दोलखाका मिटरब्याजी गणेश उप्रेतीविरूद्ध २२ करोड ५१ लाख रूपैयाँ बराबरको बिगो तयार भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीविरूद्धको अनुसन्धान प्रतिवेदन चाँडै नै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाइने छ।
‘उप्रेतीविरूद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, हामी सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी गरिरहेका छौं,’ ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले सेतोपाटीसँग भने।
उनका अनुसार उप्रेतीले छोटो समयमै अस्वाभाविक सम्पत्ति आर्जन गरेको भेटिएको छ। ब्युरोको अनुसन्धानमा देखिएको हालको सम्पत्ति विवरण मूल्यांकन गर्दा उप्रेतीले करोडौं आर्जन गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरिएको सिंहले बताए।
बुधबार ब्युरोले विभागलाई उप्रेतीले आर्जन गरेको थप सम्पत्ति खोजी गरी विस्तृत अनुसन्धान गर्न पत्राचार गरेको सिंहले बताए।
‘उनको नियमित आयस्रोत र देखिन आएको सम्पत्ति हेर्दा अस्वाभाविक छ। उनले आफन्त, साथीभाइको नाममा अन्य सम्पत्ति राखेको आशंका छ, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबारसमेत अनुसन्धान गर्न हामीले पत्र पठाएका हौं,’ उनले भने।
उप्रेतीको आम्दानीको स्रोत मित्रपार्कमा रहेको रिकण्डिसन शोरूम देखिन्छ। उनको नामको द्रिशान्त रिकण्डिसन शोरूम २०७५ असोजमा दर्ता भएको देखिन्छ।
त्यसमा न्यून मात्रामा आम्दानी हुने गरेको छ। उनले मिटरब्याज धन्दाबाट धेरैलाई पीडित बनाएको सिंहले बताए।
तीमध्ये चार जनाले जाहेरी दिएपछि अनुसन्धान गर्दा २२ करोड ५१ लाख रुपैयाँ बराबरको बिगो तयार भएको उनले बताए।
उप्रेतीको अन्य औपचारिक आम्दानी देखिएको छैन। उनी र उनका दुई श्रीमतीको नाममा काठमाडौंमा घर जग्गा फेला परेका छन्। मालपोत कार्यालयबाट प्रहरीले केही घर-जग्गाको विवरण संकलन गरेको छ।
संकलन गरिएको तथ्यांकअनुसार उप्रेती, उनकी जेठी श्रीमतीका नाममा काठमाडौंमा घर छ। दोलखामा कान्छी श्रीमतीको नाममा घर छ।
भैंसेपाटीमा उप्रेतीकी जेठी श्रीमतीको नाममा पाँच आना जग्गामा बनेको दुई तले घर भेटिएको छ। घरजग्गाको मूल्य झन्डै पाँच करोड आँकलन गरिएको छ।
कान्छी श्रीमती नाममा दोलखामा पाँच आना तीन पैसा जग्गामा बनेको घर फेला परेको छ। त्यसको मूल्य झन्डै तीन करोड छ।
उप्रेती आफैंको नाममा भक्तपुर दुवाकोटमा दुई तले घर भेटिएको छ। त्यहाँ स-साना चार कित्ता जग्गा फेला परेका छन्।
यस्तै, उप्रेतीको नाममा दुवाकोटमै १० आना दुई पैसा जग्गा छ। यसको मूल्य अढाइ करोड बराबर हुन आउँछ।
काठमाडौं गोठाटार मूलपानी क्षेत्रमा त्यति नै मूल्य पर्ने ९ आना दुई पैसा जग्गा भेटिएको छ। प्रहरीले अनुसन्धानका क्रममा बैंक मौज्दात फेला नपरेको जनाएको छ।
उनले आफ्नो सम्पत्तिको स्रोत देखाउन सकेका छैनन्। त्यसैले यी सबै सम्पत्ति मिटरब्याज लगानीबाट आर्जन भएको ब्युरोको भनाइ छ।
‘चर्को ब्याजमा लगानी गर्ने र असुल गर्न आपराधिक समूह परिचालन गर्ने गरेको खुलेको छ,’ सिंहले भने।
कहिलेदेखि यस्तो कारोबार गरेको भनी उनले बयानमा बताएका छैनन्। प्रहरीका अनुसार उनी २०६४ सालमा काठमाडौं आएका थिए। सुरूमा उनी मोटरसाइकलको रिकण्डिसन शोरूम चलाउँथे।
मिटरब्याजी गणेश उप्रेतीविरूद्ध तीन जना निर्माण व्यवसायीले जाहेरी दिएका थिए। तीमध्ये डोल्पाका निर्माण व्यवसायी दीपेन्द्र शाही हुन्।
दुई करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा उप्रेतीले १४ करोड हिसाब पुर्याएर पीडित बनाएपछि उनले जाहेरी दिएका थिए।
उनको बानेश्वरमा सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन कम्पनी छ। पैसा नबुझाएको भन्दै गत चैत २५ गते उप्रेतीले गुण्डा लगाएर कार्यालयमा तोडफोड गरेको उनले बताएका छन्।
शाहीले चिनजानका आधारमा एक वर्षअघि उप्रेतीसँग दुई करोड ७० लाखमा ल्याण्डक्रुजर प्राडो गाडी किनेका थिए। गाडी ३० हजार किलोमिटर कुदेको सेकेण्डह्याण्ड थियो।
उनले दुई करोड रुपैयाँ तिरे। त्यसपछि उप्रेतीसँग उनले एक करोड ८० लाख रुपैयाँ सापटी लिएका थिए।
उनले जम्मा दुई करोड ३० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब थियो। त्योमध्ये १० लाख रुपैयाँ तिरे पनि।
शाहीका अनुसार उप्रेतीले पटक-पटक चेक लिँदै गए।
‘ब्याकडेटको चेक काट्न लगाएर लैजाने, केही हुँदैन यो फिर्ता भइहाल्छ भन्दै लगेको लगै गर्दा १४ करोड हिसाब पुग्यो,’ उनले भने, ‘त्यति पैसा तिर्नुपर्नै भन्दै कार्यालयमै आएर तोडफोड गर्ने, गुण्डा लगाएर मार्छु भन्न थालेपछि मैले काठमाडौं नै छोड्नुपर्यो।’
उनीसाथै दोलखाका प्रकाश कार्की र काठमाडौं कोटेश्वरका हेमराज गुभाजुले जाहेरी दिएका थिए।
मिटरब्याजको पैसामा कार्कीसँग ४ करोड १६ लाख र गुभाजुसँग ४ करोड १४ लाखको चेक लिएर उप्रेतीले सताउँदै आएका थिए।
को हुन् उप्रेती?
दोलखा जिल्ला साबिक पवती गाविस हाल मेलुङ गाउँपालिका-१ घर भएका ३३ वर्षीय उप्रेती ललितपुर भैंसेपाटीमा जेठी श्रीमतीसँग बस्दै आएका थिए।
काठमाडौं-७ चाबहिल मित्रपार्कमा उनी द्रिशान्त अटोमोबाइल प्रा.लि. चलाउँथे।
उप्रेतीलाई प्रहरीले १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसहित साउन १ गते ब्युरोले पक्राउ गरेको थियो।
चिन्नेहरूका अनुसार उप्रेती मेलुङ-१ पवतीबाट एसएलसी पास गरेपछि २०६२ सालमा चरिकोट आएका थिए। उनले त्यहाँको भीम उच्च माविबाट प्लस टु पास गरे।
उनी सामान्य परिवारका मानिस थिए। चरिकोटमा डेरा लिएर बस्थे। प्लस टु पास गरेपछि उनी काठमाडौं हिँडे। ज्ञानेश्वरमा उनले कोठा लिएका थिए।
पुरानो बानेश्वरमा आफन्तमार्फत् लगानी जुटाएर मोटरसाइकलको रिकन्डिसन शोरूम खोलेका थिए।
रिकन्डिसन मोटरसाइकलको कारोबार गर्दै गरेका उनी २०७५ सालतिर एकैपटक गाडीको रिकन्डिसन शो रूम खोल्ने भइसकेका थिए।
जतिबेला उनको, आपराधिक गतिविधिमा संलग्न रहेका विराटनगरका पर्शुराम बस्नेतसँग उठबस चल्न थालिसकेको थियो। र, त्यतिबेला उप्रेतीले पर्शुरामलाई दुई वटा गाडी दिलाएका थिए। उनीहरूको चिनजान भने जिल्लाबासीबाट सुरू भएको हो। राजनीतिक रूपमा पर्शुराम एमालेमा युवा संघमा आवद्ध हुन् भने उप्रेती पनि युवा संघ निकट नै हुन्।
वयानमा उनले पर्शुरामसँगको कारोबारबारे खुलाएका छैनन्। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दा उनीहरूको कारोबार देखिन सक्ने ब्युरो निर्देशक सिंह बताउँछन्। पर्शुराम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको अकुत आर्जन मुद्दा खेपिरहेका छन्।
उप्रेतीको शोरूमबाट दोलखाका धेरै व्यापारीले चर्को मिटरब्याजमा गाडी किनेको र मिटरब्याज पैसाको ब्याज थेग्न नसक्ने गरी रहेको त्यहाँका स्थानीय बताउँछन्।
उप्रेतीसँग मिटरब्याज कारोबार गरेका चरिकोटकै रिजाल थरका एक सुन व्यापारी अहिले बेपत्ता छन्। पैसा तिर्न नसकेपछि उनले उप्रेतीलाई घरै पास गरेर उनले तीन वर्षदेखि चरिकोट छोडेको स्थानीय बताउँछन्।
सिन्धुपाल्चोको मुडेदेखि दोलखा सडकका ठेकेदार सञ्चालक दीपक सापकोटा उप्रेतीकै कारण फरार छन्।
उप्रेतीले ठेकेदारलाई पैसा लगाउने गरेको, गुण्डा लगाएर पेस्तोल तेर्स्याएर चेक काट्न लगाउने गरेको बताउनेहरू पनि छन्। उप्रेतीले रकम नदिएमा डर त्रास देखाउने गरेको, मानिसहरूलाई बाहिर हिँडडुलमा बन्देज लगाउने गरेको, आपराधिक गिरोध प्रयोग गरी ज्यान मार्ने धम्की दिने गरेको ब्युरोले बताएको छ।
सम्बन्धित समाचार :
मिटरब्याजी उप्रेतीका कारण ‘भूमिगत’ भए मुडे-चरिकोट सडकका ठेकेदार, अर्कैलाई दिइयो ठेक्का
मिटरब्याजी उप्रेतीका कारण काठमाडौं छोडेका ठेकेदार जाहेरी लिएर पुगे प्रहरीमा