आज शुक्रबार, २०७८ साउन २२ गते। दिउँसो साढे ११ बजेतिरको कुरा हो। म घरबाट लुइँलुइँ हिँडेर अफिस आउँदै थिएँ। कालिमाटी, टंकेश्वरको चौबाटो चोकमा एउटा अजीब घटना भयो।
मैले उसलाई टाढैबाट देखेको थिएँ तर को हो ठम्याउन सकिनँ। ऊ मान्छेजस्तै देखिन्थ्यो तर ठ्याक्कै मान्छेजस्तो थिएन।
मान्छे होइन भनुँ भने ऊ मान्छेजस्तै ठिंग उभिएको थियो। ट्राफिकले झैं दुई हातले दायाँबायाँ इसारा गर्दै थियो।
मान्छे हो भनुँ भने उसले मान्छेजस्तो सास फेरिरहेको थिएन। हलचल केही थिएन। मरेजस्तै निस्प्राण थियो।
मरेको मान्छे पनि ऊ होइन। किनभने ऊ जसरी ठिंग उभिएको थियो, मरेको मान्छे त्यसरी उभिँदै उभिँदैन।
म आश्चर्यचकित थिएँ। आखिर ऊ को हो?
म जति नजिक गएँ, उसको आकृति उति प्रस्ट हुँदै आयो।
ऊ मान्छेजस्तो हाडछालाले बनेको थिएन। नर्कटको घारीले बनेको थियो। घारी पनि के भनुँ र, नर्कटको मुठोले बनेको थियो।
नर्कटका तीनवटा मुठा तीनतिर बाँधेर उसका तीनवटा खुट्टा उभ्याइएका थिए। त्यही खुट्टामाथि नर्कटको झ्याङ थुपारेर जीउ बनाइएको थियो र जीउमाथि नर्कटकै गोलो टाउको झुन्ड्याइएको थियो।
मैले अझै घोरिएर हेरेँ।
जहाँ जीउ र टाउको छुट्टिन्छ, त्यहीँनिर नर्कटका दुइटा मुठा दायाँबायाँ बाँधेर हात बनाइएको थियो।
जहाँ जीउ र खुट्टा छुट्टिन्छ, त्यहीँनिर एउटा बलियो काठ बाँधिएको थियो।
त्यो काठ भुइँतिर लत्रेको थिएन। सिधा अगाडि तिनिक्क तन्केको थियो। त्यसको ठ्याक्कै मुनि दुइटा सुन्तलाका डल्ला झुन्ड्याइएका थिए।
यति मात्र कहाँ हो र, तिनिक्क तन्केको काठको टुप्पोमा सेतो रूई टाँसिएको थियो। केही रूई दायाँबायाँ छरिएका पनि थिए।
त्यो बलिष्ठ काठ र त्यसमुनि झुन्डिएको सुन्तलाका दुइटा डल्ला र काठको टुप्पोमा छरिएका सेता रूई के हुन् भन्ने तपाईंहरूले बुझ्नुभयो नि!
मलाई कामवासनाले ओतप्रोत उसको उत्तेजित रूप देखेर एक मनले त खितखित हाँसो पनि उठ्यो। तर हाँसोभन्दा बढ्ता मलाई डर लाग्दै थियो। किनभने यति नजिक आएर उसलाई तलदेखि माथिसम्म नियालिसकेपछि मैले ऊ को हो भन्ने चिनिसकेको थिएँ।
तै पनि हो कि होइन यकिन गर्न मैले खल्तीबाट मोबाइल झिकेर 'हाम्रो पात्रो' एप खोलेँ। मेरो शंका दूर भयो।
आज गथांमुगः चह्रे (बोलीचालीको भाषामा गठेमंगल) रहेछ। म जसको अगाडि उभिएको थिएँ, ऊ अरू कोही होइन, नर्कटले बनेको तीनखुट्टे गथांमुगः ख्याक थियो।
ख्याक, यानिकी भूत!
तपाईंहरू भूतप्रेतमा विश्वास गर्नुहुन्छ? भूतप्रेतसँग तपाईंहरूको जम्काभेट भएको छ? के तपाईंहरूले भूतसँग बात् मार्नुभएको छ?
मैले चाहिँ यसपालि भूत देखेँ पनि र ऊसँग बात् पनि मारेँ। यो स्टोरी मैले भूतसँगको कुराकानीकै आधारमा लेखेको हुँ।
काठमाडौं यस्तो सहर हो जहाँ देवी–देउता मात्र पुजिँदैन। यहाँ भूतप्रेतको पनि उत्सव मनाइन्छ। गथांमुगः चह्रे त्यस्तै उत्सव हो।
यो दिन सहरको दोबाटो वा चौबाटो चोकमा गथांमुगः ख्याकको प्रतिरूप ठड्याइन्छ र बेलुकी त्यही प्रतिरूपलाई भुइँमा लछारपछार पार्दै, घिसार्दै विष्णुमती लगेर विसर्जन गरिन्छ। भक्तपुर लगायत अन्य केही ठाउँमा भने आगोले पोल्ने चलन पनि छ।
यो उत्सव कहिलेबाट मनाउन थालियो भन्ने यकिन इतिहास कसैलाई थाहा छैन। त्यसै पनि संस्कृतिको इतिहास कुनै लिखित दस्तावेज वा शिलालेखमा भन्दा रैथाने बूढापाकाहरूले सुनाउने कथा–किम्बदन्तीमा बढ्ता भेटिन्छ। म त अझ कति भाग्यमानी भने, बूढापाकाहरूलाई भेटेर कथा–किम्बदन्ती सुन्ने दरकार पनि परेन। खुद गथांमुगः ख्याक मेरोसामु उपस्थित भएर आफ्नो उत्पत्ति कथादेखि यो उत्सव कसरी मनाइन्छ भन्नेसम्म बेलीबिस्तार लगाउँदै थिए।
भाग्यमानीको भूतै कमारो!
भूतसँग यसरी कुराकानी गर्न कति साहस जुटाउनुपर्यो भन्ने मैलाई थाहा छ। मुटु ढुकढुक हल्लिँदै थियो। ज्यानबाट चिटचिट पसिना छुट्दै थियो। खुट्टा लुगलुग काम्दै थिए। तै पनि मैले हिम्मत हारिनँ।
ऊ जसरी मेरो अगाडि ठिंग उभिएको थियो, म उसैगरी उसको सामु ठिंग उभिएँ। यस्तो अदम्य साहस कहाँबाट पलायो मैलाई थाहा छैन। सायद यो मैले लगाएको औंठीको कमाल हो।
आज घरबाट निस्किने बेला मैले दाहिने हातको साहिँली औंलामा फलामको औंठी लगाएको थिएँ। यो पोहोरकै औंठी हो, त्यसैले थोरै खिया लागेको थियो। तर गथांमुगःलाई खिया–सियाको छु मतलब! औंठी लगाउने मान्छेलाई उसले कसैगरी पनि छोप्न सक्दैन भन्ने मैले सुनेको थिएँ।
त्यसैले आज उसको अगाडि शिर ठाडो पारेर, उसको आँखामा आँखा जुधाउँदै म ढुक्क उभिएको थिएँ र सोधेको थिएँ, 'ए गथांमुगः ख्याक तिम्रो उत्पत्तिको रहस्य के हो? कसरी आयौ तिमी यो धर्तीमा?'
मैले जसै प्रश्न सोधेँ, टंकेश्वरको चौबाटो चोकमा गाडीको घम्साघम्सी सुरू भयो। उसको आवाज मेरो कानसम्म पुग्नुभन्दा अगाडि नै हावामा बिलाएर गयो।
गथांमुगः ख्याक सानो स्वरमा बोल्दो रहेछ। चराको जस्तै सुमधुर थियो उसको आवाज। नर्कटको मुठोले बनेको उसको हात पनि निकै नरम। त्यही नरम हातले मलाई च्याप्प समातेर उसले विष्णुमती किनारतिर लिएर गयो। त्यहाँ भर्खर भर्खरै बनेको हरियाली पार्कमा एकअर्काको आमनेसामने टुक्रुक्क बसेपछि उसले भन्यो, 'माथि सडकमा धेरै हाहु छ। यहाँ आरामले गफिन पाइन्छ। भन त तिमी मलाई के सोध्दै थियौ?'
मैले आफ्नो प्रश्न दोहोर्याएँ, 'तिम्रो उत्पत्तिको रहस्य के हो हँ? कसरी आयौ यो धर्तीमा?'
गथांमुगःले लामो सास तान्यो। उसको लामो सास तनाइबाटै मैले बुझेँ कथा लामो छ।
'मेरो उत्पत्ति कसरी भयो भन्ने त मैलाई थाहा छैन। तिमीहरूको मानव जगतमा जस्तो हाम्रो भुताहा संसारमा इतिहास लेख्ने चलन छैन। हामी शिलालेख पनि राख्दैनौं। हामीसँग जे छ, बूढापाकाले सुनाएको कथा मात्र छ। कथा कतिले पत्याउँछन्, कतिले पत्याउँदैनन्। त्यसैले भनूँ कि नभनूँ दोधारमा छु,' गथांमुगः यति भनेर चुप्प लाग्यो।
उसलाई मौन देखेपछि मैले भनेँ, 'होइन होइन गथांम्वा, म पत्याउँछु नि, तिमी भन न।'
मैले एकाएक 'गथांम्वा' भनेपछि उसले झस्केर मतिर हेर्यो। यो उसको माया गरेर बोलाउने नाउँ हो। भूताहा जगतमा उसलाई आमाबा र साथीभाइहरू यही नाउँले बोलाउँछन्। अचेल मान्छेले पनि यही भन्न थालेका छन्। मेरो मुखबाट पनि त्यही सुनेपछि उसका आँखा भावविभोर देखिए।
'तिमीले मलाई यति मायाले 'गथांम्वा' भन्यौ, म तिमीलाई आफूले सुनेको, जानेको सबै कुरा भन्छु,' यति भनेर गथांम्वाले कोइलीजस्तै कर्णप्रिय स्वरमा आफ्नो उत्पत्ति कथा सुनायो।
गथांमुग:को उत्पत्ति किराँतकालमै भएको रहेछ। उत्सव मनाउने विधि हेर्दा पनि किराँतकालबाटै सुरू भएको आभाष हुन्छ।
यो यस्तो उत्सव हो जसमा देवी–देउताको पूजा हुँदैन। यो उत्सव प्रकृति र खासगरी खेतीपातीसँग सम्बन्धित छ। जुन संस्कृति खेतीपातीसँग जोडिन्छ, त्यसको इतिहास निकै पुरानो हुन्छ भन्ने मान्यता भुताहा संसारमा मात्र होइन, तपाईं–हाम्रो मानव जगतमा पनि प्रचलित छ। हाम्रा मानवशास्त्री र समाजशास्त्रीहरू पनि यसै भन्छन्।
'त्यो समय काठमाडौं खाल्डोका मानिसहरू खेतीपाती गरेर जीविका चलाउँथे,' गथांम्वाले भन्यो, 'धान रोप्ने बेला सबै निकै व्यस्त हुन्थे। एकबाली फलाएर वर्षभरि भात खानुपर्ने हुँदा हावाहुरी, असिनापानी जे भए पनि उनीहरू खेतीपातीमै दत्तचित्त भएर लाग्थे। कसैबाट चुक भयो भने सिंगो राज्यले अनिकाल सहनुपर्थ्यो। त्यसैले रोपाइँ नसकिएसम्म परिवारमा जस्तोसुकै विपद परे पनि खेतीपाती छाडेर हिँड्ने छुट कसैलाई थिएन। रोपाइँको बीचमा परिवारका कुनै सदस्यको मृत्यु नै भए पनि त्यसको सदगद र काजकिरिया थाती राखिन्थ्यो।'
'हो र?' मैले सोधेँ, 'त्यस्तो बेला के गर्ने त?'
उसले भन्यो, 'त्यस्तो बेला मरेको मान्छेको लाशलाई सुकुलमा बेरेर घरकै कुनै एकान्त भागमा लुकाएर राख्ने। अनि रोपाइँ सकिएपछि अन्त्येष्टि गरेर काजकिरिया बस्ने। यसरी मरिमेटेर काम गर्ने भएकैले अहिले पनि यहाँका रैथानेहरू रोपाइँलाई 'सिन्हां ज्याः' भन्छन्। नेपाल भाषामा 'सिन्हां ज्याः' भनेको मरिमेटेर गर्ने काम हो।'
'यो त मान्छेको कुरा पो भयो, यसमा तिम्रो उत्पत्ति कथा कसरी जोडियो?' मैले बीचैमा प्वाक्क सोधेँ।
मेरो यस्तो प्रश्नमा नरम स्वरले बोल्ने गथांम्वा पनि झर्कियो र उँचो स्वरमा भन्यो, 'भन्दैछु त, बीचैमा डिस्टर्ब नगर न।'
म रातो मुख लाएर चुप्प भएँ।
'मरिमेटेर गर्नुपर्ने खेतीपातीको कामलाई टुंगोमा पुर्याउनु सबैको वशको कुरा थिएन। निकै मिहिनेत पो गर्नुपर्थ्यो त हौ! खेत खन्यो, पानी लगायो, रोप्यो, दिनरात रखवारी गर्यो, लरतरो काम कहाँ हो र!' उसले भन्यो, 'त्यही भएर मान्छेहरू यो कामलाई पूर्णता दिन शक्ति प्राप्त होस् भनेर भूत जगाउँथे।'
'ए अब पो आयो भूतको कुरा!' मैले भनेँ।
'त्यसैले बीचमा प्वाक्क नबोल्नू भनेको,' उसले आफ्नो बेलीबिस्तार जारी राख्यो, 'मान्छेले रोपाइँ गर्दागर्दै आफ्नो शक्ति कमजोर नहोस् भनेर भूत जगाउँथे। त्यो भूत शरीरमा प्रवेश गरेपछि मान्छेको शक्ति सय गुना बढ्थ्यो। एक जनाको शक्ति सय गुना बढेपछि काठमाडौंभरिका मान्छेले कति काम गर्थे होलान्! एकछिन कल्पना गर त!'
'काठमाडौंका मान्छेले यसरी खेतीपातीमा सहयोग पुगोस् भनेर आह्वान गरेको भूत नै हाम्रो पुर्खा हो। गथांमुगः ख्याकको पुर्खा। बुझ्यौ?'
'बल्ल बुझेँ,' मैले भनेँ, 'त्यो भूत आह्वान गर्ने दिन चाहिँ कहिले पर्छ त?'
'यो चाहिँ तिमीले ठिक प्रश्न सोध्यौ,' उसले भन्यो, 'भूत आह्वान गर्ने भनेको रोपाइँ सुरू हुनुभन्दा अगाडि अक्षय तृतीयाको एक दिनअघि हो। तिमीलाई सिथिनखः भन्ने थाहा छ नि?'
'त्यही इनार, हिति र कुवाहरू सफा गर्ने दिन होइन?'
'हो, सिथिनखःपछि आउने पहिलो पूर्णिमाकै दिन गथांमुगः भूत आह्वान गरिन्छ,' उसले भन्यो, 'तिमी यो सिलसिलालाई क्रमैसँग राम्ररी बुझ है। यी सबै खेतीपातीसँग जोडिएका उत्सव हुन्।'
'कसरी?'
'मनसुन सुरू भएपछि रोपाइँको चटारो हुन्छ। रोपाइँको चटारोमा घरव्यवहारका अरू काम गर्न भ्याइन्न। त्यसैले यो बेला इनार, हिति र कुवा फोहोर भएर रोगव्याधि नफैलियोस् भनेर अगाडि नै खानेपानीका स्रोतहरू सफा गरिन्छ। त्यसपछि गथांमुगः आह्वान गरेर शरीरमा भूत जगाइसकेपछि मान्छेहरू सय गुना बढी बलले खेतीपातीमा होमिन्छन्। जब खेतीपाती सकिन्छ, त्यही भूतलाई सहरबाट विदा गर्छन्।'
उसले अगाडि भन्यो, 'सुरूमा यसरी भूतलाई विदा गर्ने चलन थिएन रे। हाम्रो पहिलो पुर्खा त लामै समय यही सहरमा बसेका थिए रे। तर तिमीलाई थाहै छ, हामी भूतहरू काम पनि धेरै गर्छौं, खान पनि धेरै खान्छौं। सय गुना बढी काम गर्नेले सय गुना बढी त खाने भइहाले! हामीले नै सय गुना बढी खाइदिएपछि मान्छेहरूले के खानू! उनीहरूलाई त मरीमरी काम गर्दा पनि खानै नपुग्ला कि भन्ने डर भयो। त्यही भएर चलाख मान्छेहरूले जुक्ति फुराए। उनीहरूले तान्त्रिक विधिबाट भूत पन्छाउने निर्णय लिए र यसका लागि साउन कृष्ण चतुर्दशीको तिथि जुराए। त्यो आजकै दिन हो।'
'अघि सडकमा नर्कटको जुन आकृति तिमीले देख्यौ, त्यो भूत पन्छाउन भनेर बनाइएको हो,' गथांम्वाले यसो भनेपछि पो मैले थाहा पाएँ, अहिले मेरो अगाडि बोलिरहेको आकृति भूतको आत्मा मात्र हो, वास्तविक स्वरूप त माथि सडकमा छँदैछ।
भूतको आत्मा भन्दै थियो, 'मान्छेहरूले सहरका विभिन्न ठाउँबाट नर्कट ओसारेर ल्याउँछन् र त्यसलाई मुठो-मुठो पारेर मेरो आकृति बनाउँछन्। म त्यसैभित्र बस्ने आत्मा हुँ। कहीँ कहीँ पराल मुठाे पारेर पनि मेरो आकृति बनाउने चलन छ।'
यस्तो आकृति पुलिंगी वा स्त्रीलिंगी वा उभयलिंगी जुनसुकै हुनसक्छ। मैले टंकेश्वरमा देखेको गथांम्वा पुलिंगी थियो जसमा काठको लिंग, सुन्तलाको अण्डकोष र सेतो रूईबाट वीर्य बनाइएको थियो।
कतै कतै लिंगको सट्टा नर्कटको मुठोमा सानो खोबिल्टो पारेर योनीको रूप दिइएको हुन्छ। त्यो केटी गथांम्वा हो। कुनै कुनै गथांम्वामा भने अगाडि काठको लिंग हुन्छ, पछाडि योनी। त्यो उभयलिंगी हो।
'भूतहरू पनि टाइप टाइपको हुन्छ नि,' गथांम्वाले हाँस्दै भन्यो।
म पनि ऊसँगै हाँसे।
तपाईंहरूले यसरी भूतसँगै बसेर हाँस्ने मौका पाउनुभएको छ?
'भूत पन्छाउने' उत्सव सामाजिक वा व्यक्तिगत सरसफाइसँग पनि जोडिँदो रहेछ। यो कुरा मलाई गथांम्वा ख्याकले नै सुनायो।
'रोपाइँमा हिलो र माटोसँग लडिबुडी गर्दा मान्छेहरू फोहोरी भएका हुन्छन्। त्यसमाथि घरव्यवहारमा उतिसाह्रो ध्यान पुगेको हुँदैन। सरसफाइ गर्न भ्याइँदैन। बिहान एकसरो कुचो त लगाउँछन् तर कोठा कुनाकाप्चाका फोहोर यसै रहन्छन्। ती सबै फोहोर र घरका ओसिला भुइँ र भित्तामा कति धेरै ढुसी पर्छन् होला! ब्याक्टेरियाको संक्रमण पनि हुन्छ होला! यी सबैबाट त्राण पाउन आजको दिन बिहानैदेखि मान्छेहरू घर लिपपोत गर्छन्। नुहाइधुवाइ गर्छन्। माटोले कट्कटिएको नङ काट्छन्। माटो टाँसिएर लट्टा परेका वा जुम्रा परेका कपाल काट्छन्। घरका भित्ताहरूमा चुना लगाएर सरसफाइ गर्छन्।'
'यति मात्र होइन, छ्वालीको आगो बालेर त्यसको धुवाँलाई घरको कुनाकाप्चासम्म पुर्याउँछन्। त्यो धुवाँले ओसिलो भित्ता र भुइँमा जमेका ढुसी र ब्याक्टेरिया नाश गर्छ। त्यसपछि आगोको मकल घरबाट बाहिर निकालेर म र मेरा साथीहरू (गथांमुगः ख्याक) लाई बाँधेको ठाउँमै लगेर राखिन्छ। तिमीलाई एउटा कुरा थाहा छ कि छैन, जुन परिवारमा रोपाइँको काम सकिएको हुँदैन, उनीहरूले आजको दिन भूत पन्छाउनु पर्दैन। रोपाइँ सकिएको दिन मात्र उनीहरू भूत पन्छाउँछन्। यसले पनि यो उत्सव र खेतीपातीको प्रत्यक्ष सम्बन्ध देखाउँछ।'
'यसपछिको मुख्य विधि भनेको माटोको सानो भाँडोमा कोइला, धूलो, नङ, कपाल, नुगसेँ (रांगोको फोक्सो, कलेजो र मुटुका टुक्राटुक्री) र बौ स्वाँ (एक किसिमको वनस्पति) राखेर, त्यसमाथि बत्ती बालेर घर नजिकको दोबाटो वा चौबाटोमा लगेर राख्नु हो। घर–घरबाट भूत पन्छाउने यो विधिलाई 'बौ तयेगू' भनिन्छ।'
गथांम्वाको वर्णन जारी थियो।
'आजकै रात मान्छेहरू नर्कटले बनेको मेरो प्रतिरूपलाई घिसारेर विष्णुमतीमा सेलाउन लैजान्छन्। कहीँ कहीँ आगो बाल्ने चलन पनि छ। यसरी सेलाउन लैजाँदा तन्त्रविद्याले तान्नुपर्छ। तन्त्रविद्याको शक्ति नभएसम्म हामीलाई कसैले डेग हल्लाउन सक्छ र! काठमाडौंका अन्य ठाउँको भन्दा नरदेवीको गथांमुगः ख्याकलाई एकदमै शक्तिशाली मानिन्छ। त्यसैले यसलाई तानेर लैजाँदा कसैले हेर्न हुँदैन र हल्ला पनि गर्न हुँदैन।'
'भूत पन्छाएपछि घरको मूलढोकामा फलामको तीनखुट्टे किल्ला ठोक्ने र गथांमुगः स्वाँ (एक प्रकारको फूल) चढाएर पूजा गर्ने चलन छ। पन्छाइसकेको भूत फेरि घरमा नछिरोस् भनेर यसो गरिएको हो। यसबाट नकारात्मक ऊर्जाले घरमा प्रवेश पाउँदैन भन्ने विश्वास गरिन्छ।'
'फलामको तीनखुट्टे किल्ला ठोकेपछि मान्छेहरू घरको झ्यालढोका थुनेर बस्छन्, कोही पनि बाहिर निस्कँदैनन्।'
'त्यही बेला भैँचालो आयो भने नि!' मैले गथांम्वालाई जिस्क्याएँ।
'भैँचालो आए त निस्के भइहाल्यो नि,' उसले हाँस्दै भन्यो, 'भैँचालोमा त हामी भूतहरूको पनि भागाभाग हुन्छ क्यारे, घरको झ्यालढोका खुल्लै भए पनि भित्र छिर्ने होश कल्लाई होस्!'
यो उत्सवमा एउटा यस्तो दृश्य पनि देखिन्छ, जुन हामी 'हरर' फिल्महरूमा देख्छौं।
तपाईंहरूले 'हरर' फिल्म हेर्दा स–साना पुतलीहरूमा भूतको आत्मा प्रवेश गरेको देख्नुभएको छ? हो, यहाँ पनि त्यस्तै पुतलीहरू गथांमुग: ख्याकमा बाँधेर राखिन्छ। मैले यो चलनबारे उसैलाई सोधेको थिएँ।
जवाफमा उसले भन्यो, 'तिमीले ठिक सम्झ्यौ, त्यसलाई कतामरी भनिन्छ। यो पनि भूत पन्छाउने विधि हो। मान्छेहरूले एकचोटि भूत आह्वान गरेपछि त्यसको आत्मा जहाँसुकै बसेको हुनसक्छ। घरका पुतलीहरूमा पनि त्यसको बास हुन्छ। त्यसैले पुतलीलाई जहाँ पायो त्यहाँ फाल्न हुन्न। बाटोमा जहाँ पायो त्यहाँ फेला परेको पुतली टिपेर ल्याउन पनि हुन्न।'
आजभोलि गथांमुगःलाई धेरैले 'गठेमंगल' वा 'घन्टाकर्ण' भनेको पनि हामी सुन्छौं। मैले यसबारे खुद गथांमुग:कै मुखबाट सुन्न चाहेँ।
'गथांमुगःलाई गठेमंगल वा घन्टाकर्ण भन्नु कुनै हिसाबले सही होइन,' उसले भन्यो, 'मान्छेले नजानेर त्यसो भनेका हुन्। गथांमुगः भनेको दोबाटो वा चौबाटो चोक हो। काठमाडौंमा यस्ता चोकहरू थुप्रै छन्। चिकंमुगः, नौमुगः, प्यंगथां, चाग:, त्याग:, सौग: जस्ता सबै ठाउँका नामहरू चौबाटो वा दोबाटोकै आधारमा बनेका हुन्। गथांमुगःबाट अपभ्रंश भएर गठेमंगल भनिएको हो। यसले कुनै अर्थ दिँदैन।'
'अनि घन्टाकर्ण नि?'
'घन्टाकर्ण भन्नु चाहिँ काठमाडौंको प्राचीन संस्कृतिमा हिन्दुकरण हाबी हुनु हो,' उसले यति भनेर मलाई घन्टाकर्णको कथा सुनायो।
धेरै धेरै, धेरै नै समय पहिले भारतको काशीमा घन्टाकर्ण भन्ने नरभक्षी राक्षस थियो। उसको घन्टीजत्रै ठूल्ठूलो कान थियो। ऊ मान्छेहरू मारेर आलो रगत घटघट पिउँथ्यो।
राक्षसको आतंकबाट मुक्ति दिलाउन काशीका एक सिद्ध तान्त्रिकले जुक्ति निकालेछन्। उनले घन्टाकर्ण राक्षसको वध गर्न भ्यागुतोको रूप धारण गरेछन्।
तिनै तान्त्रिकको योजनाअनुसार आजकै दिन काशीका सबै मान्छे आ–आफ्ना घरमा लुकेर बसे। सबै जना लुकेपछि घन्टाकर्ण राक्षस मान्छेको रगत खान नपाएर भोकले आकुलव्याकुल र रिसले चुर भएछ। त्यही बेला भ्यागुतोको रूप धारण गरेका तान्त्रिक उसको नजिक गएछ।
भ्यागुतोलाई देखेर घन्टाकर्णले सोध्यो, 'ए भ्यागुतो, यहाँका मान्छेहरू कता गए हँ?'
भ्यागुतोले तुरून्तै जवाफ दिएछ, 'तिमीलाई भनूँ कि नभनूँ, भनेँ भने मान्छेहरूले मलाई मार्छन्।'
'भनिनस् भने म तँलाई अहिले नै मार्छु,' घन्टाकर्ण जंगियो।
भ्यागुताले डराएको अभिनय गर्दै भन्यो, 'मलाई नमार, बरू म तिमीलाई मान्छेहरू लुकेको ठाउँ देखाइदिन्छु।'
यति भनेर भ्यागुताले नजिकको एउटा सुनसान ठाउँतिर इसारा गर्यो। घन्टाकर्ण राक्षस रिसले मुर्मुरिँदै भ्यागुताले इसारा गरेको ठाउँतिर दौडियो।
त्यहाँ तान्त्रिकले आफ्नो तन्त्रविद्याको मद्दतले पहिले नै एउटा ठूलो खाडल खनेर राखेको रहेछ।
जसै त्यो राक्षस खाडलनजिक पुग्यो, ऊ हिलोमा चिप्लिएर तल खस्यो। उसले आफ्नो भीमकाय शरीर खाडलबाट बाहिर निकाल्न सकेन। ऊ त्यहीँ अड्कियो। लगत्तै सबै मान्छे आ–आफ्नो घरबाट निस्के र खाडललाई परालले छोपेर दन्दन्ती आगो बालिदिए।
आगोको रापमा चिच्याउँदै, छट्पटिँदै घन्टाकर्ण राक्षसले प्राण त्याग्यो। तान्त्रिकको बुद्धि र शक्तिका कारण मान्छेहरूले घन्टाकर्णको त्रासबाट त्राण पाए।
यसरी नरभक्षी घन्टाकर्ण राक्षसको संहार गरिएको सम्झनामा घन्टाकर्ण जात्रा मनाउने चलन चलेको मानिन्छ। धेरैले गथांमुग:को प्रसंग उठ्दा यही कथा सुनाउने गर्छन्।
गथांम्वा ख्याकले भने घन्टाकर्णको फरक कथालाई जबर्जस्ती काठमाडौं संस्कृतिसँग जोडिएकोमा रिस पोख्यो।
उसले भन्यो, 'यहाँको जात्रासँग घन्टाकर्ण राक्षसको कुनै साइनो छैन। यो काठमाडौंकै माटोमा जन्मेको प्राचीन उत्सव हो। यहाँका कृषकहरूको खेतीपातीसँग जोडिएको संस्कृति हो। तिमी आफ्नो स्टोरीबाट मान्छेहरूको भ्रम हटाइदेऊ है।'
करिब डेढ घन्टा मसँग बात् मारेपछि गथांम्वा ख्याक बसिरहेको ठाउँबाट जुरूक्क उठ्यो, 'मलाई हतार भयो, तिमीले सबै कुरा बुझ्यौ होला, मिलाएर लेख्नू। तिमीले कसरी लेख्यौ भनेर म सेतोपाटीमा पढ्छु नि!'
मसँग अन्तिम प्रश्न बाँकी नै थियो। ऊ हिँड्ने तर्खर गरिरहेका बेला हतारहतार सोधिहालेँ, 'अनि आजको रात तान्त्रिकहरू भूतप्रेतलाई वशमा पार्न नदी किनारतिर जान्छन् भनिन्छ, के यो सत्य हो?'
उसले के भनुँ, कसो भनुँ जस्तो गरेर मुख बिगार्यो र अप्ठ्यारो मान्दै भन्यो, 'मान्छेहरू साह्रै धूर्त र चलाख हुन्छन्। हामी भूतप्रेतहरूको सोझोपनको फाइदा उठाउँछन्।'
'कसरी?'
'मान्छेले सहरबाट पन्छाइसकेपछि हामीलाई कहाँ जाने, के खाने चिन्ता हुन्छ। हामी भूतहरू साह्रै बुद्धु हुन्छौं। हाम्रो स्मरण शक्ति कमजोर हुन्छ। अर्को वर्ष फेरि खेतीपाती गर्नलाई मान्छेले आह्वान गर्छन् र हामी फेरि यहाँ आउन पाउँछौं भन्ने नै बिर्सन्छौं। यही मौकामा केही तान्त्रिक र भुताहा शक्ति आर्जन गर्न चाहने व्यक्तिहरू हामीलाई खानेकुराको लोभ देखाएर वशमा पार्न खोज्छन्। केही केही साथीहरू लोभलालचमा फस्छन् र कैद हुन्छन्। तर अचेल हामी पनि चलाख भइसक्यौं। मान्छेहरू कति धूर्त छन् भन्ने हामीले बुझिसक्यौं। त्यही भएर सहरबाट पन्छाउनेबित्तिकै हामी कसैले नदेखून् भनेर सुटुक्क विलुप्त हुन्छौं।'
यसो भन्दाभन्दै उसको आकृति धमिलो हुँदै गयो। ऊ पनि मलाई भन्दै नभनी सुटुक्क हावामा विलुप्त भयो।
मैले मनमनै सोचेँ, 'मान्छेहरू बित्थामा भूतसँग डराउँछन्। डराउनुपर्ने त खासमा मान्छेसँग पो हो!'
म गथांमुग: ख्याकसँग अन्तर्वार्ता लिएर विष्णुमती किनारको पार्कबाट टंकेश्वरको चौबाटो चोकमा उक्लेँ। मेरो कानमा उसको कर्णप्रिय स्वर गुञ्जिँदै थियो। म अझै पनि उसको नरम हातको स्पर्श महशुस गर्दै थिएँ।
चोकमा नर्कटको गथांमुगः ख्याक उसैगरी ठिंग उभिएको थियो। जीउमा हलचल केही थिएन।
मलाई भने कता कता उसले पुलुक्क मैतिर हेर्दै आँखा सन्काइरहेझैं लाग्यो।
सायद ऊ भन्दै थियो, 'यो मेरो जिन्दगीकै पहिलो अन्तर्वार्ता हो। तलमाथि नपार्नू है। तिमीले कसरी लेख्यौ भनेर म सेतोपाटीमा पढ्छु नि!'
के त्यो मेरो भ्रम थियो! के मेरो यो स्टोरी यति बेला गथांमुग: ख्याक उर्फ गथांम्वाले पढ्दै होला!
के बेर!
(लेखकीय नोटः मैले यो स्टोरी काठमाडौंको संस्कृति र सम्पदाबारे खोजबिन गर्ने सन्दीप महर्जनसँगको कुराकानीका आधारमा तयार पारेको हुँ। काठमाडौंका चोक, गल्ली, मन्दिर र चैत्यहरू घुमेर यहाँका लोककथा संकलन गर्ने २४ वर्षीय सन्दीप फेसबुकमा 'फ्रयांकी फ्रेन्ज' नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिरहरू सेयर गर्छन्।)