मेलम्ची नदी तटीय क्षेत्रमा अझै थेग्रिनीसहितको भेलबाढीको सम्भावना रहेको विज्ञहरूले बताएका छन्।
भ्रेमाथाङ र त्योभन्दा माथिको पेम्दाङ खोला क्षेत्रको अध्ययनपछि फर्किएका भूगर्भविद् शिव बाँस्कोटाले मेलम्ची बजार र माथिल्ला क्षेत्रमा घर छाडेकाहरूलाई अहिल्यै नफर्कन सुझाएका छन्।
बाँस्कोटासहित खानी तथा भूगर्भ विभागका २ जना र विश्व बैंकबाट ३ जनाको टोली सर्वे गर्न केही दिनअघि भ्रेमाथाङ क्षेत्र पुगेको थियो। विश्व बैंकको टोलीले उक्त क्षेत्रको ड्रोन सर्वे गरिरहेको छ।
बाँस्कोटाका अनुसार भ्रेमाथाङ क्षेत्रमा अहिले ८ देखि १० मिटर अग्लो थेग्रिनी जम्मा भएको छ। भ्रेमाथाङमा झण्डै १५ वटा फुटबल मैदान बराबरको चौर रहेको र त्यहाँ पेम्दाङ खोला तर्फबाट आएको थेग्रिनी जम्मा भएको उनले बताए। भ्रेमाथाङको उत्तरपूर्वबाट मेलम्ची खोला र उत्तरपश्चिमबाट पेम्दाङ खोला बग्छ।
'भ्रेमाथाङले ठूलो थेग्रिनी रोकेर राखेको छ। त्यहाँ १० मिटर मोटाइको थेग्रिनी छ', बाँस्कोटाले भने, 'त्यो चौरको लम्बाइ १ हजार ५ सय मिटर छ। चौडाइ ७ सय मिटर छ। तर अहिले भ्रेमाथाङको चौरको १ सय मिटर कटान भएको देखिन्छ।'
बाँस्कोटाले भ्रेमाथाङ आफैंमा पुरानो हिमनदीयुक्त जमिन रहेको 'सम्भवत २-४ हजार वर्षअघि त्यहाँसम्म हिमनदी थियो भन्ने हामीले बुझेका छौं', बाँस्कोटाले भने, 'त्यहाँ थेग्रिनी देखिन्छ। ती एकदमै कमसल थेग्रिनी छन्। पहिरोले ल्याएका थेग्रिनी खोलाले कटान गरिराखेको छ। त्यो ठाउँ अत्यन्त कमजोर भएकाले पनि कटान भइराखेको छ।'
उनले पहिरोले कटानसँगै भ्रेमाथाङको चौरमा चिरा पर्ने क्रम पनि कायम रहेको बताए।
'भ्रेमाथाङमा प्राकृतिक रूपमा थेग्रिनी रोकेर राख्ने जुन चट्टान छ। त्यो चट्टान अत्यन्त कमजोर र सबैतिरबाट खिइँदै गएर खस्किने स्थितिमा पुगेको देखिन्छ', बाँस्कोटाले भने, 'त्यो अड्याउने ठाउँलाई हामी लेभी भन्छौं। जुन त्यो प्राकृतिक रूपमा बनेको बाँध(बेरियर) छ त्यो भत्कियो भने थेग्रिनी बग्ने सम्भावना छ।'
उनले भ्रेमाथाङले पेम्दाङ खोलाक्षेत्रबाट आइरहेको ठूलो मात्रामा थेग्रिनी अझै अड्याएर राख्न सक्ने बताए। तर सँगै कटान जारी रहे भ्रेमाथाङ चौरको ठूलो आयातन खस्न सक्ने औंल्याए।
'ठूलो चौर भएकाले त्यहाँ धेरै थेग्रिनी रहन सक्छ। तर काट्दै जाने हो भने भ्रेमाथाङको ठूलो आयातन तल आउने सम्भावना नकार्न सकिँदैन', बाँस्कोटाले भने, 'जुन भ्रेमाथाङको प्राकृतिक बाँध (बेरियर) छ। चट्टानको बेरियर खिइने क्रममा छ। यदि त्यो खस्यो भने एकपटक फेरि (सेडिमेन्ट फ्ल्यास) थेग्रिनीयुक्त बाढी आउने देखिन्छ।'
उनले मेलम्ची आयोजना र तल्लो तटमा अझै जोखिम रहेको बताए।
'तत्कालका लागि त्यो ठाउँ बस्नका लागि उपयुक्त देखिँदैन। जहाँ अहिले बस्न छाडेका छौं। फेरि फर्कने अवस्था छैन', बाँस्कोटाले भने, 'अझै पनि ठूलो पानी परेको अवस्थामा यस्तै थेग्रिनीयुक्त बाढी नआउला भन्न सकिन्न।'
'हामी त्यहाँ बस्दा पनि केही मिटर खसेको थियो। विस्तारै खसिराखेको छ', उनले भने, 'बालुवा थुपारेको जस्तो थेग्रिनी भएकाले सजिलै कटान गरिराखेको छ। त्यो भ्रेमाथाङको कटान रोकिराखेको चट्टान खुस्किने गरी पहिरो गयो भने अलिक ठूलो मात्रामा तल आउने सम्भावना छ।'
बाँस्कोटाको टोली ४ दिन भ्रेमाथाङ बसेको थियो। मेलम्ची क्षेत्रमा आएको भेलबाढी पत्ता लगाउन पुगेको टोलीले असार १ गतेको भेलबाढी भ्रेमाथाङमुनिकै क्षेत्रबाट आएको र साउन १६ गतेको बाढी माथिल्लो क्षेत्रबाट आएको निष्कर्ष निकालेको छ।
'मुख्य समस्या भ्रेमाथाङ माथि छ। हामीले ४ हजार २ सय ७० मिटरमा पुगेर तथ्यांक संकलन गरेका छौं', बाँस्कोटाले भने, 'हामी पेम्दाङ खोलाको किनाराबाट पाखैपाखा माथि उक्लिएर अध्ययन गर्यौं। खोलैखोला जान सकिने अवस्था छैन। किनभने खोला झरना जस्ता छन्।'
उनले पहिरो र मौसमका कारण धेरै माथिल्लो क्षेत्रमा जान सकिने अवस्था नभएको बताए।
'अध्ययन गर्दा के निष्कर्षमा पुगेका छौं भने जुन हिमनदीबाट पेम्दाङ खोला सुरू हुन्छ। त्यो हिमनदीको टुप्पो मोरानको छेवैमा पहिरो खसेको देखिन्छ', बाँस्कोटाले भने।
बाँस्कोटाले पेम्दाङको सिरानमा गएको पहिरोबारे बुझ्न ग्लेसियरबारे बुझ्न जरूरी रहेको बताए।
'ग्लेसियर भनेको हिउँ हो। कतिपय अवस्थामा त्यो ढिक्का हुन्छ। त्यस्तो हिउँ र ढिक्का गुरुत्वाकर्षणले गर्दा तलतिर बग्ने गर्छ। तलतिर आउँदा त्यसले बाटोमा रहेको ढुङ्गा, गिट्टी, बालुवालाई घिसार्दै लैजान्छ। त्यो ग्लेसियर तल आएपछि तापक्रममा हुने वृद्धिले पग्लिएर बग्न थाल्छ। त्यहाँबाट खोला विकसित हुन्छ। त्यो खोलाले ग्लेसियरले घिसारेर ल्याएको थेग्रिनी बगाउन सक्दैन अनि खोला बन्ने ठाउँमा थुप्रिएर बस्छ। त्यसलाई हामी मोरान भन्छौं। त्यो मोरान कतिपय ठाउँमा अग्लो ढिक्का भएर बसेको हुन्छ। अहिले पेम्दाङको सिरानमा जुन पहिरो गएको छ। त्यसमा हामीले मोरानका सामग्री खसिराखेको देखेका छौं।'
उनले पेम्दाङको सिरानको पहिरोको कारण वर्षा भएको बताए।
'यो घटना वर्षाले नै गरायो भन्ने निष्कर्षमा हामी पुगेका छौं', बाँस्कोटाले भने।
'अकस्मात ठूलो वर्षा भएर पहिरो सुरू भएको देखिन्छ। वर्षाको पुष्टि मेलम्ची पूर्वको याङ्ग्री र लार्केमा आएको बाढीले गर्छ। पहिरो खस्न सघाउने कारण २०७२ को भूकम्प हुनुसक्छ। भूकम्पले साना चिरा पारेको हुनसक्छ', बाँस्कोटाले भने, पहिरोपछि तल पानीले सक्रिय किनारा कटान गरेको छ। जसलाई हामी 'ब्यांक इरोजन' भन्छौं। किनारा कटानपछि ओढार जस्तो बन्छ र माथिका चिजहरू भत्कन थाल्छन्।'
उनले पेम्दाङ खोलाको किनारैकिनार भ्रेमाथाङ क्षेत्रमा आइपुग्दा दर्जनौं पहिरो विकसित भएको बताए। त्यसले नै भ्रेमाथाङ क्षेत्रमा ठूलो थेग्रिनी जम्मा गरेको उल्लेख गरे।