महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने कुराले खुसी लाग्नु पर्ने हो।
तर संग्रहालय बनाउने नाममा बिहीबार मैतिदेवीस्थित देवकोटाको पुरानो घर 'कविकुञ्ज' भत्काइएको फोटाले धेरैको मन चसक्क भयो।
देवकोटा बितेपछि उनको याद ताजा बनाउने त्यो घर पनि एक थियो। उनले हिँडेका पदचापहरू, छोएका भित्ताहरू, बसेको ठाउँलाई अनुभूत गराउने त्यो घर आफैंमा संग्रहालय थियो। संग्रहालय बनाउने नाममा नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालयजतिकै बहुमूल्य घर भत्काइदिएको भन्दै देवकोटाबित्दा जत्तिकै पीडा भएको धेरैले महशुस गरेका छन्।
सामाजिक सञ्जालहरूमा धेरैले यसको विरोध पनि गरे। उनकै छोरा पद्म देवकोटाले आफ्नो घर भत्किँदाको दुःख फेसबुकमा व्यक्त गरे।
उनले लेखे, 'आफू जन्मे–हुर्केको घर भत्केको देख्दा मनमा अनेकौं तरंग उत्पन्न हुने रहेछ। दुख्दो पनि रहेछ। कोठाकोठाका यादहरू बौरिएर आएका छन् यसपालि।'
यो घटनाले भक्तपुरका रवीन्द्र पुरीलाई झन् 'छाँगाबाट खसेजस्तै' भएको छ। उनी संस्कृति संरक्षणकर्मी हुन्, पुराना भवनहरू संरक्षण गर्छन्।
पुरी दुःखी हुनुको कारण त्यो भवन भत्किनु मात्र थिएन। उनी करिब डेढ वर्षअघि त्यो भवन निरीक्षण गर्न गएका थिए। करिब ८० वर्ष पुरानो देवकोटाको त्यो घर अलिकति यताउता पनि नभएको उनलाई सम्झना छ। बांगोटिंगोसमेत थिएन। डकर्मीको भाषामा भन्दा घण्टीसमेत मिल्ने (९० डिग्री) अवस्थामा थियो।
पुरीले देवकोटाको घर देखेपछि आफैंले २२ वर्षअघि जिर्णोद्धार गरेको 'नमूना घर' सम्झिए। त्यो घर उनले जीर्ण अवस्थामा फेला पारेका थिए। मानिस बस्न छाडेर कुखुराको खोर बनाइएको थियो। सात लाख रूपैयाँमा किने र त्यसलाई जिर्णोद्धार गरेर आकर्षक बनाए। अनि नाम दिए नमूना घर।
सन् २००४ मा युनेस्को अवार्डसमेत पाएको उक्त घर ०७२ सालको भुइँचालोमा अलिकति पनि चर्किएन। त्यही घरलाई आजकल धेरैले उदाहरणका रूपमा लिन्छन्।
देवकोटाको घर जीर्ण अवस्थामा भेटिएको नमूना घरभन्दा बलियो लागेको थियो पुरीलाई।
निरीक्षण गरेर फर्किएपछि प्रतिष्ठानसँगकै बैठकमा उनले भनेको थिए, 'यो घर त मेरो नमूना घरभन्दा दुई–तीन गुणा राम्रो अवस्थामा रहेछ। यसलाई भत्काउनुपर्दैन। जिर्णोद्धार गरे पुग्छ।'
त्यतिबेला सरकारी निकायले महाकविको घर संरक्षण गर्न लागेको भनेर राम्रो चर्चा पाएको थियो। प्रतिष्ठानले त्यसलाई 'जस्ताको त्यस्तै राख्ने' भनेको पत्रिकामा पढ्दा उनी खुसी भएका थिए।
तर अहिले एकाएक घर भत्काएको खबरले भने उनलाई नराम्ररी झट्का दिएको छ। अन्तिम तलासम्म भत्काइएको घर अभियानै चलाएर जगेर्ना गर्न ढिला भइसकेको छ। हामीसँग उक्त भवनबारे टेलिफोनमा कुराकानी गर्दा पनि उनको आवाजमा आक्रोश सुनिन्थ्यो।
'त्यो त सरासर अपराध हो,' उनले आक्रोशित हुँदै भने, 'देशका प्राज्ञहरू भएको प्रतिष्ठान नै गैरजिम्मेवार भएपछि हामीले अब सम्पदा संरक्षणको आशा कोबाट राख्ने? त्यसरी भत्काउनु नै थियो भने हामीजस्ता विज्ञसँग सल्लाह किन लिएको?'
पुरीभन्दा अगाडि हामीले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङसँग कुराकानी गरेका थियौं। उनले देवकोटा घर बाहिरबाट राम्रो देखिए पनि भित्र काँचो इँटाले बनेको, काठ कमसल भएको र जिर्णोद्धार गर्नै नसक्ने 'धराप' अवस्थामा रहेको बताए।
'काठमाडौं महानगरपालिकाका इञ्जिनियर र प्रतिष्ठानले मर्मत गर्न सकिन्छ कि भनेर छलफल–निरीक्षण गरेको थियो,' गुरुङले भने, 'त्यस्तो कुनै सम्भावना नभएपछि नै हामीले भत्काएका हौं।'
यो कुरा रवीन्द्र पुरीलाई बताएपछि उनी झनै रिसाए।
'यो त एउटा बिरामीको कुनै भागमा समस्या देखियो भने उसलाई मार्नु बराबर हो,' उनले भने, 'एउटा दलीन मक्कियो भन्दैमा घर नै कमसल भन्ने? भवनको स्थिति हेरेर आएको विज्ञलाई प्राज्ञहरूले उल्लू बनाउन खोज्ने?'
१२ आना क्षेत्रफलमा फैलिएको देवकोटा घर भत्काएपछि प्रतिष्ठानले करोडौं लागतमा उस्तै देखिने घर बनाउन लागेको छ। पुरी यसलाई पैसाको राजनीतिका रूपमा हेर्छन्।
'त्यसलाई जिर्णोद्धार गरेको भए एक करोडमा हुन्थ्यो। करोडौं पैसा खान पाउने भएपछि भत्काएका हुन्,' उनले आक्रोशित हुँदै भने।
प्रतिष्ठान उपकुलपति गुरुङका अनुसार मैतिदेवीको उक्त घर देवकोटाले वि.सं. १९९० सालमा किनेका हुन्। उनी जन्मेको घर भने पुतलीसडकस्थित हालको कुमारी हलनजिकै छ। पशुपतिको महास्नान गुठीको नाममा रहेको जग्गामा मोहीको हक पाएपछि देवकोटाले यहाँ घर बनाएका हुन्। यही घरमा उनले आफ्ना लेखनका सिर्जनशील वर्षहरू बिताएका थिए।
१५ वर्षअघिसम्म त्यहाँ देवकोटाको परिवार बस्दै आएका थिए। अहिले यसलाई प्रतिष्ठानले दुई करोड ५० लाखमा किनेर मोहियानी हक आफूमा ल्याएको छ। नयाँ बन्ने संग्रहालयबाहिर देवकोटाको सालिक राख्ने, भित्र पुस्तकालय, सेमिनार हल साथै उनले लेख्ने/पढ्ने, सुत्ने ठाउँ बनाउने प्रतिष्ठानको योजना छ।
यो घरमा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका सामग्री, प्रकाशित/अप्रकाशित किताबका पाण्डुलिपि लगायत बनाइनेछ।
'यो घर देवकोटा जन्मिएको घर होइन। सम्पदा भन्न सय वर्ष पनि पुगेको थिएन। जीर्ण पनि भएकाले भत्काइएको हो। त्यसबारे हामी विज्ञप्ति पनि निकाल्दैछौं,' गुरुङले भने।
तर प्राचीन स्मारक संरक्षक ऐन २०१३ को दफा १६ (क) ले कलाकृति तथा स्मारक सम्बन्धी विशेष व्यवस्था गरेको अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारी बताउँछन्।
'कुनै समयको महत्व दर्शाउने स्मारकहरू पुरातत्व विभागले संरक्षण गर्न गराउन सक्नेछ भनेर ऐनमा भनिएको छ,' अधिकारीले भने, 'देवकोटाजस्तो व्यक्तिको घर त आफैंमा ऐतिहासिक हो। त्यसलाई त सय वर्ष पुरानो नभए पनि संरक्षण गर्नुपर्छ। संसारभर नै त्यस्ता ऐतिहासिक घर संरक्षण गर्ने कानुनी प्रावधान छ।'
सम्पदा पुनर्जागरण अभियान नामक संस्थाबाट उनले पुरातत्व विभागलाई यसबारे ध्यानाकर्षण गराउँदै पत्र पनि लेखेका छन्। भत्काउँदा निकालिएको इँटा, माटो लगायत वस्तु पुनः निर्माणमा प्रयोग गर्न र मौलिकता मास्न नदिन उनीहरूले माग राखेका छन्।
'अब जति मास्नु उनीहरूले मासिसके। नयाँ बन्ने भवनमा पुरानै सामग्री प्रयोग गर्न सके मात्र पनि त्यसको केही अस्तित्व जोगिन्थ्यो कि भन्ने आशा छ,' उनले भने।