काठमाडौं उपत्यकामा पानी ल्याउने मेलम्ची खानेपानी आयोजनाको भविष्य सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले जोखिममा पारेको छ।
विज्ञहरूले आयोजनाको भविष्य भ्रेमाथाङको पहिरोले अनिश्चित पारेको बताएका छन्। भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरूले मेलम्ची खानेपानी आयोजनाको भविष्य ‘अनिश्चित’ रहेको बताएका हुन्।
मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गर्न गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले आयोजना संकटमा परेको बताएका हुन्।
‘भ्रेमाथाङमा जुन थ्रेगिनी छ। त्यो पछि झर्ने नै हो। अहिले पो टनेल बन्द थियो र जान सकेन। पछि झर्ने नै हो। मेलम्चीको भविष्य अध्ययन गर्नुपर्ने हुन्छ,’ शर्माले भने, ‘यस्तो हो भने मेलम्ची त छँदैछ अर्को स्रोतबाट पानी ल्याउनुपर्ने हो कि जस्तो देखिन्छ।’
शर्माका अनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ। २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भ्रेमाथाङमा झण्डै एयरपोर्टको आकारको चौर रहेको छ। यसपटक मेलम्चीमा आएको भेलबाढीका क्रममा उक्त चौर कटान सुरू भएको हो।
हाइड्रोलोजिस्ट शर्मा मेलम्चीको मुहानमाथि हिमनदीले थुपारेको थेग्रिनी रहेको र त्यस्तो ग्रेगिनको उचाइ बढेको गुगल इमेजरीबाट देखिने बताउँछन्। ‘मेलम्चीको अपस्ट्रिममा टारहरू देखिन्छ। भ्रेमथाङ कटानले जोखिम सुरू भएको देखिन्छ,’ शर्माले भने।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल पानी पर्दा भ्रेमाथाङमा भएको थ्रेगिनी बग्ने बताउँछन्।
‘पानी नपर्दा त्यस्तो थेग्रिनी जमेर सिमेन्टेड जस्तो हुन्छ। अलिकति पानी परेपछि सक्रिय हुन्छ र बग्न थाल्छ,’ पोखरेल भन्छन्, ‘त्यहाँ क्याल्सिएड अर्थात् चुनको मात्रा धेरै भएकाले पानी पर्दा लेदो हुन्छ।’
रेकी टोलीमा गएका पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक वसन्त अधिकारी पनि मेलम्ची आयोजना निर्माण गर्दा भएको अध्ययन एक पटक पुन: हेर्नुपर्ने अवस्था आएको बताउँछन्।
‘मेलम्ची जस्ता आयोजना निर्माण गर्दा त्यस भन्दामाथि कति प्राकृतिक प्रकोप छन् भन्ने रिपोर्ट हुन्छ,’ अधिकारी भन्छन्, ‘अहिले हेर्दा मेलम्ची आयोजना निर्माण गर्दा यो लेभलको विपद् आँकलन नगरेको जस्तो देखिन्छ। हामी समष्टिगत रुपमा चुकेको हुन सक्छ।’
मेलम्ची बाढीपछि उक्त क्षेत्र भ्रमण गरेको विज्ञ टोली अझै किन मेलम्चीमा बाढी आयो भन्ने निष्कर्षमा पुग्न सकेको छैन।
रेकी टोलीमा रहेका इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक विष्णु पाण्डेले पहिरोले केही हदसम्म पानी जमेको र त्यसले रफ्तार ल्याएकाले छेउछेउमा कोपरिएर बाढीको स्वरुप लिएको बताउँछन्।
‘सम्भवत केही हदसम्म पहिरोले खोला थुनियो । सानो ताल जस्तो भयो। मेलम्चीको माथिल्लो क्षेत्र भिरालो छ। त्यहाँ १० देखि १४ ड्रिग्री भिरालो छ। यसरी त्यहाँ बनेको ताल फुट्दा भिरालो ठाउँमा पानीको ऊर्जा बढ्यो। पहाडको दायाँ बायाँ कोपरियो (स्काउरिङ) भयो। त्यसले गर्दा भेलबाढीले समस्या थप्दै गयो।,’ पाण्डेले भने।
तर मेलम्ची बाढिको कारण पत्ता लगाउन अझै अध्ययन आवश्यक रहेको बताए। पाण्डेको तर्कसँग अर्का प्राध्यापक वसन्त अधिकारी सहमत छन्।
हिउँको थुप्रोहरु पग्लिएर माटोसँग मिलेर थुप्रिएर बसेको ठाउँ त्यहाँ रहेको अधिकारी बताउँछन्। हिमतालहरुको बाँध बनाउने ढुङ्गा माटो जस्तो 'मोरान' जस्ता चिजहरु देखिएको उनले बताए। ‘ग्लेसियरले डिपोजिट गरेको मोरान भेरियन्ट देखिन्छ। वर्षौँ देखि थुप्रिएका त्यस्ता ग्रेगिनी र मोरान बग्न थालेको देखिन्छ,’ अधिकारी भन्छन्, ‘कुनै समय भ्रेमाथाङ क्षेत्र भन्दा माथि नै मेलम्ची खोला थुनिएको हुनसक्छ। त्यो अध्ययन गर्नुपर्छ। अहिले त्यहाँ माटो र ग्रेगिनी विस्तारै खोलेपछि पानीको इनर्जी बढ्यो। साइडबाट ‘टो कटिङ’ गरेर मेलम्ची घ्याङ र तल आएको देखिन्छ।’
पहिरोको खुट्टा र पहाडका भिरालो क्षेत्रको तल्लो तट कटानलाई विज्ञहरु 'टो कटिङ' भन्छन्। त्यसरी कटान हुदाँ पहिरो जाने गर्छ।
रेकीका लागि मेलम्चीको अपस्ट्रिम हेर्न पुगेका खानी तथा भूगर्भ विभागका शिवकुमार बाँस्कोटा मेलम्चीमाथिको भ्रेमथाङ कटानले तल्लो तटीय क्षेत्रमा जोखिम बढेको बताउँछन्। ‘भ्रेमथाङ कटानले जोखिम सुरू भएको देखिन्छ। मेलम्ची क्षेत्र अहिलेका लागि रहस्यम नै छ,’ बाँस्कोटाले भने।