सप्तरी राजविराज नगरपालिका-३ का प्रशान्त प्रताप सिंह एक-दुई असफलतामा सम्हालिन सकेका भए आज डाक्टर भएर सेवारत् हुन्थे होला।
नेपालमा आइएस्सी सकेर एमबिबिएस पढ्न उनी पन्ध्र वर्षअघि रसिया हिँडेका थिए।
रसिया एमबिबिएस पढ्नको लागि उत्कृष्ट गन्तव्य भने थिएन। तर, जतिबेला उनी रसिया गएका थिए, नेपालमा एमबिबिएस पढ्न पैसाको ‘खोलो’ बगाउनुपर्थ्यो।
सरकारले एमबिबिएस शुल्क तोकेको थिएन। मेडिकल कलेजहरूले एमबिबिएसमा आफूखुसी चर्को शुल्क तोक्थे। एमबिबिएसमा चर्को शुल्क तिर्न नसक्दा उनी मात्र नभएर धेरै विद्यार्थीले डाक्टरी सपना विदेशमा देख्थे।
यसैकारण पनि सिंह सन् २००७ मा उनी रसिया पुगेका थिए। त्यहाँको एउटा मेडिकल कलेजमा भर्ना भए। एमबिबिएस तेस्रो वर्षसम्म पढे।
तर, वर्षेनी फेल भए। लगातार फेल हुन थालेपछि डाक्टर बन्ने सपनामा ‘ब्रेक’ लाग्न थाल्यो। सिंह त्यहाँ अडिन सकेनन्। उनलाई नेपाल फर्किन मन लाग्यो।
रसियामा आफूले पाएको असफलता देखाएर सिंहले घरमा अनुहार देखाउन सकेनन्। त्यसैले, उनी काठमाडौंमै कुनै काम गर्ने योजनामा पुगे।
तीन वर्ष रसिया बसेको हुनाले त्यहाँको भाषामा जान्ने भइसकेका थिए। अंग्रेजी पनि राम्रो नै भएकाले उनी काठमाडौंमै बसेर रसियाबाट नेपाल आउने व्यक्तिहरूसँग सम्पर्कमा रहेर ‘दोभाषे’को काम गर्न थाले।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ‘दोभाषे’को काम गरिरहेका उनै सिंह गत वर्ष काठमाडौंमा बौद्ध धर्मावलम्बीको धर्मग्रन्थ देखाएर ठगी धन्दा चलाइरहेको एउटा समूहसँग ठोक्किन पुगेका थिए।
सिंह त्यही समूहसँग निकट भएर ठगी धन्दा चलाएको आरोपमा बुधबार प्रहरीको फन्दामा परे।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई लाखौं ठगी गरेको आरोपमा पक्राउ गरेको छ। काठमाडौं-३० मैतीदेवी बस्दै आएका उनीमाथि तीन जनालाई ठगेको आरोप छ।
अपराध अनुसन्धान कार्यालयका अनुसार उनीसँगै दाङ शान्तिनगर गाउँपालिला-४ अधेरी घर भई काठमाडौं-८ मृगस्थली बस्ने ६५ वर्षीय पूर्णबहादुर मगर पनि समातिएका छन्।
‘रसियामा एमबिबिएस पढ्न नसकेपछि नेपाल फर्केर दोभाषेको काम गरिरहेका सिंह बौद्ध धर्मग्रन्थ देखाएर ठगेको आरोपमा पक्राउ परेका छन्,’ अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनी भन्छन्, ‘यहाँसम्म आइपुग्नुमा उनले पढाइ पूरा गर्न नसकेको, वितृष्णाले घरसम्म नपुगेको र दोभाषेको काम गर्दागर्दै ठगीसम्म पुगेको देखिन्छ।’
पंगेनीका अनुसार पूर्णबहादुर बौद्ध धर्मगुरुले परिचित छन्। उनी ठमेलमा एउटा आश्रम चलाएर बस्थे।
सिंह एक वर्षअघि मगरको आश्रममा पुगेका थिए। उनलाई रोल्पा घर भएका बेगम रानामगरले पूर्णबहादुरको आश्रममा पुर्याएका थिए। ‘दोभाषे’ भएर काम गरिरहेका उनलाई बेगमले धर्मग्रन्थ देखाएर ठगी गर्ने आफ्नो पेशाका ‘सारथी’ बनाएका थिए।
‘धर्मग्रन्थ असली भएको र त्यो धर्मग्रन्थ राख्दा व्यक्तिलाई सुख-शान्तिसाथै धेरै फाइदा हुने बताउँदै बेगमले ग्राहक खोज्न लगाउँदा रहेछन्,’ पंगेनी भन्छन्, ‘त्यो विश्वासमा परी ग्राहक खोजेर पूर्णबहादुर मगरकहाँ ग्राहक पुर्याउने काममा सिंहको संलग्नता देखियो।’
पंगेनीका अनुसार पूर्णबहादुरको विश्वासमा परी सिंह मानिसहरूलाई बौद्ध धर्मग्रन्थ देखाउने गर्थे। धर्मग्रन्थ असली हो भनी प्रमाणित गर्न पूर्णबहादुरको आश्रममा पुर्याउँथे।
धर्मग्रन्थलाई चार करोड रूपैयाँ पर्छ भनी ग्राहकलाई पूर्णबहादुरले लैजाने भए पेश्की रकम दिनुपर्ने सर्त राख्थे।
त्यही सर्तबन्दीमा काठमाडौं-७ चाबहिल सरस्वतीनगरका विष्णुप्रसाद अर्याललाई सिंहले पूर्णबहादुरको आश्रममा पुर्याएका।
पूर्णबहादुरले अर्याल आउँदा धर्मग्रन्थ देखाएका थिए। अर्याल १२ लाख रूपैयाँ पेश्की दिएर धर्मग्रन्थ लिन तयार भएका थिए।
‘पैसा दिई पुस्तक लिएर अर्याल घर फर्किए,’ पंगेनी भन्छन्।
त्यसपछी अर्याल आफ्ना साथीभाइलाई धर्मग्रन्थको पुस्तक देखाउँथे। धर्मग्रन्थले ठूलो लाभ दिने बताउँथे।
‘जब यो बेकारको कुरा हो भन्ने थाहा पाए, त्यसपछि निवेदन लिएर अनुसन्धान कार्यालयमा आए,’ पंगेनीले भने, ‘त्यसपछि हामीले टोली खटाउँदा रसियामा डाक्टरी पढाइ पूरा गर्न नसकेर नेपाल आएका सिंह र धर्मगुरु बताउने पूर्णबहादुर पक्राउ परे।’
अर्यालको निवेदन परेपछि अन्य तीन जना पनि ठगिएको पत्ता लागेको पंगेनीले बताए।
अन्य ठगिनेमा काठमाडौं इचञ्गुनारायण बस्ने रोल्पा परिवर्तन गाउँपालिका-२ का भीमबहादुर डाँगी छन्। डाँगीलाई धर्मग्रन्थ देखाएर सिंह र पूर्णबहादुरले तीन लाख ५ हजार ठगी गरेको आरोप छ।
अर्याल र डाँगीले अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन्। जाहेरी आएपछि र आरोपी पक्राउ परेपछि रोल्पा नै घर भई हाल मित्रनगर बस्ने कुलराज घर्ती मगर पनि ठगिएको पत्ता लागेको छ।
घर्तीले भने काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका छन्। घर्तीले आफूलाई धर्मग्रन्थको पुस्तक दिएर सात लाख ३० हजार रूपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख गरेका छन्।
अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङ राजधानीमा ठगीका विभिन्नमध्ये धर्मग्रन्थको कहानी पनि सतहमा आएको बताउँछन्।
खापुङका अनुसार धर्मग्रन्थ देखाएर ठगी गर्ने समूहका मुख्य व्यक्ति भने बेगम हुन्। बेगमले नै सिंहलाई प्रयोग गरेर धर्मगुरु बताउने पूर्णबहादुरकहाँ ग्राहक पठाउने गरेको खुलेको छ। बेगम हाल फरार छन्।
उनीसँगै रोल्पाकै ३७ वर्षीय डम्बर पुन मगर र ३७ वर्षीय रामचन्द्र रानामगर पनि फरार रहेको खापुङले बताए।
‘प्रारम्भमा उनीहरूले तीन जना व्यक्तिलाई ठगेको आरोप लागेको छ, अन्य व्यक्ति पनि ठगिएको गुनासो छ, हामी अनुसन्धान गरिरहेका छौं,’ खापुङ भन्छन्।
बौद्ध धर्मावलम्बीमा धर्मग्रन्थ राख्दा सुख-शान्तिसँगै समृद्धि मिल्ने विश्वास राखिन्छ। त्यही विश्वासमा मानिसहरू ठगिने गरेको पाइएको खापुङ बताउँछन्। ‘मानिसहरू धर्मग्रन्थलाई ठूलो सम्पत्ति ठानेर राख्ने गर्छन्, धर्मग्रन्थलाई सम्पत्ति ठानेर किन्न खोज्नेहरूलाई मानिसहरूले ठग्दा रहेछन्,’ खापुङले भने।