न्वाङ चोएयुनकी आमा ८० वर्ष नाघिन्। न्वाङले आमाको मुख देख्न नपाएको २२ वर्ष बित्यो। अहिले न्वाङ ४८ वर्षका भए। उनी २६ वर्षकै उमेरमा तिब्बतस्थित घरमा आमालाई छाडेर भारततर्फ भागेका थिए। नेपालको सोलुखुम्बु नाका हुँदै उनी कर्नाटकको शरणार्थी शिविरमा शरण लिन पुगे।
कर्नाटकको शरणार्थी शिविरमा न्वाङले लामा पढे। त्यहीँ लामा काम गरेर २२ वर्ष विताए। घरमा आमालाई छाडेर हिँडेको याद उनलाई जति दिन बित्दै गयो, उति पिरोल्दै गयो। बुढ्यौलीले ढाकेकी आमालाई भेट्ने चाहना बढ्दै गयो। जुनसुकै हालतमा तिब्बत फर्कने योजना बनाए। आमाको मुख हेरेर फेरि भारत फर्कनु त छँदै थियो।
कर्नाटकबाट २ महिनाअघि न्वाङ काठमाडौं आए। तिब्बत जाने हुटहुटी यो २ महिनामा झनै बढ्यो। उपयुक्त बाटोबाट तिब्बत छिर्न चाहे। उनले यसका लागि मुस्ताङको कोरला नाका रोजे।
जब उनी कोरला पुगे। नेपाल र चीनका सुरक्षाकर्मीले थाहा नपाउने गरी तिब्बत छिर्न बाटो खोजे। औपचारिक रूपमा कोरोला नाकाबाट नेपाली र तिब्बती आउजाउ गर्ने औपचारिक बाटो २४ नम्बर पिलरको बाटो थियो। यो बाटोबाट नेपाली र चिनियाँ प्रशासन तथा सुरक्षाकर्मीको अनुमतिमा आउजाउ गर्न सकिन्थ्यो। यसबाहेक अरू बाटोबाट तिब्बत छिर्नु वा नेपाल छिर्नु अवैध मानिन्छ।
न्वाङले वैधानिक बाटो हिँड्न चाहेनन्। तिब्बत छिर्ने हुटहुटीले उनले ३१ नम्बर पिलरको बाटोबाट नेपाली भूमि पार गरे। आफू जन्मिएको तिब्बती भूमिमा पाइला राखे। सिमानामा दुबैतर्फ सुरक्षाकर्मी परिचालित थिए। उनको तिब्बत प्रवेश चिनियाँ सुरक्षाकर्मीको आँखाबाट छिप्न सकेन। घर पुग्न नपाउँदै न्वाङ पक्राउ परे।
चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेर न्वाङलाई केरकार गरे। चिनियाँ सुरक्षाकर्मीसँग उनले आमालाई भेट्न जान लागेको बताए। आमालाई भेटेर फर्कने भन्दै बिन्ती बिसाए। तैपनि सुरक्षाकर्मीले दिएनन्, उल्टै नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइदिए।
न्वाङसँग आफ्नै देशको पासपोर्ट थिएन। तिब्बती शरणार्थी आफ्नो देश फर्कन चीन सरकारको कडा सर्त स्वीकार्नु पर्ने शरणार्थी शिविरका अगुवाहरू बताउँछन्। उनीहरूका अनुसार स्वदेश फर्कन धेरै लामो प्रक्रिया पार गर्नुपर्छ, देश गएर फेरि फर्किन नपाइन पनि सक्छ।
यसका लागि जुन देशमा शरणार्थी भएर बसेको हो, त्यही देशस्थित चिनियाँ दूतावासमार्फत् उनीहरूले पहिला पासपोर्ट बनाउनु पर्छ। सरकारले दिएको समयसीमा र सर्त पालना गरे घर पुगेर फर्कन पाउँछन्। न्वाङले यति लामो प्रक्रिया र सर्त पूरा नगरी लुकीछिपी घर जान खोजेका थिए।
मुस्ताङस्थित नेपाल प्रहरीलाई दिएको बयानमा न्वाङले सरकारी प्रक्रिया झन्झटिलो हुने भएकाले लुकिछिपी तिब्बतस्थित घर जान लागेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता प्रहरी निरीक्षक प्रताप पौडेलले अनुसन्धानका क्रममा न्वाङ तिब्बत फर्कन खोज्नुमा आमालाई भेट्नुबाहेक अरू उद्देश्य नदेखिएको बताए। नेपाली र चिनियाँ सुरक्षाकर्मीले लिएको बयान र खानतलासी गर्दा उनका साथमा १ जोर कपडाबाहेक केही नभेटिएको पौडेलले बताए।
भारतको कर्नाटकबाट आमा भेट्न हिँडेका न्वाङ आमालाई नभेटी फेरि भारत फर्कन बाध्य छन्। प्रहरीले न्वाङलाई मुस्ताङको घरपझोङ गाउँपालिका-२ छैरोस्थित तिब्बती शरणार्थी शिविरमा छाडेका थिए। मुस्ताङ प्रहरीले न्वाङलाई शिविरका मुखिया छिरिङ वाङ्डुको जिम्मामा लगाएको थियो।
प्रहरीले न्वाङलाई नेपाल मानव अधिकार संगठन मुस्ताङकी संयोजक पुष्पा शेचन, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली र छैरो तिब्बती शरणार्थी शिविरका नोर्बु फिन्छोकको रोहबरमा छाडेको थियो। शिविरबाट न्वाङलाई सोमबार पोखराको हेम्जास्थित शरणार्थी शिविरमा ल्याएको छ। अब उनलाई काठमाडौं पठाउने तयारी भएको बताइएको छ।
छैरो तिब्बती शरणार्थी शिविरका मुखिया छिरिङ वाङ्डुका अनुसार यसअघि पनि घर जान हिँडेका तिब्बतीलाई चिनियाँ सेनाले बाटोबाटै समातेर फिर्ता गरिदिएको थियो।
सन् १९५९ मा बौद्ध धर्मगुरु दलाई लामासहित उनका अनुयायीले तिब्बत छोडेका थिए। उनीहरू नेपाल, भारतलगायत देशहरूमा शरण लिएर बसेका छन्। दलाई लामाका अनुयायी रहेका तिब्बती नागरिक अझै पनि तिब्बत छाडेर भाग्ने गरेका छन्। उनीहरू अधिकांश नेपालको बाटो भएर भारत र अन्य देशमा शरण लिन पुग्छन्।
यसरी शरणार्थी जीवन बिताएका तिब्बती नागरिक घर जान चाहे पनि चीन सरकारले जान नदिएको छैरो शरणार्थी शिविरका मुखिया छिरिङ वाङ्डुले बताए।
शरणार्थी जीवन बिताएका धेरै नागरिक आफ्नो स्वदेश फर्कन लालायित हुने गरेको उनले बताए। न्वाङले झैं ४/५ वर्षअघि ३ जना तिब्बती घर जान खोज्दा चिनियाँ सेनाले बाटोमै नियन्त्रणमा लिएर फर्काइदिएको उनले बताए।
‘आफ्नो भूमि देख्न त हामीलाई पनि मन लाग्छ नि,’ उनले भने, ‘उता हेर्न पाउँजस्तो लाग्छ, खुला तरिकाले जान र आउन पाउने भए पो। जान पाइएन भने बिचमै यता न उता हुन्छ।’