलाई घच्घचाइरहन्छ।'