तिर्खाएको काठमाडौं उपत्यकाका लागि मेलम्ची खानेपानी आयोजना ‘भरपर्दो’ विकल्प नबन्ने देखिएको छ।
निर्माण सुरू गर्नुअघिका अध्ययनहरूले जुगल हिम श्रृंखला नै पानीको मुख्य स्रोत भएकाले मेलम्ची आयोजना बाह्रैमास काठमाडौंमा पानी ल्याउन मिल्ने आयोजनाका रुपमा पहिचान गरेको थियो।
दैनिक २१ करोड लिटर पानी काठमाडौं ल्याउने सक्ने भनिएको आयोजना निर्माण सम्पन्न हुनै लाग्दा बाढीले अनिश्चयमा धकेलेको छ।
असार १ र साउन १६ गते जुगल हिम श्रृंखलाबाटै सुरू भएको बहुप्रकोपले आयोजना तहसनहस पारेको छ। आयोजनाको अम्बाथानस्थित सुरुङभित्र पानी पठाउन निर्माण भइरहेको ‘हेडवर्क्स’का संरचना भेलबाढीले पुरिएका छन्। गत चैतमा काठमाडौंमा पानी पठाउन प्रयोग गरिएको अस्थायी सुरुङमा बाढी पसेको छ। अम्बाथानस्थित मर्मत-सम्भार र चेकजाँचमा प्रयोग हुने अडिट सुरुङको नामनिशानै हराएको छ।
अडिट टनेलको नामनिशान हराएपछि मेलम्चीको सुरुङमा १७ दिन लगाएर हालिएको पानी बाहिर निकाल्ने काम प्रभावित भएको छ। गत असार १ गते मेलम्चीको सुरुङ मर्मत-सम्भारका लागि बन्द गरिएको थियो। सुरुङ बन्द भएसँगै मेलम्ची सुरुङभित्र रहेको पानी बाहिर निकाल्ने काम भएको थियो।
अहिलेसम्म काठमाडौंको सुन्दरीजल र सिन्धुपाल्चोकका सिन्धुखोला र ग्याल्थुम खोलाबाट सुरुङभित्रको पानी बाहिर पठाइएको छ। तर गेगरानसहितको भेलबाढीपछि पानी बाहिर निकाल्नुपर्ने अम्बाथानमै रहेको ‘अडिट टनेल’ क्षेत्र पुरिएको छ। अम्बाथान पुगेका मेलम्ची खानेपानी आयोजनाका प्राविधिकहरूका अनुसार त्यो सुरुङ कुन ठाउँ थियो भन्ने पत्ता लगाउन जिपिएस लोकसेन नै हेर्नुपर्ने अवस्था छ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार आयोजनाको मुहानमा पुग्ने ६ वटा पुल बगेका छन्। तर आयोजनाका लागि सबैभन्दा ठूलो चुनौती भने मेलम्ची जलाधार क्षेत्रमा जारी गेगरानसहितको भेलबाढी रोकिन्छ कि रोकिँदैन भन्ने हो।
असार १ गते गेगरानसहितको भेलबाढीले मेलम्ची आयोजनाको हेडवर्क्स ९ मिटर पुरेको थियो। त्यसपछि साउनको १६ गतेको भेलबाढीले थप ६ मिटर पुरेको छ। मेलम्ची आयोजनाका लागि बाढीभन्दा धेरै बगेर आएको गेगरान चिन्ताको विषय हो।
मेलम्ची क्षेत्रमा कति गेगरान आएको थियो भन्ने हेर्न पुल बगेको भिडिओ उदाहरण हुने भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदी बताउँछन्।
‘सामान्यतया बाढीले पुल जस्ता संरचना बगाउँदा डुब्छ। तर यसपटक चनौटे पुल बगाउँदा त्यो रेल जसरी सलल बगेको छ,’ द्विवेदी भन्छन्, ‘त्यहाँ बाढी थिएन। गेगरान (सेडिमेन्ट) थियो।’
मेलम्चीको मुहानमाथि भ्रेमाथाङ क्षेत्रमा ठूलो मात्रामा गेगरान जम्मा भएको छ। त्यो गेगरान खस्ने क्रम अहिलेसम्म रोकिएको छैन। त्यो गेगरान कति छ र खस्ने सम्भावना कति छ भन्ने अध्ययन नभएसम्म मेलम्ची आयोजनाको काम अगाडि बढाउन नसकिने आयोजनाका प्रवक्ता पन्तले बताए।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल असार १ गतेको बाढीपछि भ्रेमाथाङ क्षेत्रमा गेगरान थुप्रिएको बताउँछन्। स्याटलाइटबाट लिइएका तस्बिरहरूले उक्त क्षेत्रमा असार १६ गते त्यहाँ ठूलो मात्रामा गेगरान थुप्रिएको देखिएको पोखरेलले बताए।
‘गेगरान सहितको भेलबाढी (डेब्री फ्लो)को स्रोत र त्यहाँबाट कति छिटो झर्न सक्छ भन्ने पत्ता नलगाएसम्म हामी तल्लो क्षेत्रको जोखिमबारे केही बताउन सक्दैनौं,’ पोखरेल भन्छन्, ‘स्याटलाइट इमेजबाट त्यो क्षेत्र कति चर्किएको छ भन्ने अनुगमन गरिराखेका छौं। अध्ययनपछि मात्र मेलम्चीको हेडवर्क्समा कसरी काम गर्न सकिन्छ भन्ने टुङ्गोमा पुग्न सकिन्छ।’
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका हाइड्रोलोजिस्ट प्राध्यापक विष्णु पाण्डेले मेलम्ची आयोजना सुरू गर्नुअघि माथिल्लो क्षेत्रको भौगर्भिक अध्ययन हुनुपर्ने बताउँछन्।
‘त्यहाँको भूगर्भ कमसल खालको छ। भ्रेमाथाङमा डेढदेखि दुई किलोमिटर क्षेत्रको पटांगिनी छ। त्यहाँ गेगरान (सेडिमेन्ट) कति थुप्रिएको छ अध्ययन गर्नुपर्छ,’ पाण्डे भन्छन्, ‘अहिले हेर्दा त त्यो ठाउँ उच्च जोखिममा छ। त्यो खतरा उच्च रहिरहने हो र १० देखि १५ वर्षसम्म लगातार त्यो थुप्रिएको गेगराइन झरिरहने हो भने मेलम्चीको हेडवर्क्सलाई दु:ख दिइरहन्छ।’
उनले माथिल्लो क्षेत्रको गेगरानका कारण मेलम्ची खानेपानी काठमाडौंका लागि भरपर्दो हुन नसक्ने बताए।
‘मानौं, अहिले मेलम्ची आयोजना सुरू गर्न नै सकियो भने पनि वर्षको १२ महिना नै खान मिल्ने हुने पानी आउँछ जस्तो देखिँदैन,’ पाण्डे भन्छन्, ‘निर्माण सम्पन्न भएको आयोजनाले अब त सञ्चालन खर्चसम्म उठाउन सके पनि राम्रै हुन्छ भन्ने मलाई लाग्छ।’
पाण्डे मेलम्ची आयोजना पुन: सञ्चालन गर्दा समेत मर्मत-सम्भारको खर्च धान्न कठिन हुने बताउँछन्। ‘मेलम्ची आयोजना नै पुन: सञ्चालन गर्नु ठिक कि बेठिक भन्ने प्रश्न खडा भएको छ,’ पाण्डे भन्छन्, ‘मलाई त सञ्चालन खर्च पनि धान्न सक्छ जस्तो लाग्दैन तर अहिले ठ्याक्कै सञ्चालन गर्न हुन्न भन्न सकिन्नँ।’
मेलम्ची मुहान क्षेत्रको माथिबाट आउने गेगरान बगाउने विधिलाई रोक्ने उपाय भने गर्न सकिने उनले बताए। भेलबाढीले बगाएर ल्याउने ढुंगा, बालुवा र माटोसहितको लेदोलाई रोक्न ठाउँ-ठाउँमा बाँध बाँध्न सकिने उनले बताए। तर त्यस्तो बाँध बाधेर पनि समस्या समाधान हुने नहुने विषयमा नमूना परीक्षण (मोडलिङ) आवश्यक रहेको उनले बताए।
‘खोलामा बाँध बाँधेर विभिन्न ठाउँमा केही हदसम्म गेगरान (सेडिमेन्ट) रोक्दै लैजाने हो भने तल जोखिम कम गर्न सकिन्छ। विदेशमा यस्ता काम भएका छन्,’ पाण्डेले भने, ‘तर मेलाम्ची खोलामा यसले काम गर्छ कि गर्दैन भन्दा एउटा परीक्षण (मोडलिङ) गरेर हेर्नुपर्छ।’
मेलम्ची क्षेत्र धेरै भिरालो भएकाले त्यहाँबाट आउने गेगरानलाई एकै ठाउँमा रोक्न नसकिने उनले बताए। मेलम्ची क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गरेर फर्किएका पाण्डेले कतिपय ठाडो-भिरालो ठाउँबाट पानी झर्ने भएकाले त्यस्तो ठाउँमा बाँध (क्याच ड्याम) बनाउनुपर्ने बताए।
पाण्डेसँगै मेलम्ची क्षेत्र अध्ययनमा गएका इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक वसन्तराज अधिकारीले भेलबाढी र गेगरान रोक्न सकिने भए पनि माथिल्लो क्षेत्रको जोखिम अध्ययन पूर्वसर्त रहेको बताए।
‘माथिल्लो भेगमा के छ भन्ने नै थाहा छैन। कति जोखिम छ भन्ने थाहा छैन। कहिलेसम्म बग्छ भन्ने थाहा छैन,’ अधिकारी भन्छन्, ‘त्यसलाई भ्रेमथाङमै रोक्न सकिन्न। त्यो बग्छ नै। त्यसलाई रोक्ने इन्जिनियरिङ विधि छन्। तर कस्तो प्रकारको बाँध (चेकड्याम) बनाउने, कहाँ राख्ने भन्ने पनि अध्ययन गर्नुपर्छ। किनभने हामीले बनाएका पुलहरू बगाएका छन्। त्यसैले प्राविधिक रुपमा पनि सम्भव छन् वा छैनन् हेर्नुपर्छ।’
अधिकारी त्यस्तो बाँधले मात्र समस्या समाधान हुनेमा समेत ढुक्क छैनन्।
‘अहिले बाँधले (चेकड्याम) रोक्न सकिन्छ भन्ने लागेको हो। तर भोलि त्यस्तो बाँधले थाम्छ कि थाम्दैन भन्ने अध्ययन गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘यो घटना बहुप्रकोपले निम्त्याएकाले फेरि पनि पहिरो आउने अनि नदी थुनिएर फुट्ने जस्ता जोखिम छन् वा छैनन् नक्सांकन गर्नुपर्छ।’
मेलम्ची क्षेत्रको अध्ययन नगरी यो खानेपानी आयोजना बचाउन कति पैसा लाग्न सक्छ भन्ने यकिन गर्न सकिन्न। अहिले नै पैसाको विषयमा ‘तर्सन’ आवश्यक नभएको पनि उनी बताउँछन्। ‘यदि पाँच अर्ब खर्च गरेर मेलम्ची बचाउन सकिने हो भने गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘इन्जिनियरिङमार्फत् अरु देशमा पनि पहिरो रोकिएको छ।’
अधिकारी मेलम्ची आयोजना निर्माणअघि माथिल्लो क्षेत्रको आकलन सही ढंगले नगरिएको बताउँछन्।
‘यस्तोसम्म अवस्था आउन सक्छ भनेर आकलन गरेको भए उनीहरूले आयोजनाको इन्टेक (पानी छिराउने मुख) कसरी बचाउने भन्ने उपचार सोच्थे। तर त्यस्तो गरेको देखिएन,’ अधिकारीले बताए।
आयोजनाका लागि अर्बौं खर्च गर्ने तर थोरै पैसा दिएर राम्रो अध्ययन नगराउने समस्या रहेको उनले बताए।
‘अध्ययन भएको भए सायद यो योजना त्यहाँ बन्ने थिएन कि, वा हामीले अर्कै ठाउँबाट इन्टेक बनाउने थियौं कि,’ उनले भने।
मेलम्ची आयोजनाका लागि अत्यावश्यक मानिएको माथिल्लो जलाधार क्षेत्रको अध्ययन गर्न अहिले खानी तथा भूगर्भ विभागको टोली भ्रेमाथाङ पुगेको छ। भूगर्भशास्त्री शिव बाँस्कोटाका अनुसार अहिले मेलम्ची जलाधारमा आएको भेलबाढी भ्रेमाथाङ भन्दा निकै माथिबाट सुरू भएको हो। ४ हजार ३ सय मिटरसम्म पुगेका बाँस्कोटाका अनुसार त्यहाँ बाक्लो पहिरो गएको छ।
‘मेलम्ची माथिको पेम्दिङ खोलामा पटक पटक बाढी आएको देखिन्छ। पेम्दाङले भ्रेमाथाङमा ठूलो मात्रामा सेडिमेन्ट जम्मा गरेको छ,’ बाँस्कोटाले भ्रेमाथाङबाट विपद जोखिम न्यूनीकरण प्राधिकरणलाई गराएको जानकारीमा भनेका छन्, ‘पेम्दाङले खोला अझै धमिलो छ। अझै कटान गरिराखेको छ। मेलम्चीमा पनि सानो बाढी आएको देखिन्छ।’
बाँस्कोटाका टोली भ्रेमाथाङबाट फर्किएपछि मात्र त्यहाँको अवस्थाबारे निर्क्यौलमा पुग्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए। बाँस्कोटाको टोली चार दिन बसेर सोमबार अबेर अथवा मंगलबार काठमाडौं आइपुग्नेछ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता पन्त अध्ययनका निष्कर्ष आएपछि हिउँदबाट बल्ल मेलम्ची क्षेत्रमा केही काम गर्न सकिने बताउँछन्।
‘माथि धेरै ठूलो गेगरान जम्मा हुनुको कारण खोजेर यसको रोकथामको उपाय के हुन्छ भन्ने थाहा नहुँदासम्म यो आयोजना अनिश्चित नै भयो,’ पन्तले भने, ‘वर्षायाममा दुई पटक बाढी आयो। सुख्खा मौसममा नआउला भन्न अवस्था छैन।’
मेलम्ची आयोजनाले तत्कालै त्यहाँ स्थायी संरचना नबनाउने पन्तले बताए। ‘तत्कालै स्थायी संरचना बनाउन नहुने विज्ञहरूले भनेका छन्,’ पन्तले भने, ‘अस्थायी रुपमा पानी चलाउन सकिन्छ कि भनेर हामीले केही प्रयास गरिरहेका छौं।’
तर त्यसका लागि अम्बाथानको अडिट टनेल खोस्रनुपर्ने र पानी सफा गर्नुपर्ने चुनौती रहेको उनले बताए।
‘अम्बाथानको अडिट सुरुङ सफा गर्नुपर्यो। हेडवर्क्सको डाइभर्सन सुरुङ पुरिएको छ। सफा गर्नुपर्यो,’ पन्तले भने, ‘वर्षायामको समय कट्नुपर्छ। नदीमा सफा पानी बग्नुपर्छ। त्यसपछि हो वैकल्पिक प्रणाली अपनाउने हो। वर्षायाममा पानी हाल्ने हो भने ढुंगाहरू पसेर अवरुद्ध हुने देखियो।’
खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले मेलम्चीको जोखिमसँग जुध्न अध्ययन र योजना निर्माणको काम अघि बढेको बताए।
‘हामीले फेरि पहिलेको अवस्थामा फर्कने अवस्था छ, छैन अध्ययन गरिरहेका छौं,’ न्यौपानेले भने, ‘मेलम्चीमा जोखिम सधैं रहने भयो। दातृ निकायहरूसँग भौगर्भिक अवस्था अध्ययन गर्ने र योजना बनाउने कुरा भइराखेको छ।’
उनले मेलम्ची अब पहिलाका अवस्थामा फर्कन धेरै लगानी लाग्ने र समय लाग्ने देखिएको बताए।
‘पहिला मेलम्चीको पुनर्निर्माण गर्नुपर्छ,’ न्यौपानेले भने, ‘मेलम्चीको पानी फेरि पनि अवरोध हुँदा नियमित अभाव पूर्ति गर्न र नियमित पानी वितरण गर्न विकल्प सोच्नुपर्ने भएको छ। अहिले हामी विकल्पबारे अध्ययन गरिरहेका छौं।’