दुई वटा फरक-फरक अध्ययनले मेलम्चीको विनाश बहुप्रकोप (मल्टी हाजार्डस्) ले निम्त्याएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले मलेम्ची विनाशको श्रृंखला मेलम्ची र इन्द्रावती खोलाको सिरानमा रहेको हिमालबाटै सुरूआत भएको देखाएको छ।
इसिमोडको अध्ययनले मेलम्ची र इन्द्रावतीको सिरानमा रहेको जुगल हिमालको हिउँ असार १ गते अघि धेरै मात्रा पग्लिएको देखाएको छ।
इसिमोडको रिपोर्ट :
इसिमोडले माथिल्लो याङ्ग्री खोलाको सिरानमा रहेको मापन केन्द्रमा मेलम्ची बाढीको चार दिनअघि तापक्रममा वृद्धि देखिएको जनाएको छ। लगत्तै परेको पानीले (रेन अन स्नो) हिउँ पगाल्न सहयोग पुर्याएको इसिमोडको रिपोर्टमा उल्लेख छ।
मेलम्चीको बाढीको केही दिनअघि जेठको २८ गतेदेखि उक्त क्षेत्रमा ठूलो पानी परेको थियो। इसिमोडले स्याटेलाइटबाट पनि पानी परेको पुष्टि गरेको छ।
जल तथा मौसम विभागले पनि मेलम्ची बाढी अघि त्यहाँ पानी परेको उल्लेख गरेको थियो।
इसिमोडको अध्ययनले वर्षा र हिउँ पग्लिएपछि ग्लेसियरले जम्मा गरेको बालुवा सहितको गेग्रिन बग्न (इरोजन) थालेको उल्लेख गरेको छ।
इसिमोडले पेम्दिङ खोलाको झण्डै ७० हजार मिटर स्क्वायर क्षेत्रफलमा त्यस्तो बग्ने काम भएको जनाएको छ।
इसिमोडले यसरी पेम्दिङ खोला क्षेत्रमा भएको हिउँ पग्लने, वर्षासँगै गेग्रिन बग्दा त्यहाँ रहेको सानो आकारको हिमताल समेत फुटेको उल्लेख गरेको छ।
इसिमोडले वैशाख २९ गतेको स्याटेलाइट इमेजमा त्यहाँ रहेको सानो हिमताल वरिपरि हिउँले ढाकेको देखिएको र असार १ गतेको घटनापछि असार ९ गते लिइएको स्याटेलाइट इमेजमा त्यो ताल नदेखिएको जनाएको छ।
उक्त तालसँग ताल बनाउने ढुङ्गा बालुवा (मोरान) बगेको इसिमोडको रिपोर्टमा उल्लेख छ। इसिमोडले २७ सय ६१ मिटर स्क्वायरको हिमताल पेम्दाङ खोलाको सिरानमा देखिएको जनाएको छ।
'वर्षासँगै सुरू भएको भेलबाढीले हिमतालको लेकमा जम्मा भएको पानी बाहिर निकालेको र त्यो ताल नै भत्काएको देखिन्छ', इसिमोडको रिपोर्टमा भनिएको छ, 'अथवा त्यो तालमा पानी धेरै जम्मा भएकाले फुटेको हुनसक्छ। त्यसका लागि अझै गुणस्तरका फोटोको अध्ययनबाट मात्र यकिन गर्न सकिन्छ।'
इसिमोडको अध्ययन टोलीको नेतृत्व गरेका अरुणभक्त श्रेष्ठले मेलम्चीको विनाशको कारण पानी, हिउँ र त्यसले सृजना गरेको पहिरोले भएको देखिएको बताए।
'यो जेलिएको छ। हिउँ पग्लिएको छ। पानी परेको छ। सानो लेक पनि फुटेको छ', श्रेष्ठले भने, 'श्रृंखलाबद्ध घटनाको संयुक्त असर हो।'
उनले मेलम्चीको सिरानमा रहेको भ्रेमाथाङ क्षेत्रमा गएको पहिरोले पनि तल्लो तटीय क्षेत्रमा असर पारेको बताए।
'यहाँ एकमा एक जोडेर दुई भएन बरु तीन अथवा चार भयो', श्रेष्ठले भने, 'भ्रेमाथाङमा पुराना ग्लेसियरहरूले जम्मा गरेको बालुवा मिश्रित लेदोहरू बगेको छ। त्यसपछि खोला थुनिने र फुट्ने अनि त्यसले त्यहाँका भिरहरूको (टो कटिङ) तल्लो भाग काटिएको छ। जसले विकराल अवस्था बन्यो।'
इसिमोडले भ्रेमाथाङ क्षेत्रबाट साढे ५ किलोमटर तल र ताल फुटेको ठाउँभन्दा झण्डै २ किलोमिटर तल पहिलादेखि नै पहिरोले बनाएको ताल रहेको उल्लेख गरेको छ।
झण्डै ९ सय ५० मिटर लामो त्यस्तो तालमा माथिबाट आएको भेलबाढी मिसिएको र त्यसले गर्दा नदीको छेउछाउमा कटान र पहिरो गएको रिपोर्टमा उल्लेख गरिएको छ। त्यसले उत्पन्न गरेको उच्च गतिले नदी किनारामा पहिरोहरू खस्दै गएको अध्ययनमा देखिएको छ। जसले नयाँ नयाँ पहिरो गएको र तल्लो तहसम्म असर पारेको श्रेष्ठले बताए।
अध्ययनले भूकम्पको कारण पनि हिमाली क्षेत्रमा अहिलेको असर देखिएको हुनसक्ने सम्भावना नकारेको छैन। मेलम्चीको सिरानमा ग्लेसियरले निर्माण गरेको थुप्रै गेग्रिन रहेको रिपोर्टमा उल्लेख छ।
'टिपरले गिट्टी खन्याए जस्तो सामग्री त्यहाँ छ। जुन ग्लेसियरका कारण बनेको हो', श्रेष्ठले भने, 'यसपटक त्यहाँ मुसलधारे वर्षा परेपछि बग्न थालेको देखिन्छ। हिउँ पर्दा त्यो अडिएको हुन्थ्यो। यसपटकको मुसलधारे वर्षालाई हामीले हिमाली क्षेत्रको बदलिँदो आयामका रूपमा लिएका छौं।'
इसिमोडले जस्तै नेपाल इन्जिनियर्स एसोसिएसनले गरेको अध्ययनले पनि मेलम्चीको विनाशको कारणलाई बहुप्रकोपीय (मल्टी हाजार्डस्) भनेको छ।
नेपाल इन्जिनियर्सको रिपोर्ट :
बाइस जना इन्जिनियरको टोलीको नेतृत्व गरेका इन्जनियरिङ अध्ययन संस्थानका प्राध्यापक विष्णु पाण्डेले कुनै एउटा कारणले मात्र मेलम्चीको विनाश निम्त्याउन नसक्ने अध्ययनको निष्कर्ष रहेको बताए।
'हामीले गोर्खा भूकम्प, वर्षा, हिमताल, पहिरोले ताल बन्ने घटना सहितका ६ वटा कारणबारे अध्ययन गरेका छौं', पाण्डेले भने, 'वर्षाका कारण त्यो घटनाको सुरूआत भएको देखिन्छ। तर पानी नै सबै कारण होइन।'
असार १ गते अघि लगातारको वर्षाले त्यस क्षेत्रको जमिन गह्रुंगो भएको र खसेको देखिन्छ', पाण्डेले भने, 'हिमताल फुटेर भएको भन्ने हामीलाई लाग्दैन। त्यो क्षेत्रमा साना आकारका ४ वटा हिमताल देखिन्छन्। तर त्यो विनाशकारी हुने खालका थिएनन्।'
पहिरोले नदी थुनिएर ताल बन्दामात्र पनि यत्रो घटना हुने नदेखिएको पाण्डेले बताए।
'आधा वा एक घण्टा नदी थुनिएर यत्रो विनाश हुने अवस्था हैन, आधादेखि एक घण्टा नदी थुनिएर जम्मा हुने पानीले विनाश निम्त्याउन सक्दैन', पाण्डेले भने, ' तर यो पनि मुख्य कारण लाग्दैन।'
उनले मेलम्ची बजारसम्म विनाश ल्याउन सक्ने घटनाका लागि यी सबै घटनाको जोड आवश्यक हुने बताए।
'पानी पर्दा जमिनको माटो र बालुवाको ओजन बढेर पहिरो गयो, त्यसपछि पहिरोले नदी थुनियो। जमेको पानी खुल्दा गति बढ्यो। भिरालो ठाउँ भएकाले त्यो पानीको ऊर्जा उत्पन्न भयो', पाण्डेले भने, 'तलतिर आउँदा खोला किनारा (बेड र ब्याङ्क) लाई कोपर्दै(स्काउरिङ) खोतल्यो। त्यसपछि मात्र मेलम्ची पुरिन सक्ने लेदोसहितको भेलबाढी आएको हाम्रो बुझाइ हो।'
इन्जिनियर्स एसोसिएसनले विभिन्न क्षेत्रका विज्ञ सम्मिलित टोलीको रिपोर्टले उक्त क्षेत्रमा क्लाउड ब्रस्ट नभएको ठहर गरको छ।
'मेलम्ची खोलाको विनाशकारी घटना बहुप्रकोपीय देखिन्छ। यस्ता घटना नेपालको हिमाली क्षेत्रमा लगातार भइरहेका छन्', एसोसिएसनले तयार गरेको रिपोर्टमा भनिएको छ, 'सिन्धुपाल्चोकका जलाधार क्षेत्रमा सन् २०१४ यता यस्ता घटना भएका छन्। यस्ता घटनामा सन् २०१५ मा आएको भूकम्पले गर्दा उत्पन्न भएका पहिरोहरूले सघाउ पुर्याएका छन्।'
मेलम्चीमा असार १ गतेको भेलबाढीले ११ जनाको ज्यान गएको थियो। उक्त घटनामा २५ जना बेपत्ता छन्। घटनामा परी पुल, स्कुल, होटल लगायतका संरचना गरी अर्बौंको क्षति भएको छ।
सम्बन्धित समाचार :
विज्ञ भन्छन्- मेलम्ची खानेपानी आयोजनाको भविष्य जोखिममा
*यसअघि समाचारमा प्रयोग गरिएको इन्जनियर्स एशोसिएशनको रिपोर्टमा रहेको तस्बिर हटाइएको छ। तस्बिर प्रयोग गरिएकोमा क्षमा चाहान्छौँ। -सम्पादक