पहिरोको बाटो काठको भर्याङ चढेर छिचोल्दै गरेका युवाले पिँठ्युमा भ्याक्सिन बोकेका छन्।
सदरमुकाम चामेबाट नासों गाउँपालिका जान उनले यस्तो धेरै ठाउँमा यस्तै भर्याङ चढ्नुपर्यो। काठको फलेक बिच्छ्याएर बनाएको पुल तर्नुपर्यो। बाढी र पहिरो जाँदाजाँदै हत्केलामा ज्यान राखेर मनाङका स्वास्थ्यकर्मीले जिल्लाका सबै नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन लगाइदिए।
मुस्ताङको छाक्ताङ खोला उर्लिंदा साना न ठूला कुनै पनि सवारी तर्न सक्ने अवस्था थिएन।
थासाङ गाउँपालिका–४ लेतेस्थित प्राथकमिक स्वास्थ्य केन्द्र पुगेको खोप लिन टुकुचे र कोवाङका स्वास्थ्यकर्मी पुगे। खोप अभियानको योजना अनुसार असार १ गते बिहान फलामको डण्डीको सहायताले टुकुचे स्वास्थ्य चौकीका अहेब सविन खत्री र कोबाङ स्वास्थ्य चौकीका स्वास्थ्य सहायक लालबहादुर रोकायाले छाक्ताङ खोलाको बाढीमा खोप तारे।
यो भिडिओ टिकटकबाट सुरू भएर विश्वभर नै फैलियो। संयुक्त राष्ट्र संघसम्म यसले चर्चा पायो। बाढी र पहिरोको सामना गर्दै स्वास्थ्यकर्मीले कोरोना महामारीविरूद्ध खोप अभियान सफल बनाए।
अहिले मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबैजसो नागरिकले खोप पाइसकेका छन्। जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार अहिलेसम्म जिल्लाका ९ हजार ३०५ जनाले कोरोनाविरूद्ध खोप लगाइसकेका छन्।
नेपालमा अहिलेसम्म उपलब्ध खोप १८ वर्षमाथिका उमेर समूहका लागि हो। मुस्ताङमा १ हजार ४७२ जनाले कोभिसिल्ड, ६ हजार ८०० जनाले जोन्सन एण्ड जोन्सन र ३२१ जनाले भेरोसेल खोप लगाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख टीकाराम भण्डारीले जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप लगाइसकेको बताए।
‘कोही काठमाडौं, पोखरा बसेकाले छुट्नुभएको हो, मुस्ताङमा भएका सबै जनाले आजसम्म खोप लगाइसकेका छन्,’ उनले भने, ‘अब मुस्ताङ कोरोनाको पूर्ण खोपयुक्त जिल्ला बनेको छ।’
१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लगाउने खोप अहिलेसम्म नेपाल भित्रिएको छैन।
बाढी र पहिरोले मोटरबाटो समेत अवरूद्ध हुन पुगेको मुस्ताङमा खोप अभियान चलाउन सजिलो थिएन। छाक्ताङ खोलाबाट खोप तार्दै गरेको भिडिओले पनि मुस्ताङमा कोरोनाभाइरस विरूद्धको लडाइँ कति दुखदायी थियो भनेर बताउँछ।
मुस्ताङमा खोप अभियान चलाउँदा खोप ढुवानी सबभन्दा अप्ठ्यारो भएको भण्डारीले बताए।
पोखराबाट खोप बोकेर मुस्ताङतर्फ लागेका गाडी म्याग्दीको बेनीबाट उकालो लाग्न सकेन। पहिरोका कारण बाटो अवरूद्ध बनेको थियो।
जिल्लामा खोप अभियान चलाउने योजना बनिसकेका थिए। गाडी जान नसक्ने अवस्था भएपछि मानिसले बोकेर नै मुस्ताङमा खोप पुर्याइएको थियो। बेनीबाट दिनभर हिँडेपछि मुस्ताङको घाँसा पुगिन्छ। बाढी र पहिरो छल्दै खोप बेनीबाट खोप बोकेर घाँसा पुर्याइएको जिल्ला स्वास्थ्य प्रमुख भण्डारीले बताए।
‘हामीले २ पटक ४ जनाका दरले खोप बोकेर मुस्ताङ ल्याएका हौं’, भण्डारीले भने।
यसरी लगिएका खोप पनि जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा लैजान उत्तिकै समस्या झेल्नुपरेको उनले बताए। एकातिर भौगोलिक विकटता अर्कोतर्फ बाढी र पहिरोको कहर। स्थानीय जनप्रतिनिधिले खोप ढुवानी र अभियान चलाउन उल्लेख्य सहयोग गरेको भण्डारीले बताए।
जिल्लाका गाउँपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् जिल्लाका सबै नागरिकलाई खोप लगाइएको थियो।
मुस्ताङमा हालसम्म कोरोना भाइरसका कारण १५ जनाले ज्यान गुमाएका छन् भने अझै २० जना सक्रिय संक्रमित छन्। हालसम्म ५१७ जना कोरोना संक्रमित भएको मुस्ताङमा ४ सय ५७ जना निको भइसकेको जिल्ला स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए।
हिमालपारिकै अर्को जिल्ला मनाङ पनि कोरोनाविरूद्धको पूर्णखोपयुक्त जिल्ला बनेको छ। मनाङको जनसंख्या ६ हजार २९८ जना छन्। जसमा १८ वर्ष माथिका ४ हजार ५ सय जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले अनुमान गर्यो। त्यही अनुसार खोप मगायो। अनुमान गरिएभन्दा केही कम अर्थात ४ हजार १९८ जना नागरिकले खोप लगाए।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा २ हजार ९६ जनाले कोभिसिल्ड खोप लगाए। जोन्सन एण्ड जोन्सनको खोप २ हजार २७ जनाले लगाए।
यस्तै, भेरोसेल खोप ७५ जनाले लगाएको अचार्यले बताए। उनका अनुसार अब मनाङका १६५ जनाले कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन बाँकी छ।
जेठ दोस्रो सातादेखि नै मनाङ जाने सडक अवरूद्ध भएको थियो। त्यसमाथि १ असारदेखि परेको पानीले एक गाउँबाट अर्को गाउँ, एउटा टोलबाट अर्को टोलमा जान सक्ने अवस्था थिएन।
सदरमुकाम चामे नै बाढी र पहिरोले अस्तव्यस्त बनेको थियो। मरस्याङ्दी नदीमा उर्लिएको बाढीले चामे, धारापानी, तालगाउँ लगायतका स्थान डुबान र कटानमा परेका थिए। अहिले पनि मनाङमा बाढीले छाडेको छैन।
मनाङमा पनि १ असारदेखि कोरोना विरूद्धको खोप अभियान चलाउने योजना थियो। त्यही दिनदेखि परेको अविरल बर्षा, बाढी र पहिरोले खोप अभियान प्रभावित भएको आचार्यले बताए।
खोप अभियान चलाउन जिल्लाका सबै जसो स्वास्थ्य संस्थामा खोप पुर्याइएको थियो। गाउँ-गाउँमा पुर्याइएको खोप बाढी र पहिरोका कारण जोगाउन नै मुस्किल भयो।
बाढी र पहिरोले मनाङका विद्युत सेवा १ महिनादेखि अवरूद्ध छ। ‘बिजुली नहुँदा स्वास्थ्य संस्थामा खोप भण्डारण गर्न आवश्यक तापक्रम कायम गर्न सकिएन,’ मनाङका स्वास्थ्य प्रमुख आचार्यले भने, ‘गाउँ गाउँमा पुर्याइएका खोप खेर जान नदिन फेरि संकलन गर्नुपर्यो।’
बाढी र पहिरो पीडितलाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर मनाङमा उड्न थाल्यो। त्यही हेलिकप्टर प्रयोग गरेर गाउँ-गाउँमा पुगेका खोप संकलन गरेको आचार्यले बताए।
खोप भण्डारणका सेनाकै हेलिकप्टरमा पोखराबाट ‘आइसप्याक’ मगाए। तापक्रम मिलाउन उनीहरूले जेनेरेटर चलाउनुपर्ने भयो। सेनाकै हेलिकप्टरबाट तेल मगाएर चामेमा जेनेरेटर चलाए।
गाउँ गाउँमा छिरलेको खोप संकलन गर्दा होस् या जेनेरेटर चलाउन तेल मगाउँदा सेनाको हेलिकप्टर प्रयोग गर्नुपरेको आचार्यले बताए। तर यसैका लागि भनेर हेलिकप्टर प्रयोग गरेनन्। बाढी पीडितको उद्धारमा गएको हेलिकप्टरले गाउँबाट पीडितसँगै खोप पनि ल्याइदिए। पोखरा वा काठमाडौं तेल भर्न जाँदा जेनेरेटरका लागि आवश्यक तेल पनि ल्याइदिए।
सेनाको हेलिकप्टरसँगै खोप ढुवानी र भण्डारणका लागि ‘हाम्रो नेपाल’ नामक संस्थाले पनि हेलिकप्टर चार्टर्ड गर्न सहयोग गरेको आचार्यले बताए।
बाढीको वितण्डाका बीच स्वास्थ्य कार्यालयले खोप अभियान चलाउने योजना बनायो। जिल्लामा भण्डारण गरिएका खोप फेरि गाउँ-गाउँमा पुर्याउन सेनाकै हेलिकप्टर प्रयोग गरेको आचार्यले बताए।
बाढीका कारण अलपत्र परेका नागरिकलाई ओसार्ने क्रममा सेनाको हेलिकप्टरले खोप ओसारिदियो। गाउँमा रहेका स्वास्थ्यकर्मीले पनि खोप अभियान चलाउन उत्तिकै साहसिक यात्रा गरेको अचार्यले बताए।
बाढीले एउटा गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्थामा स्वास्थ्यकर्मी गाउँ गाउँमा पुगेर नागरिकलाई खोप लगाइदिएका थिए।
‘सबै स्वास्थ्य संस्थामा खोप पुर्याएपछि स्वास्थ्यकर्मी पनि उत्साही हुनुभयो,’ आचार्यले भने, ‘हाम्रो जिम्मेवारी पनि यही हो भनेर सबै स्वास्थ्य संस्थामा खोप अभियान चलाइयो।’
मनाङको सबभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकामा पनि उद्धारकै लागि गएको सेनाको हेलिकप्टरमार्फत खोप पुर्याइएको उनले बताए।
बाढी र पहिरोका वितण्डा चलिरहँदा समेत मनाङका स्वास्थ्यकर्मीले जिल्लाका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन सफल रहे।
मनाङमा कोरानाका कारण २ जनाले ज्यान गुमाए। अहिले पनि २८ जना सक्रिय संक्रमित छन्।
हालसम्म मनाङमा २०४ जना कोरोना संक्रमित भएकामा १७२ जना निको भएर घर फर्केका छन्। जिल्लाका कुल जनसंख्याका १८ प्रतिशत अर्थात् ११ सय ७ जनाको कोरोना परीक्षण गरेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए।
यसरी पाए खोप
कोरोना भाइरसबाट ज्यान जोगाउन अचुक उपाय नै खोप भएको स्वास्थ्यकर्मीहरू बताउँछन्। सहर बजारमा मात्र नभई गाउँमा समेत कोरोनाविरूद्धको खोप 'हाहाकार' हुँदा हिमाली जिल्ला मनाङ र मुस्ताङले कसरी खोप पाउन सके ? यी दुबै जिल्लाका स्वास्थ्य प्रमुखले प्रदेश र संघ सरकारलाई जिल्लाको अप्ठ्यारो बताएर नै पूर्ण खोप मागेका थिए।
अन्यत्र जस्तै मनाङ र मुस्ताङ दुबै जिल्लामा माघ दोस्रो सातादेखि खोप अभियान सुरू भएको थियो। भौगोलिक विकटताका कारण पटक-पटक खोप अभियान चलाउन नसकिने व्यहोरा जिल्ला स्वास्थ्य प्रमुखहरूले प्रदेश र संघ सरकार मातहतका निकायलाई जानकारी गराए।
जिल्लाका सबै नागरिकलाई खोप लगाउन आवश्यक डोज मगाए।
बाढी र पहिरोले मोटरबाटो अवरूद्ध हुँदा कोही बिरामी भए उपचारका लागि अस्पताल लैजान पनि हेलिकप्टरबाहेक अरु विकल्प थिएन। हेलिकप्टर उड्न पनि मौसम सफा चाहिन्थ्यो। त्यसमाथि जिल्लाका सबै नागरिक हेलिकप्टर चार्टर गरेर उपचार गर्न अस्पताल जान सक्ने अवस्था थिएन। आचार्यले ३ वटा उपाय प्रस्तुत गरेर खोप मागेको बताए। मनाङबासीले पूर्ण खोप पाउनुपर्ने पहिलो उपाय आचार्यले यसरी बताए।
‘पोखरा, काठमाडौंमा बिरामी भएको ५ मिनेटमै अस्पताल पुग्न सक्नुहुन्छ,’ मनाङका स्वास्थ्य प्रमुख आचार्यले भने, ‘मनाङमा कोही बिरामी पर्नुभयो भने मर्नुको विकल्प छैन भनेर हामीले खोप मगायौं।’
मनाङमा १ महिनाभन्दा बढी समयदेखि बिजुली र मोटरबाटो सुचारु छैन। यसकारण पनि मनाङबासीले पहिलो चरणमै सबै नागरिकलाई खोप चाहिने उनीहरूले माग गरे।
दोस्रो, मनाङमा धेरै जनसंख्या छैन। सहरका एउटा वडामा भन्दा पनि कम जनसंख्या छ। भौगोलिक विकटताले सधैं मानिस गाउँमा बस्दैनन्। जाडो सुरू भएपछि तल झर्छन्।
आचार्यले भने, ‘सहरमा खोप अभियान चलाउँदा खेर जाने जति खोपले पूरै जिल्ला पूर्ण खोपयुक्त हुन्छ भनेर हामीले दोस्रो लजिक पेश गर्यौं।’
तेस्रो, बाढी र पहिरोका कारण गाउँहरू आफैं थुनिएका थिए। झोलुङ्गे पुल बाढीले बगाएको थियो। चरणवद्ध खोप लगाउन गाउँ जाने र फर्कन सक्ने अवस्था थिएन। यसकारण पनि जिल्लाबासी सबैलाई खोप चाहियो भनेर मागेको आचार्यले बताए।
मनाङ र मुस्ताङका यी दुई जिल्लाका स्वास्थ्य प्रमुखले आग्रह गरे पनि संघीय सरकार र प्रदेश सरकारले माग गरेअनुसार खोप उपलब्ध गरायो। बाढीकै बीच उनीहरूले सबै नागरिकलाई खोप लगाइदिए। १८ वर्षमाथिका सबै नागरिकले खोप पाउने सम्भवतः पहिलो जिल्ला बने।