लाखौं रुपैयाँ बराबरको राजस्व छली प्रकरणमा एजेन्टलाई कारबाही गरेको विराटनगर भन्सार प्रशासनले त्यसमा संलग्न आफ्ना कर्मचारीलाई भने उन्मुक्ति दिएको छ।
गएको साउन ३ गते राति राजश्व छलेर सामान भित्र्याएको आरोपमा राजस्व अनुसन्धान कार्यालयले दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो।
बजार मूल्यभन्दा सयौं गुणा कम मूल्यांकन गरेर १४ लाख र बाँकी चार लाख बराबरको भन्सार मूल्यांकन नगरी सामान भित्र्याएको पाइएको राजस्व अनुसन्धानले जनाएको थियो।
‘हजारभन्दा बढी मूल्य पर्ने कपडाको मूल्यांकन एक सय रुपैयाँको मात्रै गरिएको थियो,’ राजस्व अनुसन्धान इटहरीका दीपक खड्काले भने, ‘यसरी कम मूल्यांकन गरेर १४ लाख राजस्व छलिएको पाइयो। त्यस्तै भन्सार नगरी ४ लाख बराबरको सामान ल्याएको भेटियो। यसरी एकै पटकमा १८ लाख राजस्व छलेको पाइएको थियो।’
घटनाको अनुसन्धान जारी रहेको खड्काले जानकारी दिए। तर, यो एउटै घटनामा संलग्नहरूमाथि कारबाही अघि बढाउने विषयमा भन्सार प्रशासनले दोहोरो मापदण्ड अख्तियार गरेको छ।
राजस्व अनुसन्धान विभागको ठहरमा भन्सार एजेन्टका प्रतिनिधिलाई दोषी करार गरेको भन्सारले आफ्ना कर्मचारीको हकमा भने ‘आधिकारिकता’ कुरिरहेको छ। व्यापारी, भन्सार कर्मचारी, भन्सार एजेन्टसहितको मिलेमतोमा एकै पटकमा १८ लाख रुपैयाँ राजस्व छली भएको राजस्व अनुसन्धान कार्यालय इटहरीले पुष्टि गरेको थियो।
लगत्तै भन्सार एजेन्टका प्रतिनिधि अकबर अलीलाई एक महिने निलम्बन घोषणा गरेको भन्सारले आफ्ना कर्मचारीलाई भने छानविनसम्म थालेको छैन। भन्सारले कर्मचारीमाथि छानविन गर्न भने आधिकारिकता कुरेको हो।
‘राजस्व अनुसन्धान कार्यालयले हामीलाई आधिकारिक जानकारी गराएकै छैन,' विराटनगर भन्सारका सूचना अधिकारी सन्तोष यादवले भने, ‘अनुसन्धान कार्यालयले आधिकारिक जानकारी नदिएसम्म केही भन्न सकिने अवस्था भएन।’
विराटनगर भन्सारले भिसिटिएस नगरी आयात गरेको मालवस्तु भित्र्याएको कसुर पुष्टि भएपछि प्रारम्भिक चरणमा अलीलाई महिना दिनको लागि निलम्बन गरिएको जनाएको छ। तर, सोही घटनामा मिलेमतो गर्ने कर्मचारीको सवालमा भने भन्सार प्रशासन मौन रहेको छ। राजस्व अनुसन्धान कार्यालयको टोलीले फेला पारेपछि राजस्व छलेको खुलेको यो घटना पहिलो नभएको भन्सारका जानकारहरू बताउँछन्।
‘यसरी राजस्वले सधैं छापा हान्ने हो भने यहाँ हरेक घन्टा यस्ता घटना भएको खुल्छ,' भन्सार स्रोतले भन्यो, ‘कम मूल्यांकन गर्ने र त्यही लटमा भन्सार नगरी सामान आयात गराउने गिरोह नै यहाँ परिचालित छ। जहाँ भन्सार कर्मचारीको मिलेमतो अनिवार्य हुन्छ।’
राजस्व छल्न व्यापारीसँग मिलेमतो गर्ने भन्सार कर्मचारीहरू अझै पनि सोही काम गरिरहेका छन्।
‘उहाँहरू काममै हुनुहुन्छ,' भन्सार स्रोतले भन्यो, ‘चिफसाबले केही एक्सन लिनुभएको छैन।’
अनियमितताको आरोपसहित अख्तियारमा उजुरी खेपिरहेका भन्सार प्रमुख शिव भण्डारी यसबारे मौन छन्। सञ्चारमाध्यमको सम्पर्कमै आउन नचाहने उनी यो घटनालगत्तै बिदामा बसेका थिए। बिदा सकेर कार्यालयमा हाजिर भइसकेका उनले यसबारे बोल्न चाहेका छैनन्।
यसरी छलिएको थियो राजस्व
साउन ३ गते राति १० बजे तयारी कपडा, मेसिनरी समान बोकेका दुइटा ट्रयाक्टर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयले यो घटनाको छानविन गरेको थियो। राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काको नेतृत्वमा आएको टोलीले विराटनगरबाट ती ट्रयाक्टर नियन्त्रणमा लिएको थियो।
को २ त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको कार्यालयले १८ लाख राजस्व छली भएको बताएको थियो। भन्सार एजेन्ट प्रतिनिधि अकबर अलीले आयात गरेको दुई ट्रक्याक्टर सामानमा १४ लाख मूल्य बराबरको कम मूल्यांकन गरिएको र बाँकी ४ लाख रूपैयाँ बराबरको सामान भन्सार नै नगरी ल्याइएको भेटिएको थियो। ‘आयात गरिएको मालवस्तुको मूल्यांकन कम गरिएको पाइयो भने न्यून बिल विजक बनाएर सामान भित्र्याएको पाइएको छ,’ उनले भने।
राजस्वले नियन्त्रणमा लिएको ट्रयाक्टरमा टिसर्ट, धागो, पर्स, मेसिनरी र हार्डवयेरका सामग्री थिए। राजस्वले नियन्त्रणमा लिएको सामग्रीको भिसिटिएस पनि नगरी पठाएको पाइएको थियो। सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसीटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यान्वयनमा ल्याए पनि भन्सारसँगको ‘सेटिङ’मा सवारी तथा मालवस्तुको बिना प्रविष्टि नै भन्सार जाँचपास हुने गरेको पाइएको छ।
‘ढुवानी व्यवसायलाई प्रणालीबाटै अनुगमन गरेर पारदर्शिता कायम गर्न भिसिटिएस लागु भएको हो,’ राजस्व अनुसन्धानका प्रमुख खड्काले भने, ‘तर, भन्सार हुँदै निस्किएर हामीले बरामद गरेको सामानको भिसिटिएस पनि गरेको भेटिएन।’
राजस्वले नियन्त्रणमा लिएको दुई ट्रयाक्टरको कपडा र मेसिनरी उपकरणको सामग्री एजेन्ट प्रतिनिधि विराटनगरका अकबर अलीको हो। उनी भन्सार एजेन्ट भरतराज भट्टराईका प्रतिनिधि हुन्। उनै अलीलाई कारवाही गरेको भन्सारले त्यसबेला भन्सार जाँचपासमा खटिएका कर्मचारीबारे सूचनासम्म दिन अस्वीकार गरेको छ।
विराटनगर भन्सारमा यसअघि पनि एउटै बिल विजकमा दोहोरो मालवस्तु भित्र्याउने र सामानको न्यून मूल्यांकन गर्ने गरिएको पनि फेला परेको थियो। तीन महिना अगाडि विराटनगर महानगरपालिका– १२ रोडशेष चोकबाट प्रहरीले वैशाख ११ गते साँझ ६:३० बजेतिर एउटा भारतीय नम्बर प्लेटको ट्रयाक्टर नियन्त्रणमा लिएको थियो।
बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टर ‘फुड सप्लिमेन्ट’का सामग्री लोड गरेर गन्तव्यतिर लाग्दै थियो। राजस्व छलीको सामग्री लिएर गन्तव्यतिर हिँडेको सूचनाका आधारमा चालक भारतीय नागरिक विनोद यादवसहित ट्रयाक्टरलाई मोरङ प्रहरीले नियन्त्रणमा लियो। सोही दिन साँझ ७ बजेतिर विराटनगर-१६ रानीबाट प्रहरीले अर्को बीआर ३८ जे ८४५४ नम्बरको ट्याक्टर नियन्त्रणमा लियो।
हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यवसायिक फार्मको सामग्रीले भरिएको ट्याक्टरसहित चालक भारतीय नागरिक पप्पु यादव पक्राउ परे। हवनमा प्रयोग हुने सामग्रीका नाममा अरू नै वस्तु र प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा बढी सामान आयात गरिएको सूचना प्रहरीमा थियो। एकै दिन फरक–फरक स्थान र समयमा नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई प्रहरीले कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो।