त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पस हातामा २ वटा यस्ता शौचालय छन्। जसलाई शौचालय मान्न विद्यार्थी तयार छैनन्। क्याम्पसको खुला ठाउँमा चारैतर्फ जस्ता पाताले बारिएका छन्। एउटा छेउबाट भित्र छिर्न ठाउँ राखिएको छ। तर ढोका राखिएको छैन।
यी दुई शौचालय एउटा क्याम्पस भवनसँगै जोडिएको छ भने अर्को खुला चौरमा छ। शौचालयभित्र हुनुपर्ने सामग्री केही पनि छैन। जस्तापाताले बारिएको शौचालयभित्र दुई वटा ब्लक राखिएको छ। तर खाल्डोसमेत छैन। त्यही ब्लकमा बसेर शौच गर्न बाध्य छन् देशकै ठूलो पृथ्वीनारायण क्याम्पसका विद्यार्थी।
शौचालयमा पानी र साबुन अनिवार्य हुनुपर्ने हो। कोरोना भाइरसको महामारीका बेला त झनै चाहिने हुन्। खाल्डोसमेत नभएको खुला चौरमा शौच गर्न जाँदा विद्यार्थीले साबुन लगाएर हात धुनसमेत पाउँदैनन्। शौच गर्नसमेत यस्तो अप्ठेरो अवस्था क्याम्पस प्रशासनले वर्षौंदेखि लादेको विद्यार्थीको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत अहिले देशभर स्नातक पहिलो वर्षको परीक्षा चलिरहेको छ। साउन १० देखि सुरू भएको परीक्षा २४ गते सकिन्छ। पृथ्वीनारायण क्याम्पसले परीक्षा दिन आउने विद्यार्थीका लागि उक्त शौचालय बनाएको हो। पृथ्वीनारायण क्याम्पसमा अहिले ५ हजार बढी विद्यार्थीले स्नातक पहिलो वर्षको परीक्षा दिँदैछन्। परीक्षा दिने विद्यार्थीलाई क्याम्पसको पक्की शौचालय प्रयोग गर्न प्रशासनले रोकेको छ।
स्नातक पहिलो वर्षको परीक्षा दिन गएकी विद्यार्थी विनिता पौडेल क्याम्पसको शौचालय देखेर हैरानीमा छिन्।
‘यस्तो शौचालय जान एकदमै अप्ठेरो लागेको छ,’ उनले भनिन्, ‘सकेसम्म यस्तो शौचालय जान नपरोस् भनेर जाँदैनौं।’
रजश्वला भएका विद्यार्थी त झनै यस्तो शौचालय प्रयोग गर्न नसक्ने उनले बताइन्।
विनिताका अनुसार शौचालय जाँदा पनि बाहिर अर्को साथी राख्नुपर्छ। शौचालयको ढोका छैन। अर्को साथीलाई बाहिर मान्छे हेर्न राखेरमात्रै भित्र शौच गर्नुपर्ने अवस्था रहेको विनिताले बताइन्। परीक्षा सुरू भएको पहिलो दिनमै ५/७ जना विद्यार्थी लाइनमा बसेर यस्तो शौचालयमा शौच गर्नु परेको उनको अनुभव छ।
अर्कोतर्फ पुरुष शौचालयको अवस्था झनै खराब छ। महिला शौचालयभित्र मान्छे नदेखिने गरी जस्तापाताले बारिएको छ। पुरुष शौचालयमा त्यति पनि बारिएको छैन। जस्तापाताले शौचालयको बीच भागमात्र बारिएको छ। शौचालयको तल्लो भाग र माथिल्लो भाग ह्वाङ्ङै छ। जसका कारण शौचालय गएको विद्यार्थीलाई टाढैबाट मान्छे चिनिने गरी देख्न सकिने परीक्षा दिँदै गरेका अर्का विद्यार्थी सौगात तिमिल्सिनाले बताए।
‘यस्तो शौचालय बनाउन नहुने हो, फोहोर पनि उस्तै छ,’ सौगातले भने, ‘म त सकेसम्म शौचालय नै जाँदिनँ।’
कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड पनि पूरा नगरी यस्तो शौचालय बनाएको सौगातले बताए। जहाँ पानी र साबुन छैन, शौच गर्न सामान्य खाल्डोसमेत छैन। त्रिभुवन विश्वविद्यालयकै सबैभन्दा ठूलो क्याम्पसमा विद्यार्थीलाई यस्तो शौचालयमा शौच गर्न पठाउनु क्याम्पस प्रशासनको मात्र नभई विश्वविद्यालयकै बदनाम भएको विद्यार्थीको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयले जारी गरेको परीक्षासम्बन्धी मापदण्डमा एउटा कक्षामा बढीमा २५ जनामात्र विद्यार्थी राख्न भनेको छ। एउटा डेस्कमा एक जनामात्र विद्यार्थी राख्न भनेको छ। पृथ्वीनारायण क्याम्पसले उक्त मापदण्ड पनि पालना नगरेको विद्यार्थी सौगातले बताए। उनका अनुसार अहिले एउटा कक्षामा ४० जना विद्यार्थी राखेर परीक्षा चलाएको छ। एउटा डेस्कमा २ जना विद्यार्थी राखेको छ।
एमनेष्टी इन्टरनेशनल नेपाल, बाराही युथ नेटवर्कले बुधबार क्याम्पस प्रमुख डाक्टर सरोज कोइरालालाई ज्ञापन पत्र बुझाएर यस्ता शौचालय प्रयोग नगर्न आग्रह गरेको छ। सामान्य स्वास्थ्य मापदण्डसमेत ख्याल नगरी विद्यार्थीलाई यस्तो असुरक्षित शौचालय पठाउनु गलत भएको भन्दै नेटवर्कका संयोजक अश्विनकुमार कार्कीले विद्यार्थीको स्वास्थ्य सम्बन्धी मौलिक हक पालना गर्न र सुरक्षित शौचालय प्रयोग गर्न आग्रह गरेका छन्।
क्याम्पस प्रमुख कोइरालाले बीसौं वर्षदेखि परीक्षामा यस्तै शौचालय प्रयोग हुँदै आएको बताए।
‘पहिले-पहिले झन् भकारीले बारेर अस्थायी शौचालय बनाइन्थ्यो’, उनले भने, ‘विद्यार्थीले चिट चोर्न नपाऊन् भनेर यस्तो शौचालय बनाएका हौं।’
विद्यार्थीका लागि नजिकै धारा भएको भन्दै उनले बिहीबारदेखि त्यही अस्थायी शौचालयमा पनि बाल्टिनमा पानी र साबुन राखिदिने बताए। बाहिर रहेको धारामा साबुन राख्दा विद्यार्थीले ५ मिनेटमै हराइदिने उनले बताए। क्याम्पसमा अहिले १४ हजार विद्यार्थी अध्ययनरत छन्।
पक्की शौचालय खोल्यो भने विद्यार्थीका चिट शौचालयको प्यानमा फाल्ने र सफा गर्नसमेत गाह्रो हुने उनले बताए।
‘पक्की शौचालय खोल्दा विद्यार्थीले चिटिङ गर्छन्, चिट प्यानमै फाल्दिन्छन्,’ उनले भने, ‘यो समस्या गम्भीर छ, त्यही भएर पक्की शौचालय खोल्न सक्दैनौं।’
कोरोनाभाइरसका कारण परीक्षामा सहभागी विद्यार्थीलाई चेकजाँच गर्न नसकेको कोइरालाले बताए।
‘कोरोना आउनुअघि गेटमै चेकजाँच गरेरमात्र परीक्षार्थी भित्र आउनुहुन्थ्यो,’ उनले भने, ‘अहिले त्यसरी चेकजाँच गर्न सकिँदैन।’
परीक्षा दिन आएका विद्यार्थी रजश्वला र दिसा बस्न जाने विद्यार्थीलाई भने पक्की शौचालय खुलाइदिएको उनले दाबी गरे।
‘यस्ता विद्यार्थीले निरीक्षकलाई भनेर पक्की शौचालय जान सक्छन्,’ उनले भने, ‘अनावश्यक रूपमा यो विषय उप्काउन जरूरी छैन।’