कास्कीको अन्नपूर्ण गाउँपालिका–३ नौडाँडामा ४ दिनयता एउटा चितुवा घुमिराखेको थियो। स्थानीयले चितुवालाई बस्तीबाट टाढा जंगलतर्फ धपाउन खोजे।
चितुवा गाउँ वरिपरि नै बस्न चाह्यो। जंगल जान मानेन। स्थानीयले जिल्ला वन कार्यालय कास्कीलाई चितुवाले दु:ख दिएको भन्दै खबर गरे। वनका कर्मचारीले पनि चितुवालाई सकेसम्म जंगल धपाउन खोजे। अनेक उपाय लगाए। तै पनि चितुवा गाउँमै बरिरह्यो।
गाउँ वरिपरि मानिसको नजिकै बसिरहेको यो चितुवा शुक्रबार पोखरा–बाग्लुङ सडकखण्डको पाउँदुरमा बसिदियो। मानिस र सवारी साधनसँग डराएन। कुनै हालतमा चितुवा जंगल जान नमानेपछि वन कार्यालयका कर्मचारीले चितुवालाई समाउने उपाय खोजे। वनका कर्मचारीसँग चितुवा समाउने सुरक्षित उपाय पनि थिएन।
चितुवालाई धपाउँदै–धपाउँदै वन प्राविधिकले सडकमा रहेको एउटा ह्युमपाइप भित्र छिराए। ह्युमपाइपको अर्को छेउमा वन प्राविधिकले फलामको खोर जडान गरेका थिए। ह्युमपाइपबाट चितुवा खोरमा पस्ला र खोर बन्द गरेर चितुवा अन्यत्र लैजाउँला भनेर वन प्राविधिक ढुकेर बसे। चितुवा खोरमा पस्दै पसेन।
ह्युमपाइपबाट पछाडि निस्केला भनेर उनीहरूले ह्युमपाइपको अर्कोतर्फको प्वाल थुनिदिए। चितुवा खोरमा पस्ने छाँट नदेखिएपछि वन कार्यालयका कर्मचारीले चितुवालाई समातेरै खोरमा हुलिदिए।
जिल्ला वन कार्यालय कास्की प्रमुख केदार बरालका अनुसार उक्त चितुवा घाइते छ। घाइते भएकै कारण उसले जंगल जान नमानेको हुन सक्ने बरालले बताए। चितुवाको घाँटीमा दाउले हानेको जस्तो घाउ छ। मान्छेले नै धारिलो हतियार प्रहार गरेर चितुवा घाइते भएको वन प्रमुख बरालले बताए।
वन कार्यालयले उक्त चितुवाको उपचार गर्न पोखराको पचभैयास्थित वन्यजन्तु उपचार केन्द्र पठाएको छ।
गाउँबस्तीमा आएका चितुवा हातैले समातेर नियन्त्रण गर्नुपर्ने अवस्था शुक्रबारमात्रै आएको होइन। ३ वर्षअघि पोखराको बगरस्थित एउटा डिपार्टमेन्टल स्टोरमा चितुवा छिर्यो। बाहिर निस्कन मानेन। चितुवा समाउन वन कार्यालयका कर्मचारी विनोद थापा डिपार्टमेन्टल स्टोरभित्र गए। चितुवाको आक्रमणमा परेर लामो समय अस्पतालमा बसेर उपचार गर्न पर्यो।
पोखराकै मियापाटनमा २ वर्षअघि स्थानीय खगेन्द्रबहादुर गुरूङको बाथरूममा छिरेको चितुवा नियन्त्रणमा लिन खोज्दा तत्कालीन जिल्ला वन कार्यालय प्रमुख रामजी श्रेष्ठसहितको टोली घाइते भएका थिए। तनहुँमा तीन वर्षअघि चितुवाकै आक्रमणमा १० जना बालबालिकाले ज्यान गुमाए। त्यतिबेला जिल्ला वन कार्यालय तनहुँले ९ वटा चितुवा नियन्त्रणमा लिएका थिए।
तनहुँमा अहिले सामान्य अवस्थामा भन्दा धेरै चितुवा रहेको जिल्ला वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए।
भानु नगरपालिकामा रहेका २२ वटा सामुदायिक वनमा गरिएको अध्ययनमा पौने तीन वर्गकिलोमिटर क्षेत्रमा एउटा चितुवा देखिएको छ। जबकि एउटा जंगलमा ४० देखि ५० वर्ग किलोमिटर क्षेत्रमा एउटा चितुवा रहनु सामान्य मानिन्छ।
तनहुँको सिसाघाटमा झण्डै ५ महिनाअघि गाईवस्तु चराउन गएका मानिसले घाइते चितुवालाई जिस्काए। चितुवा आक्रमणमा उत्रिँदा स्थानीय घाइते भए।
चितुवा यसरी गाउँघरमा डुलेर मानिसमाथि आक्रमण गर्ने घटना सामान्य बन्दै गइरहेको छ।
मानिसले पनि चितुवालाई जिस्काउने गरेका छन्, जसले मानिस–चितुवाको द्वन्द्व बढ्दो छ। चितुवाको उद्धारमा खटिएका वन कर्मचारी तथा प्राविधिकले अहिलेसम्म सुरक्षित उपाय पाएका छैनन्। जसका कारण उनीहरू हातैले चितुवा समातेर उद्धार र नियन्त्रण गर्नुपर्ने अवस्थामा छन्।
जिल्ला वन कार्यालय कास्कीका प्रमुख बरालका अनुसार पहाडी भू-भागमा पाइने वन्यजन्तुमा सबभन्दा खतरनाक चितुवा नै रहेको बताए।
उनका अनुसार चितुवा सामान्य झाडीमा पनि लुक्छ सक्छ। रूखमा चढेर बस्न सक्ने चितुवा अन्य वन्यजन्तुभन्दा रिसाहा र ध्रुत स्वभावको रहने बरालले बताए। प्रतिघण्टा ९० किलोमिटरसम्म दौडिन सक्ने चितुवा जंगलमा नभई मानिसकै नजिक बस्ने स्वभाव भएको बरालले बताए।
‘जंगल र मानिसको बस्तीबीचको भागमा चितुवाको बासस्थान हुन्छ, चितुवा घना जंगलमा बस्दैन,’ बरालले भने, ‘खतराका हिसाबले चितुवा बाघभन्दा खतरनाक हुन्छ।’
वन कार्यालय तनहुँका प्रमुख काफ्लेले पनि चितुवा समाउन जाँदा १ मिनेटमात्र चितुवाले पायो भने मानिसको ज्यानै जान सक्ने बताए।
‘चितुवाले सिधै घाँटीमा आक्रमण गर्छ, हामीले निकै खतरा मोलेर नियन्त्रण गर्नुपरेको छ,’ उनले भने, ‘चितुवाले चाह्यो भने हामीले प्रयोग गर्दै आएको खोर समेत भत्काउने तागत राख्छ।’
यत्तिका खतरनाक वन्यजन्तु समाउन अहिलेसम्म देशका जिल्ला वन कार्यालयमा डार्टिङ सामग्री छैन। जिल्लामा वन र वन्यजन्तु हेर्ने एकमात्र कार्यालयमा वन्यजन्तु नियन्त्रण गर्दा कर्मचारी आफैंले ज्यानको बाजी लगाउनु परेको कास्कीका वन प्रमुख बरालले बताए।
‘हिंस्रक वन्यजन्तु व्यवस्थापनका लागि आवश्यक डार्टिङ गनसहित जनशक्ति हामीसँग छैन,’ उनले भने, ‘कुनै दिन यो जोखिमपूर्ण कामको सिकार वन कर्मचारी नहोला भन्न सकिँदैन।’
अहिले जिल्लामा वन्यजन्तु नियन्त्रणका लागि डार्ट गनसहित विशेषज्ञ चितवन राष्ट्रिय निकुञ्ज वा जावलाखेलस्थित चिडियाखानाबाट बोलाउनुपर्ने अवस्था छ। गण्डकीका जिल्लाले चितवनबाट डार्क गनसहितको टोली मगाउने गरेको छ। यसरी बोलाउँदा ३ दिनसम्म समय लगाउने गरेको वन प्रमुख बरालले बताए। राष्ट्रिय निकुञ्जले पनि अन्य जिल्लामा वन्यजन्तु नियन्त्रण गर्न जाँदा वन विभागको स्वीकिृत चाहिने लम्बेतान प्रक्रियाले ढिलाइ हुने गरेको जनाएको छ।
वन्यजन्तु नियन्त्रण गर्न डार्क गनमार्फत् लठ्याइने गरिन्छ। गण्डकीका ११ जिल्लामध्ये नवलपुरबाहेक बाँकी जिल्लामा समेत काम गर्ने गरी डार्क गनसहित वन प्राविधिकलाई तालिम माग गरेको बरालले बताए।
३ वर्षदेखि डार्क सामग्रीसहित तालिम माग गरे पनि अहिलेसम्म वन मन्त्रालयले चासो नदिएको उनको गुनासो छ।
वन्यजन्तुलाई सुरक्षित तरिकाले नियन्त्रण गर्न बरालले काठमाडौंको जावलाखेलस्थित चिडियाखानालाई डार्क गन, लठ्याउने औषधि र तालिम दिन आग्रह गरेका थिए।
उनले यसका लागि बजेटको व्यवस्था आफूले गर्ने समेत बताएको थिए। तर चिडियाखानाले आफूले खरिद गरेर अरू कार्यालयलाई दिन नसक्ने जवाफ दिएको बरालले बताए।
जिल्ला वन कार्यालयहरू आफैंले डार्क गन र लठ्याउने औषधि खरिद गर्न पाउँदैनन्। यसका लागि संघीय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयको सहमतिमा संघीय वन मन्त्रालयले खरिद गर्नुपर्छ।
वन र वन्यजन्तुसम्बन्धी गोष्ठीदेखि सबै फोरममा यसबारे कुरा उठाए पनि जिल्ला वन कार्यालयका कर्मचारीको सुरक्षाका विषयमा कसैले चासो नदिएको उनले बताए।
चितुवाजस्ता हिस्रक वन्यजन्तु समाउन जाने कर्मचारीलाई हेलमेट, पञ्जा, बुटलगायत सुरक्षा कवज पनि अहिलेसम्म सरकारले दिएको छैन। जसका कारण बस्ती पसेका वन्यजन्तु समाउन गएका वन कर्मचारी पटक-पटक घाइते भइरहेका छन्।
तत्कालका लागि सबै जिल्लामा नभए पनि प्रदेशका राजधानी वा सबै जिल्लालाई पायक पर्ने गरी वन्यजन्तु उद्धार केन्द्र सञ्चालन गर्नुपर्ने आफूहरूको माग रहेको तनहुँका वन प्रमुख काफ्लेले बताए। गण्डकीको हकमा पोखरामा यस्ता उद्धार केन्द्र सञ्चालन गर्दा नवलपुरबाहेक सबै जिल्लालाई फाइदा पुग्ने उनले बताए।
वन्यजन्तु नियन्त्रण गर्न आवश्यक जनशक्ति र प्रविधि भए चितुवालाई गोली हानेर मार्नुपर्ने अवस्था पनि नआउने उनले बताए।
वन्यजन्तुको उद्धार गर्न कास्की वन कार्यालय मातहत वन्यजन्तु एम्बुलेन्स सञ्चालनमा छ। वन्यजन्तु नियन्त्रण गर्न आवश्यक डार्क गन, लठ्याउने औषधि र वन कर्मचारीलाई तालिम दिए तत्कालका लागि वरपरका जिल्लालाई समेत सुविधा दिन सक्ने बरालले बताए। यसका लागि सरकारले पशु स्वास्थ्य प्राविधिक पनि खटाउनुपर्ने उनको माग छ।
चितुवामात्र नभएर चरीबाघ लगायतका वन्यजन्तुको समेत समस्या बढेकाले अब सुरक्षित रूपमा व्यवस्थापन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने वन कर्मचारीहरूले बताएका छन्।
यो पनि :
केटाकेटी भर्सेस चितुवा