कैलाली सुदूरपश्चिमको राजधानी भएको जिल्ला हो। तराईको जिल्ला भएकाले पहाडी सुविधाको खोजीमा अछाम, सुर्खेत, दैलेख, डोटीलगायत पहाडी जिल्लाका मानिसहरू कैलाली बसाइ सर्छन्।
कैलालीमै केही यस्ता बस्तीहरू पनि छन् जहाँका मानिस सडक, बिजुली, शिक्षा र स्वास्थ्य त परको कुरा दैनिक उपभोग्य सामानका लागि पनि छिमेकी जिल्ला सुर्खेतमा भर पर्नुपर्छ र कर्णाली पारिको सुर्खेत पुग्न उनीहरूले दिनदिनै डुंगामा ज्यानको बाजी लगाउनु पर्छ।
कैलालीको मोहन्याल गाउँपालिका-३ राङामलेखाका जयराम भुललाई यतिबेला कर्णाली नदीको झल्को कमै आउँछ। कोभिड-१९ महामारीका कारण गत वर्षदेखि विद्यालय बन्द छन्। उनका छोराछोरी पनि घरमै छन्।
जयरामको मनमा कर्णाली नदी त्यतिबेला झल्किन्छ, जतिबेला उनका छोराछोरी कर्णाली पारिको जिल्ला सुर्खेतमा पढ्न जान्छन्। कर्णाली नदीले जयरामलाई छोराछोरी विद्यालय गएदेखि नफर्किंदासम्म ढुक्क हुन दिँदैन।
जयरामका एक छोरा, एक छोरी सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरामा रहेको सरकारी विद्यालयमा पढ्छन्। उनीहरूको स्कुल जान कर्णाली नदी पार गर्नुपर्छ। कर्णाली नदी तर्ने माध्यम भनेको डुंगा हो।
‘तलको झोलुंगे पुलसम्म पुग्न समय लाग्छ, यहाँबाट सिधै डुंगा तरेर जानुपर्छ,’ जयरामले भने, ‘छोराछोरी स्कुल जान लागेदेखि घर नफर्किंदासम्म उनीहरूकै चिन्ता लाग्छ।’
उनका तीन छोराछोरी छन्। तीमध्ये एक जनालाई उनले मोहन्याल गाउँपालिका-६ सोल्टामा रहेको विद्यालयमा पढाइरहेका छन्। सोल्टा जान पैदल ४ घन्टाको बाटो छ। त्यहाँ पढ्ने छोरालाई उनले कोठा भाडामा लिएर राखेका छन्।
सबै छोराछोरीलाई सोल्टामै राखेर पढाउन खर्च पनि उत्तिकै लाग्ने भएकाले उनले दुई छोरालाई कर्णाली पारिको बिजौरामा पढाएका हुन्।
‘सुर्खेतमा पढ्ने छोराहरू घरकै रोटी खाएर स्कुल भेट्टाउँछन्, सोल्टामा पढ्ने बच्चालाई कोठा भाडामा लिएर राखेको छु,’ उनले सेतोपाटीसँग भने, ‘हामीलाई हरेक हिसाबले नजिक सुर्खेत पर्छ, सामान किन्नेदेखि उपचारसम्मको सेवा सुर्खेतबाट लिन्छौं।’
बारम्बार कर्णाली नदीमा डुंगा पल्टिने गरेका घटनाले जयरामलाई मात्र नभएर अधिकांश गाउँलेलाई पिरोलिरहन्छ। मोहन्यालका ५० भन्दा धेरै विद्यार्थी पढ्नका लागि डुंगा चढेरै सुर्खेत आउँछन्।
पछिल्लो समय साउन १७ गते पनि कर्णाली नदीको मलेखा भन्ने ठाउँमा डुंगा पल्टियो। उक्त दुर्घटनामा नाबालकसहित तीन जना बेपत्ता छन्। १ जनाको मृत्यु भएको छ। डुंगामा सवार १० जनामध्ये एक जना बच्चा र दुई जना महिला बेपत्ता भएका हुन्।
चौकुने गाउँपालिका-४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बच्चालाई खोप लगाउन आएका उनीहरू दुर्घटनामा परेका थिए।
‘त्यो त नदीको छेउमै पल्टिएको भएर कतिपयले पौडी खेलेर बाहिर निस्कन सके, बीचमा भए त पौडी खेल्न सक्नेहरू पनि बाँच्ने सम्भावना कम हुन्थ्यो,’ जयरामले भने, ‘यहाँको धेरै विद्यार्थी स्कुल पढ्न त्यसैगरी डुंगा तरेर जानुपर्छ, जोखिम त कति हो कति।’
यसअघि पनि धेरै पटक उक्त ठाउँमा डुंगा पल्टिएका छन्। मोहन्याल-३ का वडाध्यक्ष नन्दराम गिरीका अनुसार १७ गतेको घटनासहित पछिल्लो समय उक्त ठाउँमा ५ पटक डुंगा दुर्घटना भइसकेका छन्।
त्यो ठाउँमा अहिलेसम्म भएका डुंगा दुर्घटनामा कति क्षति भयो भन्ने यकिन अभिलेख भने छैन।
कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका दूरीका हिसाबले धेरै नजिक छन्। दुई गाउँपालिकालाई छुट्टाएको कर्णाली नदीमात्र हो।
मोहन्याल गाउँपालिकाको वडा नम्बर ३ का धेरैजसो गाउँ सरकारी सुविधा र बजारको लागि सुर्खेतमा निर्भर रहन्छन्। उक्त वडाका राङा मलेखा, ताम्चा, साबा, बर्जना, राजीरेक्चा सुर्खेतमा निर्भर हुने गाउँ हुन्।
सामान्य स्वास्थ्य उपचार, पठनपाठन, किनमेलका लागि ती गाउँका मान्छे सुर्खेतको चौकुने गाउँपालिका आउनुपर्छ। सुर्खेतमा निर्भर यी गाउँलेहरूलाई बीचमा पर्ने कर्णाली नदीले जोखिम निम्त्याइनै रहन्छ।
‘यहाँका मानिसलाई सलाई किन्नुपर्यो भने पनि सुर्खेतको बजारमा जानुपर्ने बाध्यता छ, पुल नहुँदा बारम्बार जोखिम मोलेर कर्णाली नदी तर्नुपर्छ,’ वडाध्यक्ष गिरीले भने, ‘यहाँबाट आफ्नै गाउँपालिकाको बजारमा जाने हो भने कम्तीमा ३ घन्टा लाग्छ, सुर्खेत जान बढीमा १ घन्टा हो।’
वडाध्यक्ष गिरीका अनुसार वडा नम्बर ३ का करिब २ हजार ५०० मानिस सुर्खेतमा निर्भर छन्।
कक्षा ५ देखिमाथि अध्ययन गर्ने विद्यार्थी पठनपाठनका लागि सुर्खेतको चौकुने गाउँपालिकामा आउँछन्। विद्यार्थीहरूको दैनिक आवतजावत गर्ने माध्यम पनि डुंगा नै हो। कक्षा ५ देखि माथिका विद्यार्थी पढ्नका लागि सुर्खेत आउने गरेको उनले बताए।
‘त्यो ठाउँमा पटक-पटक यस्ता घटना भइरहन्छन्, अस्तिको घटना अलि ठूलो हो,’ वडाध्यक्ष गिरीले भने, ‘स्थानीयले तर्नु पर्ने कर्णाली नदी हो, हिउँद-बर्खा दुर्घटनाको जोखिम उत्तिकै छ।’
दशकौंदेखि स्थानीयले डुंगामा जोखिमपूर्ण यात्रा गर्नुको मुख्य कारण भनेको उक्त ठाउँमा पुल नहुनु हो। स्थानीयले डुंगा तर्ने ठाउँदेखि तल एउटा झोलुंगे पुल छ। उक्त पुलसम्म जानमात्र स्थानीयलाई डेढ घन्टा लाग्ने गर्छ। त्यति नै समय पुल तरेर सुर्खेतको बजार वा विद्यालय पुग्न लाग्छ।
उनीहरूलाई आफ्नै जिल्लाभित्रको विद्यालय वा बजार जानुपरे मोहन्याल-६ मा रहेको सोल्टा बजार जानुपर्छ।
‘चार घन्टा हिँड्नुभन्दा त मानिसलाई एक घन्टा हिँड्न सहज भयो, त्यही भएर दैनिक उपभोग्य सामानदेखि स्वास्थ्य उपचारसम्मको लागि यहाँका मानिस सुर्खेत जान्छन्,’ गिरीले भने।
जोखिम मोलेर डुंगामा वारपार गर्नुपर्ने कर्णाली नदीको त्यो भागमा झोलुंगे पुलका लागि गाउँपालिकाले बारम्बार प्रयास गरेको भए पनि संघ र प्रदेश सरकारले बेवास्ता गरेको उनले बताए।
‘पाँच पटकसम्म कार्यपालिकाबाट निर्णय गराएर त्यो ठाउँमा पुल बनाउन गाउँपालिकाबाट पहल गरेका छौं, हामीले निर्णय गराएर प्रदेश र संघीय सरकारलाई पठाउँछौं,’ उनले भने, ‘तर माथिबाट कुनै पनि सुनुवाइ हुँदैन।’
सुर्खेतको चौकुने गाउँपालिकाले पनि २ वर्षअघि उक्त ठाउँमा पुल बनाउनका लागि गाउँसभाबाट निर्णय गराएर पठाएको अध्यक्ष धीरबहादुर शाहीले बताए। त्यसयता विभागबाट दुई पटक पुलका लागि नाप्न प्राविधिक आएको उनले बताए।
‘हामीले निर्णय गराएर विभागलाई पत्र पठायौं, त्यसपछि दुई पटक त आएर यहाँ नाप्नु पनि भयो,’ अध्यक्ष शाहीले भने, ‘त्यसपछि भने कुनै प्रक्रिया पनि अगाडि बढेन, हामीलाई बाँकी कामको खबर पनि आएको छैन।’
नाप्ने क्रममा त्यहाँ ३०० मिटर लामो पुल बनाउनु पर्ने निष्कर्ष निक्लिएको उनले बताए।
‘यहाँ बजार पनि छ, किनमेलको लागि कैलालीबाट मानिस आउने गर्छन्,’ उनले भने, ‘कयौं विद्यार्थी यहाँको विद्यालयमा पढ्छन्। कतिपय मानिसले पुल नभएकै कारण ज्यान गुमाउनु परेको छ। त्यो ठाउँमा पुल त अत्यावश्यक भइसकेको छ।’