ढोलाहिटी-सुनाकोठी सडकबारे कुरा उठाउँदा ललितपुर महानगरपालिका-२७ स्थित बालकुमारी माध्यमिक विद्यालयका शिक्षक रत्नबहादुर महर्जन ‘फिस्स’ हासे।
‘खै, कस्तो बाटो बनेछ भनेर बयान गर्ने? घरबाट भित्र-बाहिर गर्दा म दिनहुँ यही बाटो देख्छु,’ महर्जनले भने, ‘कसलाई के दोष लगाउने?’
मंगलबार स्कुलमा पुग्दा उनी अनलाइन कक्षा चलाइरहेका थिए। सडकको अवस्थाबारे बताइदिनुपर्यो भनेपछि उनी दुई मिनेट बाहिर निस्किए।
‘यो बाटो पिच गर्दा ठेकेदारको जति दोष छ, त्यो भन्दा धेरै दोष सरकारी निकायका इञ्जिनियरको देख्छु म,’ उनले भने। हिजोआज उनी ढोलाहिटी-सुनाकोठी सडक पिच गर्न स्थानीयले ठेकेदारलाई गत साल कति दबाब दिएका थिए, कति हैरानी खपेका थिए भन्ने सम्झन्छन्।
‘यो बाटो पिच गर्नुपर्यो भनेर कतिसम्म मेहनत गरियो होला हामी र यहाँका बासिन्दाले,’ उनी सम्झिन्छन्, ‘कस्तो अल्पज्ञानले बाटो बनाइँदो रहेछ भन्ने देख्न छ महिना नै काफी भयो।’
ढोलाहिटी-सुनाकोठी सडकको विगत र वर्तमान देख्ने प्राय: सबै स्थानीय उनको प्रतिक्रियासँग सहमत देखिन्छन्।
वडाध्यक्ष बाबुराजा महर्जन भन्छन्, ‘मेरा मतदाता पहिले बाटो बनाउन दबाब दिन्थे, अहिले मलाई नै ठेकेदारसँग मिलेमतो गरेर कमसल बाटो बनाइदिइस् भन्छन्, के भनेर सम्झाउनु म हत्तु छु।’
उनका अनुसार गत साल असारमा वडा कार्यालयअगाडि स्थानीयले रोपाइँ गरेपछि यो बाटो पिच गर्नका लागि सर्वपक्षीय छलफल भएको थियो।
ठेकेदारलाई बोलाएर छलफल गरेपछि उनले असोजमा सडक पिच गर्छु भने। ठेकेदारले बचन दिएपछि दुई-चार महिना स्थानीय चुप लागेर बसे।
तर सडक असोजमा पिच हुने लक्षण देखा परेन। कात्तिकमा पनि पिच नभएपछि स्थानीय कहिले वडा कार्यालय गए, कहिले सडक विभाग, तैपनि भएन।
पुसमा त बाटो नै बन्द गरेर सडक पिच गर्नका लागि दबाब दिनुपरेको थियो। यति दबाब दिएपछि बल्ल ठेकेदारले बाटो पिच सुरू गरेका थिए।
माघसम्ममा पिच भएको सडकको कतिपय भाग अहिले साउन महिना आइपुग्दा माटोमा बिलाएको छ। ढोलाहिटी-सुनाकोठी सडकको झन्डै पच्चीस प्रतिशत भागमा कहीँ ठूल्ठूला खाल्डा बनेका छन्, कतै पिच नै हराएको छ।
यो सडक पिच गर्ने कम्पनी शैलुङ कन्स्ट्रक्सन हो। शैलुङका प्रोप्राइटर शारदाप्रसाद अधिकारी हुन्। उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी पनि हुन्।
स्थानीयले धेरै दबाब दिएपछि अधिकारीको कम्पनी शैलुङले बाटो पिच गरेको थियो। अधिकारीका अनुसार यो सडकको मुख्य ठेकेदार कम्पनी दिवा कन्स्ट्रकसन थियो, शैलुङ ज्वाइन्ट भेन्चर कम्पनी थियो।
‘दिवाले काम नगरेपछि सबै काम मैले नै गरेको थिएँ,’ अधिकारीले भने, ‘यो बाटो भत्किनुमा ठेकेदारको मात्र दोष छैन, अन्य धेरै कारण छन्।’
म आफैं बनाउँछु, यो अन्तिम सरकारी काम हो : अधिकारी
अधिकारीले ढोलाहिटी-सुनाकोठीको बाटो आफूले पिच गरेको र अहिले भत्केको सबै सडक आफैं बनाउने बताए। उनले यो बाटो बिग्रिनुमा मेलम्चीको पाइपलाइन मुख्य जिम्मेवार रहेको बताए।
‘मसँग रहेको कम्पनीले काम नगरेपछि मैले जिम्मा लिएँ, सडक पिच पनि गरेँ, अहिले सडक हस्तान्तरण भइसकेको छैन, भत्केको बाटोमा मैले सामान झारेर काम थालेको छु,’ अधिकारीले भने, ‘बाटो पिच गर्नु/बनाउनु मेरै जिम्मेवारी हो।’
शैलुङ कम्पनीका इञ्जिनियर अरविन्द महासेठले पनि यो बाटो आफूहरूले नै बनाउने बचन दिएका छन्। उनले पनि मेलम्चीको पाइपलाइन रसाएका कारण पिच बिग्रेको बताए।
महासेठका अनुसार सडकको मुख्य र सहायक भागमा ढुंगा-गिट्टी हालेर रोलरले मिलाइएको थियो। पछि मेलम्चीको पाइपलाइन बनाउँदा त्यो भाग खोतलियो।
‘खोतलेपछि हामीले पुन: रोलर हालेर मिलाउन खोज्यौं, तर स्थानीयले एकदमै छिटो बाटो पिच गर्नुपर्यो भनेर दबाब दिए,’ उनले भने, ‘हामीले रोलरले पेलेर काम त गर्यौं, तर चैतमा मेलम्चीको पानी आउँदा पाइपलाइन चुहियो, चुहिएपछि पानीले सडक बिगार्न थाल्यो।’
बिग्रिएकोबारे सडक विभागसँग पनि कुराकानी गरेर काम अगाडि बढाउन सुरू गरिएको उनले बताए। तर, हाल वर्षायाम भइरहेकोले तुरुन्तै बाटो पिच गर्न नसकिने उनको तर्क छ।
‘अहिले बाटो पिच गर्ने काम सुरू गर्न सकिँदैन, जब वर्षा रोकिन्छ त्यसपछि यो बाटो पिच गर्छौं, अहिले डोजर लगाएर बाटो सम्याउने काम सुरू भएको छ,’ उनले भने, ‘जति घाटा व्यहोरेर भए पनि यो बाटो पिच गर्ने काम हाम्रै हो, हामी गर्छौं।’
सडक विभाग यो बाटोको पिच भत्किएकोबारे जानकार छ। सडक विभागका महानिर्देशक अर्जुनजंग थापा पनि मेलम्चीको पाइपलाइन चुहिएका कारण यो सडकमा समस्या आएको स्विकार्छन्।
‘मेलम्चीको पानी आएपछि चुहावट सुरू भयो, चुहावट नियन्त्रण गर्न खोज्दाखोज्दै बाटो भत्कियो, सबै बाटो भत्किएको छैन,’ उनले भने, ‘जति भत्किएको छ, त्यो बाटो ठेकेदार कम्पनीले आफैं बनाउँछ, यसमा इञ्जिनियरिङ केही पनि गल्ती होइन।’
उनले ढोलाहिटी-सुनाकोठी सडकको आफूले स्थलगत अध्ययन गरेको पनि बताए। थापाले मेलम्चीको पाइपलाइनमा अहिले पानी नआए पनि त्यसको मर्मत-सम्भार गरेर मात्र सडक पिच गर्न लगाइने बताए।
‘त्यहाँ नयाँ र पुरानो खानेपानीको पाइपलाइन छ,’ उनले भने, ‘चुहिएका ठाउँजति मर्मत गर्न हामीले भनिसकेका छौं, ती ठाउँ बनेपछि ठेकेदारले सडक पिच गर्छ।’
शैलुङ र उसको कम्पनीले जिम्मा लिए पनि सडक पिच समयमा नगरेपछि गत पुसमा स्थानीयले आन्दोलन गरेका थिए। बाटो पिच भएपछि ढुक्क भएका स्थानीय छ महिनामै पिच माटोमा बिलाएपछि आक्रोशित छन्।
उनीहरू भन्छन् – दुई महिनासम्म लकडाउन हुँदा सडकमा गाडी नै चलेका थिएनन्। पिचपछि लगातार गाडी चलेका भए त यो बाटोमा पिचको नामोनिशान नदेखिने रहेछ।
‘बाटो पिच भएपछि दुई महिना पनि राम्रोसँग गाडी चल्न नपाउँदै भत्किन थाल्यो, लकडाउन खुलेको एक महिनामा कतिपय ठाउँमा पिच देखिँदैन,’ स्थानीय विजय महर्जन भन्छन्।
उनको भनाइअनुसार छ महिनामध्ये यो बाटोमा तीन महिनाजति गाडी राम्रोसँग चले। ‘जब तीन महिनामै पिच भत्किएर माटो माथि आउँछ भने कस्तो गुणस्तरको काम गरिएछ?,’ विजय प्रश्न गर्छन्।
वडाध्यक्ष बाबुराजाका अनुसार अहिले सडक विभाग र ठेकेदार कम्पनीका इञ्जिनियर खुब धाइरहेका छन् यहाँ। यतिचाँडो पिच भत्किएपछि उनीहरूलाई ढोलाहिटी-सुनाकोठी सडकले ‘लज्जाशरणम्’ बनाइदिएको छ।
‘ठेकेदारले दुई वटा एक्साभेटर ल्याएर राखेका छन्, सायद यो बाटो पुन: खोतलेर पिच गर्ने योजना उनीहरूको छ,’ बाबुराजाले भने। अहिले वर्षायाम छ, पानी परिरहन्छ। यस्तो बेला यो बाटो फेरि भत्काएर पिच गर्दा दु:ख स्थानीयले नै पाउने छन्।
‘तुरुन्त बाटो नबनाए स्थानीयले दबाब सिर्जना गर्छन्, नबनाउँदा लाज कसरी ढाक्ने चिन्ता उनीहरूलाई छ,’ बाबुराजा भन्छन्, ‘भदौको पहिलो सातासम्म नभत्काए हुन्थ्यो, यहाँ सांस्कृतिक जात्रा पनि निस्किने बेला भएको छ, त्यसबेला जनताले दु:ख पाउँछन् भनेर म चाहिँ अहिले नै भत्काउन नदिने पक्षमा छु।’
महर्जनका अनुसार यो बाटो कान्ति लोकपथ अन्तर्गत हो। ललितपुर महानगरपालिका-२७ को सुनाकोठीमा मात्र पर्ने बिग्रिएको बाटोको क्षेत्रफल करिब दुई किलोमिटर छ। यो बाटोले ललितपुर महानगरपालिका २६, २७ र गोदावरी नगरपालिका-१२ छुन्छ।
ठेकेदार कम्पनी र सडक विभागबीच यो बाटो २२ मिटर चौडा पार्ने सम्झौता थियो। अहिले उक्त बाटो ८ मिटर चौडाको छ। बाटो विस्तार गर्न मुआब्जा विवाद छ। साथसाथै यहाँ पुराना सम्पदाहरू छन्। ती सम्पदा जोगाउने ग्यारेन्टी नभएपछि र र मुआब्जा विवाद नटुंगिएकाले आठ मिटर बाटोमै पिच गरिएको वडाध्यक्ष बाबुराजा बताउँछन्।
वडाध्यक्षका अनुसार कान्ति लोकपथ अन्तर्गतको यो बाटो जनप्रतिनिधि निर्वाचित हुनुपूर्व नै ठेक्का लागेको थियो। यो क्षेत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल मात्रै होइन, उनकी बुहारी बिना मगर पनि बस्छिन्।
अहिलेकी ऊर्जा मन्त्री पम्फा भुसाल निर्वाचित भएको क्षेत्र पनि हो यो। यो बाटो दिनहुँ हिँड्ने प्रदेशसभा ‘क’ का निर्वाचित सांसद राजकाजी महर्जन र समानुपातिक सांसद दीपेश महर्जन छन्।
‘के उनीहरूले यो बाटोको अवस्था नदेखेका होलान् र?,’ वडाध्यक्ष महर्जन भन्छन्, ‘उनीहरूलाई यो बाटोको अवस्थाले पिरोल्दैन होला?’
शैलुङका प्रोप्राइटर अधिकारीले यो बाटो नै आफूले लिएको अन्तिम सरकारी काम भएको दाबी गरे।
‘यो बाटोबाहेक अहिले म सँग कुनै सरकारी काम छैनन्, यो बाटो बनाइदिएपछि म सरकारी कामबाट मुक्त हुन्छु,’ उनले भने, ‘आइन्दा अरू सरकारी काम लिँदा पनि लिन्न, सरकारी काममा धेरै अपजस र दु:ख पाएँ।’