मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्ने विरूद्ध मुद्दा दर्ता गर्न लागिएको छ।
विश्वविद्यालयको लेटरप्याडमा कुनै व्यक्तिले उपकुलपतिको मृत्यु भएको भनेर विज्ञप्ति निकालेका छन्।
शनिबार उक्त विज्ञप्ति सार्वजनिक भएको थियो। विज्ञप्तिमा ‘विश्विद्यालयका उपकुलपति सिंहको उपचारका लागि प्रदेश अस्पताल लैजाने क्रममा मृत्यु भएको र विश्वविद्यालय प्रशासन चिन्तित भएको’ लेखिएको छ।
उपकुलपति सिंहको मानहानी गर्नेगरी विश्विद्यालयको छाप र अधिकृतको हस्ताक्षरको दुरुपयोग गरी विज्ञप्ति सार्वजनिक गरिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विज्ञप्ति कुनै अन्य प्रयोजनका लागि बनाईएको पत्र मेटाएर फोटोसपबाट ईडिट गरिएको देखिएको छ।
उक्त पत्रमा विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर समेत छ।
आफ्नो अपमान हुनेगरी सामाजिक सञ्जालमा राखिएको उक्त नक्कली पत्र बनाउनेविरुद्ध उजुरी दर्ता गर्न लागिएको उपकुलपति प्रा. डा. सिंहले जानकारी दिए।
‘प्रजातन्त्रको अवमुल्यन गर्दै यस्तो घृणित कार्य गर्नेविरुद्ध हामीले उजुरी दिन थालेका छौं,’ उपकुलपति सिंहले भने, ‘जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र साईबर ब्युरोमा उजुरी जान्छ।’
उनले व्यक्ति वा संस्थाको विरोध गर्ने शैली गलत अपनाईएको बताए। ‘विरोध गर्ने विभिन्न सभ्य तरिका पनि छन्, तर यस्तो असभ्य रुपमा प्रस्तुत हुनु मेरो मात्र नभएर सिंगो विश्वविद्यालयको चरित्र हत्या गर्नु हो।’