कोभिड-१९ विरुद्धको खोप लगाउन आइतबार बिहानैदेखि लाइनमा बसेका लक्षित उमेर समूहका बृद्धबृद्धाले अस्तव्यस्तका कारण खोप लगाउन नपाएको बताएका छन्।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को सतासीधाम स्वास्थ्य चौकी, ६ को प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, वडा नम्बर ४ को स्वास्थ्यचौकी पाँचगाछी र धरमपुर स्वास्थ्य चौकीमा खोप लगाउन गएका सयौं बृद्धबृद्धा खोपबिना रित्तो हात फर्किएका थिए।
सतासीधाम स्वास्थ्य चौकीमा आइतबार बिहान १० बजेदेखि खोप लगाउने कार्यक्रम थियो।
बिहान ८ बजे नै ७ सय खोप लगाउने लाभग्राहीको नागरिकता संकलन भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सञ्जय ठकुरीले बताए। ‘करिब ४०० जना खोप लगाउन आएर पनि पाउनुभएन,’ उनले भने। उनका अनुसार अत्यधिक भिडका कारण समयमै खोप लगाउन आएर पनि छुटेकालाई सोमबार बिहान १० बजे बोलाइएको छ।
सरकारले यसअघि भेरोसेलको खोप लगाउन छुटेकालाई आइतबार खोप लगाउन सूचना जारी गरेको थियो। शिवसताक्षी नगरपालिकाले पनि सोही अनुरुप खोपका लागि साविककै खोप केन्द्रमा खोप लगाउन ५५ वर्ष उमेर समूहका नागरिकलाई खबर गरेको थियो।
तर, लाइन बस्न पुगेका वृद्धवृद्धाहरू कैयौंले खोप लगाउन नपाई फर्कनु परेको स्थानीयले बताए। खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि नगरको व्यस्थापनदेखि आक्रोशित बने। उनीहरूले व्यवस्थापन फितलो भएका कारण आफूहरूले दुःख पाएको गुनासो गरे। तर, नगरले भने वडा कार्यपालिका र स्वास्थ्य शाखालाई खोप लगाउने कार्यक्रम व्यवस्थापनको जिम्मा दिएर उसले अनुगमन गर्ने निर्णय गरेको थियो।
शिवसताक्षी-११ की होमकुमारी अधिकारीले बिहान ६ बजेदेखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन पाइनन्। उनले भनिन्, ‘बेसरी गाह्रो भयो। प्रेसर, सुगर भएका मान्छेहरू सबैको स्थिति बेहाल थियो। तातो घाम त्यसमा पनि भुइँबाहेक बस्ने ठाउँ नै थिएन। योभन्दा मानिसको बिजोग अरु के हुन्छ।’
कतिपय वृद्धवृद्धाले बिहानको खाना पनि नखाई खोप लगाउन आएका थिए। ‘छिट्टै होला भनेर खाना खानु त के कुरा पकाउन पनि नपकाई आएँ। बिहानको ११ बज्यो। ८ बजे लाइनमा दिएको नागरिकताको फोटोकपीको पालो अहिलेसम्म पनि आएन,’ उनले लाइन छोडेर विरक्त मान्दै भनिन्, ‘बरुपछि रोगले मारोस्। आजै यस्तो खप्नु न खानु भएर चाहिँ नमरियोस्। भो चाहिँदैन सरकारको भ्याक्सिन।’
प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज बाट ६ सय ५१, स्वास्थ्य चौकी सतासीधामको खोप केन्द्रबाट ६ सय ३९, स्वास्थ्य चौकी धरमपुरको खोप केन्द्रबाट ५ सय २० र स्वास्थ्य चौकी पाँचगाछी खोप केन्द्रबाट ५ सय ९ जना गरेर कुल २ हजार ३ सय १९ जनाले खोप लगाएका थिए। यस्तै, दोस्रो डोज भने १८ जनाले लगाएका थिए।
तीन दिनको खोप कार्यतालिका सार्वजनिक गरेको नगरको पहिलो दिननै ४९.०९ प्रतिशत खोप खर्च भइसकेको स्वास्थय संयोजक हरि बिमलीले बताए। नगरमा जम्मा ४ हजार ७ सय ६० खोप उपलब्ध भएको स्वास्थ्य शाखाले जनाएको छ।
प्रत्येक खोप केन्द्रमा दुई जना खोप लगाउने प्राविधिक थिए। एउटा केन्द्रमा स्वास्थ्यकर्मीसहित ८ जनाको टोलीले खोपका लाभग्राहीको नाम, थर र ठेगाना लेख्थे। बिहान १० बजे देखी सुरु भएको खोप अपरान्ह ४ बजेसम्म सञ्चालन हुँदा प्रति २ मिनेटमा १३ जनाले खोप पाएका थिए।
शिवसताक्षीका प्रमुख चन्द्रकुमार शेर्माले भने, ‘स्वास्थ्यकर्मीको आजको काम देखेर म आफैं अचम्बित बनेको छु। थोरै समयमा धेरै लाभग्राहीले खोप पाए।’ उनका अनुसार नगरपालिकाले स्वास्थ्यकर्मीको हौसला बढाउन नयाँ कार्यक्रम तर्जुमा गर्ने छ।
सतासीधाम स्वास्थ्य केन्द्रमा खोप लगाउनको संख्या धेरै भएकोले भिड थाम्न वडा कार्यपालिकाले सकेन। वडा नम्बर ८,९,१० र ११ का वडा अध्यक्ष खोप केन्द्रमा समय अवधिभर नरहदाँ खोपका लाभग्राहीले समस्या भोग्नु परेको अनुगमन समितिले जनाएको छ। अनुगमन समितिका एक सदस्यले भने, ‘वडा अध्यक्ष जिम्मेवार नबन्दा बुढाबुढीले सतासीधाम खोप केन्द्रको तातो घाममा दु:ख पाए।’
अन्य खोप केन्द्र धरमपुर, शिवगञ्ज र पाँचगाछीमा स्थानीय जनप्रतिनिधि खोप केन्द्रमै भेटिएका थिए। खोप कार्यक्रम सुरू हुनुअगावै वडा कार्यपालिकाले सर्वदलीय बैठकको आयोजना गरेर केन्द्रलाई व्यवस्थित गरेको थियो। प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जका अध्यक्ष मनोज खुलाल कार्कीले बिना झन्झट लाभग्राहीले खोप पाएकोमा सन्तोष व्यक्त गरे।
कोभिडविरुद्धको खोप लगाउन बिहानको खाना खाएर खोप केन्द्र पुगेका सयौंले खोप लगाउन पाएनन्। सयौंको लाइन छिचोलेर खोप लगाउन आँट उनीहरूले गर्न नसक्दा घर फर्कनु परेको थियो। बिहान ८ बजे नै लामो लाइन देखेका कतिपय वृद्धवद्धा खोप केन्द्रनजिकै आएर फर्किएका थिए।
बिहान १० बजे सम्म स्वास्थ्यकर्मीलाई आवश्यक कागजात दिएकाले भने बेलुका ४ बजेतिर खोप पाएको सतासीधाम स्वास्थ्य केन्द्रका जग्गा दातासमेत रहेका स्वयंसेवक दाताराम विष्टले बताए।