कोरोना महामारी संक्रमण बढ्दै गएपछि सरकारले कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।
साउन ३१ देखि भदौ ९ गतेसम्म गर्ने तय भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले अर्को सूचना नआउन्जेलका लागि रोकेको हो।
बोर्डले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिँदै थियो। विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिनसक्ने व्यवस्था मिलाइएको थियो। यसपटक तीन लाख ७२ हजार विद्यार्थी सहभागी हुँदै थिए।
एक कक्षा कोठामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी परीक्षा लिने व्यवस्था मिलाइँदै थियो।
यति धेरै संवेदनशील भई परीक्षा लिने व्यवस्थापन मिलाइए पनि कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। तर त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा पूर्वनिर्धारित परीक्षाहरू जारी छन्- त्यो पनि भौतिक उपस्थितिमै, होम सेन्टर नदिई।
एकै कक्षामा ५० देखि एक सय जनासम्म विद्यार्थी राखेर परीक्षा लिएकोमा गत शुक्रबार पाटन बहुमुखी क्याम्पसमा विद्यार्थीले प्रदर्शन गरेका थिए। परीक्षा हुनुअगाडि विद्यार्थीले सामाजिक दूरी पालना नभएको र विद्यार्थीलाई खोप लगाउनुपर्ने माग राख्दै प्रदर्शन नै गरेका थिए। तैपनि परीक्षा सञ्चालन भइरहेका छन्।
कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र राष्ट्रिय परीक्षा बोर्डलगायतले चासो राखे पनि त्रिविका परीक्षा कसरी सञ्चालन भइरहेका छन् भन्ने खासै चासो र चिन्ता पनि देखिएको छैन।
कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला विद्यार्थी थप चिन्तामा छन्। कोरोनाविरूद्ध खोप कहिले लगाउन पाउने हो निश्चित छैन।
मंगलबारदेखि 'ब्याचलर इन इनफरमेसन म्यानेजमेन्ट' को सातौं सेमेस्टरको परीक्षा सुरू हुँदैछ।
उपत्यकाभित्रका १५ वटा क्याम्पसका परीक्षार्थीलाई एकै केन्द्रमा राखेर परीक्षा लिने तयारी त्रिविको छ। परीक्षा केन्द्र काठमाडौंको पद्यकन्या क्याम्पस (पिके) मा राखिएको छ।
‘हामीलाई अनलाइनबाटै पठनपाठनको व्यवस्था मिलाइएको छ। तर परीक्षा किन भौतिक रूपमा गर्ने हो? अनलाइनबाट परीक्षा लिन किन त्रिविले सक्दैन?,’ नेपाल कमर्स क्याम्पसकी छात्रा श्वेता शिवाकोटीले भनिन्, ‘कोरोना संक्रमण बढ्दो छ। तेस्रो लहर आउने चेतावनी आइरहेका छन्। यस्तो बेला होम सेन्टर पनि नदिई १५ क्याम्पसका विद्यार्थीलाई पिकेमा राखेर परीक्षा लिइँदैछ।’
परीक्षा केन्द्रमा सामाजिक दूरी कायम भएका छैनन्। मास्क नलगाई विद्यार्थी नै पुग्ने गरेका छन्।
‘सरकारले विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिन सकेन, त्रिविले पनि हेलचक्य्राइँ गरेको छ,’ मंगलबारदेखि परीक्षा दिने तयारीमा रहेकी शिवाकोटीले भनिन्, ‘विद्यार्थीलाई कोरोनाविरूद्धको खोप दिनेबारे सरकार के सोच्दैछ?’
परीक्षा दिन आउने विद्यार्थीलाई पिसीआर परीक्षण अनिवार्य छैन। कसलाई कोरोना लागेको छ वा छैन भन्ने पनि थाहा हुँदैन। उनकाअनुसार गत वर्ष भने होमसेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको थियो।
साउन २६ गतेदेखि बिबिए, बिआईएम, बिबिएम, बिएचएम, बिटिटिएम, बिबिए-एफ का परीक्षाहरू हुँदैछन्। यी संकायका परीक्षा ३ देखि ६ वटासम्म क्याम्पसका विद्यार्थीलाई एकै परीक्षा केन्द्रमा राख्ने तयारी छ।
आफूले स्वास्थ्य मापदण्ड लागू गरे पनि भिडभाडका कारण कोरोना संक्रमण सर्ने र फैलने चिन्ता धेरै विद्यार्थीको छ। तर त्रिविले पहिले नै तय भइसकेका परीक्षाहरू सञ्चालन हुने जानकारी दिएको छ। अब हुने परीक्षाबारे भने आइतबार छलफल गरेर निर्णय लिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा रोकिन्न: परीक्षा नियन्त्रक जोशी
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिले नै तय भई तालिका प्रकाशित भएका स्नातकोत्तर तह र स्नातक तहका परीक्षा नरोकिने बताएका छन्।
‘साउन ३० गतेसम्म सञ्चालन गर्ने भनेका पूर्वनिर्धारित परीक्षाहरू रोकिँदैनन्, निरन्तर चल्छ,’ परीक्षा नियन्त्रक जोशीले सेतोपाटीसँग भने, ‘पूर्वनिर्धारित परीक्षाहरू गर्ने र अब नयाँ गर्ने परीक्षाबारे के गर्ने भन्ने आज बैठक गरेर निर्णयमा पुग्छौं।’
कोरोना संक्रमण जोखिमलगायत विषय अध्ययन गरेर परीक्षाबारे निर्णय गरिने उनले बताए। परीक्षा केन्द्रमा भिडभाड भएका गुनासोबारे आएका प्रश्नमा जोशीले भने, ‘जुलुस, बसमा भिडभाड हुन्छ भने त्यो बारेमा ब्याचलर पढ्ने विद्यार्थीले सोच्नुपर्यो नि! मास्क लगाउने कोरोनाबाट बच्ने हो।’
परीक्षा केन्द्रमा धेरै भिड नहुने गरी परीक्षार्थी राख्न भनिएको उनले बताए। ‘कहीँकहीँ धेरै परीक्षार्थी एकै कक्षामा राखियो भन्ने गुनासा छन्, ती ठाउँमा अब कडाइ गरिसकिएको छ,’ उनले भने।
अनलाइनबाट किन परीक्षा लिइएन?
त्रिविले अनलाइनबाट पठनपाठनको व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक उपस्थितिमै लिइरहेको छ। तत्काल अनलाइनबाट सबै संकायका सबै विद्यार्थीको परीक्षा लिन सक्ने अवस्था नरहेको र यसबारे काम भइरहेकोले भविष्यमा यस्तो व्यवस्था त्रिविले लागू गर्न सक्ने परीक्षा नियन्त्रक जोशी बताउँछन्।
‘अनलाइनबाटै पढाइ गर्दा पनि विद्यार्थीको उपस्थिति छैन। ३०/३५ प्रतिशत विद्यार्थीले मात्रै निरन्तर रूपमा अनलाइन कक्षा लिइरहेका छन्,’ उनले भने, ‘भौतिक रूपमै परीक्षा लिँदा त शतप्रतिशत विद्यार्थी आएनन्, ९५ प्रतिशत मात्रै उपस्थिति छ।’
अनलाइन पढ्ने विद्यार्थी संख्या वृद्धि हुँदै गए स्वत: अनलाइनबाट परीक्षा लिने व्यवस्थातर्फ त्रिवि जान सक्ने उनले बताए। ‘सेमेस्टर प्रणालीको पठनपाठनमा अनलाइनबाट पढ्ने विद्यार्थी बढ्दै गएका छन्। तर वार्षिक परीक्षा हुने संकायमा थोरैमात्र विद्यार्थी अनलाइनबाट पढ्छन्,’ उनले भने, ‘विद्यार्थीको उपस्थिति नै थोरै हुने हो कि भनेर अनलाइनबाट परीक्षा लिन गाह्रो भइरहेको हो।’
आइसिटीको अनलाइनबाटै परीक्षा
त्रिविले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मा भने अनलाइनबाटै परीक्षा लिएको छ।
‘आइसिटीको अनलाइनबाटै परीक्षा लिइएको छ,’ उनले भने, ‘यसमा जम्मा तीन सय ५० जना परीक्षार्थी छन्। हामीले यहीँबाट अनुगमन गर्ने व्यवस्था गरिएको छ। तीन सय ५० जनाको अनलाइनबाट परीक्षा लिने व्यवस्था मिलाइए पनि त्रिविका साढे दुई लाखको के गर्ने भन्ने हो। कोरोना जोखिम र लकडाउन जारी नै रहने अवस्था भयो भने छिट्टै अनलाइनबाट पनि परीक्षा दिन सकिने व्यवस्था मिल्छ होला।’