बागलुङ बजारको अदालत चौपारी, कम्पुटोल र नारायण चोकका एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा परेका छन्।
बागलुङ नगरपालिका-३ कैलाम पोखरीको वन हुँदै अदालत चौपारीसम्म पुग्ने सडकखण्ड पहिराले बगाएकाले २० दिनदेखि बन्द छ।
तलबाट पहिरो खस्दै गएकाले सडकका साथै बजार छेउकै दर्जनभन्दा बढी घर जोखिममा परेको त्यहाँका बासिन्दा बताउँछन्।
निरन्तरको वर्षा र बस्तीमुनिको बागलुङ नगर खानेपानी लिफ्ट आयोजना निर्माणकै अवस्थामा रहेकाले निरन्तर सडक भासिने र पहिरो जाने गरेको स्थानीयबासी पुष्पा केसीले बताइन्।
बागलुङ नगर खानेपानी उपभोक्ता संस्था र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त लगानीमा तीन वर्षदेखि निर्माण भइरहेको सो आयोजना अपुरै रहँदा कम्पुटोल, देउराली चोक तथा नारायण चोकका घर गत वर्षदेखि पहिरोको जोखिममा पर्दै आएका हुन्।
कम्पुटोलका नौ घर गतवर्ष नै बर्खाको समयमा विस्थापित भइसकेका थिए भने देउराली चोकका पाँच घरका बासिन्दा पनि घर छोडेर अन्यत्रै बस्न गएका छन्।
अहिले पुनः अदालत चौपारीदेखि कम्पुटोल जाने पछाडितिरको सडक नै भासिएकाले पुनः एक दर्जन घर जुनसुकै बेला भत्कने अवस्थामा पुगेको छ।
कमजोर भू-बनोट भएका स्थानमा सचेतता र सुरक्षाबिना खानेपानी आयोजना निर्माण गरिएका कारण यस्तो भएको जनाइएको छ।
रु ४५ करोडको लागतमा बगालुङ बजारमा २४ सै घण्टा पानी वितरण गर्न काठेखोलाको पानी कैलाम पोखरीमा प्रशोधन गरी वितरण गरिने योजना छ।
आयोजनाकै कारण बस्ती जोखिममा परेको कैलाम पोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयराम भारीले गुनासो गरे।
‘नगरबासीलाई खानेपानी उपलब्ध गराउनाकै लागि भनेर वन मासेर आयोजना निर्माण गर्न दियौं’, उनले भने, ‘आयोजनाका कारण सडकमा पहिरो जाने र भासिने भएकाले एकातिर आयोजना नै के हुने हो भन्ने अन्योल छ भने अर्कोतिर दर्जनभन्दा बढी घर जोखिममा छन्’।
मनसुन सक्रिय भएयता निरन्तरको झरीले कम्पुटोल हुँदै गौंडाकोट जाने सडक बगाएर पैदल यात्रासमेत गर्न नसकिने भएकाले स्थानीयबासी देउराली चोकको सडक प्रयोग गर्न बाध्य भएका छन्।
यसबारे वडा कार्यालय र नगरपालिकालाई ध्यानार्कषण गराउँदा पनि हालसम्म सुनुवाइ नभएको उनीहरूको गुनासो थियो।
आयोजना र विभागसँग पहिराको विषयलाई लिएर निरन्तर छलफल भइरहेको नगरपालिकाको वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिइन्।
‘ठूलो पहिरो छ, ग्याबिन चिनेर र पर्खाल लगाएर सडक बनाउँदासमेत लाखौं खर्च लाग्ने अवस्था छ, थोरै खर्चेको भए वडा कार्यालयले बनाउथ्यौं’, उनले भने, ‘नगरपालिकासँग छलफल गरेर आयोजना संरक्षण र पहिरो व्यवस्थापन गर्न भनेका छौं तर नागरिकको अपेक्षानुसार सडक सञ्चालनमा ल्याउन र बस्ती सुरक्षित गर्न मुस्किल छ।’
नगर प्रमुख जनकराज पौडेलका अनुसार अहिले पहिराको अनुगमन गरिएको र ठेक्का लिएको कम्पनीले पहिरो मर्मत नगरेपनि आयोजना संरक्षणका लागि छुट्टै बजेट ल्याएर काम गर्नुपर्ने देखिएको छ।रासस