जनकपुरकी आरती साहमाथि एसिड आक्रमण गर्ने उनका श्रीमान् सन्जिव साहलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ। तर अनाधिकृत रूपमा एसिड बेचेका किराना पसल सञ्चालक नागेन्द्र साहलाई भने सफाइ दिएको छ। सोमबार धनुषा जिल्ला अदालत न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो।
सरकारले अध्यादेशमार्फत् फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्दै एसिड आक्रमणविरूद्ध कडा कानुन बनाएपछिको यो पहिलो फैसला हो। सरकारीसहित वादी र प्रतिवादी दुबै तर्फका वकिलहरूको प्रतिवेदन माग गरिएको र प्रतिवेदनमाथि बहसपश्चात सजाय तोकिने धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा मिश्रले जानकारी दिए।
पीडित आरतीका भाइ सञ्जय साहले दिएको जाहेरीको आधारमा गत मंसिर ४ गते जनकपुरधाम उपमहानगरपालिका-२० बस्ने श्रीमान् सञ्जिव साहलाई पक्राउ गरेको थियो। सञ्जयले घटनामा मतियार बनेको भन्दै जनकपुरधाम उपमहानगरपालिका-४का नागेन्द्र साहविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
साहद्वयमाथि रसायनिक पदार्थ एसिड प्रहार गरी ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको थियो।
सो मुद्दामा सोमबार सरकारी वकिलको कार्यालयबाट जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल, जाहेरीवालाको तर्फबाट रिंकुकुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए। त्यस्तै प्रतिवादी नागेन्द्रको तर्फबाट अधिवक्ता सुदीप कोइराला र सञ्जिवको तर्फबाट अरूणकुमार यादवले बहस गरेका थिए।
गत कात्तिक २९ गते दीपावलीका दिन आरतीमाथि उनका श्रीमान सञ्जिवले एसिड छयापेका थिए। एसिड आक्रमणबाट उनको टाउको, अनुहार, छाती र पेटसम्म जलेको थियो। घटनामा आरतीकी ४ वर्षीया छोरी रियासमेत घाइते भएकी थिइन्। दीपावलीको तयारी सकेर पूजा गर्न लागेका बेला आरतीलाई जनकपुरधाम उपमहानगरपालिका-७ स्थित डेरामै पुगेर सञ्जिवले एसिड आक्रमण गरेका थिए। एसिड लागेर उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको थियो भने त्यसको बछिटाले छोरी रियाको शरीरमा पनि घाउ भएको थियो।
करिब ८ वर्षअघि सञ्जिवसँग आरतीको विवाह भएको थियो। तर, वर्ष दिन नबित्दै उनीहरूको सम्बन्ध बिग्रिएको थियो। धनुषा जिल्ला अदालतमा उनीहरूबीचको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ। सञ्जिव सुनचाँदी बनाउने कालीगढ हुन् भने श्रीमानसँग छुट्टिएर बस्दै आएकी आरती बुवासँगै मिलेर बजारमा तरकारी व्यापार गर्दै आएकी थिइन्।
सञ्जिवले जनकपुरधाम उपमहानगरपालिका-४ स्थित स्थानीय नागेन्द्र साहले सञ्चालन गरेको निखिल स्टोर्स किराना पसलबाट एसिड खरिद गरेको र नागेन्द्रले उनलाई बिक्री गरेको भनी दुबै जनाले बयान दिएका थिए। लाइसेन्स र अनुमतिबिनै गैरकानुनी ढंगले नागेन्द्रले एसिड भण्डारण तथा बेचबिखन गरेको प्रहरी अनुसन्धानमा पाइएको थियो। छापा मार्दा उनको पसलबाट बियरको बोतलमा राखेर कार्टुनमा प्याक गरिएको ४८ बोतल र खोलिएको काटुर्नबाट १० वटा गरी ५८ बोतलमा साढे ४३ लिटर एसिड बरामद भएको थियो।