आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङबासीलाई कम्तीमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ।
स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँलगायत अन्य सुबिधासम्पन्न अस्पताल लगेर उपचार गराउन परेकाले जिल्लाबासीमा यस्तो बाध्यता आइलागेको हो।
यही समस्याले खोटाङलाई ‘दुई लाख रुपैयाँ सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन थालेकाले जिल्लाबासीले नेपाल सरकारसमक्ष निःशुल्क हेलिकप्टर सेवाको माग गर्दै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए।
'संक्रमितले हेलिकप्टर चार्टर गर्नुपर्यो भने कम्तीमा पनि तीन लाख ५० हजार रुपैयाँसम्म शुल्क तिरिरहनु परेको छ', उनले भने, 'सबैको हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन। जिल्लाबाट सिफारिस भएर पठाइइएका मध्ये र तत्काल उद्दार गर्नुपर्ने कोभिड संक्रमित र अन्य आकस्मिक घटनाका बिरामीका लागि निःशुल्क हेलिकप्टर व्यवस्था गर्न सरकार समक्ष माग गरिएको हो।'
दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका एक कोरोना संक्रमितलाई शनिबार दुई लाख ८० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ लगियो। सोही दिन बिहान वडा नम्बर १ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएर उपचार गराएका राई थरका उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।
संक्रमितको अहिले काठमाडौँस्थित अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका आफन्तले जनाएका छन्। याम्खामा परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएपछि उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ। उपचारकै क्रममा श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले हेलिकप्टर चार्टर गरेर राजधानी पठाइएको गाउँ कार्यपालिका सदस्य अमृत गिरीले बताए।
यसअघि गत असार २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाकी ४४ वर्षीया संक्रमितलाई सोही मूल्यमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बनाइएको आइसोलेसन सेन्टरमा भर्ना भएकी ती महिलामा अक्सिजन कम भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो।
दश स्थानीय तह रहेको जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए तत्काल अस्पताल पुर्याउन लाखौँ रकम खर्चिएर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ।
बिरामी बोक्ने एम्बुलेन्स वा अनय सवारी साधनबाट छिटो पुग्न सम्भव नभएकाले संक्रमित महंगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन्।
केही दिनयता वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पुर्याउन सकस भएको छ। कतिपय तत्काल अस्पताल पुर्याउनु पर्ने अवस्थाका बिरामी बोक्न हेलिकप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीयबासी बताउँछन्।
गत जेठ ५ पछिमात्र कोरोना संक्रमितलाई अस्पताल लैजान नौ पटक हेलिकप्टर चार्टर भइसकेका छन्। गत असार ८ मा ऐँसेलुखर्क गाउँपालिका-३ का ६० वर्षीय संक्रमितलाई दुई लाख ९५ हजार रुपैयाँ तिरेर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो।
यस्तै संक्रमण भएपछि आइसोलेसनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी एक महिलालाई जेठ २७ गते तीन लाख र ऐँसेलुखर्क गाउँपालिका-३ कै अर्की संक्रमितलाई पनि जेठ १७ गते काठमाडौँ लैजान दुई लाख ९५ हजार रुपैयाँ खर्चिनु परेको थियो।
जेठ ५ गते ऐँसेलुखर्क गाउँपालिका-३ का एकै परिवारका तीन संक्रमितलाई तीन लाख २० हजार, १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ७८ वर्षीया संक्रमितलाई तीन लाख ५० हजार, जेठ १० गते दिक्तेलका ६४ वर्षीय एकजनालाई तीन लाख ५० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो।
जिल्लामा अन्य किसिमका रोग लागेका बिरामी वा दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजाने क्रममा पनि कम्तीमा दुई लाख रुपैयाँ खर्चेर हेलिकप्टर चार्टर गर्नु बाध्यता नै भएको छ। आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर विपन्न परिवार उपचारबाट वञ्चित भई ज्यान गुमाउन बाध्य भएको घटनासमेत सार्वजनिक भएका छन्।
उक्त नगरपालिकाले जेठ १६ गते तत्कालीन प्रधानमन्त्रीसमक्ष निःशुल्क हेलिकप्टर सेवाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत प्रधानमन्त्री ओलीलाई पत्र पठाइएको थियो।
रासस