हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दसैँसम्ममा अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं पठाउन सकिने बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा शेर्पाले मेलम्ची माथि भ्रेमाथाङ क्षेत्रको गेगरानलाई बग्नबाट रोक्न आग्रह गरे।
खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटा नेतृत्वको टोलीले भ्रेमाथाङमा अझै १५ लाख ट्रक गिट्टी, ढुङ्गा र बालुवाको गेगरान रहेको जनाएको छ।
अध्यक्ष शेर्पाले भ्रेमाथाङको चउरभन्दा तल नदी कटानपछि उत्पन्न भएका थुप्रै बग्ने पहिरो रहेकाले त्यसलाई रोक्नुपर्ने बताए। 'साउन १६ गते जस्तो भेलबाढी फेरि आउँछ कि आउँदैन', विज्ञहरुलाई शेर्पाले प्रश्न गरे।
उनले भ्रेमाथाङ क्षेत्रलाई बग्नबाट नरोके त्यसले आगामी ४/५ वर्षसम्म दुःख दिन सक्ने बताए। तर माथिल्लो क्षेत्रमा भेलबाढी रोक्न सक्ने हो भने मेलम्चीको पानी दसैँमा काठमाडौँ आउन सक्ने बताए।
'सरकार कस्सिएर लाग्ने हो भने दसैँमा पानी आउँछ', शेर्पाले भने, 'त्यो मेलम्चीको मुहान भएको ठाउँमा स्थायी संरचना बनाउन हुने ठाउँ होइन रहेछ। तीन वटा पहिरोको मुखमा संरचना बनाए स्थायी हुन्न भन्ने लाग्छ।'
शेर्पाले मेलम्ची खानेपानी आयोजनाको टोलीले साउन १६ गतेको भेलबाढीपछि मुहानस्थल पुगेर अध्ययन गरेको बताए।
'खानेपानीको टोली चिसापानीको वैकल्पिक बाटोबाट मुहान पुगेर फर्किएको छ', शेर्पाले भने, 'एक महिनासम्ममा आयोजना इन्टेकमा काम गर्न पुग्छ।'
मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित इन्टेक भेलबाढीले पुरिएको छ। झण्डै १५ मिटर पुरिएको इन्टेकबाट यसअघि सुरुङमा हालिएको पानी फाल्नुपर्नेछ। इन्टेक सफा गरिसकेपछि पानी अस्थायी रुपमा पठाउन सकिने शेर्पाले बताए। 'अस्थायी बाटोबाट पानी पठाउन सकिन्छ', शेर्पाले भने, 'चिसापानी तर्फबाट त्यहाँ पुग्न सकिन्छ।'
मेलम्चीबाट चनौटे हुदैँ खानेपानी आयोजना पुग्ने ६ वटा पुल भेलबाढीले बगाएको छ। 'मेलम्चीको बाटो हुदैँ मुहान पुग्ने सम्भावना अहिलेलाई छैन', शेर्पाले भने, 'सरकार नै लागेर काम गर्ने हो दसैँमा मेलम्चीको पानी अस्थायी रुपमा ल्याउन सक्छ।'
'काठमाडौंलाई खानेपानी खान पाउँदैन भन्ने होला। हामी पानी पठाउँछौ', शेर्पाले भने, 'अहिले हेलम्बुबासी अफ्ठ्यारो स्थित छ। हेलम्बुलाई विपद् पर्दा काठमाडौंले सहयोग गर्नुपर्छ।'
उनले भ्रेमाथाङ क्षेत्रको भेलबाढी रोकथामबारे तत्काल अध्ययन गर्न माग गरे। 'हामी तलतिर बस्तिमा जाली लगाउने र बाटो बनाउने काम गरौँला। फेरि अर्को साल पुरिदिन्छ', शेर्पाले भने, 'माथि रोकिदिनुहोस्।'
त्रिभुवन विश्वविद्यालयका भूगर्भका प्राध्यापक रञ्जनकुमार दाहाल मेलम्चीको पानी संग्लो बनाउन मुहान माथि तारजाली बाँध्न सकिने बताउँछन्।
'अहिले गेगरान बग्न रोक्ने विभिन्न तरिकाहरु छन्। जापानले ठूला बाँध बनाउँछ। तर युरोप र अमेरिकामा श्रृंखलाबद्ध रुपमा नदी किरानाका दुईतर्फ अड्काएर बाँध बाँध्ने तरिका प्रचलनमा छ', दाहालले भने, 'हामीले मेलम्चीमा पनि त्यस्तो तरिका अपनाउन सक्छौँ। श्रंखलाबद्ध रुपमा तारजाली राखेर अड्काउँदै संङ्लो पानी चाहेको ठाउँमा पुर्याउन सकिन्छ।' दाहालले ड्रोनको माध्यमले त्यस क्षेत्रको भूगोलको चित्रण भैसकेकाले अब योजना बनाउन सहज हुने बताए।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् शिव बास्कोटा भ्रेमाथाङ क्षेत्रबाट बग्ने गेगरान रोक्न नाकोटे भन्ने स्थानमा मात्र सम्भव हुने देखिन्छ। तर भ्रेमाथाङ क्षेत्रबाट भेलबाढी आउने सम्भावना यथावत रहेको उनलेब ताए।
साना तिना भेलबाढी आइराख्ने देखिन्छ', बास्कोटा भन्छन्, 'चेक ड्याम बाँधेर थ्रेग्रिनी रोक्न जटिल छ। नदी भिरालो छ। नाकोटे भन्ने ठाउँमा केही सम्म ठाउँ छ। अन्यथा मेलम्ची इन्टेक भन्दा माथि थ्रेग्रिनी रोक्नसक्ने धेरै विकल्प छैनन्।'
यो पनि हेर्नुहोस्