सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भेलबाढीको कारण बनेको भ्रेमाथाङमा १५ लाख ट्रक गिट्टी-बालुवा रहेको विज्ञले बताएका छन्।
भ्रेमाथाङ क्षेत्र पुगेका खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटाका अनुसार त्यहाँ १० मिटर अग्लो थेग्रिनी जम्मा भएको छ। भ्रेमाथाङ क्षेत्र ३ हजार ६ सय ४० मिटर उचाईमा रहेको छ।
‘१५ सय मिरट लम्बाई र ७ सय मिटरको जुन भ्रेमाथाङ चउर छ त्यसमा १ करोड ५ लाख घनमिटर गिट्टी, ढुङ्गा र बालुवा थुप्रिएको छ', बाँस्कोटाले सेतोपाटीसँग भने, ‘ट्रकमा भरेर ओसार्ने हो भने त्यो १५ लाख ट्रक हुन्छ।’
साउन १६ गतेको भेलबाढीपछि अध्ययनका लागि बाँस्कोटा सहितको टोली ४ दिन भ्रेमाथाङमा बसेको थियो।
भ्रेमाथाङ क्षेत्रमा जम्मा भएको गिट्टी बालुवा ढिलो/चाँडो तल आउने भएकाले तटीय क्षेत्रका बासिन्दा र मेलम्ची आयोजनाका लागि जोखिम रहेको उनले बताए। मेलम्ची क्षेत्रमा असार १ गते र साउन १६ गते थेग्रिनी सहितको भेलबाढी आएको थियो। उक्त भेलबाढीपछि किरानाका खेतहरु पुरिएका छन्। खोलाको तह बढ्दा उचाई बढेको छ।
असार १ गते आएको भेलबाढीका बेला भ्रेमथाङको कटान खासै भएको थिएन। त्यतिबेला भ्रेमाथाङ मुनितीर नै नदीको किराना कटान र खोला थुनिने बाढीको रूप लिँदा मेलम्ची क्षेत्रमा थुप्रो ढुङ्गा, गिट्टी, बालुवासहितको लेदो आएको थियो। मेलम्ची माथिल्लो क्षेत्रमा भेलबाढीले ठूला ढुङ्गा समेत ल्याएको थियो। तर मेलम्ची आइपुग्दा धेरैजसो गिट्टी बालुवा सहितको लेदो आइपुगेको थियो।
बाँस्कोटाका अनुसार भेलबाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक र हेडवक्स क्षेत्रमा थेग्रिनी थुप्रो लागेको छ।
मेलम्ची खानेपानी आयोजनाको अम्बाथान इन्टेकमा १५ मिटरसम्म थेग्रिनी छ। त्यस्तै मेलम्ची बजार क्षेत्रमा १० मिटर छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका इन्जिनियर अरूणभक्त श्रेष्ठका अनुसार मेलम्ची क्षेत्रमा आएको थ्रेगिनी जम्मा गरेर ट्रकमा काठमाडौं ल्याउने हो त्यसले चक्रपथ भित्रको जमिनको उचाई १ फिट अग्लो पार्न सक्छ।
‘हामीले मेलम्ची क्षेत्रमा जम्मा भएको थ्रेगिनीको आधारमा हिसाब गर्यौं। साधारण बुझ्ने भाषामा भन्ने हो भने त्यो थ्रेगिनी काठमाडौं ल्याउने हो भने रिङरोड भित्रको उचाई १ फिट बढ्छ,' उनले सेतोपाटीसँग भने।
विज्ञले मेलम्ची भेलबाढीको उत्पत्ती जुगल हिमश्रृंखलाबाटै भएको तथ्य पत्ता लगाएका छन्। उक्त क्षेत्रम पानी परेपछि तापक्रम वृद्धि भएको र हिउँ पग्लिएको तथा त्यसले तल्लो क्षेत्रमा बाढीको रुप लिएको विज्ञले बताएका छन्। मेलम्चीसम्म आइपुग्दा यसले बाढी पहिरो लगायतका रूप लिएकाले यसलाई विज्ञले बहुप्रकोपीय घटना भनेका छन्।
भ्रेमाथाङ क्षेत्र पुगेका भूगर्भशास्त्री बाँस्कोटा साउन १६ गते जस्तै फेरि भेलबाढी आउने सम्भावना यथावत रहेको बताउँछन्। ‘भोलिपर्सी त्यस्तै इभेन्ट नहोला भन्न सकिन्नँ फ्यूचरमा थ्रेगिनी (सेडिमेन्ट) आइराख्छ। साना तिना आइराख्छ’, बाँस्कोटाले भने, ‘चेक ड्याम बाँधेर थ्रेग्रिनी रोक्न जटिल छ। नदी भिरालो छ। नाकोटे भन्ने ठाउँमा केहीसम्म ठाउँ छ। अन्यथा मेलम्ची इन्टेकभन्दा माथि थ्रेग्रिनी रोक्नसक्ने धेरै विकल्प छैनन्।’
यो पनि हेर्नुहोस्