महोत्तरीको लोहरपट्टी नगरपालिका-७ की सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका बुवा, नन्दसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सुजिताको हत्यामा पिपरा गाउँपालिका–६ रतौली बस्ने उनका ५० वर्षीय बुवा कामेश्वर पाण्डेय, भंगहा नगरपालिका–१ कविलासा बस्ने ३५ वर्षीया नन्द अंजु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया बस्ने ५५ वर्षीय प्रमोद भन्ने विनोद मण्डललाई पक्राउ गरिएको हो।
प्रतिष्ठामा आँच पर्ने देखेर दुबै परिवारले मिलेर उनको हत्या गरेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए।
‘सुजिता दिनभर नचाहिने बेलामा पनि अरुसित घुम्ने गर्ने गर्थिन्। अरूसँग सम्बन्ध भएकाले परिवारको इज्जत, प्रतिष्ठा गुम्ने भएकाले हत्या गरेको कामेश्वरले बयान दिएका छन्,’ उनले भने।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार कामेश्वरले समेत छोरी सुजितालाई मार्न उनको देवर रुपेशलाई पटक- पटक भनेको कुरा अनुसन्धानको क्रममा प्राप्त अडिओ रेकर्डबाट खुलेको छ।
देवर रुपेशसहितका परिवारका व्यक्तिहरू सुजिताको हत्यामा संलग्न रहेको समबन्धमा गएको जेठ २५ गते कामेश्वरलाई जानकारी भएपश्चात् उनले सो समबन्धमा रुपेशसँग घटना लुकाउन बार्गेनिङ समेत गरेको डिएसपी विष्टले बताए।
त्यसैगरी गएको जेठ २० गते बिहान रुपेश समेतले सुजिताको हत्या गरेको कुरा नन्द अन्जुलाई सोही दिन फोन गरेर जानकारी गराइएको भए पनि उनले कहीँकतै जानकारी नगराई घटना लुकाउने भूमिका निर्वाह गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हत्या गरिएकै दिन सुजिताको शव जेठ २९ गते उत्खनन गरी शव बोकेर ससुरा पतिराम ठाकुरको घरदेखि करिब ५ सय मिटर पूर्वमा रहेको निर्माणाधीन सेप्टिक ट्याङकीभित्र शव दबाउन संलग्न रहेको अनुसन्धानबाट खुलेको डिएसपी विष्टले बताए।
गएको जेठ २० गते बिहान २६ वर्षीया सुजिताको देवर रूपेश ठाकुर, ससुरा पतिराम ठाकुर, सासू र देवरानीसहितले मिलेर हत्या गरेको प्रहरीको भनाइ छ।
हत्या भएको ३९ औं दिनमा शौचालयको सेप्टिक ट्यांकीभित्र गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको थियो।
हत्यापछि सुजिताको शव लुकाउन तथा सेप्टिक ट्याङ्कीभित्र गाडेको आरोपमा प्रहरीले स्थानीय ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डललाई पक्राउ गरी मुद्दा अघि बढिसकेको छ।
सुजिताकी पति मुकेश ठाकुरलाई समेत पक्राउ गरिए पनि घटनामा उनको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छोडेको थियो। घटनामा संलग्न सुजिताकी सासू र देवरानी अझै फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको डिएसपी विष्टको भनाइ छ।